८ वैशाख २०८१ शनिबार
कला

बोडेको नीलबाराही नाच सुरु

भक्तपुरको मध्यपुर थिमि बोडेको नीलबाराही नाच बुधबार रातिदेखि सुरु भएको छ । नाच आइतबारसम्म चल्नेछ । नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने परम्परा रहेको छ । नाचमा १९ जना देवताको स्वरुपलाई सहभागी गराईन्छ । भैरव एकजना, बाराही चारजना, कुमारी चारजना, सिंह चारजना, द्वारपाल दुईजना, गणेण चारजनाको सहभागिता रहने गर्दछ ।

नाच अवधिभर देवता बन्नको लागि एकजना सहयोगी हुनु पर्दछ । यी सहयोगीहरु नाच अवधिभर देवतासँगै रहनु पर्दछ । सहयोगीले देवताले भनेको सबै काम गरिदिनुका साथै मुकुट राख्न लाने, ल्याउने, देवतालाई बोक्नेसम्ममा सहयोग गर्नुपर्ने सहयोगीहरु बताउँंछन् ।

यो नाच मध्यपुर थिमि नगरपालिकाको वडा नं ८ र ९ बोडेमा नचाइन्छ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण श्रेष्ठका अनुसार यस वर्ष कोरोनाका कारण नाच रातको समयमा मात्रै चल्नेछ । दिनको समयमा अन्यत्रबाट पनि नाच हेर्न आउनेहरु रही भीडभाड बढ्ने भएकोले दिनको समयको नाच नहुने उनले सुनाए ।

एकजना सहयोगी सागर अदुवा श्रेष्ठका अनुसार नाचको क्रममा बालिने सुकुन्दा निभ्न दिनुहुँदैन । निभेमा देवता बन्नेको पेट दुख्ने, बान्ता हुने आदि हुन्छ भनी बिश्वास गरिन्छ । देवता बन्ने व्यक्ति थाकेमा सहयोगीले आफ्नो काखमा बसाल्नु पर्दछ, भुँईमा बसाउनु हुदैन भन्ने चलन छ । देवता बन्नेले नाच अवधिभर मौन रहन पर्छ । बोल्नु हुँदैन । केही कुरा भन्नु परे इशारा गरेर मात्र गर्न सकिने चलन रहँंदै आएको छ ।

नाचमा सहभागी हुने सदस्यले कडा रुपमा नियमको पालना गर्नुपर्ने चलन रहेको स्थानीय बताउँंछन् । नीलबाराही देवता बनेर नाचमा सहभागी जनाउने व्यक्ति र उनको घरपरिवारका सदस्यले समेत नाच नसकिएसम्म निराहार बस्नुपर्ने चलन यद्यपि रहेको छ ।  

बोडेमा नचाइने नीलबाराही नाच तान्त्रिक विधिमा आधारित रहेको बिश्वास गरिन्छ । किम्बदन्ती अनुसार नीलबाराही नाच शुरु हुने विषयमा एउटा कथा छ । किम्बदन्ती अनुसार बोडेको खेतमा काम गरिरहेको एकजना धों थरका व्यक्ति अपहरण गरेर लगियो । उनलाई हाल नीलबाराही (बोडे नजिकै) भएको जंगलमा लगेर राखियो । नीलबाराही मन्दिरसँगैको गंख्वचा भन्ने स्थानमा काम गरिरहेको उनलाई अपहरण गर्ने स्वयं नीलबाराही देवता थिए । 

पछि उनलाई जंगलमा नीलबाराहीको मन्दिर बनाउन र विशेष तान्त्रिक विधिं नीलबाराही गण नाच स्थापना गरी गण नाच नाच्ने विधि गोप्य रुपमा सिकाएर पठाए । नीलबाराही देवताको आज्ञा पालना गर्दै उनले नीलबाराही गण नाचको स्थापना गरी हरेक बर्ष नाच नचाउने प्रचलन शुरु गरेका स्थानीय बताउँछन् ।

त्यसकारण आजसम्म पनि देवगण नाचको लागि आवश्यक समान धों थरको घरबाट नै लिन जाने परम्परा चलिरहेको छ । साथै नाच सकिएको भोलिपल्टै पुन धों थर हुनेहरुलाई नै फिर्ता गर्नुपर्ने चलन यद्यापि चलिआएको छ । यसअघि यो नाचको लागि अगाडिदेखि नै प्रशिक्षण सुरु भएको थियो ।

प्रकाशित: २१ श्रावण २०७७ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App