६ आश्विन २०७७ मंगलबार
कला

कहिलेसम्म हामी छोरीहरू असुरक्षित हुने ?

संविदा वाग्ले

हिंसा धेरै प्रकारका हुन्छन् । घरेलुहिंसा, जातीय हिंसा, धनी गरीब बीचको हिंसा आदि । हिंसाले शारीरिक हिंसा मात्र बुझाउँदैन, मानसिक, भावनात्मक हिंसा आदि पनि हिंसा नै हुन् । तर हामी समाजमा बढी लैङ्गिक हिंसा देख्दछौं । म अत्यधिक नारीवादको विरोधी भएकोले पुरुषले मात्रै महिलालाई हिंसा गर्दछ भन्दिनँ । महिलाबाट पनि धेरै पुरुष पीडित भएका मैले आफैले पनि देखेकी छु । तर हाम्रो समाजमा महिलाहरू नै पुरुषबाट बढी पीडित भएको जहीँतहीँ देख्न सकिन्छ । लैङ्गिक शव्द आउनेबित्तिकै त्यसले महिला र पुरुषलाई मात्रै बुझाउँछ भन्ने धेरैको बुझाइ छ तर यस अन्र्तगत समलिङ्गी÷तेस्रोलिङ्गी मानिस पनि पर्दछन् । हिंसा र विभेद उनीहरूले पनि प्रशस्तै खेप्नुपरेको रहेछ । गत वर्ष एउटा ‘प्रि युथ कन्फरेन्स’ मा मैले सहभागी हुने अवसर पाएकी थिएँ । उक्त कन्फरेन्समा समलिङ्गीहरूका भोगाइ र अनुभव बारेमा पनि छलफल भएको थियो । ती समुदायका धेरै युवायुवती त्यहाँ सहभागी थिए । त्यस क्रममा उनीहरूका एकदम फरक अनुभव मैले जान्ने मौका पाएँ । त्यसको आधारमा उनीहरूले महिला पुरुषको भन्दा धेरै समस्या र विभेद भोगिरहेको थाहा भयो । तसर्थ मेरो विचारमा महिलापुरुष बीच हुने हिंसा र विभेद मात्र हैन, समलिङ्गी÷तेस्रो लिङ्गीहरूमाथिको विभेद पनि अन्त्य हुनुपर्दछ ।

अहिले कुरा गरौं महिला हिंसाकै बारेमा । त्यसमा पनि छोरीहरूमाथि भैरहेको हिंसाले मलाई लेख्न बाध्य बनाएको हो । छोरीमाथि हुने गरेका हिंसाहरू हरेक दिन मिडियामा आउने गर्दछन् । शिक्षित मानिसहरू समेत छोरी गर्भमा भएको पत्ता लगाएर गर्भपतन गर्न अग्रसर हुन्छन् । छोरी मात्रै जन्मियो भन्दै छोराका लागि बहुविवाह गर्ने शिक्षित मान्छेहरू समाजमा धेरै छन् । छोरा सरह छोरीहरूको सबै अधिकार पूरा भएको पाइँदैन । सानैदेखि छोरीहरूले विभेद भोग्दै हुर्कनुपर्छ । अझ कतिपय त आफ्नै घरभित्र समेत सुरक्षित हुँदैनन् । जन्म दिने बाबा, आफ्ना दाजुदाइ, पुरुष नातेदार तथा शिक्षकहरूबाट समेत बालिकाहरू बलात्कार भएको घटना प्रशस्तै सुनिन्छन् । घरैभित्र हामीहरू सुरक्षित हुँदैनौं भने बाहिर झन् कसरी हुनसक्छौं ? धेरै बालिका र किशोरीहरूको बलात्कारपछि हत्या भइसकेको छ तर बलात्कार गर्ने सबै अपराधीहरूलाई पुलिसले पक्रन सकेको छैन । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष भैसक्यो, तर बलात्कारी को हो भन्नेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । देशभरि नै यो घटनाबारेमा चर्चा भयो । सबैले अपराधी छिटो पत्ता लगाएर कारबाही गर्न सरकारलाई दबाब दिए । यति हुँदा पनि अपराधी पत्ता लाग्दैन भने अरू घटनाहरूको सम्बन्धमा के आशा राख्नु ? कोरोनाको कारण क्वारेन्टिनमै बसेका बालिकाहरूमाथि पनि बलात्कार र दुव्र्यवहार भएका घटना बाहिर आए । यसो हेर्दा, छोरीहरू सुरक्षित हुने ठाउँ कतै देखिदैन ।

आजभोलि किशोरी तथा महिलाहरूमाथि एसिड आक्रमणको घटनाले मलाई असाध्यै दुःखी बनाउने गरेको छ । केही दिनअघि मात्रै काठमाडौंको सितापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको घटना सुन्यौ । योभन्दा अघि पनि विभिन्न युवतीहरू एसिड प्रहारबाट गम्भीर घाइते बने । पहिला भारत पाकिस्तानतिर मात्रै हुने यी घटना अहिले नेपालमा बढ्दै जानु दुःखको कुरा हो । जति पनि एसिड प्रहारका घटना भएका छन् त्यहाँ युवतीले युवकको प्रेम प्रस्ताव स्वीकार नगर्दा भएको देखिन्छ । कसैको प्रेमप्रस्ताव स्वीकार गर्न या नगर्न हरेक युवती स्वतन्त्र हुन्छिन् । केटाहरूको दबाबमा आफूलाई इच्छा नलागेको प्रस्ताव स्वीकार गर्नुपर्छ भन्ने छैन तर अस्वीकार गरेकै कारण त्यती कष्टदायी प्रहार खेप्न छोरीहरू किन बाध्य छन् ? किन यस्तो भयंकर अपराध रोक्न सरकार चाहँदैन ? आफ्नो केही गल्ती नहुँदानहुँदै पुरुषले दिएका जीवनभर निको नहुने पीडालाई छोरीहरू चूपचाप सहिरहेकै छन् । यो क्रम कहिलेसम्म रहिरहला ? 

धेरै किसिमका विभेद अन्याय सहेर पनि छोरीहरू निरन्तर अघि बढिरहका छन् । त्यसैले छोराहरूभन्दा छोरीहरू हिम्मतिला बनेका हुन् । जस्तोसुकै दुःखलाई पार लगाएर अघि बढ्नुपर्छ भन्ने अभिलाषा उनीहरूसंग हुन्छ । यी सबै पार गर्न छोरीहरूले बाँच्न त पाउनुप¥यो । आफैमा जति हिम्मत भए पनि अरूका कारण छोरीहरूको जीवन कमजोर रहेको मलाई महसुस हुन्छ । आफ्नो सामान्य इच्छा पूरा नभएको निहुँमा छोरीहरुको ज्यान लिने, अंगभंग गराउने, कुरुप भएर जिन्दगीभर तड्पाउने छुट पुरुषहरूले कसरी पाएका होलान् ? संविधान कानूनबारे मलाई धेरै कुरा थाहा छैन तर देशमा भएका कानूनले अरूको जिन्दगीलाई असर पार्ने छुट पक्कै पनि कसैलाई दिएको छैन । ठूला नेता मन्त्रीहरूलाई छोरीहरूको यो पीडाबारेमा मत्लव नहोला किनकि उहाँहरुको छोरीहरूले यी सबै दुःख भोग्नु पर्दैन । तर मेरो विचारमा प्रधानमन्त्री र मन्त्री भनेको उनीहरूका सन्तानको मात्र हैन देशका सबै छोराछोरीहरूका अभिभावक हुन् । देशमा छोरीहरूका अवस्था नाजुक भएकाले उनीहरूप्रति बढी ध्यान दिनु छोराहरूलाई विभेद गरेको नहोला । त्यसैले म देशका प्रधानमन्त्री केपी शर्मा ओली, सबै मन्त्रीहरू तथा राजनीति गर्ने पार्टीहरूका नेताहरूलाई छोरीहरूमाथिको हिंसा छिटो अन्त्य गर्न विनम्र अनुरोध छ ।  

प्रकाशित: २१ श्रावण २०७७ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App