लता केसी
पुसमाघको कठ्याङ्ग्रिदो जाडो महिनामा थियो । दिलाशा दिउँसो एक्लै घरमा थिइन् । पहारिलो घाम देखेर उनी हातमा पल्पसा क्याफे पुस्तक लिएर पढन थालेकी थिइन् । तातो , न्यानो घाममा देशको युद्धकालीन समयभित्रै हराउँदै थिइन्, ‘के पो नाप्यो र । त्यत्रो जनयुद्ध अनि गणतन्त्रले जनता झन् – झन् गरीब , नेता झन् –झन् धनी हुँदै गए । भ्रष्टाचार , अत्याचार र बलात्कारको झन बिगबिगी बढ्यो ।´
टिनिनी–टिनिनी कोठाको ल्यान्डलाइनमा एकोहोरो बजेको घन्टीले बिउँझ्याइदियो । उनको पारो तात्यो। फोन उठाउँदै हेलो भनिन् ।
आवाज सुन्नासाथ कड्किइन् , ‘घाममा बसेर किताब पढेको नि देखिसहेनौ है । मोबाइल हुँदाहुँदै किन यसमा नि ? बूढी घुम्न हिँडे कि भनेर शंका त लागेन नि ।’
किन रिसाएकी ? जवाफ आयो । ‘सुन न , भरे मिटिङ छ अफिसमा , मलाई घर आउन ढिला होला । राम्रोसँग बस्नू है ।’
लल च्याठ्ठिदै कति बजे आउने नि ? म पनि साँझपख साथीहरूसँग घुम्न निस्किनु थियो । अलिकति पैसा नि चाहियाथ्यो ।
– किन जान पर्यो नि । घरमै बस न । समय ठीक छैन क्या । बेकारमा खर्च किन पो बढाउनु पर्यो ।
– अँअँ, रमाइलो , मस्ती , स्वतन्त्रता तिमीलाई मात्र चाहिन्छ नि । मिटिङको बहाना गर्यो अनि बाहिरबाहिर रमायो । मैले पनि बुझेकी छु नि कुरो त ।
– होइन , सत्य हो क्या । कुरो बुझ न भनेको , तिमी त मेरी समझदार स्वास्नी पो हौ ।
ठूलो स्वरमा कराइन् , ‘भोभो फकाउन परेन क्या । चाँडै घर आउने भए बस्छु नत्र जान्छु ।’
– होइन , तिमीलाई ममाथि विश्वास छैन कि कसो ?
जिद्धी स्वरमा म त जान्छुबरु फोन राख अहिले, ढ्याक्क ।
हातमा किताब लिएर पढदै थिइन्, मोबाइलमा मेसेज आयो। लेखिएको थियो – तिम्रो स्वतन्त्रता, अधिकार , शंका , अविश्वास र मेरो पकेटको चिन्ता होइन प्रिया । बाहिर पागल कुकुरहरू छन् । सावधान रहनू है , न्याक्लान ।
प्रकाशित: २० श्रावण २०७७ ०८:४७ मंगलबार