सुशीला खड्का ‘हसिना’
ईश्वर हो या मानव
दानवीय स्वरूप लिदै
मेरोसामु उभिएर भन्दैछ ऊ
तेरो भाग्य फेरिदिन्छु म
एकोहोरो बोल्दैछ ऊ
एटम बम बिस्फोट
आत्मघाती हमला
सुनामी, बाढीपहिरो
आँधी– हुरी, भूकम्प
महामारी, रकेट परीक्षण
यी सबै हुन् मैले कोरेको भाग्य
सुन्दै गएँ उसका कुराहरू
अभै निर्धक्क भन्दै छ ऊ
चुँडाउदै सपनाको धागो
उनको चाहना रेटेर
टिप्दै केटाकेटीको रहर
महँगी फस्टाउन
नाकाबन्दी गरेर
देशमा संकट ल्याउने मै हुँ
विडम्बना!
आखिर खोसेका रहेछन्
उनका पनि सपना
निर्दयीहरूले
बेपत्ता सूचीमा राखेर
वर्षौपछि बुबाको अस्थिपञ्जर
तेर्साएका रहेछन् उनका सामु
जवाफदेहीहरूले
र त पीडा सहनै नसकी
मानसिक सन्तुलन गुमाएर
पागल भएको रहेछ ऊ
एक्लै बोलिरहने बानी
बसेको रहेछ उनमा
एउटा पागलको विज्ञप्ति
हे जिम्मेवार पक्ष
सुशासनको मुना निमोठेर
विद्रोहको पाठ पढाउदै
ज्ञानको भूमिमा
किन रोप्छौ घातको बिरुवा
आमाको छातीमा परेड खेल्दै
कति गर्छौ सपुतको अभिनय
चेतनाशक्ति खोसेर
कतिलाई कहिलेसम्म
पागल घोषणा गर्छौ ?
प्रकाशित: २० श्रावण २०७७ ०८:०९ मंगलबार