८ वैशाख २०८१ शनिबार
कला

सम्झनाका तप्केनीमा मेरो हलेसी

संस्मरण

खेमराज पोखरेल  

म त्यसैत्यसै किन किन हलेसी सम्झनेबित्तिकै एकतमासको हुनपुग्छु । रोमाञ्चक पनि हुन्छु । आफैँ सोच्ने गर्छु कि किन पो यस्तो विधि मनपरेको होला मलाई हलेसी! अमेरिकाको बसाइ छ, मनका तरङ्गहरू यसरी हलेसी पुग्छन् कि सोचिरहेको छु के छ मेरो हलेसीसँगको लगाव ! मेरा सम्झनाका तप्केनीबाट दिमाग भरि हलेसी तप्पतप्प गरेर आइरहन्छ सधैँ ।  

एकदम टडकारो सम्झिरहेको छु, मेरो बाल्यकालको कुरा । आमा मलाई अक्सर हलेसीको कथा सुनाउनुहुन्थ्यो । आमाका काखमा टाउको राखेर आमाका मीठा माया मिसिएका भावनाका हातले ठुङ्गा हान्दै भनिने हलेसीका कथाहरूले मलाई आनन्द  विभोर बनाउँथे ।  त्यसको अपूर्व स्वादले म रोमाञ्चित हुन्थेँ । मेरा दिमागका पत्रमा ती कथाहरू टाठो भएर अहिले पनि बसेका छन् । तिलस्मी लाग्थे मलाई ती कथा । म बालसुलभ प्रश्नमाथि प्रश्न गर्थेँ । आमा नझर्कीकन कथा भन्नुहुन्थ्यो । मेरा बालापनमा ती कथाहरू अजम्बरी भएर बसेका थिए । आमाले मलाई हलेसीको बारेमा यति धेरै कथा सुनाउनुको कारण थियो स्वस्थानीमा हलेसीको वर्णन र आमाको माइती हलेसीको नजिकै भाटबेंसी हुनु । आमा आफ्ना बाल्यकालमा धेरै पटक हलेसी पुग्नुभएको थियो रे । त्यसैले आमा हलेसीमा आफू नाचेका कथा सुनाउनुहुन्थ्यो । खेलेका कथा सुनाउनुहुन्थ्यो । दौडिएका कथा सुनाउनुहुन्थ्यो । ओडारमा जान बुटो समाएर गएका अनुभव थिए आमासँग । तिनताक अहिलेको जस्तो भरयाङ बनेको थिएन । खासमा त्यो बेला मेरा लागि आमा हलेसीको इनसाइक्लोपिडिया हुनुहुन्थ्यो । कथाको खानी हुनुहुन्थ्यो ।  

म त्यस्तै कक्षा ६ मा पढ्थेँ होला । आमासँग एकपल्ट मामाघर भाटबेँसी गएको थिएँ । मामाले मलाई हलेसी लैजाने कुरा गर्नुभएको थियो । तर मेरो दुर्भाग्य त्यतिबेलै बिरामी परेर डोकामा बोकिएर घर (मधेस) फिर्नु पर्यो । त्यसबेलाको मेरो हलेसीयात्रा तुहिएको थियो ।

जीवन बित्नु थियो, बित्यो । मैले २०३६ सालमा बिए पास गरेपछि अब आफूले जागिर खानुपर्छ भन्ने सोचका साथ गन्तव्यविहीन भएर पहाडतिर उक्लेको थिएँ । किनकि पहाडमा बिनासोर्स पनि मास्टरी पाइन्छ भन्ने भनाइ थियो । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल पुगेपछि मैले जिल्लाकै दुर्छिम भन्ने ठाउँमा मास्टरी जागिर पाएर त्यता हानिएको थिएँ । दिक्तेलबाट दुर्छिम जाँदा एक ठाउँमा बास बसेका थियौँ । त्यो ठाउँ हलेसी थियो । राति हलेसी ओडार जाने सम्भावना थिएन । भोलिपल्ट बिहानै उठेर दुर्छिमतिर लाग्नुपरेकाले हलेँसीको गुफाभित्र पस्न पाइएन । हलेसी गुफाकै टाउकोमा बास बसे पनि त्यो दिन मलाई हलेसी गुफा जुरेन ।  

म दुर्छिममा शिक्षक भएपछि गाउँपञ्चायतका उपप्रधानपञ्च नयनकुमार राईसँग चिनजान भयो । मैले मेरो मावली नजिकैको भाटबेंसी  हो भन्दा उहाँले मजाले हाँसेर भन्नुभएथ्यो कि ‘हामी त तपाईँलाई सप्तरी सिराहाको मधिसे भनिरहेका थियौँ’ । उहाँको विचारमा मधिसेले धेरै पढ्छन् भन्ने रहेछ । किनभने त्यता वरिपरिका स्कूलहरूमा, हेल्थपोस्टहरूमा प्रायः मधिसेकै बोलबाला हुन्थ्यो । अहिले सम्झन्छु नेपाली समाजको मीठो सहिष्णुताभित्र पनि कतै विभेद थियो कि !  

धेरै दिनपछि एउटा शनिबार म एकजना शिक्षक साथीलाई लिएर हतार नगरीकन हलेसी हेर्न पुगेको थिएँ । साथीले मलाई हलेसीको ओडारमा पुर्याएर सबैतिर देखाएका थिए । ओडारभित्र पुग्दा साथीसँग रहेको जापानी पानासोनिक सानो रेडियो बजेन । त्यो ओडारमा रेडियो वेभ समात्दो रहेन छ । म आमाले भनेका सबै कथाहरू एकएक गर्दै रुजु गर्न थालेको थिएँ । पापद्वार यसो भित्तामा रहेछ । साथी सुलुत्त छिथ्र्यो । तर म केहीगरी कसैगरी छिर्न सकिनँ । जतिपल्ट प्रयाश गर्दा पनि छिर्न सकिनँ । ऊ मभन्दा मोटो थियो तर छिरथ्यो  । म भाटे पातलो थिएँ तर छिर्न सक्तिनथेँ । मैले झट्ट आमाले पापद्वारका बारेमा भनेका कथा सम्झें । त्यो बेला आमाले भन्नुभएथ्यो कि महापातकी हलेसीको त्यो पापद्वारबाट छिर्न सक्दैनन् । सायद मैले बालसुलभ प्रश्न राखेको थिएँ होला कि महापातकी भनेको कसलाई भनिन्छ । आमाले मलाई त्यो बेला महापातकीको अर्थ मान्छे मार्ने र आफन्तगमन गर्ने मान्छे भन्नु भएथ्यो । मैले आमाबाट आफन्त गमनको अर्थ पनि अलिअलि बुझेको थिएँ त्यो बेला । तर खासमा आमा, दिदी र बहिनीसँग करणी गर्ने पापद्वारमा छिर्न नसक्ने भन्ने मान्यता रहेछ । अनि म हलेसीको पापद्वारकै छेउमा उभिएर एकनासले पापद्वारलाई नै हेरिरहेको थिएँ । मान्छेहरू आइरहेथे । गइरहेथे । पापद्वारमा सुलुत्त छिरिरहेथे । म मात्र यस्तो थिएँ जो पापद्वारमा छिर्न सकेको थिइनँ । म मनमनै कल्पना गर्दै थिएँ कि मैले त के महापाप गरेको छु र ! मान्छे मारेको छुइनँ, आफन्त गमन त परै जाओस् भर्जिन थिएँ । यसपछि मैसँग जानुभएका शिक्षक साथीले  पापद्वारमा छिर्ने तरीकाका बारेमा डेमोन्सट्रेसन गरेर देखाउनुभएको थियो । यो तरीका अपनाएपछि म पनि सुतुसुतु पापद्वारबाट छिरेँ । अनेक समयमा । धेरैपल्ट ।  

२०३७ सालको रामनवमी मेला थियो। म साथीसँग रात बस्तै मेला भर्न पुगेको थिएँ । निकै रमाइलो थियो । छेउछाउका जिल्लाबाट दौरासुरुवाल, इस्टकोट, कोट ढाका टोपी लगाएका कम्मरमा पटुका बाँधेका र पटुकाभित्र एउटा सिरुपाते खुकुरी भिरेका लोग्ने मान्छेहरू आएका थिए । गुन्यू, चोलो र पटुका बाँधेका महिलाहरू देखिन्थे । कुनैकुनै महिलाले त कम्मरको पटुकीमा खुर्पा पनि सिउरिएको हुन्थ्यो । यसले विशुद्ध नेपाली पारा बताएको थियो । त्यसो त सर्टप्यान्ट र  कोट लाउने पुरुष तथा सुरुवालकुर्ता लगाउने महिला पनि देखिन्थे । मधेसबाट खिर्चिमिर्ची सामान बोकेर व्यापारी हलेसी आइपुगेका थिए । लत्ताकपडा बोकेर आएका थिए । तातो जिलेबी खुवाएर पैसा कमाउन हलुवाईहरू आइपुगेका थिए । पहाडका राडीपाखी, करुवा, खाद्यान्न आदि बोकेर बजारमा आएका थिए । त्यो भेकका मानिसको मूल बजार नै हलेसीको मेला थियो रहेछ । वर्ष दिनलाई जोहो गर्नुपर्ने हुँदो रहेछ । लहरै सेल पकाएर बेचिरहेका चेलीहरू देखिन्थे । मान्छेहरू सेल खाइरहेका हुन्थे । हलेसीको तलको खेलमैदानको फाँटमा स्याउला र बाँस काठ प्रयोग गरी छाप्राहरू बनाइएका थिए । ती छाप्राहरूमा तीर्थयात्रुहरू बास बस्थे । ओढ्ने– ओछ्याउने आफैँले बोकेर लानुपथ्र्यो । ढुङ्गाको चम्को लगाएर भात पकाइखान्थे यात्रुहरू । लाहुरेहरू तथा हुने खानेहरू ब्याट्रीवाला पानासोनिक टेपरेकर्डरमा डिभिडी चक्का हालेर चर्को स्वरमा गीत बजाउँथे । उनीहरूको सानै अर्को हुन्थ्यो । तिनताक हलेसीमा मोटरबाटो पुगेको थिएन । हलेसी पुग्ने सबैभन्दा छोटो बाटो पूर्वपश्चिम राजमार्गको सिराहा जिल्लास्थित बन्दीपुरबाट नै उदयपुर जिल्लाको कटारी हुँदै तीन दिन लगाएर हलेसी पुगिन्थ्यो । व्यापारीहरू भरियालाई सामान बोकाएर व्यापार गर्न पुग्थे हलेसीका मेलामा । हलेसीमा यस्ता मेलाहरू लाग्ने मेलाहरू रामनवमी, शिवरात्रि, बालाचतुर्दशी तथा तीजमा लाग्थ्यो ।  

हलेसीको मेला सम्झँदा मलाई अहिले पनि हाँस उठ्छ । परिवेश सम्झेर कुतीकुती पनि लाग्छ । टिठ पनि लाग्छ । मलाई दुर्छिमकै एकजना साथीले हलेसीको मेलामा जाने बाटोमा भनेका थिए ‘सर अहिलेसम्म चोखै हुनुहुँदो रहेछ । यसपल्ट चाखेर बिटुलिनुपर्छ है सर ।’ म त्यो मीठो कुतकुती लाउने ननभेज कुराले मरीमरी हाँसेको थिएँ । उनीहरू पनि मेरो भर्जिनिटीमा मरीमरी आश्चर्य मान्दै हाँसेका थिए र मलाई उल्याएका थिए । नभन्दै रात परेपछि हलेसी मेला चम्केको थियो । रात्रिजीवन सुरु भएको थियो । जाँडरक्सीले माहौल तताइरहेको थियो । समूहसमूह बनाएर केटाकेटी, अधबैँसे पूर्वेली लोकगीत गाएर दोहोरी खेलिरहेका हुन्थे । नाचिरहेका हुन्थे । केटाकेटीको मन मिले झन् रौसिइन्थे । झन् धेरै कुरो मिले बिहेको जोहो पनि मिलाउँथे । म रक्सी खान्न थिएँ । साथीहरू रक्सी खाएर टिल्ल थिए । लहसिइसकेका थिए  र मलाई पनि एउटी केटीको व्यवस्था गरिएको रहेछ । मनजिक ल्याइएको थियो । मैले मजाले हेरेको थिएँ उनलाई । गोरी, च्याप्टो अनुहार, गुन्यूचोलामा सजिएकी सुन्दरी । ती नानी अलिकति मातेकी पनि थिइन् । उनले त मलाई निकै नै जिस्क्याउन थालिन् । अब मसँग आफ्नो भर्जिनिटी जोगाउनु कि गुमाउनु, आफ्नो हेडमास्टरको इज्जत जोगाउन भाग्नु कि पाएको मौका उपयोग गर्नु भन्ने विकल्प थियो । मेरो मुटु तेज भइरहेको थियो । उनी मलाई मर्द कि नामर्द भनेर जिस्क्याइरहेकी थिइन् । म भने लुसुक्क भागेर राति नै घरतिर लागेको थिएँ ।  

अँ त जब म हलेसी मेलालाई सम्झिन्छु म जीवनबोधले ओतप्रोत हुन्छु । त्यही मेलामा एकजोडी करीब ८० वर्षका बूढा र ७५ जतिकी बूढीलाई सम्झन्छु । उनीहरू हात समाएर नाचिरहेका थिए । गीत अहिले पनि सम्झन्छु ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बूढो भयो र !’ उनीहरूको त्यो नाच भित्रबाटै आएको स्वतस्फूर्त थियो । बूढा बा बज्यै थाकेर बस्नुभएको थियो । अनि मैले उहाँलाई सोधेको थिएँ ः बाजे, अहिले त यस्तो नाच्नु हुँदोरहेछ, बैंसमा त आकाशका तारा झार्नुहुन्थ्यो होला हगि !  

उहाँ दाँतविहीन मुख खोलेर हाँस्नुभएको थियो । अलिअलि बूढाबूढीले नै रक्सी खाएका थिए । अनि बाजेले नजिकै बसेकी बज्यैको पाखुरामा च्याप्प समाएर भन्नु भएथ्यो ः मास्टर बाबु, यी कान्छीलाई मैले यही हलेसी मेलाबाटै भगाएको हो उहिले । बाँचुञ्जेलको त हो नि रामरउस। मरे त खरानी न हो ।’ अहिले म आफ्नो जीवनको उत्तरार्धमा आइपुग्दा बाजेका यी कुराले कहिलेकाहीँ सन्न हुन्छु र जीवनबोध हुन्छ । साँच्चि जन्मेपछि सबैले मर्नै पर्छ भने जन्मदेखि मृत्युसम्मका नचाहिँदा उठापटकको के अर्थ ! तृष्णाले जन्माएका पीडामा छटपटाएर बाँच्नुको के अर्थ ! जिन्दगीलाई रमाइलो ठानेर बुझे पनि हुने हो नि बाजेले जस्तो ।  

हलेसीदुर्छिम बसाइका ती क्षण निकै रोमाञ्चक र कौतूहलमय थिए मेरा लागि । एउटा परिवेश सम्झन्छु कि धेरै जना साथीले मलाई राइनी केटी बिहे गर्न सल्लाह दिन थालेका थिए । हुन पनि हो, गोरा र राम्रा अग्र्यानिक अनुहार परेका राइनीहरू देख्दा मेरो कुमार मन बतासिन खोजिहाल्थ्यो । तर मेरा समीपमा एउटा पर्दा आएर उभिन्थ्यो । र यो पर्दा यति जब्बर थियो कि अभेद्य थियो । म पूर्वसहायक मन्त्री डिल्लीसेर राईका घरमा बसेको थिएँ । एकदिन उहाँले नै मलाई एउटी राम्री राइनी केटीसँग बिहे गरेर बस्ने कुरा गर्नुभएथ्यो । घर बनाइदिन्छु भन्नु भएथ्यो । उहाँको कोही आफन्त केटी नै मलाई बिहे गर्ने योजनामा हुनुहुँदो रहेछ । मैले अहिले बिहे नगर्ने भन्ने कुराले मेरो राइनी बिहे गर्ने खड्गो कटेको थियो । हलेसीबाट नजिकैको च्यास्मिटारका हेडमास्टर शम्भुजी ठकुरी त्यसैगरी मास्टरी खाँदाखाँदै राइनी बिहे गराइदिएर घरजम गरी बसेको उदाहरण थियो । तर फेरि डिल्लीसेर राईले एउटा राम्री बाहुनी खोजेर बिहे गरिदिन्छु भन्नु भएथ्यो । डिल्लीसेर राईको यो कुरा स्कुलसँग जोडिएको थियो । आफैले खोलेको स्कुलमा शिक्षकलाई रोकिराख्ने असल नियत थियो त्यो । प्रस्ताव नराम्रो पनि थिएन । मेरो जागिर हेडमास्टर थियो । अनि  डिल्लीशेर राईको समर्थन पाउनु त्यो बेलाको निकै राम्रो अवसर थियो । त्यसको एकवर्ष पनि नपुग्दै मलाई राजनीतिक कारणले सगरमाथा अञ्चलाधीश लक्षबहादुर गुरुङले जागिरबाट ननिकालिएको भए पक्का उहाँहरूको योजना सफल हुन्थ्यो होला । आखिर जिन्दगीको मेसो न हो, न उहाँहरूले सोचेअनुसार भयो, न मैले सोचेअनुसार भयो ।  

अँ त हलेसी भन्नु माझकिरातको जब्बर गाउँ हो । म त्यो भेगको सामाजिक बनौटको मनोविज्ञानलाई अहिले सम्झँदै छु । मान्छेलाई खुकुरीले चार इन्च काट्दासम्म ‘साँच्चै कि ख्याल ख्याल भनेर’ सोध्ने गरिन्थ्यो रे । सामाजिक मनोविज्ञान कस्तो थियो भने बाहुनक्षेत्रीहरू  राईलाई रिसाहा जात भन्थे र रिस उठे काट्छ भनेर डराउँथे । राईहरू बाहुनक्षेत्रीसँग ‘कोखामा दाह्रा भएको कपटी जात’ भनेर डराउँथे । बाहुनक्षेत्रीले मुद्दा मामिला गरेर राईलाई हैरान पार्थे । यसरी त्यो समाजमा ‘चेक एण्ड ब्यालेन्स’ भएको थियो । सम्बन्ध भने सुमधुर थियो । मितेरी साइनु हुन्थ्यो । एउटा साइनो नभएको कोही हुन्नथियो । लिम्बुवान, खम्बुवान नभनिएको युग थियो त्यो । सौहाद्र्र थियो । समाजमा सहनशीलता थियो । मैले हलेसीको बारेमा यही बुझेर हिँडेको थिएँ । मेरो हिँडाइमा सबैभन्दा धेरै रुने राईराइनीहरू नै थिए । उनीहरूको रुवाइ कृत्रिम थिएन । सौहाद्र्र थियो । किनकि उनीहरूले एउटा मास्टर गुमाएका थिए । म पनि रोइरहेको थिएँ, किनकि मैले एउटा निश्चिन्तताको सम्मानित जागिर छोडेर अनिश्चितताको यात्रा गर्नुपरेको थियो । जीवनको त्यो अनिश्चित भेलमा म बगेको थिएँ । किनाराविहीन भएर हिँडेको थिएँ ।  

जीवन त जसरी भए पनि अगाडि बढ्यो बढ्यो । हण्डर खाएर भए पनि बढ्यो, कहर खाएर भए पनि बढ्यो । केही पाएर भए पनि बढ्यो, केही गुमाएर भए पनि बढ्यो । म जीवनका दौडमा यसरी बतासिएँ कि मनभरि भएको हलेसीफेरि पुग्न मेसो मिलेन । म अमेरिका गएको बेला दुर्छिम माविले मेरो सम्मान गरेर सम्मानपत्र दिएछ । म हलेसी जान पाइनँ त्यो बेला । जिन्दगीका अस्मेल झ्यासहरू छिमल्दाछिमल्दा जीवन बितेको पत्तै भएन । म अमेरिकाबाट फर्केपछि मेरी आमाले मलाई हलेसी पुर्याइदेऊ न बाबू भन्नुभएथ्यो । मावलीबाट मलाई बिरामी अवस्थामा घर ल्याएपछि आमा माइत जानु भएन । त्यो एक युग नै भएको थियो । आमाको यो इच्छा पुर्याउने मेरो अभिभारा नै थियो  र त्यो दिन जुर्यो २०६९ सालको मध्य वैसाखमा । दुईटा जीप भाडामा लिएर बुवाआमासहित जम्मा २२ जनाको टोली लिएर म हलेसीतर्फ लागेको थिएँ । महेन्द्र राजमार्गको सिराहा जिल्लाको मिर्चैयाबाट कटारी हुँदै जीप उदयपुर जिल्लाकै घुर्मी पुगेको थियो । कटारीदेखि घुर्मीसम्मको पिचबाटोका एमानका खाल्डाहरूले उफारेको थङ्थिलो जिउको अनुभव अहिले पनि ताजै छ । घुर्मी पुगेर एउटा बेली ब्रिजबाट सुनकोसी तरेर ओखलढुङ्गा जिल्ला टेकिएको थियो । सुनकोसीको पानी निलो कलकल गरी सललल बगेको थियो । दोलालघाटमा भेटेको सुनकोसी यहाँ पनि उस्तै गतिले बगेको थियो । बगिरहेको थियो । र त सुनकोसी देख्दा मात्र पनि आनन्द लागेको थियो । सुनकोसीझैँ गतिशील भएर मान्छे किन बग्न सक्दैन भन्ने ज्ञान आइरहेथ्यो मलाई । दिक्तेल जाने गाडीचाहिँ तिर्पायाँतिर्पाया सुनकोसी छोडेर दूधकोसीतिर लागेको थियो । त्यसपछि केही मिनेटको दूरीपछि जयरामघाट आइपुगेको थियो । यो घाटबाट खोटाङ जिल्ला प्रवेश गर्न दूधकोसीमा गाडी तार्नका लागि सरकारका तर्फबाट फेरीको व्यवस्था गरिएको थियो । फेरी तर्न गाडीहरू लाम लागेर ठडिएका थिए । हाम्रा ड्राइभरले अलिकति खर्चपानीको व्यवस्था गरिदिएर हाम्रो गाडीले पालो मिच्न पाएको थियो । दूधकोसी कञ्चन दूधमा बगिरहेको थियो । वारिपारि देखिने हरिया पाखा, अग्ला पहाड र त्यसमाथि कुदिरहेको बादलले एउटा रोमाञ्चक दृश्य बनाएको थियो । बन्दै गरेका बाटाका डोजर, ट्रिपर, ट्रक तथा भ्यानहरूले विकासे धूलो फ्याकिरहेका थिए । सडक किनारका धुर्सुलका हरिया पातहरू धूलाले फुस्रा देखिन्थे । पहेँला हेल्मेट लगाएका मजदूरहरू दूधकोसीको खोँच बेँसीमा कमिलाझैँ हार लागेर काम गरिरहेका थिए । विचरा श्रमिकहरू त्यो धूलो खाँदै थिए, गर्जो पनि टार्दैै थिए र विकास पनि भित्र्याउँदै थिए ।  

दूधकोसीमा फेरीबाट गाडी तारिएपछि हाम्रो जीप उकालो लागेको थियो । जयराम घाटबाट उकालो लाग्नेबित्तिकै बाटो यस्तो घुमाउरो र उकालो थियो कि कमजोर मुटु हुनेको त दैया निस्कन्थ्यो । बाटो साँघुरो र घुम्ती थियो । ठाउँठाउँमा पिच कतै खण्डास्मित थिए । कतै धूलाम्य पनि थिए । र पनि बाटो बन्दै थियो । म बाटाभरि खोक्सेली कता होला, च्यास्मीटार कता होला भनी हेरिरहेको थिएँ । तर बाटो त च्यास्मीटारको टाउकोमा नपुगी घाँचैघाँच जाँदो रहेछ । दूधकोसीको किनारमा खोक्सेली र सल्लेका गुजमुज्ज बस्तीहरू देखिए । त्यहाँका धानका खेतका गह्राहरू सुन्दरतम देखिइरहेका थिए । बाटोमै ज्वालामुखीबाट निस्किएका चट्टानका पहाडहरू देखिँदै थिए । भेटिँदै थिए । यो भनेको हलेसीको आगमन भइरहेको भन्ने सूचना थियो । हेर्दाहेर्दै हाम्रो जीप फुत्त मैले मास्टरी गरेको दुर्छिम माध्यमिक विद्यालयको छेउमा निस्क्यो । मैले गाडी रोक्न लगाएँ र एकपल्ट मजाले स्कुललाई हेरेँ । मनमनै नमन गरेँ । रात पर्न थालेको थियो । २२ जनाको बास तथा गाँसको व्यवस्था गर्नु थियो । यसो भएकाले हतारहतार हलेसीतिर हानिएका थियौँ । बाटो भने फिलिली थियो ।  

हलेसीमा पुगेपछि हामी एउटा होटलमा बास बसेका थियौँ । २०३७ सालमा म त्यही हलेसीमा पाटीमा बास बसेको थिएँ । एकदुई चिया दोकान थियो त्यो बेला । अहिले त गुजुमुज्ज परेका अनेकौँ होटलहरू बनेका रहेछन् । सस्तादेखि महँगासम्मका होटलहरूको निर्माण भएछ । दोकानहरू छ्याप्छ्याप्ती रहेछन् । त्यो बेलाको हलेसीछेवैको निमावि अहिले उच्च मावि भएछ । हलेसीगुठीका जग्गाहरूमा व्यक्तिका होटल बनेछन् । तर न राम्रो बाटो न खानेपानीको व्यवस्था पर्याप्त थियो । हलेसीको प्राकृतिक सुन्दरता हराएको थियो ।  पर्यटक आइहाल्छन्, बसिहाल्छन्, पैसा दिइहाल्छन् भन्ने सिद्धान्तबाट प्रेरित थिए भनेझैँ लागेको थियो । तर होटलवालाले आफ्नो गच्छे र चेतअनुसार हाम्रो राम्रो व्यवस्थापन गरे । मेरो बुवाआमालाई तातोपानी, चिसोपानी आदिआदिको व्यवस्था गरिदिए । त्यति मात्र होइन हाम्रो समूहमा ‘बाहुन जात’ जोगाउने मेरा बुवा आमालगायत अरू पनि बाहुनबाहुनी थिए । उनीहरूलाई भात पकाउन दाउरा भाँडा, पानी आदि नरिसाई दिए । त्यसको पैसा पनि लिएनन् । त्यो परिस्थितिमा होटलवालाले अरू के नै गर्न सक्ने थिए र !

त्यसको भोलिपल्ट बिहानै हामी नुहाउन धारातिर गयौँ । धारा मेरी आमाले भन्नुभएको त्यही भस्मासुरको रगत बगेको वाला अशुद्ध धारा थियो । तर मान्छे कुँडुलो परेर नुहाइरहेका थिए । हाम्रो २२ जनाको टोली तितरवितर भएको थियो । कोही मन्दिर परिक्रमा गर्न व्यस्त थिए । म भने धारामास्तिरको बसाहा गुफालाई हेर्दै थिएँ । बसाहा गुफा निकै ठूलो थियो । त्यो उस्तै थियो । मन्दिरको परिक्रमा गर्ने मार्ग बनाइएछ । त्यसपछि म खुट्किला चढेर हलेसी महादेवको मूल गुफाको गेटमा पुगेको थिएँ र मान्छेहरूको आवतजावत रमिता हेर्न थालेको थिएँ । गुफाको मुखमा पुग्दा त म अचम्ममा परेको थिएँ । गुफाको मुखैमा बौद्ध भिक्षुहरूले ठूलो गुम्बाको निर्माण गरेछन् । अर्कोतिर मुखैमा गाणेशको कलात्मक मूर्ति र मन्दिर बनेको रहेछ । यसको निर्माण भाटभटैनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले बनाइदिएका रहेछन् । गुफाभित्र पस्ने गेट बनेछ । यो दृश्य मलाई पटक्कै मन परेन । हलेसीलाई प्राकृतिक सुन्दरताबाट मानव निर्मित कङ्क्रिट सभ्यतामा ल्याएको अनुभूति भएको थियो मलाई । संसारमा कङ्क्रिट सभ्यतामा वाक्कदिक्क भएका मेरा आँखा यो देखेर निस्ताइरहेका थिए ।  

म गुफाभित्र पसेको थिएँ । समुद्र सतहबाट ३१०० फिटदेखि ४७३४ फिटसम्ममा रहेको र ६७ फिट गहिरो हलेसी गुफामा हिन्दु र बौद्ध दुवैका बग्रेल्ती तीथार्लुहरू थिए । गुफाको तलको भुइँ फ्लोर २२३ फिट र गुफाको डायमिटर १९३ फिट मानिदो रहेछ । गुफाभित्र पनि रेलिङ हालिएछ । शिवलिङ्गलाई पनि घेरिएछ । त्यहाँ दुई लेयरमध्ये माथ्लो लेयरमा गौरापार्वती वा सुम्निमा, तल्लो भागमा शिवलिङ्ग रहेछन् । यहाँभित्रको मुख्य आकर्षण पहिलेझैँ अहिले पनि पापद्वार, धर्मद्वार, गर्भद्वार, कर्मद्वार, दुर्गाद्वार रहेछन् । अरू द्वार गुफाको भित्री सतहमा छन् भने दुर्गा द्वार गुफाको छानामा रहेछ । मान्छे पुग्नसक्दा रहेनछन् । प्राकृतिकबाट कृत्रिमताको यात्रा सुरु गरेछ हलेसीले पनि । पहिले आत्मिक शान्ति पाउने हलेसीमा अहिले कोलाहल भएछ । मान्छेमान्छेको भीड भएछ । राजा वीरेन्द्रको हलेसी भ्रमणपछि हलेसीलाई पूर्वको पशुपतिनाथ मान्न थालिएको रहेछ । यसपछि त हलेसीमा मान्छे कुँडुलो परेर आउन थालेका रहेछन् । नेपाल, भारत, चीन, भुटान, बङ्गलादेश तथा कोरियाबाट यात्रु आउँदा रहेछन् । त्यसैले धेरै मान्छेलाई धेरै धार्मिक, सामाजिक, आर्थिक अवसर दिएछ हलेसीले ।  

हाम्रा तीर्थयात्रुहरू गुफाभित्र धर्म कमाउँदै थिए । म भने हलेसी गुफाको प्रवेशद्वारको अगाडि बनाइएको ढुङ्गे फलैँचामा बसेर हलेसीको गुफालाई एकनासले हेरिरहेथेँ । आन्छे आइरहेथे । गइरहेथे । चहलपहल निकै बढेको थियो । त्यसबेला मलाई यो हलेसी गुफाको बारेमा कुनै बेला कतै पढेको प्रसङ्गको याद आइरहेको थियो । हलेसी गुफा भौगर्भिक ज्वालामुखी विस्फोटन भएर बनेको हो । पश्चिम मुख भएको तल्लो गुफा वा बसाहा गुफाबाट निस्केका लाभाहरू बेस्सरी जोडले फ्याकिँदा च्यास्मिटारसम्म छरिएको थियो । कालान्तरमा सेलाएर अनौठो किसिमको चट्टानको पहाड भएको तथ्य अहिले पनि देखिन्छ । त्यसैगरी उध्र्वमुख याने कि माथ्लो गुफा अथवा हलेश्वर गुफा वा मूल मन्दिर गुफाबाट निस्किएको लाभाले पूर्व उत्तरतिर त्यस्तै प्रकारको पहाड बनाएको प्रमाण अझै छ । यो हलेसी गुफाको निर्माण नितान्त प्राकृतिक भएको र लाखौँ वर्षसम्म यो यत्तिकै रहेको थियो । यो भौगोलिक अवस्थितिमा गुफाको स्वाभित्व लिन विभिन्न कालखण्डमा विभिन्न धार्मिक सम्प्रदाय अघि सरेका हुन् । वर्तमानमा उभिएर हेर्दा यो हलेसी महादेव गुफालाई हिन्दू, तान्त्रिकबौद्ध र किरातले आफ्नो पवित्र तीर्थस्थलका रूपमा पूजाआजा, ध्यान, तपस्या, भाकल गर्दै आएका छन् ।  

हलेसी गुफामा हिन्दू स्वामित्वको कुरा मलाई पहिलेदेखि नै थाहा थियो । गाँजाभक्षी महादेवले दानासुरलाई दिएको वरदान, राक्षस दानासुरले सुन्दरी पार्वतीमाथि नजर लगाएको कथा, अनि दानासुरले वरदान परीक्षण गर्न महादेवकै थाप्लामा हात राख्न खोजेको नाटकीय अवस्था, र महादेव पार्वतीलाई लिएर दम तोडेर भागेको कथा, हलेसीमा लुकेका बिचरा महादेवले विष्णुको याचना गरेको कथा, अनि दानासुरलाई विष्णुले उसकै टाउकोमा उसकै हात राख्न लगाएर छल गरी मारेको कथा, दानासुरको रगत बगेको धारोको कथा, दानासुर भष्म भएको पोखरीको कथा, बसाहा गुफाको कथा, हलेश्वर महादेवको शिवलिङ्गको कथा, पार्वतीको गुफा, पापद्वार, धर्मद्वार, गर्भद्वार र समग्र हलेसीगुफाको कथा आमाले पनि सुनाउनुभएको थियो । यसको चर्चा स्वस्थानी लगायत अन्य हिन्दू धर्मग्रन्थहरूमा हलेश्वर महादेवको चर्चा पनि सुनेकै थिएँ । हिन्दू किंवदन्तीले ६ हजार वर्षसम्म महादेव यो गुफामा लुकेका थिए भन्छ ।  

तर मलाई हलेसीसँग बौद्धमार्गको सम्बन्धका बारेमा केही थाहा थिएन । यसरी हलेसी गुफाकै थाप्लामा बौद्ध गुम्बा बनाउनुपर्ने शास्त्रीय कारण होला भनी लख काटिरहेको थिएँ । यत्तिकैमा मेरा अगाडि एकजना भिक्षु देखापरेका थिए । मैले उनलाई आफ्नो परिचय दिएर बौद्ध र हलेसीको सम्बन्ध बताइदिन अनुरोध गरेको थिएँ । उनले भनेअनुसार बौद्ध परम्पराका आधारमा यो हलेसी गुफाको नाम ‘माराटिका’ राखिएको रहेछ । त्यो पूरै पहाडलाई बौद्धहरू अवलोकितेश्वर मान्दा रहेछन् । बौद्ध दर्शनका पहिला तान्त्रिक गुरु पद्मसम्भवले आठौँ शताब्दीमा तिब्बतमा पुगेर तान्त्रिक बौद्ध दर्शनको सुरु गरी प्रचारप्रसार गरेका थिए । उनी हलेसी पनि आएर बौद्धअनुसार ध्यान गरेका थिए । सोह्रौ शताब्दीमा तिब्बतबाट शेर्पाहरू नेपालको सोलुखुम्बु क्षेत्रमा प्रवेश गरे । १७७४ सनमा छापिएको ‘पिलग्रिमेज गाइड अफ नेपाल’ भन्ने पुस्तकमा ‘माराटिका’ नेपालमा भएको कुरा उल्लेख गरिएको छ । र त्यो माराटिका हलेसी भएको मान्यता बौद्धहरूमा रहेछ । तिब्बतियन शेर्पाहरू त हलेसी शब्दको व्युत्पन्न प्रकृया केलाएर तिब्बतियन भाषाबाट तद्भव हुँदै आएको हो भन्दारहेछन् । माराटिका तान्त्रिक बौद्धका अनुयायीमा तिब्बती क्यालेण्डरअनुसारको नयाँ वर्षको दिन हलेसीमा तान्त्रिक विधिले पूजा आजा गरेमा सिद्धि हुने विश्वास रहेछ । यो नयाँ वर्ष फागुनचैत्र महिनामा पर्दोरहेछ । पद्मसम्भवका अनुसार तान्त्रिक बौद्ध धर्ममा शिवलाई हेरचाह र सुरक्षा गर्ने देवता मानिदो रहेछ ।

म बौद्ध भिक्षुसँग कुरा गरिरहेका बखत एकजना राई अनुहारका व्यक्ति हाम्रा कुरा ध्यान दिएर सुनिरहेका थिए । हाम्रो कुरा सकिनेबित्तिकै उनले मलाई भनेका थिए ः ‘यो हलेसी भन्नु त हाम्रो किरात धर्म तथा मान्यताका आधारमा किरातेश्वर र सुम्निमाको थलो हो । तपाईँ पत्रिकामा छाप्नुहुन्छ होला जस्तो छ, जे पायो त्यही नलेख्नु है । इतिहास मर्छ ।’

यति सुनेपछि मैले उनलाई ‘हलेसीको इतिहासका बारेमा केही बताइदिनुस् न’ भनेर अनुरोध गरेको थिएँ । उनले छेवैको होटलबाट दुईकप चिया मगाए र कुरा सुरु गरेका थिए ः

– म यहाँलाई भनूँ कि चाम्लिङ राईका खलक सिकारी बागवंशी राईले उहिलेकै युगमा सर्वप्रथम यो गुफा पत्ता लगाएका थिए । सिकारी बागवंशी आफ्ना दुई सिकारी भोटे कुकुरको सहायताबाट यो गुफामा आइपुगेका थिए । उनले त्यो गुफामा तिन आँखा भएको मृग फेला पारेका थिए । त्यो समयदेखि नै हाम्रा पुर्खाहरूले किरातेश्वर महादेव र सुम्निमाका रूपमा पूजा गर्दै आएका छन् । हाल पनि हलेसी क्षेत्रमा बसोबास गर्ने प्रमुख बासिन्दा चाम्लिङ राई नै छन् । त्योभन्दा पहिले त यहाँ कोही पुग्न सक्दैनथ्यो । नत्र त कसको पिताम यो घनघोर जङ्गलमा आइपुग्ने र यसपछि सो गुफामा अवस्थित महादेवलाई नित्य पूजा गर्न सिकारी बागवंशी राईले नै ओखलढुङ्गाको बुङनामबाट मनोहर गिरीलाई ल्याएर पूजाको परिपाटी सुरु गरेका थिए । गिरी भनेको सन्यासी तथा शिवभक्त जोगी मानिन्छन् । यसरी मनोहर गिरीलाई पूजारी बनाउँदा राजा रणबहादुर शाहले ताम्रपत्र दिएर महन्त बनाए । गुठी बिर्ता दिए । यो कुरालाई गिर्वाणयुद्धविक्रम शाहको पालामा थप ताम्रपत्र दिएर झन् मजबुत बनाइदिए । हलेसीका गिरीहरू यिनै मनोहर गिरीका सन्तान र दाजुभाइ हुन् । सबै गिरीमा गुठीसम्पत्तिमा बराबर अधिकार रह्यो । महन्तले जग्गाको आम्दानी, कर, कानुनी जरिवाना र मोही (किसान)सँग सित्तैमा काम गराउन पाउने अधिकार थियो । यो सबै आम्दानी महन्तका तजविजमा गिरी परिवारभित्र सीमित थियो । हालसम्म हलेसीको पूजारी महन्त यही गिरी परिवारमा छ ।  

अनि मलाई त्यो गुम्बाको बारेमा खसखस लागिरहेको थियो । अनि मैले उनलाई सोधेको थिएँ   

–अनि यो हलेसी महादेवस्थान गुफाको मुखैमा गुम्बा पो बनेछ, पहिले म आउँदा त थिएन । यो गुम्बा बनाएर हलेसीको प्राकृतिक सुन्दरता घट्यो कि बढ्यो ?

उनी एकछिन घोरिएका थिए । अनि भन्न थालेका थिए ः  

– हलेसीको सुन्दरता त यो गुम्बाले बिगारिदियो नि । के गर्ने पैसाको खेल यस्तै हुँदोरहेछ । यी भिक्षुहरू पहिले पहिले पनि हलेसीमा आउँथे । ध्यान पूजा गर्थे अनि जान्थे । तर २०३७÷३८ सालतिर होला माराटिका लामा नाम गरेका बौद्ध भिक्षु हलेसीमा आएर बस्न थाले । एकदिन ध्यान गरिरहेका बखत हलेसीमा केही जग्गा लिने र मोनाष्ट्री बनाउने सोचे रे उनले । र उनले महन्तसँग हलेसीको माथ्लो गुफामा ध्यान गर्ने गुम्बा बनाउन जग्गा मागेछन् । महन्तले गुफा सफा गर्ने, मूलद्वार बनाउने, पानी सप्लाइ गर्ने, जनावरको सुरक्षा गर्ने र हलेसीलाई सुन्दर बनाउने सर्तमा जग्गा दिएर अनुमति दिएछन् । यो गुम्बाको नाम ‘माराटिका’ राखिएछ । यसपछि लामाले गुफा रहेको ६१ रोपनी जग्गा आफ्ना नाममा दर्ता गरेछन् र आफ्ना चार छोरा र दुई छोरीका नाममा रजिस्ट्रेसन गरिदिए छन् । खोई पैसाको चलखेलले त होला नि, यो कुरा महन्त गिरीले चार महिनापछि मात्र चाल पाएछन् । कानुनी रूपले यो कुरा ढिलो भइसकेको थियो । अनि महन्तले राजा वीरेन्द्रसमक्ष विन्तीपत्र हालेछन् । भिक्षुहरूले पनि प्रमाण पुर्याएर प्रतिवादी हालेछन् । वीरेन्द्र राजाले यो मुद्दा सर्वोच्च अदालतको जिम्मा लगाएछन् । राजाले लगाएको हुनाले सर्वोच्च अदालतले चाँडै निर्णय दिएछ  । जसअनुसार त्यही गुम्बाले चर्चेको १४ आना जग्गा मात्र लामालाई दिएर अरू जग्गा गुठी संस्थान अन्तरगत राखिएछ । यसरी आखिर गुम्बा बनी छाड्यो नि हजुर । स्थानीयले विरोध त गरे नि तर त्यो बेला माओवादीको बोलवाला थियो । गुम्बा बनाउन माओवादीहरूले पनि सहयोग गरे नि हजुर । अनि को बोल्ने !  

यसरी विभिन्न नाममा, आस्थामा, प्रचलनमा हलेसीलाई हिन्दू, किरात र बौद्धको आकार्षणको केन्द्र भएको रहेछ हलेसी । नेपालीहरूको यस्तो मीठो धार्मिक सहिष्णुताप्रति मैले गर्व गरेको थिएँ । हलेसीले प्रदान गरिआएको आकर्षणले विभिन्न धार्मिक सम्प्रदायका पर्यटकलाई मात्र होइन समग्र पर्यटन प्रवर्धन गर्न पर्याप्त छन् । केवल जगेर्ना र प्राकृतिक रूपको रक्षा गर्नु भने वान्छनीय छ ।  

माओवादीको प्रसङ्ग उनले कोट्याएपछि मैले माओवादी द्वन्द्वकालमा हलेसीगुठीबारे केके भयो भनेर सोधेको थिएँ । मेरो प्रश्न सुनेर उनले उत्तर दिएका थिए ः  

–हजुरलाई थाहा छ कि छैन ! द्वन्द्वकालमा हलेसीक्षेत्र माओवादीको प्रभाव कब्जामा थियो । सुरुका दिनमा माओवादीले धार्मिक मामलामा हात हालेनन् । देख्नेभोग्ने हामी नै छौ्रं । तर जब २०६०÷६१ सालमा माओवादीले जनसरकारको गठन गरे, त्यसपछि उनीहरूले सरकारी गुठी समितिलाई हटाएर गुफा समिति बनाए । त्यो गुफा समितिमा ११ राई, २ गिरी, १ दलित, र एक भिक्षु राखिएको थियो । त्यसको अध्यक्ष बागवंशी राईकै सन्तानलाई राखिएको थियो । उनी कांग्रेस समर्थक थिए । यो समितिले हलेसीको पूजारी मनोहर गिरीकै सन्तान गोपाल गिरीकै छोरालाई महन्त नियुक्त गर्यो । पूजारीले हरेक दिन पैसा समितिलाई बुझाउँथ्यो र दुई सय हरेक दिन पारिश्रमिक र दानको ४ प्रतिशत पाउने व्यवस्था गरेका थिए । बाँकी पैसा समितिकै नियन्त्रणमा रहन थाल्यो ।  । माओवादीले हलेसीको परम्परामा थोरै हस्तक्षेप गरेको परिणामले खलवल त भयो, तर महन्तको अत्याचारबाट किसान भने मुक्त भए । महन्तले किसानलाई सात दिन सित्तैमा काममा लगाइरहेका थिए । काम गरेन भने दसैँमा टीका पनि नलगाइदिने अनि तिरेको तिरोको रसिद नदिने गर्दथे । निरङ्कुश थिए महन्त । यो क्षेत्रका मान्छेलाई हलेसीको सम्पत्तिमाथि एकाधिकार पाएको महन्तको हातबाट जनताका हातमा आएको सत्ता राम्रो लागेको थियो । तर पछि माओवादीले नै हलेसीको पैसा झ्वाम पार्न थालेका थिए । माओवादीका विरुद्ध बोल्ने कसैको आँट थिएन । तर माओवादी मूलधारमा आएपछि फेरि पुरानो परम्पराअुनसार गुठी संस्थानको स्वामित्वमा जग्गा छन् र सोको भोगचलन महन्त गिरी परिवारबाटै हुँदै आएको छ । अहिले पनि हलेसी वरिपरिका गुठीका जग्गाहरू महन्तले भोगचलन गरिरहेका छन् । भाडा लगाएर पैसा उठाइरहेका छन् । कसले हेर्ने ? कसले भन्ने ? को बोल्ने ? उनै माओवादी छन्, उनै कांग्रेस छन्, उनै एमाले छन् ! उनै राजावादी छन् ।

हामी गफिदै थियौँ कि हाम्रा तीर्थ टोली आइपुगे । फिर्न हतार भइरहेको थियो । उनलाई विशेष धन्यवाद दिँदै म समूहमा मिसिएको थिएँ । चिया खाएर हाम्रो गाडी हुइँकिएको थियो । म भने सोच्दै थिएँ कि २०३७ सालमा मैले हलेसीको नजिकै अलिकति जग्गा किनेर आश्रम बनाउँछु भनेको थिएँ मामालाई । मामाले भन्नुभएथ्यो ः भाञ्जा, त्यो गहत नउम्रिने प्याङ्खरमा किन पो जग्गा किन्नु पर्यो ! जहिले किन्न खोजे पनि पाइहालिन्छ नि ।’ तर अब हलेसीमा जग्गा किन्ने मेरो पिताम सकिएको थियो । तर मनभने हलेसीकै वरिपरि घुमिरहको छ अझै । किनकिन वैराग्य आउन थालेको छ । जीवन अनित्य छ, मायाजाल हो, कर्कलाको पानी हो भन्ने आहानमा मजा मान्न थालेको छु । फर्कँदा जयराम घाटमा दूधकोसी आफ्नो गतिमा बगिरहेको थियो । घुर्मीमा पनि सुनकोसी सुसाईसुसाई मीठो धून निकाल्दै बगिरेथ्यो । एउटा पानी बग्थ्यो, अर्कोले प्रतिस्थापन गथ्र्यो । धुर्सुलका पातमा धूलो उस्तै थिए । पात झर्थे र अर्को पात पलाउँथे । समग्र धुर्सुल बाँचेकै थियो । चलेकै थियो । हामी पनि हाम्रो जीवनको अर्को लठारोको बन्धनले बाँधिएर फर्कँदै थियौँ । तर हृदयको भित्री पत्र भने खिन्न थियो । किनकि हलेसी दिनदिनै प्राकृतिकबाट व्यस्त शहर बन्दै थियो । तपस्याका ठाउँमा कोलाहलमा रूपान्तरण हुँदै थियो । यस्तै भइरहेथ्यो हलेसी । तर पनि सम्झनाका तप्केनीमा आइरहेछ मेरो हलेसी।  

प्रकाशित: १९ श्रावण २०७७ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App