राजबाबु श्रेष्ठ ‘सागर’
गाउँहरू मासेर मेरा शहर बनाउँछन् उनीहरू ।
बेचेर मेरा नदीहरू नहर बनाउँछन् उनीहरू ।
गाउँका साँढे जति सबैलाईै खसी पारेर यहाँ
कुकुर र स्याललाई बहर बनाउँछन् उनीहरू ।
सम्झनाका दियो कहिल्यै ननिभ्ने घाम रहेछन् ।
मुटुमा बसेपछि कहिल्यै मेट्न नसकिने नाम रहेछन् ।
बाटाघाटाका मन्दिरको के अस्तित्व भयो र हजुर !
मनमन्दिरभित्र बस्ने मान्छे पो सीता र राम रहेछन् ।
मलाई जलाउने आगोले तेरो घमण्ड पनि जलाउँछ ।
भूकम्पले मेरो झुपडी त के तेरो महल पनि ढलाउँछ ।
सावधान ! नथुक कसैले महलबाट मेरो झुपडीलाई
हेर्दै गर ! कोइलाले सुन त के पाषाण पनि गलाउँछ ।
जुन जोगी आए पनि रहेछन् सबै कानै चिरेका ।
कुनै यस्ता प्वाल रहेनछन् जहाँ सर्पहरू नछिरेका ।
बाघको राज्यमा बसी रमाउँदैछन् बाँदरहरू
राख्दैन हिसाब कलमले जन्तुहरूले कर नतिरेका ।
कोहीकोही यहाँ पुस्तकालयमा गीता बेच्छिन् ।
मजबुरीले होला आफ्नै छोरी सीता बेच्छिन् ।
दलित फूलमाया पहिला मन्दिरमा फूल बेच्थिन्
दिएन बेच्न फूल अहिले उनी अस्मिता बेच्छिन् ।
प्रकाशित: १७ श्रावण २०७७ ११:५७ शनिबार