८ वैशाख २०८१ शनिबार
कला

लक्ष्य

शिखा श्रेष्ठ

कक्षा– ९, बाशु स्कुल भक्तपुर ।

एउटा शहरमा एक धनी परिवार बस्दथे । त्यो परिवार एकदम सुखी र दयालु थिए । परिवारमा सोनिका नाम गरेकी एउटी छोरी थिइन् । उनको साथमा आमाबाबु र दाइ थिए । सोनिका स्कुलमा पढ्दथिन् । उनको बाबुआमा ठूला घरानिया व्यापारी थिए । उसको दाइ कलेजमा  कमर्श लिएर पढ्दै थिए ।  सोनिकाको पढाइ त्यति राम्रो थिएन । तर धेरै कमजोर विद्यार्थी पनि थिइनन् । सबै विषयमा उनी राम्रैसँग मेहेनत गरी पढ्थिन् । गणित विषयमा भने उनी कमजोर थिइन् । सोही विषयका कारण उनी कक्षामा सधैं पछि पर्थिन् । गणित विषयमा कमजोर भएकीले परिक्षाफल आउँदा सबै विषयमा राम्रो अङ्क आए पनि गणित विषयमा बिग्रन्थ्यो ।

पढाइमा अलि कमजोर भए पनि उनको अरू क्रियाकलापमा ट्यालेन्ट थिइन् । नाच्न, गाउन र ड्रामामा भाग लिने गर्थिन् । विद्यालयमै उनी सबैभन्दा राम्री पनि थिइन् । उनी विद्यालयको सबै नियम पालना गर्दथिन् । अनुशासनमा बस्दथिन् । विद्यालयमा अनुशासित विद्यार्थीका नाम लिनु परयो भने सोनिकाकै नाम अगाडि आउँथ्यो । उनको समझदारी देखेर विद्यालयका शिक्षकहरू पनि छक्क पर्दथे । उनी विद्यालयकै ज्ञानी विद्यार्थी थिइन् । उनलाई विद्यालयका सबैजना शिक्षक शिक्षिकाले विश्वास गर्नुहुन्थ्यो । विद्यालयका धेरैजसो विद्यार्थीहरू सोनिकालाई साथी बनाएर उनको अनुशासित बानीको अनुशरण गर्थे । सोनिकाले धेरै मेहेनत गर्दथिन् तर गणित विषय उसलाई निकै अप्ठेरो विषय लाग्दथ्यो । त्यसैले उनी राम्रो अंक ल्याएर पनि कक्षामा प्रथम हुन सकेकी थिइनन् ।

उनी विद्यालय पढ्न थालेपछि ६ कक्षासम्म प्रथम भएकी थिइन् । तर ७ कक्षादेखि उनी प्रथम हुन छाडिन् । सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । सोनिकाले पनि सानैमा सोचेको थियो, ऊ कलाकार बन्ने । उनी रूपमा पनि राम्री थिइन् । अन्य क्रियाकलापमा पनि उनी ट्यालेन्ट थिइन् । उनी मिस नेपाल हुँदै मिस वल्र्ड बन्ने सपना सजाउँथिन् । मिस वल्र्डको ताज पहिरेर उनी कालाकारितामा प्रवेश गरेर नायिका बन्न चाहान्थिन् ।

एकदिन उसको बुबाले सानिकालाई बोलाएर भन्नुभयो, ‘म यो शहरको ठूलो विजनेस म्यान । तिमी ठूलो विजनेश म्यानको छोरी । ‘छोरी’ तिमीलाई म विजनेसम्यान बनाउन चाहन्छु तर तिमी गणित विषयमै कमजोर छौं । यसरी त मेरो सपना कसरी पूरा हुन्छ र ! यसरी भएन छोरी ।

सोनिकाले बुबाको कुरा सुनेर रिसाउँदै भनिन्, ‘बाबा, तपाइँलाई कतिपटक भनिसकें, म विजनेश म्यान होइन कलाकार बन्न चाहन्छु भनेर । धेरैजसो सफल नायकनायिका आफ्ना बाबुआमाकै कारण कलाकारितामा छन् । उनीहरूले बाबुआमाको साथ पाएका छन् । तर हजुर भने जहिल्यै विजनेश म्यान बन्न भन्नुहुन्छ । मलाई थाहा छ म गणित विषयमा कमजोर छु । राम्रो पनि गर्न सकिएला । तर मेरो चाहना भने कलाकार बन्नु हो बाबा । र, म अभिनेत्री बनेरै छाड्नेछु ।  मानीसले कुनै पनि लक्ष्य मनबाट लिएको छ भने त्यहाँ अवश्य पुगिन्छ । म कालाकार बन्छु भनेर मैले बच्चैमा प्रण गरेकी छु । त्यसैले मेरो लक्ष्य बदल्न सक्दिनँ बाबा । कुनै पनि हालतमा म कलाकार बनेरै छाड्छु ।’ 

छोरीको कुरा सुनेर सोनिकाको बुबाले रिसाएर भन्नुभयो, ‘तिमी आफ्नो भविष्यको निर्णय गर्ने भइसक्यौं ? बच्चामा तिमीले देखेको सपना कसरी परिपक्व हुन सक्दछ ? तिमीले आँखाले देख्दैमा सबै सपना सुन्दर हुँदैनन् । र त्यहाँ पुग्न धेरै काँडाका बाटाहरू हिंड्नुपर्ने पनि हुनसक्छ । अहिलेसम्म हाम्रो परिवारमा कलाकारिता पेसामा कोही पनि छैनन् । फेरि कलाकारिता पेसा तिमीले सोचेको जस्तो सजिलो विषय हुँदै होइन । ’

बुबाको कुरा पुरा नहुँदै सोनिका बोलिन्, ‘यो क्षेत्रमा आफ्नो कोही परिवारका सदस्य छैनन् भनेर अब मैले पनि आफ्नो लक्ष्य बदल्नु ? के आफ्नो परिवारले गरेकै काम मात्र आफ्नो सन्ततीले गर्नुपर्ने हो ? केही फरक त गर्न पाउनुपर्छ नि । आफ्नो जीवनको लक्ष्य आफैले लिनुपर्छ । अरूको लक्ष्यमा हिंडेर गन्तव्यमा पुग्न सकिन्न । अरूको लक्ष्यमा हिंड्दा त्यो त अरूलेको लक्ष्यअनुसार चलेको ठहरिन्छ । कुनै पनि मानिसको लक्ष्य भनेको आफैले बनाउनुपर्छ । तब मात्र गन्तव्यमा पुग्न सकिन्छ । आफ्नो भविष्य आफै बनाउनुपर्छ । कलाकारिता पेसाका लागि ममा के कमी छ र बाबा ? म नाच्न जान्छु । राम्री पनि छु । गाउन, पढ्न अभिनय गर्न सकिहाल्छु । अझै म त सम्पन्न बाबु आमाको छोरी हुँ । म मेहेनत गर्छु ।  मेहेनत गरेपछि सबैको साथ पाएँ भने म एउटी सफल कलाकार बन्न सक्छु भन्ने आत्मविश्वास छ मसँग ।

बाबुले भन्नुभयो, ‘तिमी किन कलाकारिता गर्न चाहान्छौं भन त ? त्यहाँबाट कमाउनेभन्दा बढी कमाइ हाम्रै विजनेसबाट हुन्छ । बरू मेरै विजनेस सम्हाल ।

बुबाको कुरा सु्नेर सोनिकालाई रिस उठ्यो । तर उनले संयमपूर्ण भएर बुबालाई भनिन्, ‘बुबा हजुरको विजनेस दादाले पनि सम्हाल्नुहुन्छ । उहाँ आफै कर्मस पढ्दै हुनुहुन्छ । यदि दादाले मात्र सम्हाल्न नसके म पनि फुर्सदको मद्दत गर्नेनैछु । अनि रह्यो पैसा कमाउने कुरा । मैले धेरै पैसा कमाउने रहरले कलाकार बन्न खोजेको होइन । कलाकारले आम मानिसमा चलचित्रबाट चेतना फैलाउने काम गर्दछ । मानिसलाई मनोरञ्जन पनि दिलाउँछ ।  म चाहन्छु, सबै मानिसले मेरो कर्मलाई चिनून् । मलाई चिनून् र मैले मुलुक र मु्लुकबाहिर विश्वकै मानीसलाई केही न केही नयाँ कुरा कलाकारिताबाट दिन सकुँ ।  

सोनिकाको बुबा व्यापार व्यवसायमा मात्र विश्वास राख्दथे । छोरीको कलाकार बन्ने चाहना उहाँलाई मन परेको थिएन ।  त्यसैले सोनिका बुबा उनलाई साथ दिन मन्जुर भएनन् । सोनिकालाई प्रोत्साहन गर्ने घरमा कोही भएनन् । उनी आफ्नो चाहना र लक्ष्यको बारे सोच्दासोच्दै आफूले आफैलाई कमजोर महसुस गर्न थालेकी थिइन् । साथीहरूलाई मनको कुरा सुनाउँदा पनि उनलाई विश्वास गदैनथ्यो । ‘खूबै बन्छेस् कलाकार ? कलाकार हुन केके चाहिन्छ थाहा छ ? भन्दै उल्टै होच्याएर बोल्दथे । यो देखेर सोनिका निराश हुँदै गइन् । सोनिका एक्लै बस्दा पनि बर्बराउन थालिन्, ‘मलाई परिवारले पनि साथ दिएन । साथीहरू पनि होच्याएर मात्रै बोल्छन् ।’ उनले मनमनै संकल्प गरिन्, ‘म जति टुट्छु त्यति हिम्मत बढाउँदै अगाडि बढ्दै जान्छ् । जसले जे भनुन् म हिम्मत हार्दिनँ । उ एक्लै रुँदै कसैले साथ नदिए पनि कलाकार बनिछाड्ने संकल्प लियो ।  

एकदिन विद्यालयमा नेपाली टिचरले आआफ्नो लक्ष्य लेखेर सुनाउन भन्नुभयो । सोनिकाले पनि अरू साथीहरूले जस्तै आफ्नो लक्ष्यबारे लेखिन् । विद्यार्थीहरूले आफ्नो लक्ष्य पालैपालो उठेर सुनाए । सोनिकाको पालो आयो । उनले पनि आफ्नो लक्ष्यमा मिस वल्र्ड र नायिका बन्ने लक्ष्य सुनाइन् । कक्षाका सबै विद्यार्थीहरू गललल हाँस्न थाले । सोनिका आफ्नो सीटमा बसे । अरू विद्यार्थीहरूले आफ्नो लक्ष्य सुनाउँदै थिए । सोनिकाको भने आँखाबाट आँसु बग्न थालेको थियो । कक्षा सकिएपछि सबैजना हुरुरु कक्षा बाहिर निस्किए । सोनिका भने कक्षाकोठामा बसेर रोइरहिन् ।

उसले सोच्यो, ‘हत्तेरी, म किन रोइरहेकी ? यो मेरो लक्ष्य सुनेर हाँस्नेहरूको लक्ष्य होइन । यो त मेरो लक्ष्य हो । मेरो लक्ष्यमा उनीहरू हिंड्ने होइन । उनीहरू पुग्ने होइन । म आफै पुग्ने हो । मलाई मेरो लक्ष्यमा पुग्न कसैले रोक्न सक्ने छैन । अहिले मलाई साथ नदिएर के भो ? म लक्ष्यमा पुगेपछि मेरो लक्ष्य सुनेर हाँस्नेहरूलाई नै मेरो आवश्यक्ता पर्नेछ । सोनिकाले आफ्नो मन बुझायो ।

सोनिकाले कक्षा १० पनि उत्तीर्ण गरिन् । प्लसटु समाइन् । स्नातक गरिन् । उनी मिस नेपालको अडिसनमा भाग लिइन् । सबैलाई उछिनेर प्रथम भइन् । मिस नेपालमा प्रथम भएपछि उनलाई विज्ञापन र म्युजिक भिडियोमा मोडलिङको अफर आयो । चलचित्रहरूमा अभिनयको अफर आयो । सोनिका चलचित्र क्षेत्रमा भ्याइनभ्याई काम गर्न थालिन् । उनलाई मुलुकभित्र र मुलुक बाहिरका मानिसहरूले चिन्न थाले । सोही अवधिमा मिस वल्र्ड आयोजना हुने भयो । उनी आफ्नो देशको तर्फबाट मिस वल्र्डको अडिसनमा भाग लिइन् । थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै उनी छानिएर गइन् । अन्ततः उनले मिस वल्र्डको उपाधि पनि जितिन् ।

 उनलाई विश्वले चिन्न थाल्यो । मिसवल्र्ड जितेपछि उनले स्वदेश फर्कनासाथ आफ्ना परिवारसहित विद्यालय जीवनमा आफ्नो लक्ष्य सुनेर हाँसेका सबै सहपाठीलाई डाकेर ठूलो पार्टी दिइन् । उनले लक्ष्यमा पुग्न हिम्मत गरेर अगाडि बढ्यो भने सबैजना लक्ष्यमा पुग्ने बताइन् । उनले पार्टी टाइममै आफ्नो कुरा राखिन् । विगतका संघर्षका कुरा गरिन् । यो सुनेका उनका विद्यालय जीवनमा कक्षामा सोनिकाको लक्ष्य सुनेर हाँस्नेहरू पछुताए र सोनिकासँग माफी मागे । सोनिकाको बुबाले पनि छोरीलाई लक्ष्यमा पुग्न सफल भएको धन्यवाद दिइन् ।

मिस वल्र्ड बनेपछि सोनिकालाई हलिवुड बलिुवुड सिनेमाहरूमा खेल्न अफर आयो  । उनी केही समय हलिवुड र बलिवुड सिनेमामा आफ्नो प्रभाव जमाएर स्वदेशमै फर्कैर नेपाली चलचित्र र कलाकारमा लगानी गरेर समय दिन थालिन् । नेपाली चलचित्र उद्योग नयाँ शिराबाट अगाडि बढ्यो । सोनिकालाई सबैले घरपरिवारका सदस्यले जसरी माया गर्न थाले । उनले आफ्नै देशमा कलाकारिता गर्न थालिन् । नयाँ पुस्ताका  लागि सोनिका पाठ बनिन् ।  

प्रकाशित: १७ श्रावण २०७७ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App