१९ श्रावण २०७७ सोमबार
कला

पाँच दशकपछि उदाएको ‘मेरो बिहानी’

बिनोद पोख्रेलको कविता संग्रह मेरो विहानीको बिमोचन गरिँदै ।

झण्डै साढे ५ दशक अघिदेखि कविता कोरिएका कैयन ‘पाना’ च्यातिए । कैयन डायरीहरु हराए । कविताका माध्यमबाट डायरीका पानामा कोरिएको त्यो बेलाको जीवन भोगाई अक्षरमा जीवित हुँदो हो त, बिनोद पोख्रेल साढे पाँच दशक अघिको जीवन भोगाईका क्षणहरुमा अन्तरघुलन भैरहेका हुन्थे । ‘कैयन पाना र डायरीमा कोरिएका अक्षरहरु हराए,’ उनि भन्छन् ‘ति अक्षर आज मेटिन्थेनन् भने म त्यो बेलाको जीवन भोगाई अक्षरमा भेटिरहन्थेँ ।’ ति अक्षर गुम्नुको पीडा भाव उनिभित्र कतै न कतै लुकेकै छ । उनले भने ‘ हराएका ति डायरी र पानाले धेरै पीडा बोध हुन्छ ।’  

९ कक्षामा अध्ययनरत रहेकै बेलादेखि कविता लेखनमा चाख राखेका उनले कविता लेखे तर अधिकांश हराए । कवितामा जीवन भोगाईका अक्षरहरु कुँद्ने उनको साढे पाँच दशकपछि बल्ल साहित्यीक ‘बिहानी’ उज्यालियो । ‘मेरो विहानी’ नामक कविता संग्रहको बिमोचन गरेर उनले साढे पाँच दशक अघिदेखिको कविता लेखनको मोहलाई औपचारिक रुपमा उजागर गरेका छन् । 

‘मैले कविता लेखेँ, कति हराए, कति पत्रिकाहरुमा छापिए,’ घोराही उपमहानगरपालिका वडा नम्बर १८ का बिनोद पोख्रेलले भने, ‘तर पहिलो कृति मेरो विहानी साहित्यीक क्षेत्रमा मेरो पहिलो कोशेली हो ।’ बिनोदले आफ्नो कविता संग्रहमा जीवन भोगाईलाई समेटेका छन् । ‘निराशावादी, या उत्साहप्रद विषय भन्दा पनि मैले जीवन भोगाई नै मेरो कविताको मसला रहँदै आए,’ उनले भने ‘यो कृतिमा पनि मैले त्यहि विषयलाई कविताका माध्यमबाट प्रष्फूटन गरेको छु ।’

२०२४ सालताका बिनोदका दुई समकक्षीहरु नित्यानन्द शर्मा, भेषराज पौडेल पनि साहित्यीक क्षेत्रका उत्तिकै ‘फ्यान’ थिए । उनीहरु कविता कोर्थे, अनि वाचन गरेर एक अर्कालाई सुनाउँथे । त्यहि बेला विनोदको सरस्वतीका बारेमा लेखिएको पहिलो कविता एक साहित्यीक पत्रिकामा प्रकाशन भएको थियो । उच्च शिक्षा अध्ययनका लागि भारतको बनारस हानिएका बिनोदले भारत पुगेर पनि कविता लेखनको ईच्छाले मेटाउन सकेनन् । उनले स्मरण गरे ‘बनारस गएको बेला मैले केही अंग्रेजी कविताहरु पनि लेखेको थिएँ ।’ अध्ययन पुरा गरेर विनोद जिल्ला फर्कँदा साहित्यीक माहोल बनिसकेको थियो । 

राप्ती साहित्य परिषद नामक संस्था निर्माण गरेर सबै साहित्यकारहरु गोलबद्ध हुने चर्चा बाक्लिएको थियो । प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले प्रस्ताव गरे ‘राप्ती साहित्य परिषष्द नामक संस्था खोलौँ ।’ उक्त संस्थाको विधान मस्यौदा समितिको संयोजकको भूमिकामा उनै बिनोद रहे । ‘राप्ती साहित्य परिषदको जन्मदाता मध्यको एक म पनि हुँ,’ बिनोदले भने, ‘म त्यो बेला विधान समितिको संयोजक थिएँ ।’ पञ्चायतकालको त्यो बेला साहित्यका माध्यमबाट तत्कालीन शासन व्यवस्थाको बिरोध भए नभएको कडाईका साथ हेरिन्थ्यो । उनले सम्झीए ‘हाम्रा कैयन कविताहरु खोसिन्थे ।’

०४६ पछि राप्ती साहित्य परिषदमा एकधारको नेतृत्वकर्ताका रुपमा बिनोद उभिए । उनले नेतृत्व गरेको धार थियो ‘प्रजातान्त्रिक बिचार ।’ साहित्यसंगै बिनोदलाई अर्को जिम्मेवारी थियो पत्रकारिता । त्यो बेला प्रकाशन भएको जय नेपाल नामक साप्ताहिक पत्रिकाको सम्पादकीय लेखनको जिम्मेवारीमा थिए बिनोद । त्यो बेला सम्पादकीय लेख्ने मध्यका सीमित मध्यका एक लेखक थिए बिनोद । 

आफ्ना छोरा नेपाल पत्रकार महासंघका हालका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेललाई सम्पादकीय लेखनको ज्ञान बाँडेका थिए बिनोदले । ‘अनि बिपुलहरु पत्रकारिताको एक धारको नेतृत्व गर्न सक्षम भएपछि मैले सम्पादकीय लेखनको जिम्मेवारी पनि उनीहरुलाई नै दिएँ’ विनोद सम्झन्छन् । बिनोद शिक्षक पनि थिए ।  पत्रकारिता, शिक्षण पेशामा रहेका बिनोदले त्यो बेला कविता लेखनलाई त्यति समय दिन भने पाएनन् । ‘प्रत्यक हप्ता सम्पादकीय र एउटा लेख लेख्नु पर्ने जिम्मेवारी मलाई थियो,’ बिनोदले भने, ‘पत्रकारिता क्षेत्रमा निर्वाह गर्नु परेको यो भूमिकाले मलाई कविता लेखनमा टाढा बनाई दियो ।’  

साहित्यीक क्षेत्रको एक धारको नेतृत्व गरेका मध्य विनोदले आफ्नो धारका साहित्यकारहरुको छुट्टै संगठन निर्माण गर्ने योजना बुने । यो योजना निर्माणका उनका समकक्षी थिए राजनीतिज्ञ तथा साहित्यकार बलदेव शर्मा मजगैयाँ । लेखक संघ नामक अर्को साहित्यीक संस्थाको निर्माण गरेका उनीहरु यो संस्थाको सल्लाहकारको भूमिकामा रहे । ‘हामीहरु नेतृत्वमा नबस्ने तर हाम्रो धारको छुट्टै संगठन निर्माण गरौँ भनेर बलदव जी र मेरो सल्लाह भयो,’ उनले भने ‘अनि शंकर गौतम जीलाई लेखकसंघको अध्यक्ष बनायौँ र हामीहरु सल्लाहकारमा बस्यौँ ।’ लेखकसंघको जन्मदाता विनोद, बलदेव, शंकरहरुले साहित्यीक कार्यक्रमहरु आयोजना गर्थे, अनि कविता आँफै लेख्थे वाचन गर्थे । 

विस्तारै पछिल्लो पुस्ता कविता लेखनका क्षेत्रमा उदाउन थाल्यो । अनि साहित्यीक मञ्चन कार्यक्रमहरु पछिल्लो पुस्ताको कविता, लेखरचना बाचनमा केन्द्रित हुन थाल्यो । विनोदहरु निर्णायक बनेर रचना सुनिरहन्थे । एउटा साहित्यीक संसथा खडा गरेर जिल्लाको साहित्यका क्षेत्रका एक मियो बनेका विनोद आँफू कविता लेखनदेखि केहि टाढा बन्दै थिए । तर ०७२ देखि उनको नियमित कर्म बन्न थाल्यो लेखन । 

हरेक बिहानको कलमको टुप्पोले समसामयिक लेख तथा कविताहरु कोर्न थाल्यो । ‘म मोबाईलमा बढि नै व्यस्त हुन थालेँ, तर मलाई यसले समयको बर्बादी गरिरहेको जस्तो लाग्यो,’ उनले भने ‘अनि म दैनिक विहान लेखनमा जुट्न थालेँ, मैले प्रत्यक दिन केहि न केहि लेख्नु पर्छ भन्ने मासिकता बनाएँ र लेख कविता फेरी जन्मन थाले ।’  

तर यो बेला विनोदले कविता कोरिएन पानाहरु च्यातिन दिएनन् नत हराउन दिए डायरी । यो बीचमा जन्मीएका एक सय बढि कविता मध्य ४० वटा कविता उनको ‘मेरो विहानी’ बनेर कृतिमा समेटिएर उदाए । पहिलो कृति मार्फत जीवन भोगाईलाई उजागर गरेका बिनोदले जीवन भोगाई र कविता बीचको पारस्परिक सम्बन्धलाई टिकाई राख्नेमा प्रतिवद्ध छन् । उनि भन्छन् ‘कविता र मेरो जीवन भोगाईको पाँच दशक लामो अन्योन्याश्रित सम्बन्ध अब यसैगरि अगाडी बढ्ने छ ।’

प्रकाशित: १७ श्रावण २०७७ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App