२० श्रावण २०७७ मंगलबार
कला

मट्ठु

कथा

खेमराज पोखरेल

म सम्झिरहेको छु त्यो निकै वर्षअघिको दिन । ती दिनमा म बाबाजी भएर घुमन्ते जीवन यापन गर्दै थिएँ ।  

म बाबाजी बन्नुमा पनि एउटा कथा थियो । एउटा व्यथा थियो ।कुरा के भने त्यो वर्ष मैले इतिहासमा एमए सकेको थिएँ । दीक्षान्त समारोहमा विश्वविद्यालयको गाउन लाएर फोटो खिचेपछि हर्षित हुँदै चुलिएको जोस बोकेर घर पुगेको थिएँ । गाउन लगाएको फोटो भित्तामा जतनले टाँगेको थिएँ । स्वाभाविक थियो, घरमा खुसियाली छाएको थियो । म मनमनै घागडान र घनघोर वर्षिरहेको थिएँ । साथीहरूका बधाईहरू आएका आयै थिए । तिनले मेरो वर्षाइमा थप ऊर्जा दिँदै थिए । मेरा ऊर्जाभित्र म, परिवार, आफन्त र देश थिए । म यसरी मनमनै वर्षिँदै थिएँ कि धुरीदेखि छरपस्ट बलेँसीमा ओइरिँदै थिएँ । मलाई लागिरहेथ्यो कि मेरा वर्षाइले सारा परिवेश सिञ्चित हुनेछ । देश सिञ्चित हुनेछ ।  

फुर्किएकै तालमा म चिया दोकानमा पुगेको थिएँ । पल्लो टेबुलकोचिया–गफमा इतिहास मिसिएको थियो । एकजनाले इतिहास तथा इतिहासकारबारे कडा अभिमत राखेका थिए ः  

– इतिहास भनेको जित्नेको लेखिने हो बुझिस् । ‘वीरभोग्या वसुन्धरा’ भनिएकै छ नाथु । इतिहासकारले यत्रो लेख्छन् हार्नेको इतिहास ! यी पनि जता मल्खु उतै ढल्कु हुन् । खोई जनताको इतिहास लेखेका यी भातेले । राजा छउञ्जेल राजाको, राजापछि पार्टीकै तलुवा चाट्दै ठिक्क छ यी विद्वान भन्ने इतिहासकारलाई पनि । अनि यत्रो इतिहास लेखिन्छ !

यो भनाइले मेरो मर्ममा प्रहार गरेथ्यो । मैले यसो तत्काल गमेँथेँ, मैले त जितेकाको इतिहास मात्र पढेको रहेछु । मलाई एकदम रनाहा लागेर आएको थियो । यही रन्कामा सुतेको थिएँ । सपना देख्न थालेंछु । सपनामा होइन, तन्द्रामा रहेँछु । होइन होइन सपना र तन्द्राको बीचमा रहेछु । एउटा ठूलो हूल नेपाली आफ्ना विशेष पोसाकमा आएका थिए । तिनीहरू सबैले एकैपल्ट मेरा कानको जाली फुट्ने गरी कराएका थिए ः

– इतिहासकार हुँ भन्छस्, खोई मेरो इतिहास ! खोई मेरो पहिचान !

तरङ्ङ भएर बिउँझिएको थिएँ । खलखल पसीना आएको थियो । ऐंठन भएझैँ भएको थियो । शरीर लल्याकलुलुक भएको थियो । करुवाबाट ठाडो घाँटी लगाएर पानी घुट्क्याएपछि बल्ल अलि सास आएको थियो ।

त्यसैले म इतिहास लेख्नका लागि कम्मर कसेर लागेको थिएँ । हतुवागढीदेखि सिम्रोनगढसम्म, लिम्पियाधुरादेखि मिचिएको मेचीसम्म चाहारें । खसदेखि शाहसम्म, बाइसेदेखि चौबीसेसम्म, सिंहदेखि सेनसम्म, मल्लदेखि चल्लसम्म, लिग्लिगकोटदेखि निग्लिहवासम्म, धुरकोटदेखि फुरकोटसम्म पत्ता चाहारें । मग्राँतदेखि लिम्बुवानसम्म पनि पुगें । काङ्गडादेखि तिष्ठासम्म पुगेँ । बानरदेखि अहिलेसम्मका आदिवासीमा पनि पुगें । यलम्बरदेखि जालन्धरसम्मको नालीबेली ल्याएँ ।

खोजें नि खोज्नसम्म । भारतबाट आएकाको पहिचान गरें र तिनीहरूको पुस्ता केलाइदिएँ । तिब्बतबाट आएकाको पहिचान पनि गरें । पुस्ता पनि केलाइदिएँ । सबैको दूधको दूध पानीको पानी छुट्याएँ । खेस्रामै थियो मैले लेखेको इतिहास । भारत तथा तिब्बतबाट आएका भनिएका समुदाय आएर मलाई घुस दिन थाले र भने, ‘हामीलाई आदिवासी बनाइदिनु ।’

देशहरू पैसाको बिटो बोकेर आए र मलाई आआफ्नो अनुकूलको इतिहास लेखिदिन किन्न खोजे । मैले मानिनँ । अनि तिनले मलाई भने, ‘हेरिराख, तेरो इतिहास लेखन सफल हुन दिन्नौँ । विद्रोह गराइदिन्छौँ ।  

मैले उनीहरूको कुरा पत्याइनँ । इतिहासको पुस्तक लेखिछाडेँ । प्रकाशन गरिछाडेँ । तर अचम्म भयो, मैले लेखेको इतिहासमा नेपालीले न्वारानदेखिको वल निकालेर घोर विरोध गरे । देशभरि कोकोहोलो मच्चियो । चोकचोकमा मैले लेखेका इतिहासका प्रतिहरू झ्याससरि जलाइए । अलगअलग ठाउँबाट मैले लेखेको इतिहासका विरुद्ध विभिन्न समूहहरू नारा लगाउन थाले ।  

– त्यो काङ्ग्रेसको इतिहास हो, हाम्रो होइन । त्यो कम्युनिष्टको इतिहास हो, हाम्रो होइन । त्यो राजावादीको इतिहास हो, हाम्रो होइन । त्यो मधिसेको इतिहास हो, हाम्रो होइन । त्यो पहाडेको इतिहास हो, हाम्रो होइन । त्यो जनजातिको इतिहास हो, हाम्रो होइन । त्यो शासकको इतिहास हो, हाम्रो होइन । त्यो हिन्दूको इतिहास हो, हाम्रो होइन । त्यो मुसलमानको इतिहास हो, हाम्रो होइन । त्यो पुरुषको इतिहास हो, हाम्रो होइन । त्यो महिलाको इतिहास हो, हाम्रो होइन । त्यो दलितको इतिहास हो, हाम्रो होइन । त्यो अभिजात्य वर्गको इतिहास हो, हाम्रोे होइन ।  

अनि सबैले अलगअलग तर सार्वजनिक रूपमै मलाई भने, ‘त्यो इतिहासकार दोग्ला हो ! बिकाउ हो !! गद्दार हो !!!’

मैले लेखेका इतिहासका पुस्तकको डढेलोमा नेपाली भनिनेहरू खूब रमाएका थिए । मेरो विद्वता, पैसा र परिश्रम शतप्रतिशत खेर गएको थियो । अनि मैले बल्ल बुझेको थिएँ कि नेपाली भनिएका काङ्ग्रेसहरू नेपाली होइन रहेछन् । नेपाली भनिएका कम्युनिष्टहरू नेपाली होइन रहेछन् । नेपाली भनिएका राजावादीहरू नेपाली होइन रहेछन् । नेपाली भनिएका मधिसेहरू नेपाली होइन रहेछन् । नेपाली भनिएका पहाडेहरू नेपाली होइन रहेछन् । नेपाली भनिएका जनजाति नेपाली होइन रहेछन् । नेपाली भनिएका शासक नेपाली होइन रहेछन् । नेपाली भनिएका हिन्दू नेपाली होइन रहेछन् । नेपाली भनिएका मुसलमान नेपाली होइन रहेछन् । नेपाली भनिएका दलित नेपाली होइन रहेछन् । नेपाली भनिएका अभिजात्य नेपाली होइन रहेछन् । न महिला नेपाली रहेछन् न पुरुष नेपाली रहेछन् ।  

अनि इतिहासै पढेर नेपालीको इतिहास लेख्न नसकेकोमा भाउन्न भएर आएको थियो । हेरोडोटसदेखि वर्तमानकालसम्मका इतिहास लेखनका सिद्धान्त नेपालमा आइपुग्दा असफल भइसकेका थिए । इतिहासकार बेकार भइसकेका थिए । अनि यस्तो वैराग्य चल्यो कि आफ्नो सबै पहिचान मेटेर गेरुवस्त्र लगाएर चिम्टा र कमण्डलु बोकेर आफैँ स्वामी इतिहासानन्द नाम राखेर घर छोडेर हिडेँ । सक्कली स्वामी बन्न नेपालीको साटो हिन्दी बोल्न थालेँ । वृद्धलाई पनि ‘बच्चा’ भन्न थालेँ । बालिकालाई पनि ‘माई’ भन्न थालेँ ।  

हिँड्दाहिँड्दा म सप्तरीको हनुमाननगर पुगेको थिएँ । त्यहाँ थाहा पाएँ कि कोसीको नदीले बनाएको टप्पुमा एउटा गोबरगाडा भन्ने गाउँ छ । गाउँ सानो तर सुन्दर छ । त्यसैले म डुङ्गामा चढेर गोबरगाडा पुगेको थिएँ । रात परिसकेको थियो । थकाइले चुर भएको थिएँ । बास बस्नु थियो । एउटा सानो झुपडीमा एकजोडी देखिए । साथमा एउटा १२ वर्षेजस्तो देखिने जुँघाको रेखी बस्दै गरेको केटो पनि थियो । मैले ‘ठहरने के लिए जगह दो बच्चा’ भनेको त उनी बम्किए ः  

‘सार तोरा हम बच्चा छिए ?तोरा कथिल्या चाहि ठहरनेका जगह ? जो न अपन देशमे, दोग्ला कहीँ के ।

मैले हतार हतार भनेको थिएँ –  म पनि नेपाली हुँ नि ।  

अनि उनले भनेथे – आहाँ कथिल्या नेपाली मे नही बाज्लिए ?

मैले जवाफ दिएको थिएँ –सकली बाबाजी हुन् । अनि तपाईँले पनि त नेपाली बोल्नुभएको छैन नि !

उनले जवाफ दिएथे – हम नेपाली बुझैछिए । प्रस्ट बाजैला कनि मुस्किल हैछे । हमर भाषा मैथिली छिए । आहाँ के मालुम हेते कि मैथिली भाषा नेपालके जनकपुरमे जन्मल छिए ।  

त्यसपछि उनले बल्ल मलाई बस्न दिए । मैले उनको घरलाई नियालेर हेरेको थिएँ । कर्चीका टाटीमा गोबरमाटाले लिपेको घर थियो त्यो । घरको भित्तामा भरुवा बन्दुक, भाला, तरवार अदि टाँगिएका थिए । छानो फुसको थियो । छानाबाट कतैकतै कोराबत्ती देखिन्थे । एउटा ग्वाली थियो । ग्वालीमा एकजोर गोरु एउटा गाई र एउटा कोरली बाँधिएको थियो । त्यही ग्वालीको छेउमा एउटा कोठा बनाइएको थियो । यो पाहुना घर थियो । त्यही पाहुना घरमा म बसेको थिएँ । एउटा भान्साघर पनि थियो । लाल्टिनको उज्यालोमा ओसारीमा बसाएर खान दिए । आरामसँग सुत्न दिए । विभिन्न तरुवाभरुवाका स्वादिष्ट खानेकुरा ख्वाएर आतीथ्य सत्कार गरे । त्यो मिथिला सभ्यताको सत्कार थियो । त्यो सत्कार दिल र हृदयबाट आएको थियो ।

दर्के पानी परिरहेको थियो । पाहुना घरमा उनी मेरो हालखबर सोद्धै थिए । म उनलाई सोद्धै थिएँ । मैले कुराको सुरुवात गरेको थिएँ ः

– तपाईँको नाम के हो ? उनले जवाफ दिएथे, ‘मिठाराम ज्यादव’ । फेरि सोधेँथें, ‘तपाईँ काङ्ग्रेस हो ?’ उनको उत्तर थियो ‘नइँ’ । अनि मैले लगातार प्रश्नहरू सोधिरहें, ‘तपाईँ कम्युनिष्ट हो ?, तपाईँ राजावादी हो ?, तपाईँ मधिसे  हो ?, तपाईँ पहाडे हो ?तपाईँ जनजाति हो ?, तपाईँ शासक जात हो ?, तपाईँ हिन्दू हो ?, तपाईँ मुसलमान हो ?, तपाईँ दलित हो ?, तपाईँ अभिजात्य वर्ग हो ? मेरा यी सबै प्रश्नमा उनले ‘नइँ’ उत्तर दिएथे । अनि मैले फेरि सोधेको थिएँ ः त्यसो भए तपाईँ को हो त ?

उनले शिर ठाडो पारेर जवाफ दिएथे– हम नेपालीछिए।

नेपालभरि एउटै नेपाली नभेटेर बाबाजी बनेको मलाई निकै अचम्म लागिरहेको थियो ।  

त्यसकारण मैले उनको कायाकैरन सोध्न थालेको थिएँ ।  

उनले मलाई सोधेका थिए ःकि कर्बे हमर इतिहास !

मैले उत्तर दिएको थिएँ ः तपार्इँको इतिहास सक्कली नेपालीको इतिहास हो ।  

– झुट नहीँ बाजु । अखैनतक कतेक एले, कतेक गेले । पुछताछ करलके । फुक्र्या देल्के । फोटो घिच्या लेल्के । आ चैल गेले । हमरा जेहेनाके तेहिना । सार दोग्लासब !

–पत्याउनुस् न म इतिहासकार हुँ । म तपाईँको इतिहास लेख्छु ।  

–यौ बाबाजी, फेन दोग्ला बात ?

– सतोसत होइन, म सक्कली नेपालीको सक्कली इतिहास लेख्छु ।

– यी पिलर देखैछिए ? ओकरा कसम कहु त !

– धरोधर्म म त्यही पिलरको कसम खाएर भन्छु कि म तपाईँको इतिहास लेख्छु र यसरी उनी आफ्नो बारेमा बताउन राजी भएका थिए । मैले सोघ्दै गएको थिएँ ः

–तपाईँका पुर्खा कहिलेदेखि यो ठाउँमा बसेका हुन् ? कहाँबाट आएका हुन् ?

–यौ बाबाजी, हम्रा नइँ मालुम । दादा कहने छेथहिन् कि परदादा के परदादा अतै छेलै ।  

– सुगौली सन्धी थाहा छ तपाईँलाई ?

– नइँ, कि छिए ऊ ?

–व्यवस्था कतिपल्ट फेरिए, थाहा छ ?

– नइँ, हमरा कि मतलब ओइ से !

–सरकार कतिपल्ट फेरिए, थाहा छ ?

– मालुम नै छे ! मालुम क्याके कि कर्बे !

–कोको राजा भए, थाहा छ ?

– कि कर्बे यौ बाबाजी मालुम क्याके !

–को को प्रधानमन्त्री भए, थाहा छ ?

– कि कर्बे यी बात जान के !खाइला नही न देते ।

–काठमाडौं पुग्नुभएको छ ?

– नइँ ।

– काठमाडौं किन नगएको त ?

–अपन खेत–खलिहान यतौका दसगजा से सटल्छे । कि कर्बे काठमाडौं जाके !  

– तपार्इँको जन्म यही भएको हो ?

– एतै भेले न । सुरुवेसे यहा नेपाल लिख्लहा पिलर देख्लिए । यहाँ पिलरके मटिटमे कुस्ती भिड्लिए । तब न यी मट्टी अपन लगैछे ।  

–कति पढ्नुभएको छ ?

– औंठाछाप । यौ बाबाजी, एते कतौ छेले स्कुल, से पढैला जेबे !

– तपाईँ नेपाली भएको नागरिकताको प्रमाणपत्र छ ?

– छे न ! टोलीयाल्रहे । ढौवा ल्याके बन्यादेल्के । बाबु, दादाके समयमे कहाँ रहे यी नागरिकता÷फाँगरिकता ! और कोही आदमी हमरा नेपाली कहु न कहु, यी ‘नेपाल’ लिखलाहा पिलर हमर प्रमाण पत्र छिए ।  

–सरकारका बारेमा थाहा छ ?

– सरकार छे न काठमाडौँ मे । सुनल्छिए । देखलनैछिए । सरकार कहाँ आवैछे, गरिब के झोपडी मे !

–आफ्ना पुर्खाहरूलाई सम्झनुहुन्छ ?

–याद आवैछे न ! हमर दादा कहैछेले कि उसपार से आएल दुस्मनसब हुनकर दादाके वह्या ‘नेपाल’ लिखलाहा पिलरमे सटा के मार देल्के । हमर बाबुओ कहल्छेले कि ओइ पारसे आयल दरोगा ने हमर दादाजी के खतम क्या देल्के । दरोगासब हमर खेतमे पिलर घुस्काकेलेल खोदै छेले । दादाजी नही देल्के तब बन्दुकके नोखसे हमर दादाके मार देल्के । आ दोसर बेर हमर आँख के सामने वह्या पिलर के खातिर दरोगा ने हमर बाबुजीको ओइपार ल्याजाके मार देल्के । 

यसो भनिरहँदा उनका आँखा रसाएका थिए । अनि उनले आफ्नो छोरालाई देखाउँदै भनेका थिएः

– अब कोनो एक दिन वो सब हमरो मारदेते तब हमर बेटा वह्या ‘नेपाल’ लिखलाहा पिलरके सुरक्षा करते । यही तरिकासे जबतक हमरा सबके जि मे रगत छे, हमसब लडैछिए । सब गोडे मैर गेलिए त खिसा खत्तम । तब गोबरगाडा खतम ।

–सरकारसँग उजुर गरेको छैन ?

– कि करबे उजुर क्या के । कहैछे, ऊ अपने गरिब छे । लोग कहैछे कि नेता सबटा चोर छिए । वही ल्याके देश आ सरकारसे कुछो नै मागै छिए । स्कुल नही माग्ने छिए । रस्ता नही माग्ने छिए । बाढ आबैछे, तैयो बान नै माग्ने छिए । जागिर नै माग्ने छिए । विकास नै माग्ने छिए । कुछो त नै माग्ने छिए । यहा ‘नेपाल’ लिखलाहा पिलर छे । ओकर बगलमे हमर खेत छे । जितेजी ओकरा अते आवैला नही देबे । बस अतैक बात छे ।  

– मान्छेहरूले तपाईँहरूलाई बसाइँ सर्न भन्दैनन् ?

– कहैछे न । पढल–लिखल आदमी गाँवसे छोटका बजार, छोटका बजारसे बडका बजार, बडका बजारसे जिल्ला सदरमुकाम, जिल्ला सदरमुकामसे काठमाडौँ, आ काठमाडौँसे विदेश चैलगेल्छे । लेकिन हमरासब कते जेबे ! खेत खलिहान अतै छे । खाइके जोगाड अतै छे । वह्या पिलर अतै छे । ओकरा छोडके कते जेबे ! कहते कहते थैक गेले ऊ सब, तब हमरा कहैछे ‘मट्ठु’ । मट्ठुके मतलब मुर्ख छिए । जकरा जे कहेके छे, कहदियो । हमरा कोनो परवाह नै ।  

अनि मैले सोधेको थिएँ –‘तपाईँलाई दुःख लाग्दैन ? चित्त दुख्दैन ?

उनले उदास हुँदै भनेथे ः  

–जबहमर चमडीके रङ आ भाषा देखके काठमाडौँहमरा ‘नेपाली’ नै कहैछे, तब बहुत दुःख लगैछे । कि करबे जतैक दुःख लगैछे लागदियो । वह्या ‘नेपाल’ लिखलाहा पिलर मन बिगडल समयमे शान्ति दैछे । हमरा दादा, परदादा आ हुनकर दादा परदादा वह्या ‘नेपाल’ लिखल पिलर के लेल ज्यान गवा देल्के, तैल्याके कि करबे ?दादा परदादाके लहुके बेकदर केना करबे ? दोग्ला भेलासे त मैर जाइला ठिक छे न बाबाजी ?

बिहान भएको थियो । मैले उनको झुप्रो घरबाट दसगजालाई हेरेको थिएँ । दसगजा दसै फिट टाढा थियो । दसगजाभित्र जङ्गे पिलरमा लेखिएको ‘नेपाल’ उनको ओसारीबाट प्रष्टै देखिन्थ्यो । लाग्दथ्यो त्यो पिलरको ‘नेपाल’ उनीहरूकै आसामा बाँचेको थियो ।

रातभरि पानी परिरहेथ्यो । खोला उर्लेर आएको थियो । कोसी गड्गडाइरहेको थियो । बिहान भएपछि पानी विदो भएको थियो । बलेँसीमा भने तप्पतप्प तम्केनी झरिरहेको थियो । तप्केनीले बेलेँसीमा खोपिल्टाहरू बनाएको थियो । घाम झुल्किने नामोनिसान थिएन । तर पानीले धूलो पखालेर जङ्गे पिलर सफा देखिन्थ्यो ।  

म मन भारी पारेर फर्केको थिएँ त्यो दिन ।  

घर पुगेपछि गेरुवस्त्र, झोली, चिम्टा कमण्डलु वाहियात लागेर परित्याग गरें । किनकि यो बैँसमा विषयरस पो मीठो त भन्ने विद्वानको कुरा अनुशरण गर्दै बाबाजी पनि परित्याग गरें । बेरोजगार त यसै थिएँ । सडकमा लखरलखर हिँडिरहेको थिएँ । अलि पर पहिचान खोज्ने जुलुस निस्किरहेथ्यो । सम्झिएको थिएँ, हो त नि मेरै पनि त पहिचान छैन । मेरै पनि त इतिहास छैन । अनि उहिले नेताले भनेको सम्झिएँ । समस्याको समाधान भनेको जुलुस हो । विद्रोह हो । तोडफोड हो । मारकाट हो । सरकार बहिरो छ, यति नगरी सुन्दैन ।  

जुलुस नजिक आइपुगेको थियो । जुलुसभन्दा धेरै रमिते थिए । म पनि फुटपाथमा बसेर रमिता हेरिरहेको थिएँ । मझैं बेरोजगार मेरो लगौंटिया यार सुजनले पाखुरामा समाएर भन्यो, ‘हिँड जुलुसमा । पाँच सय रुपियाँ दिन्छन् । कति बेरोजगार बस्ने हौ यार ।’  

म जुलुसमा मिसिएँ ।

जुलुसमा एकजना भट्याउँथ्यो, ‘इतिहास मार्न पाइँदैन !’

लौरो बोकेर म उफ्रीउफ्री कराउँथें, ‘पाइँदैन ! पाइँदैन !!’

म उफ्रिँदा सर्टको खल्तीमा रहेको पाँच सयको नोट पनि उफ्रिन्थ्यो । अनि मेरो झोला पनि उफ्रिन्थ्यो । झोलाभित्र कैदमा रहेको मेरो इतिहासको एमएको प्रमाणपत्र पनि उफ्रिन्थ्यो । त्यो प्रमाणपत्रले भने मलाई भन्दै थियो, ‘अचम्म छ यार, कसले लेखिदेओस् भन्छस् हँ तेरो आफ्नो इतिहास !

तर म नसुनेझैं गरी उफ्रिरहेको थिएँ । तर किनकिन सीमा सुरक्षा गरेर बसेको मट्ठु दिमागभरि आइरहेथे । मट्ठुमा एकत्रित भएछु । वशीभूत भएछु । हेर्दाहेर्दै सडक किनारमा मट्ठु उभिएको जस्तो देखें । उनी मलाई जुलुसमा देखेर चिच्याएका थिए  – साला दोग्ला !

मलाई दोग्ला भनेपछि मैले आफैलाई धिक्कारेको थिएँ । अनि मट्ठु जस्ता सिमाना सुरक्षाको चेत भएकाको इतिहास नलेखी छाड्दिन भनेर कम्मर कसेर लागें । मैले लेखेको इतिहासको पाण्डुलिपि एकपल्ट मट्ठुलाई नै देखाऊँ र उनले मलाई लगाएको दोग्ला आरोपबाट मुक्त होऊँ भन्ने लागेर म उनकै घरतिर हिँडेको थिएँ ।  

रात्रिबसमा आँखा झिमिक्क नगरी हनुमाननगर आइपुगेको थिएँ । डुङ्गाको बाटो हेर्दाहेर्दै रात परिसकेको थियो । बल्लबल्ल डुङ्गा आयो  र ठूलो साँझमा म मट्ठुको गाउँ गोबरगाडा त पुगेँ । तर रात निकै छिप्पिएकाले म मट्ठुको घर पुग्न सकिनँ । गाउँको ओल्लो छेउमा बास बसेको थिएँ । मध्यरात थियो । एकाएक गाउँमा हल्ला भयो । मान्छेहरू भाटा, भरुवा बन्दुक, तरवार, कोदालो, गैँची, बेल्चा, खुकुरी, कट्टी, छुरी, चुप्पी आदि लिँदै हातमा सन्ठीको राँको बोकेर दसगजा पुगेका थिए । साइसाइ र सुइुसुइले आकाश गुञ्जायमान भएको थियो । होहल्लाका बीचमा मट्ठुले ‘ठोक सारके, एतै छे, एइपार आव नै देही चुतियासबके, मार’ आदि आदि भनेको सुनिन्थ्यो । जङ्गे पिलर सार्न खोजिरहेका दुस्मनहरू हच्केका थिए । एकप्रकारले भिडन्त नै भइरहेको थियो । एकाएक फाइरिङ सुरु भएको थियो । शत्रु पक्ष भागेका थिए । सन्ठीको राँकोको उज्यालोमा ‘नेपाल ६०१’ लेखिएको जङ्गे पिलरको छेउमा एउटा मान्छे रक्ताम्य भएर छटपटाउँदै थियो । छटपटाउँदाछटपटाउँदै मरेको थियो । नजिकै गएर हेरेँ । उनी मट्ठु थिए । मैले लेखेको इतिहास ‘सिमानाको नायकको इतिहास’ को पाण्डुलिपि मट्ठुको छातीमा राखिदिएँ । मट्ठुको छोरो हातमा भरुवा बन्दुक लिएर उभिएको थियो । घरिघरि पारितिर हेथ्र्यो । घरी आफ्नो मृत बाबुतिर हेथ्र्यो र डाको छोडेर रुन्थ्यो । फेरि पारि हेथ्र्यो र बन्दुक राम्रोसँग समाउँथ्यो ।  

प्रकाशित: १७ श्रावण २०७७ १४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App