३० श्रावण २०७७ शुक्रबार
कला

मितज्यूको बिदाइ

बालकथा

मन्दिरा मधुश्री 

मदन स्कुलबाट घरमा आउँदा हाकुमाया  कुँडेमा दूध तताउँदै थिइन् ।

धानको बीउ कानमा सिउरिएर मदन आइपुग्यो । हिलो माटाको टीका थियो निधारमा । लुगामा पनि माटो लागेको देखेर उनले अत्ताल्लिँदै सोधिन् , ‘हैन के चकचक गरेर आएको मदन तिमीले ? हिलैहिलो पो छौ त अनि किन कानमा धानको बीउ घुसारेको नि त्यसरी । के जात्रा गरेको ? छिछि– छिछि यत्रो नौ किलासमा पढ्ने भैसक्यो यस्तो फोहोरी छ ।’

‘ह्या आमा पनि  बुझ्नु न सुझ्नु खोलाखोला कुद्नु भनेजस्तो गर्नुहुन्छ । म चकचक गरेर आएको हो त । अझै पनि चकचक गर्छु जस्तो लाग्छ है तपाईंलाई ।  हेर्नु  त कत्रो भैसकेँ । आमासँग कुम नाप्दै भन्यो मदनले ।

‘अनि यो के गरेर आएको त ? हाकुमायाले  मदनको लुगा र अनुहारतर्फ देखाउँदै अलिक झर्केर भनिन् ‘अझै यस्तो फोहोरी मसँग टाँसिन पो आउँछ त जा पर ।  ‘हाहा,  यो त धान दिवस मनाएर पो आएको त स्कुलमा । भोलि असार पन्ध्र धान दिवस रे क्या आमा । त्यही भएर हामीले पनि आजै गमलामा धान रोपेर, हिलाको टीका लगाएर आएको । हेर्नुस् त यी कानमा पनि  धानको बोट सिउरेको ।’ कान माथिको धानको बीउ देखाँउदै भन्यो मदनले ।

‘अनि गमलामा पनि धान रोप्छ्न् त ।  कस्तो  मूर्ख कुरा गरेको होइ तिम्ले ।’ हाकुमायाले आश्चर्य  प्रकट गरिन् छोराको बेपत्ताको कुरा सुनेर ।

‘अनि केमा रोप्छ्न् त आमा धान ?’ मदनले सोध्यो ।

‘खेतमा पो रोप्छ्न् त धान त । अनि यसलाई धानको बोट होइन धानको बीउ भन्छ्न् के लाटा । यो हिलामा रोपेर मात्रै बोट बन्छ बुझ्यौ । किसानको छोरो रे बीउ भनेको पनि थाहा छैन अझैसम्म ।

हाम्रो स्कुलमा खेत छैन नि त अनि कतिपय विद्यार्थीको त हाम्रोजस्तो खेत पनि छैन । अनि उनीहरूलाई धान कसरी रोपिन्छ थाहै छैन । त्यही भएर हामीलाई सिकाउन गमलामा नै रोपेको क्या आमा ।’ मदनले बुझायो ।

‘अनि गमलामा मात्रै धान रोपेर त कहाँ जान्दछ्न् त विद्यार्थीहरूले धान रोपाइँको सबै कुरा बरु उनीहरूलाई खेतमा नै लगेर देखाए पो जान्दथे त । ब्याड भनेको के हो ? बीउ कसरी काडिन्छ  अनि खेतमा आली कसरी लाउने,  दाँदे फ्याउरी लगाउने, बाउसे सबै कुरा थाहा हुनेगरी पो सिकाउनुपर्छ । प्रत्यक्ष देखेर वा गरेर  जुनसुकै पाठ पनि  छिटो सिक्छ्न् त केटाकेटीले त ।

‘आज गमलामै रोपेर सिकाउने र धान दिवस पनि मनाएर भोलिचाहिँ चाँगुनारायणको फाँटमा लैजाने रे इच्छुक विद्यार्थीलाई रोपाइँ गराउन । म त आफ्नैमा रोप्छु है आमा । जान्न उता ।’मदनले भन्यो ।

‘एए त्यसो भए त ठीकै भो नि । तिमीले र अरुले पनि जान्दछौ अब धेरै कुरा ।’ हाकुमाया पनि दङ्ग परिन्  मदनको कुरा सुनेर ।

‘आम्मामामा, तपाईंले चाहिँ किन यत्रो धेरै दूध तताउनुभएको आमा ?’ मदनले चुल्होतिर हेरेर अचम्मित हुँदै  भन्यो ।

हाकुले सम्झाइन्,  ‘भोलि असार पन्ध्र हो नि त बाबु, दहीचिउरा खाने दिन । त्यही भएर जुजुधौ बनाउन दूध तताएको नि । अनि भोलि हाम्रोमा त रोपाइँ नै छ । खेतालालाई खाजामा दहीचिउरा खुवाउन यति दूध अब जमाएर दही बनाउने हो नि ।असार पन्ध्र पनि हाम्रो एउटा पर्व नै हो नि बुझ्यौ ।’ 

‘ए हो त नि । मिसले पनि त्यही त भन्नुभएको छ । त्यही भएर त भोलि छुट्टी दिएको छ हाम्रो स्कुलले ।  धान रोपेर दिवस मनाउनु र दहीचिउरा खानु रे । अनि त आजै धान रोपेर दिवस मनाएको नि हाम्रो स्कुलमा ।’

‘आहा, कति राम्रो भएछ त । यो पालि रोपाइँमा तिमी पनि हुने भयौ ।’ हाकुमायाले  मदनको केश मुसार्दै भनिन् ।

‘आहा, बल्ल मैले पनि अब रोपाइँको मजा लिने भएँ । आजसम्म त मामाघर बस्नु परेकोले केही देख्न पाएको होइन । त्यो काठमाडौको असनमा त एउटा पनि धान खेत छैन नि हगि आमा । जताततै कुचुक्क परेका घर मात्रै । त्यही भएर मलाई पटक्कै मन पर्दैन मामाघर त  । अजाअजी मात्रै मन परेर के गर्नु । किन मलाई बेकारमा मामाघर राखेको क्या तपाईंले ।’ रुन्चे बोली र आँखाभरि आँसु पारेर भन्यो मदनले ।

‘हो नि बाबु, हामी त खेती गर्ने किसान । तिमीलाई राम्रोसँग हेर्न र पढाउन न भ्याउने अनि स्कुल पनि टाढा भएकाले मामाघरमा नै राख्नुपर्यो नि । तर म  तिमीलाई सम्झेर कति रुन्थेँ । बाबा पनि जहिल्यै न्याँस्रो मान्नुहुन्थ्यो । बल्ल योपालिदेखि यहीँ नजिकैको स्कुलमा पढ्न राखेर ढुक्क भएको छ हामीलाई पनि ।’ अघि पर जा भनेकी हाकुमायाले छोरालाई तानेर अङगालोमा च्याप्दै भनिन् हिलै लुगामा भए पनि ।

‘असार १५ भैसक्यो । धमाधम रोपाइँ हुने र मानो रोपेर मुरी फलाउने बेला । तर अहँ पानी पटक्कै परेको छैन । गर्मी पनि  चौपट्टै छ यो पटक त । जमीन धेरै तातेको छ । वातावरणमा निकै फेरबदल भएको छ । आज राति पानी परिदिएन भने त भोलि रोपाइँ गर्न पनि धेरै सकस होला जस्तो छ है हाकु ।’ शिव नारायण  चिन्तित देखिए बेलुकी खान बसेको बेला ।

‘साँच्चिकै गर्मी छ है बा,  असनको जस्तै यता पनि अहिले त । एउटा पंखा ल्याउननु रविको घरमा भए जस्तै ।’ मदनले माइला महर्जनको मुख हेर्दै भन्यो ।

‘खै ल्याउनु त पर्ने हो छोरा ।गलेर लथ्रयाक्क हुँदा पनि  गर्मीले म सुत्नै सकेको छैन दुईचार दिनदेखि । तर के गर्नु  फुर्सद भा पो त्यो किन्न बजारसम्म जान पनि । असारको चटारोमा त मान्छेको चोला उठ्यो भने पनि गुन्द्रीले छोपछाप पारेर मेलो पस्नुपर्छ भन्छन् । अब भोलिको दिनको चटारो तुरियोस् न अनि किन्न जाउँला है पंखा ।’ आश्वासन दिए माइलाले ।

‘हुन पनि पहिला पो काठमाडौ, भक्तपुर र ललितपुर शहर वरपर मात्र पातला घर हुन्थे । माटाको र काठको मात्रै हुन्थे घर पनि । गर्मी हुन्न थियो । जनसंख्या थोरै थिए। जतासुकै खेतीयोग्य थुप्रै जग्गा जमिन थियोे । खेत वरपर विभिन्न जातको बोटबिरुवा थिए । चराचुरुङ्गी बस्थे । गर्मी त के यो असारमा पनि थुरथुर कम्प छुट्थ्यो जाडोले । पुसमाघमा त हिउँ परेजस्तै तुसारो पर्थ्यो । हिटी धाराहरू टक्रक्क लठ्ठी जस्तो जमेको हुन्थे । हामी पँधेरो जाँदा जमेको भाँचेर धारा निकाल्थ्यौँ र गाग्री थाप्थ्यौँ ।’ हजुरआमा मैचाले पनि आफ्नो उबेलाको अनुभव सुनाइन् । अबेलासम्म परिवारका सबै बसेर धेरै कुरा गरिरहे ।

‘पानी परेन भनेर आज भक्तपुरकै कुन गाउँमा त भ्यागुताको बिहे पनि गरिदिए अरे ।अघि पसलमा जाँदा  कुरा गर्दैथिए ।’ हाकुमायाले आफूले सुनेको कुरा सुनाइन्  ।

‘हाहा हाहा भ्यागुताको पनि विहे रे अनि भोज चैँ  कैले अरे नि आमा ? तपाईंलाई पनि निम्तो छ होला नि त ? आमालाई उल्याउँदै पेट मिचिमिची हाँस्यो मदन ।

‘लौ नपत्याएको हो मदन तिमीले ।  हुन्छ त भ्यागुतोको विहे । किसानहरुले गर्छन् त बेलाबेला र कतैकतै । जब पानी परेन र खरेडी लागेर रोपाइँ गर्न पाउदैनन् तब एउटा गाउँको भ्यागुतो त अर्को गाउँकी भ्यागुतीलाई बेहुलाबेहुली बनाएर बाजागाजासहित जन्ती गएर नै पो विहे गरिदिन्छ्न् त ।’ माइला महर्जनले मदनलाई  छेउमा बसाउँदै भने ।

‘यस्तो अन्धविश्वास अझैसम्म छ त बा ?’ ट्वाल्ल परेर सोध्यो मदनले अनौठो कुरा सुनेर ।

‘छ नि । अझै तराईमा कतै कतै त आइमाईहरू मात्रै भेला भएर अनि गोरु र हली पनि आइमाई नाङ्गै भएर  हलो पनि जोत्छ्न रे ।’ मुख छोप्दै खित्का छोडेर हाँस्यो मदन हाकु र हजुरआमाले पनि लजाएर हातले मुख छोपे माइलाका कुरा सुनेर ।

‘अनि पानी पर्छ त भ्यागुताको बिहे गरेर, नाङ्गै जोतेर चाहिँ ?’ जिज्ञासा् पोख्यो मदनले ।

‘खै काकताली हो कि संयोग हो । त्यसपछि पानी पर्छ नै भन्ने जनश्रुति  छ ।’ माइलाले भने ।

‘ह्या बा पनि । अहिलेको एक्काइऔँ शताब्दीमा पनि यस्तो अन्धविश्वासको भर पर्ने हो त । वैज्ञानिक कुरा र कारणको पछि पो लाग्नुपर्छ त । बोरिङ्ग गर्यो, मोटर चलायो अनि रोपाइँ गरे त भैगो नि ।’ मदनले राय बतायो ।

‘कतिपय हाम्रा परापूर्वदेखि चलिआएका परम्परा र रुढीबादी कुरा पनि वैज्ञानिक कारण सम्मत नै देखिन्छन् बाबु । सायद यसमा पनि पो छ कि त । अध्ययनअनुसन्धान गरेर प्रमाण दिन बाँकी नै पो छ कि त कतै ।’ माइलाले भने ।

जे होस् बेलुकीको घरसभामा निकै कुराको जानकारी पायो मदनले ।

असार पन्ध्रको दिन सखारै माइला महर्जन कोदाली लिएर निस्कए ।  साँच्चिकै आज राति  एकझर त ठूलै पानी दर्किएको थियो । बोरिङ र पम्पसेट आफ्नै खेतमा थियो । उनले भाइचाको हाते ट्र्याक्टर मगाएका थिए खेत जोत्न । काठमाडौ वरिपरिका जमीन गोरुले जोत्न हुन्न भन्ने प्रचलन अझैसम्म तोडेका छैनन् कसैले अरू कुरा धेरैचाहिँ अन्धविश्वास हो भन्दै तोडे पनि । सबै खेत कोदालीले खनेर नै रोप्नुपर्थ्यो पहिलेपहिले त ।

किंवदन्ती अनुसार शिवजीको बाहन गोरु नन्दी काठमाडौमा पशुपति भएको र उनको वाहन नन्दी ।  त्यही भएर काठमाडौ उपत्यकाभरि गोरु जोत्दैनन्  अझैसम्म पनि ।

मदन पनि खेतमा जान पाएर धेरै खुसी थियो । ऊ कोदाली चलाउन मन गर्दै थियो ।

‘मदन, कोदाली चलाउन जानेन भने त खुट्टा ताछिन्छ नि फेरि । तिमी बरु बीउ ओसार्ने र पजल्ने काम गर नू माइलाले भने मदनलाई ।

ट्र्याक्टरले खेत जोत्दा निस्केका  किरा, गँड्यौला, भ्यागुता खान बकुल्लाका बथान नै आएका थिए । कुनै सेता, कुनै खैरा राम्रा थिए चरा ।नजिकैबाट यतिधेरै चरा पहिलोपटक देखेको थियो मदनले । अझै मज्जा लागेको थियो उसलाई त ।

घरीघरी ऊ बकुल्ला खेदेर उडाएर रमाइलो गर्दथ्यो । उसले खेदेको बकुल्ला पनि भुर्‍र उड्थे र अर्को छेउमा गएर बस्थे । लामो घाँटी भएको बकुल्लाले भ्यागुतो भेट्यो भने कति सकसले निल्थे सानो चुच्चोबाट ।  कुनैले त गँड्यौला लुछालुछ पनि गर्थे एकापसमा ।

काम छोडेर बकुल्लासँग नै पो रमाएको थियो मदन ।

मुहाने गरोमा एकजोडी बकुल्ला अघिदेखि लगभग एकैठाउँ थिए । ध्यान गरेर बसेको जस्ता । उनीहरु अरुजस्तो किरा खोज्न तँछाडमछाड पनि गरेका थिएनन् । लामो घाँटी, लामा खुट्टा भएका रङ्ग पनि अलिक थोरै फरक अरुभन्दा ।

मदन बिस्तारै त्यतै गयो र हा भनेर उडाउन खोज्यो । तर उनीहरू भुर्र उडेनन् मदनले खेदाउँदा पनि । अलिकति उता मात्रै सरे बिस्तारै । पोथी बकुल्लो अझै सकसमा भएजस्तो देखिन्थ्यो । मदनले माटोको डल्लो बनाएर हिर्काउन खोज्यो बकुल्ल्लाई ।

‘नाइँनाइँ हामीलाई न हिर्काउ न त्यसरी । सानो आवाजमा भन्यो कसैले । वरिपरि हेर्यो मदनले । कोही  मान्छे थिएन । मान्छेको जस्तै आवाजमा त बकुल्ला नै पो बोलेको रैछ । अचम्म र खुसी पनि भयो बकुल्ला बोलेको देखेर मदन ।

‘यस्तो रमाइलो गरिरहेका छन् अरू सबै तिमीहरू चैँ किन यसरी ध्यानी भएर बसेका नि ।  मदनले सोध्यो ।

‘हुन त हामी ध्यानी बकुल्ला नै हौँ । हेर न हामी पनि रमाइलो गर्न नै आएको हो आउन त । तर, हामीलाई अलिक अप्ठ्यारो परेकाले चिन्तित छौँ ।’ भाले बकुल्लाले भन्यो ।

‘के कुराको अप्ठ्यारो पर्यो नि तिमीहरूलाई ? मलाई भन्न मिल्छ भने भन । म सकेसम्म सहयोग गर्छु नि ।ू आस्वास्न दियो मदनले ।

‘वास्तवमा हामी विदेशी हौँ । साइबेरियाबाट गर्मी छ्ल्न र घुम्न यहाँ आएका थियौँ ।‘ओहो  उसोभए तिमीहरु त विदेशी पाहुना पो हौ त हाम्रो । कति खुसीको कुरा हो यो । तर किन तिमीहरू यति धेरै चिन्तित छौ ।  मलाई आफ्नै साथी सम्झेर निर्धक्क भन सबै कुरा त।

‘साइबेरियाबाट हामी यतातिर आउनुभन्दा अघि नै हाम्रो प्रजनन भएको थियो । धेरै चराहरु नेपालको हावापानी रुचाउँछन् र  प्रजनन उतै भए पनि बच्चा कोरल्न नेपाल आउँछन् । हामी पनि सधैंजस्तै आएको थियौँ । कोशी टप्पुको जङ्गलमा केही दिन बस्यौँ । तर त्यहाँ धेरै गर्मी रहेछ यो पटक । गर्मी सहन नसकेर काठमाडौ छिरेको थियौँ ।ू भालेले सुनायो आफ्ना कुरा ।

‘हो त यसपटक त काठमाडौमा पनि धेरै गर्मी छ।’मदनले भन्यो ।

‘पोहोर पनि हामी काठमाडौ घुम्न आएका थियौँ । अनि बाटो छेउछाउमा भएका ठूलाठूला शिरीषका रुखमा ओथारो बसेर चल्ला कोरलेर निर्धक्क हुर्काएका थियौँ तर यो पटक त । ’ पोथीले भनी ।

‘के भयो र यो पटक । ’मदनले सोध्यो ।

‘यो पटक काठमाडौमा जताततै तीव्र शहरीकरण बढेको रैछ । बाटो ठूलो बनाउने नाउँमा वरपरका ठूठूला शिरीषका रूख सबै काटिएछन् । जताततै उजाड छ ।अरु रुख बिरुवा पनि छैन । धूलैधूलो छ । अब कहाँ बसेर सुरक्षित रूपमा बच्चा कोरलेर हुर्काउनु भन्ने ठूलो चिन्ता परेको छु ।’ पोथीतिर हेर्दै भन्यो भालेले ।

‘पोहोर त कस्तो रमाइलो लागेको थियो मलाई पनि । नीलो झपक्क फूलेको शिरीषको रुखमा ओथारो बस्दा । अब उता फर्केर जान पनि सम्भव छैन । अन्डा पार्ने  बेला भैसक्यो । जतासुकै ओथारो बस्नु पनि त भएन । उपद्र्या केटाहरुले गुलेली हान्ने डर पनि हुन्छ ।’ पोथीले निन्याउरो मुख लाएर कष्टले भनी ।

मदनले भन्यो, ‘त्यसो भए मेरो घरमा एउटा एबोकाडोको रुख छ । त्यहीँ बसेर बच्चा कोरल्नु नि त हुँदैन ।’

‘खै हुन त हुन्थ्यो तर ’ भाले अक्मक्कियो ।

‘किन तर ? किन डराएको नि ?’ मदनले हडबडाउँदै सोध्यो ।

‘तर मेरा बच्चा हुर्किन लागेपछि तिमी आफैँले निमोठेर खाइदियौ भने नि ।’ रुन्चे भाव र अनुहारमा बोल्यो फेरि भाले ।

‘रामराम, राम राम के त्यस्तो नचाहिने शंका गरेको होला तिमीले ममाथि । हुन त काल जमाना नै यस्तै छ । कसैले कसैको भरोसा र विश्वास गर्नलायक त छैन नै । तिम्रो आशंका पनि जायज नै हो ।’ मदनले सहज रूपमा लियो ।

‘तिमीमाथि त ल भरोसा गरेँ रे मैले । तर तिम्रा बाआमाले हामीलाई लखेट्नुभयो भने नि त ।’ पोथीले आशंका बोली ।

ूम उहाँहरुलाई सम्झाउँछु नि त । मेरो साथी हो न चलाउनु है भनेर । केहीबेर चूप लागेर बोल्यो मदन म सङ्ग एउटा आइडिया छ मान्छौ भने ।

कस्तो आइडिया नि रुू दुवै बकुल्लाले मदनलाई हेर्दै एकैपटक सोधे ।

‘यदि  तिमी मान्छौ भने र एक अर्काको विश्वासिलो बन्न हामी मीत लगाउँ न त हुन्न रु थाहा छ कि छैन तिमीलाई मीतको जस्तो भरोसा अरु कसैको पनि हुन्न रे । ठूलो आपत र बिपत पर्दा पनि मितले जस्तो सहयोग अरु कसैले पनि गर्दैन रे । त्यसले त एउटा भए पनि  मीत लगाउनुपर्छ भन्ने चल्न थियो रे पहिले 

मदनको कुरा सुनेर एकछिन भाले घोत्लियो र भन्यो, ‘तिम्रो कुरा त ठीकै हो तर तिम्रा बाआमाले के भन्नुहोला त फेरि ? मान्नुहुने हो कि होइन  । 

खुसी हुनुहुन्छ नि उहाँ त । कति चिन्तित हुन्हुन्छ उहाँ चरा चुरुङ्गीप्रति । हाम्रो एबोकाडोको रुखमा पहिले पनि ढुकुर, काग, जुरेली कति चराले बच्चा कोरलेर लगे । तिनीहरुलाई ओथारो बस्दा, बच्चा साना हुँदा आमाले कति खानेकुरा लगेर  कौसीमा   राखिदिनुहुन्थ्यो ।

‘त्यसो भए त तिम्रो आमा पनि दयालु हुनुहुँदोरैछ है ।’ पोथीले भनी ।

‘हो त नि ।’ खुसी हुँदै भन्यो मदनले ।

‘अझै थाहा छ । हाम्रो बाबा त झन् कति धेरै चरा र वातावरण मैत्री पो हुनुहुन्छ त । हजुरआमाले साग खाने करेसाबारीमा त्यो एबोकाडोको रुखले सेप भयो साग फलेन रुख काटिदिउँm भनेर कतिपटक भनिसक्नु भो तर बाबाले नै यो रूख  चराहरूको बस्ने ठाउँ हुन्छ भन्दै न काट्नुभएको पो त ।

‘कति ज्ञानी र दयालु भावना तिमीहरू सबैको । ल हामी तिमीले भनेको कुरा मान्छौँ  र आजदेखि तिमी र म मीतमीत है त ।

हुन्छ मीतज्यू । यो कुरा सुनेर मेरा बाआमा पनि कति दङ्ग हुनुहुन्छ होला ।

 मदनले खुसी हुँदै भन्यो । म बोलाउछु है बा आमालाइ पनि यतै ।’

‘हुन्नहुन्न अहिले उहाँलाई कामको चटारो छ अलमलाउनु हुँदैन । बरु भरे बेलुकी हामी भेला भएर बात मारौला न हुन्न ।

‘हुन्छ त्यसो गर्दा पनि । लु त्यसो भए मीतज्यू तपाईं मितिनीलाई लिएर ऊ त्यो परको नीलो घर छेउको झ्याम्म परेको रूख देख्नुहुन्छ नि त्यहीँ गएर बसिरहनुस्  । म पनि सबै कुरा बाआमालाई सुनाउन जान्छु । बीउ पनि चाहिसक्यो होला उता म गएँ । तपाईंहरु पनि उतै गएर गुँड बनाउने ठाउँ निरीक्षण गर्दै गर्नुहोला ।

बकुल्लाका जोडी मदनको घरमा गए । अनि करेसाबारीको एबोकाडोको रुखमा बसेर मदनको बाटो हेरिरहे । शान्त र रमणीय रहेछ ठाउँ । खुसी भए बकुल्लाको जोडी ।

रोपाइँ उज्यालैमा सकियो । सबै खेतालाहरु बेलैमा आफ्नो घर गए । मदन पनि बाआमासँग फर्कियो । बाटोमा मदनले भन्यो, ‘ बा मेरो पनि मीत लगाइदिनुस् है।’

हैन के भन्छ यो रु एक्कासी मीत लाउने कुरा कहाँबाट आयो रु यो केटालाई रु हाकुमायाले अचम्मित हुँदै भनिन् ।

‘हो के बा । मैले त मीत पनि बोलिसकेको छु पो त ।

‘कोसँग । कहाँ छन् त तेरा मीत ?’ बाले जिज्ञासु नेत्रले हेरे मदनलाई ।

‘घरमा उहाँ पुगेपछि थाहा हुन्छ तपाईंहरुलाई

आज हाम्रो घरमा नयाँ पाहुना आएका छ्न् नि मेरा मीत । अब केही समयको लागि हाम्रोमा नै बस्छन् । हुन्न न भन्नु है ल रु  

बेलुका मदन बा आमासँग घर पुगे । अनि बकुल्लाको जोडीलाई बोलाए । अनि दिउँसो भएको सबैकुरा मदन र बकुल्लाले सुनाए ।

मदनको दयालुपन देखेर आमा बा पनि छक्क पर्नुभयो । सबैले स्याबासी दिए मदनलाई ।

 हजुरआमाले भन्नुभयो, ‘यो मदनको पनि ठ्याक्कै बाबुकै स्वभावको रहेछ । उहिले यसले पनि त यस्तै गरेको थियो नि । ’ 

‘हो र हजुरआमा । के गर्नुभएको थियो बाले  छिटो भन्नु न सुन्न हतारो भैसक्यो ।’मदनले भन्यो

‘उहिले हाम्रो यहाँ एउटा बडहरको रुख थियो । त्यो कसरी आफैँ उम्रेको थियो । बडहर पाकेपछि थुप्रै चराहरु आएर खान्थे । एउटा चमेरो सधैं त्यही रूखमा बस्दोरहेछ । यो माइलालाई थाहा रैछ । पछि बारीमा सेप भो सबै बडहर पनि जुठो हालेर खानै भएर भनेर तिम्रो अजाले रुख काट्न खोज्दा यसैले रोकेर दिएन काट्न । चमेरो र यो त साथी पो भएका रैछ्न । यो रूखम्नि गएर बडहर झारिदेउ भन्दोरैछ । उ खुरुखुरु झारिदिँदो रहेछ ।

अनि पछि त्यही चमेरोले कतैबाट यो एभोकाडोको बिउ ल्याइदियो । तिम्रो बाले नै त्यो यहाँ रोपेको । आज यत्रो रुख भएको छ ।थुप्रै चराको गुँड बनाउने ठाउँ भएको छ ।

आखिर बाकै रगत त छ नि त मेरोमा पनि हैन त बा रुू मदनले बाको मुख हेर्दै भन्यो । हो त नि स्याबास छोरा ।’ धाप मार्दै बाले भने ।

बकुल्लाले भोलिपल्टैदेखि गुँड बनायो । मीतको गुड बनाउन झिक्रा, परालको त्यान्द्रा बटुलेर राखिदियो मदनले पनि । गुँड तयार भएपछि पोथीले अन्डा पारी । पालैपालो भालेपोथीले ओथारो बसेर अन्डा छोपे र बच्चा कोरले ।

साउने संक्रान्तीमा लुतो फाल्न सघाए बालाई दुवै मीतले । जतासुकै घर भाक्लो भएकोले  लुतो फालेका अगुल्टा फ्याक्ने ठाउँ थिएन ।बकुल्लाले गाउँ बाहिर लगेर फयाकिदियो अगुल्टा ।  

अनि मदनको जन्मोत्सवमा भोज गरेर दुवैजनाको मीत लगाइदिए बाहाँ जोडेर । हाकुमायाले भक्तपुरे जुजुधौको सगुन खुवाइन् । भक्तपुरे कालो टोपी लगाइदियो मदनले मीतलाई । बकुल्लाले पनि आफ्ना सेता चाँदी जस्ता टल्कने प्वाँखहरु उपहारस्वरूप दियो । तिनै प्वाँखहरु गमले टाँसेर आफ्नो मीत मितिनी९बकुल्लाको०को सक्कली जस्तै तस्वीर बनायो र फ्रेम हालेर भित्तामा झुन्ड्यायो मदनले ।

बच्चा कोरलेपछि  सँधै हाकुमायाले कौसीमा मीठोमीठो खानेकुरा अझै धेरै राखिदिइन् ।

बाले पनि खेतमा भेटिएका भ्यागुता,माछा ,गँड्यौला आदि ल्याइदिन्थे । पोसिलो खानेकुरा खान पाएर बच्चा पनि चाँडै बढे । रहरलाग्दा र गुथ्लुक्क परेका भए ।

मदन भक्तपुरको दही र चिउरा कौसीमा बसेर खान्थ्यो सँधै । आफूले जे खाए पनि मदन आफ्ना मीत छोराहरु बकुलाको बच्चालाई दिन्थ्यो । पहिले त उनीहरूकी आमाले लगिदिन्थी । पछिपछि भने आफैँ आउन थाले मदन भए ठाउँमा र सबै मिलेर खान्थे । मदनका साथी भएका थिए बच्चाहरु ।

तीन महिना बसेपछि बकुल्लाका बच्चाहरु मज्जाले उड्न सक्ने भए। आफैँ चारो खोजेर खानसक्ने भए । त्यसपछि  उनीहरूको पनि जाने दिन भयो ।

माइला महर्जनले आफैँले पालेका असला माछा ल्याए । बकुल्लालाई माछा खुबै मनपर्ने खाना हो भन्ने थाहा थियो उनलाई । हाकुमायाले पनि मीठामीठा खानेकुराको पकाइन् । सबैले बेलुकी भोज  खाए ।

भोलिपल्ट बिहानै बकुल्लाका परिवार साइबेरियातर्फ जाने तयारीमा लागे ।

बिहान  सबै भेला भए । मदनकी हजुरआमा मैचाले सबैलाई साइतको टीका लगाइदिइन्  । हाकुमायाले जुजुधौको सगुन खुवाइन् । अनि मीत छोरा बुहारीलाई चाँदीको सिक्री र दुइटा बच्चालाई कल्ली लगाइदिइन् । मदन र बकुल्लाले अँगालो मारे । सबै उडने तयारीमा लागे । मदनले आफ्नो गोजीमा राखेको सानो नेपालको झन्डा दिँदै भन्यो, ‘नेपालको नाम र झन्डा विश्वलाई चिनाउनु है मीतज्यू ।’

बकुल्लाका परिवार भुर्र गर्दै उडे । आकासमा सेता बकुलाको बथानमा रातो झन्डा फहराइरहेको परसम्म देखियो । मदनका परिवारका सबैका आँखाभरि  आँसु थियो ।

प्रकाशित: १७ श्रावण २०७७ १३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App