३० श्रावण २०७७ शुक्रबार
कला

च्यातिएको तस्बिर

फोटो कथा

एक दशक भन्दा अघिको कुरा, साल ठ्याक्कै थाहा भएन। मध्य साउनको महिना थियो। पानी झमझम परिरहेको थियो। वीरगन्जबाट सिमरा आउँदै गर्दा पानी यति धेरै प¥यो कि बाराको जितपुरमा रोकिनै प¥यो। फराकिलो सडकको एक छेउमा ओत लागें।  

पानीको संगीतमा आनन्ददित थिएँ। यसो अघि हेरेको त, सडकको अर्को साइडमा एउटी बालिका नाँच्दै थिइन्। पानीको झमझममा कालो कपडा लगाएकी तीनले नाचेको दृश्य निकै रहरलाग्दो थियो। प्रकृतिको संगीतमा नाचेको यति सुन्दर दृश्य मैले पहिला देखेको थिइनँ।  

मैेले सडकको पारीबाटै केही तस्बिर खिचें। उनका आकर्षक स्टेप क्यामेरामा कैद गरें। कम्प्यूटरमा राखें। ती स्टेप परिपक्व थिए।  

त्यसको केही दिनपछि उनले नाचेका ‘तीन स्टेप’लाई कम्पाइल गरेर तस्बिर धुलाएँ। घमाइलो बिहानीमा तस्बिर बोकेर जितपुर पुगें। तिनलाई भेटेर फोटो दिने उद्देश्यका साथ।  

मैले ओत लागेको सडकको पारी साइडमा सानो पसल रहेछ। बालिका भाँडा माझ्दै थिइन्। म उनको छेउमा पुगें। तस्बिरमा देखिएकी बालिका र त्यहाँ देखिएकी बालिकालाई झट्ट छुट्याउन सकिनँ।  

‘यो तस्बिरको मान्छे चिन्छौ,’ मैले ती बालिकलाई फोटो देखाएँ।

उनले हातमा फोटो लिइन्। निकै बेर नियालिन्। अनि धरधर च्यातिदिइन्। म चुपचाप भएँ। किन च्यातेको सोध्ने आँट पनि गरिनँ। उनलाई खुसी तुल्याउन दिएको तस्बिरको च्यातिएको  टुक्रा  भुइँमा नियाल्दै  म घर फर्कें।  

यही तस्बिरको कथा सुनेर भक्तपुरकी रश्मी खाँगीले लेखेका केही हाइकु:  

 

झरीको साँझ

सम्झन्छु तिनलाई

आज पनि ।  

०००

झरीमा आफू

कत्ति मन नपर्ने

भिजिरहन।  

०००

चिया पसल  

सवारी रोकेर म  

भित्र हुँडलिए।

०००

काँप्दो ओठले  

चुस्की लिँदै बाहिर  

नजर लाएँ।  

०००

कालो आकाश  

कालै मिडी लाएकी  

काली, हँसिली ।  

०००

सडक छेउ  

पानीमा उफँदै  

निस्फिक्री तिनी ।

०००

निथु्रक्क भिज्दै  

तन्मयसाथ तिनी  

नाचिरहेकी ।

०००

तिनको नृत्य  

कैद गरे केही सट्  

क्यामेराभित्र ।  

०००

उही पसलमा  

भेट भो कुनै दिन  

तिनी र मेरो ।  

 ०००

खुसी भएर  

तिनका फोटाहरू  

थमाएँ मैले ।  

०००

अचम्म मान्दै  

हेरिरहिन् फोटोमा  

आफू नाचेको ।  

०००

मुस्कान रेखा

छिनमै उदासीले  

ओझेल पा¥यो ।  

०००

पुलुक्क हेर्दे  

भावशून्य आँखाले  

मलाई तिन्ले ।  

०००

धरर च्यातिन्  

सवै तस्बिरलाई

मेरै अगाडि ।  

०००

अवाक् बनें म  

ठूलो गल्ती गरेँ कि  

लाग्यो मलाई ।  

०००

ओइ कोपिले  

भाँडा माझ्न आइज्  

साहुनी बोलिन् ।

०००

मुस्कान छिन्ने  

फोटो नभई होलान्

कटु वचन ।  

०००

सायद तिनी  

चाहन्थिन लुकाउन  

रहरहरू ।  

रश्मी खाँगी

प्रकाशित: १६ श्रावण २०७७ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App