८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

यी हुन् नेपाली ‘प्याडम्यान’

अधिकांश पुरुष बजार गएर आफ्नी श्रीमतीका लागि प्याड किन्न लजाउँछन्। ललितपुर भैँसेपाटीका ज्ञान महर्जन भने महिलालाई आवश्यक पर्ने प्याड बनाउँदैनन् मात्रै, बनेको प्याडलाई बोकेर बाँड्न हिँड्न पनि हिच्किचाउँदैनन्।

उनी खुलेर भन्छन्, ‘हो म प्याड बनाउँछु, बोक्छु र बाँड्छु पनि।’  

एक्सपोज नेपालका अध्यक्ष महर्जनलाई मानिसहरू ‘प्याड म्यान’का रूपमा चिन्छन्। संस्थाका तर्फबाट उनले महिला आफैँले प्याड बनाएर प्रयोग गर्न सक्ने सन्देश प्रवाह गरिरहेका छन्। लकडाउनअघि उनको संस्थाले महिलालाई प्याड बनाउने तालिम दिएको थियो। तालिम लिएका महिलाले लकडाउनका बेला घरमै बसेर प्याड बनाइरहेका छन्।  महर्जन ती प्याड किन्न चाहनेका लागि बिक्रीको व्यवस्थापन गरिदिने र आवश्यक परेको ठाउँमा निःशुल्क सहयोग स्वरूप वितरण पनि गर्ने गर्छन्। मे २८ अर्थात् ‘महिनावारी स्वच्छता दिवस’को अवसर पारेर महर्जनले अपांगता भएका महिला र लकडाउनका बेला कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरी महिला र पत्रकार महिलाका लागि तीन सय थानभन्दा बढी पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेका थिए।  

गएको साता जावलाखेलस्थित आफ्नै कार्यालयमा प्याड व्यवस्थापन गर्दै गरेका उनले भने, ‘लकडाउनमा सबै रोकिए पनि महिनावारी रोकिँदैन। अझ यो बेला बजारमा प्याड सहजै नपाइन सक्छ। यस्तो बेला पुनः प्रयोग गर्न मिल्ने प्याड झनै उपयुक्त हुन्छ।’  

महिनावारीका बेला महिलाले प्रयोग गर्ने बजारिया प्याड पुनः प्रयोग गर्न मिल्दैन, तर महर्जनले बनाउँदै आएको प्याड पुनर्पयोग गर्न सकिन्छ। उनले बनाउने प्याडमा बाहिरपट्टि सुती र फ्लाटिन कपडाको प्रयोग गरिन्छ भने भित्रपट्टि वाटरपु्रफ कपडाको, जसलाई डिटोल पानीले धोएर पुनः प्रयोग गर्न सकिन्छ ।

हाम्रो समाज पुरुषप्रधान भएकाले महिलाका लागि प्याड कति आवश्यक छ भन्ने पुरुषलाई जानकारी नभएको उनी बताउँछन्। ‘प्रायः घरमा आवश्यकताका सामान पुरुषले नै जोहो गर्छन्। तर, प्याडबारे पुरुषले सोचेका हुँदैनन्,’ उनी भन्छन्, ‘प्रत्येक घरले नुन–तेलजसरी नै प्याडको जोहो गरिराख्नुपर्छ। घरमा आमा, श्रीमती, छोरी, बहिनी लगायतका लागि अत्यावश्यक सामान हो यो।’

हाम्रो समाजमा प्याडको जोहो महिला आफैँ गर्नुपर्छ, यो उनीहरूको मात्रै समस्या हो भनेजसरी सोचिन्छ। महर्जन भने यसलाई महिलामाथि गरिएको विभेदका रूपमा बुझ्छन्।

उनी भन्छन्, ‘जसरी पुरुषले आफ्नो सफाइमा ध्यान दिन्छ, त्यस्तै हो महिलाका लागि प्याडको प्रयोग पनि। यसका कारण महिलाले मात्रै तनाव लिने वातावरण बन्नु विभेद हो।’

यस्तो छ प्याडको कथा

आफू बुझ्ने भइसकेपछि एकपटक उनले देखे– आफ्नी आमाको खुट्टासम्म रगत चुहिएको। उनलाई नरमाइलो लाग्यो। स्कुल पढ्दा उनले थुप्रैपटक देखेका थिए– छात्राहरुको फ्रकमा रातो टाटो। त्यसमाथि खराब केटाहरुले उल्लाउने। घरभित्रदेखि सार्वजनिक स्थानमा हुने महिला हिंसाका घटनालाई उनले नियाल्न थाले, यस्ता घटनाले उनलाई महिला हिंसाविरुद्ध केही गर्न प्रेरित गरिरहन्थ्यो। समय बित्दै गयो, सन् २००७ मा ‘एक्सपोज नेपाल’ संस्था स्थापना गरेर महिलामाथि हुने हिंसाविरुद्ध विभिन्न अभियान र कार्यक्रममा जोडिन पुगे उनी।  

हाम्रो समाजमा प्याडको जोहो महिला आफैँ गर्नुपर्छ, यो उनीहरूको मात्रै समस्या हो भनेजसरी सोचिन्छ। महर्जन भने यसलाई महिला विभेदका रूपमा बुझ्छन्।

सन् २०१४ मा जर्मनका संघ–संस्थाले महिनावारीका विषयमा विभिन्न धारणा व्यक्त गरेको उनले ख्याल गरे। विश्वमा महिनावारीका बेला महिलालाई कसरी हेरिन्छ, उनीहरुको सुरक्षामा कस्तो ध्यान पु¥याइन्छ आदि बुझ्दै जाँदा उनी प्याड बनाउने निष्कर्षमा पुगेका हुन्।

सन् २०१५ को उत्तराद्र्धदेखि उनले महिनावारी र प्याडसम्बन्धी जनचेतना फैलाउने अभियानमा लागे। त्यसपछि सन् २०१६ देखि भने उनी आफैँ प्याड बनाउन थालेका हुन्।  

‘महिनावारीका बेला प्याड नहुँदा अधिकांश महिला तनावमा परेको मैले महसुस गरेँ। बजारमा पाइने प्याड सबैको पहुँचमा हुँदैन। त्यसमाथि यसको जोहोमा पुरुषले खासै ध्यान दिँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले कपडाको टालोलाई व्यवस्थित, स्वस्थ र उपयोगी बनाउन कसरी सकिएला भनेर सोच्न थालेँ।’  

सुरुमा उनले बजारमा पाइने प्याडबारे अध्ययन गरे। त्यसलाई हेरेर टिकाउ हुने र पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन लागे। ‘एउटा सानो सोच व्यवहारतः ठूलो बनेर सफल पनि भयो,’ उनी भन्छन्, ‘म आफैँले कपडाबाट पुनः प्रयोगमा ल्याउन मिल्ने प्याड बनाउन थालेँ। प्याड आफैंले बोकेर मान्छेलाई भेटेर बाँड्न पनि थालें।’

उनले बनाएको प्याड रुमालजस्तै धोएर सुकाउन मिल्छ। संवेदनशील ठाउँमा प्रयोग गर्ने भएकाले सफा पानीले धुनुपर्ने उनी बताउँछन्। उनले बनाएको एउटा प्याडले ८ देखि १२ घन्टासम्म काम गर्छ।  

यो प्याड चार–पाँचवटा भयो भने धोएर पालैपालो लगाउन सकिन्छ। एउटाको एक सय ६० रुपैयाँ मूल्य पर्ने उनी बताउँछन्। यसलाई महिनावारीपछि धोएर घाममा सुकाई आइरन गरेर राख्नुपर्छ, पुनः अर्को महिना प्रयोग गर्न मिल्छ। एउटा प्याड दुई वर्षसम्म प्रयोग सकिने उनको भनाइ छ।

ललितपुरको खोकनामा जन्मेका ज्ञानलाई खोकनावासी आफ्नो क्षेत्रको गौरवका रूपमा लिन्छन्। ललितपुरमा रहेको एक्सपोज नेपालको कार्यालयमा मुलुकमा लकडाउन हुनुभन्दा अघिसम्म महिलाहरू त्यहीं आएर प्याड बनाउने तालिम लिन्थे। दुई हजार सात सयभन्दा बढी महिलाले एक्सपोज नेपालबाट प्याड बनाउन सिकेर आत्मनिर्भर बनिसकेका छन्। महर्जनको चाहना पनि यही हो, सकेसम्म महिलाहरू नै आफ्ना लागि आफैँ प्याड बनाउन सकून्।  

महर्जन भन्छन्, ‘नेपाली बजारमा नेपालमै उत्पादित प्याड नहुँदा भारत तथा अन्य देशबाट आउने केमिकलयुक्त प्याड प्रयोग भइरहेको छ। यसले मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा असर गर्छ, खर्चालु पनि छ।’  

खर्च र स्वास्थ्यमा मितव्ययी, पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगलाई बृहत्तर बनाउने योजनामा छन् उनी। महिला हिंसा न्यूनीकरणका लागि महिलालाई आर्थिक रूपमा सबल बनाउन आवश्यक छ। त्यसैले महिलालाई आर्थिक रूपमा समृद्ध बनाउनकै लागि आफूले प्याड बनाउने तालिम सञ्चालन गरेको उनी बताउँछन्।

प्रकाशित: १० श्रावण २०७७ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App