coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दीपेन्द्रसिंह थापाका तीन गीत

गीत

दीपेन्द्रसिंह थापा

आफ्नै भस्मेखोरियामा

 

आफ्नै भस्मेखोरियामा खोज्छु भविष्य

बिलाउनु छ यही माटोमा एक दिन अवश्य

 

खन्नेजोत्ने रमाउने उत्सब मेलापात

पसिना र पौरखको लय साथसाथ

टाढा छैनन् बाउबाजेका चिहानका दृश्य

बिलाउनु छ यही माटोमा एक दिन अवश्य

 

छैन ठूलो महल र सम्पत्तिको खात

बाँच्नेहाँस्ने आधार छन् आफ्नै खुट्टाहात

सिधा बाटो जिन्दगीको एउटै रहस्य

बिलाउनु छ यही माटोमा एक दिन अवश्य।

 

भेडाच्याङ्ग्रा डुलाइबस्ने

 

भेडाच्याङ्ग्रा डुलाइबस्ने गोठालो हुँ म

खर्क, भञ्ज्याङ, ओरालो र उकालो हुँ म

 

हुस्सु र घाम लुकामारी खेल्छन् छिनछिनै

हिँउचुलीमा घामका किरण झर्छन् दिनदिनै

पाखोबारी खेती गर्ने कोदालो हुँ म

खर्क, भञ्ज्याङ, ओरालो र उकालो हुँ म

 

भुइँफूल र थरीथरी गुराँसका फूल

अनेक छन् बोटबुट्यान जीवजन्तुका हुल

सिर्रसिर्र बतास चल्ने अग्लो डाँडो हुँ म

खर्क, भञ्ज्याङ, ओरालो र उकालो हुँ म।

 

धेरै पढे भूलबाट

 

धेरै पढेँ भूलबाट, फूलबाट पढेँ

काँडाहरू टेकीटेकी कान्लामाथि चढेँ

 

जिन्दगीको किताबभित्र फूलकाँडा सँगै

घाम भेट्दा छायाँ पनि नजिकटाढा सँगै

जानीजानी पनि लडेँ नजानेरै लडेँ

काँडाहरू टेकीटेकी कान्लामाथि चढेँ

 

भोग्नु सिक्नु आफ्नो हिसाब सबै आफैसित

आफ्नो धर्ती आफ्नो आकाश सधैँ आफैसित,

धेरै भत्के बर्खे बाटो घिस्री अघि बढेँ

काँडाहरू टेकीटेकी कान्लामाथि चढेँ।

प्रकाशित: ८ श्रावण २०७७ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App