८ वैशाख २०८१ शनिबार
कला

अम्बिका ओझाका १० मुक्तक

मुक्तक

अम्बिका ओझा

नगर्नु भो ठूला कुरा चिनिसकेकी छु,  

मुखले ठिक्क मनमा छुरा चिनिसकेकी छु।  

रङ्ग बदल्दैमा छेपारोको पन बदलिन्छ र?

भए पनि म बबुरा चिनिसकेकी छु।

०००

झुट लेखिदिन्छ अनि सत्य मेटिदिन्छ,

यस्तैछ दुनियाँ शिरमा टेकिदिन्छ।  

यो नसम्झनु आलोचनाले ऊ कमजोर हुनेछ,

हेर, देख्नेले त जूनमा पनि खोट देखिदिन्छ।

०००

कहिल्यै नसकिने पाठ पढाइरहन्छ,

म उठ्न खोज्छु ऊ लडाइरहन्छ।  

यो समय पनि यति निठुर बनिदिन्छ,

आफू बग्छ मलाई भने अड्याइरहन्छ।

०००

सिकायो उसले फकाईफकाई खासा सिकायो,

कौडा सिकायो उसले प्रेमको पासा सिकायो।  

सिकाइप्रति नै विश्वास तोडिएको छ अचेल,  

जब पत्थर मनले प्रेमको परिभाषा सिकायो।  

०००

जो बस्छन् यो देशको सरकारभित्र,

रुमलिन्छन् आफ्नै स्वार्थको संघारभित्र।  

पस्दा बिरालो निस्कँदा बाघ भएर निस्कन्छन्,  

खोइ के जादू रहेछ वालुवाटारभित्र।  

०००

कस्तोसम्म आयो दिन छक्क परेकी छु,

यतिसम्म लालच किन छक्क परेकी छ।ु

हिजोसम्म औकातको दम्भ बोक्नेहरू,  

दौडिरा’छन् हात लिन छक्क परेकी छु।  

०००

कोट्टिन्छन् फेरि घाउ प्रेमको नाउँमा,  

राख्दिन जोवन दाउ प्रेमको नाउँमा।  

यो प्रेम भन्ने शब्दसंग टुटिसक्यो भरोसा अब,

बिन्ती गुलाफ नपठाउ प्रेमको नाउँमा।  

०००

सहज बन्थ्यो सम्झनाको हद हुन्थ्यो भने,  

चाहँदैमा भुल्न सक्ने विगत हुन्थ्यो भने।  

आफ्ना हरेक खुसी दागबत्ति दिन सक्थें,  

म ओइलाउँदा फूल्ने तिम्रो जगत हुन्थ्यो भने।  

०००

उम्लिन सक्छ तातो रगत गोर्खालीको,

सहन्छ कहाँ मिचिँदा जगत गोर्खालीको।  

होसियार तिम्रा छिनिन सक्छन् शिरहरू,  

लिन्छौ भने दुश्मनी फगत गोर्खालीको।

०००

जित्न यो मन, झुट्टा कुरा बोल्नुसम्म बोल्यौ,  

जब बुझेँ वास्तविकता खोल्नुसम्म खोल्यौ।  

फूल सम्झेर सजायथेँ दिलको फूलबारीमा,

सिस्नो रैछौ छातीभित्र पोल्नुसम्म पोल्यौ।  

०००

प्रकाशित: ७ श्रावण २०७७ १६:२४ बुधबार

अक्षर मुक्तक