याक्दुहाङ धिरज
अरुबेला त
उभिएकै हो म राष्ट्रगानको सम्मानमा
खाँदाखाँदैको भोक छोडेर
हिँड्दाहिँड्दैको बाटो रोकेर
हाँस्दाहाँस्दैको खुसी बिर्सेर।
प्रेमिल स्पर्शलाई आफूबाट अलग्याउँदै
चलचित्रघरको कुर्सिबाट पनि उठेकै हो
आर्यघाटमा आँखा पुछ्दै
छातिमाथि हात राखेर मौनधारण पनि तोडेकै हो।
राष्ट्रघाती हस्ताक्षरका आतिथ्यको
साक्षी बनेर पनि उभिएकै हो
साकेन्वा लाकछामको शिलीबाट
फुत्किएर पनि त ठिङ्ग भएकै हो म
राष्ट्रगानको सम्मानमा।
तर आज
एक निद्रा बढी के सुतेथेँ,
छिमेकीले उखेलेर फ्यालिदिएको
सीमास्तम्भ झैँ विवश हुनपुगेको छु।
तीख्खर माइक गुञ्जँदो छ
‘सयौँ थुङ्गा फूलका हामी।’
र म,
ठीक यति नै खेर शौचालय बसिरहेको छु।
यतिकै जुरुक्क उठी अब
गोप्याङ्ग देखाइदिएर
राष्ट्रगानलाई शरम गराइदिन पनि भएन,
बसीबसी स्वर खापेर
राष्ट्रगानलाई शौचिलो बनाइदिन पनि मिलेन,
नसुने झैँ गरेर
राष्ट्रगानलाई बेवास्ता गर्न त झन हुँदै भएन।
यसबखत त म,
मनमोहन चौकको मुठ्ठी भएर हुनुपर्थ्यो
वा, बीपी चौकको हत्केला भएर हुनुपर्थ्यो,
महेन्द्र चौकको श्रीपेच भएर हुनुपर्थ्यो
अथवा, पृथ्वी चौकको चोर औँला भएर हुनुपर्थ्यो।
योबेला म,
देशको सम्पूर्ण जोश भएर हुनुपथ्र्यो।
तर म, ठीक यतिखेर आयातीत शौचालयको बन्दी भएर ( छु।
तिख्खर आवाज गुञ्जँदो छ
‘अग्रगामी राष्ट्र हाम्रो...।’
प्रकाशित: ७ श्रावण २०७७ ०७:२१ बुधबार