coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मेरो याद आउँछ र? हुरहुरी आउँछ नि...

भिडियो हेर्दाहेर्दै लेखिएको गीत

के माया लाग्छ र ?  

उख्खुमै लाग्छ नि  

हुरहुरी आउँछ नि...

यो गीत लोकप्रिय बनेको छ। धेरैको जिब्रोमा ‘उख्खुमै’ र ‘हुरहुरी’ शब्द झुण्डिएको छ। धेरैले यी शब्द सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इस्टाग्राममा राखेका छन्।  

गीतकार हर्क साउदले लेखेको यो गीत निशान भट्टराई र एलिशा चौहानले गाएका छन्। गीतको भिडियोमा कलाकार मकुन भुषाल र सुरविना कार्कीको सुन्दर अभिनय छ। त्यस्तै भिडियोको निर्देशक नविन चौहान हुन्।  

हर्क स्थापित गीतकार हुन्। उनले ‘सुन साँइली, ‘कर्ली कर्ली कपाल’, ‘दुबो फुल्यो, ‘हात्ती ढुंगामा’ जस्ता चर्चित गीत लेखिसकेका छन्। अहिले उनको ‘के माया लाग्छ र ?’ बोलको गीतले सर्वाधिक चर्चा कमाइहेको छ।  

र्हक यतिबेला समाजिक सञ्जालमा दर्शक श्रोताको प्रतिक्रियालाई ग्रहण गर्नमै व्यस्त छन्। उनलाई मिडियामा अन्तरवार्ता दिन भ्याइनभ्याई छ।    

‘सुन साइँली’ को सफलतापछि ठूला ब्यानरका फिल्ममा समेत गीत रेकर्ड गराउन सफल भए हर्क। उनी संख्यात्मक रूपमा कम गीत रेकर्ड गराउने गीतकार पनि हुन्। तीन वर्षको अवधिमा उनका करिब एक दर्जन गीत मात्र रेकर्ड भएका छन्।  

उनका ‘प्रेमगीत–३’ को हात्ती ढुंगामा,‘क्याप्टेन’को कर्ली कर्ली कपाल, ‘साइँली’ को नाच माया र प्याटप्याटे चप्पल, ‘कबड्डी कबड्डी कबड्डी’ को दुबो फुल्यो, बटौली लगायत गीत चर्चित छन्। ‘के माया लाग्छ र?’ को चर्चा र प्रशंसाले उनको उचाई बढाएको छ।  

‘लुकी छिपी कुनै मायामा’ बोलको गीतको ‘प्रिक्वेल’ हो के माया लाग्छ र? त्यहि गीत पछि बाँकी भिडियोलाई कथालाई जोड्न खोजिएको हो।  

‘के माया लाग्छ र ?’  यसअघिको चर्चित गीत ‘लुकी छिपी किन मायामा’ को ‘प्रिक्वेल’ हो। गीतकार साउदका अनुसार ‘लुकिछिपी’ को कथा जहाँबाट सुरू हुन्छ, त्योभन्दा अगाडिको कथालाई यसमा भन्न खोजिएको हो।  

‘प्रिक्वेल भएकाले यो गीत लेख्दा अलि अगाडिको कथा भन्नु पर्ने थियो। त्यसैले पुरानो समयलाई ख्याल राखेर शब्द लेखेको हुँ’, हर्क भन्छन्’, ‘गीतको  शब्द रचिएको हो।’  

‘लुकी छिपी किन मायामा’ गीतको भिडियोको छायांकन  पाँचथरको एउटा गाउँमा भएको थियो। गीतको भिडियो धेरै बाँकी थियो। लुकी छिपी मायामा’ बोलको गीतको कथाले जन्माएको हो । भिडियोको फुटेज हेर्दा गीत आफैं फु¥यो’, हर्क थप्छन्। 

गाउँका सुन्दर दृश्य देखिए। भिडियोको सौन्दर्यले गाउँको परिवेशतिर फर्कायो उनलाई। 

‘त्यो दृश्यले मलाई आफू हुर्किएको परिवेशको चित्र देखायो। त्यसपछि गीतको शब्द लेख्न बसेको हूँ’, हर्क भन्छन्, ‘पुराना दिनलाई सम्झँदै गीतको शब्द रचेको हुँ।  गीतमा नयाँ प्रयोग गर्नु थियो। गीतमा पात्र र परिवेश समेटिएर लेखेको हुँ।’

गीतको भिडियो परिवेशलाई सुहाउँदो शब्द रचना गरेको उनी बताउँछन्।   

उनी प्रायः गाउँले परिवेश ख्याल गरेर गीत लेख्छन्। ग्रामीण परिवेशमा मौलाएको प्रेम भावको स्वाद मिठो हुन्छ।  

भिडियोले हर्कलाई ‘नोस्टाल्जिक’ बनायो। गाउँमा मेलापात, घाँस दाउरा जाँदा र गाईवस्तु चराउन जाँदाको तमाम यादहरू पोखिए। दृश्यसँगै शब्द पनि जन्मिए।  

‘असार र साउनमा घरगाउँमा खोला किनारबाट डांडातिर कुहिरो ‘ हुरहुरि’ जान्थ्यो। त्यो कुइरोले अँध्यारो बनाउँथ्यो। त्यसबेला डर लाग्थ्यो। तर अहिले शब्द लेख्दा बालपन तिर पर्खायो’, उनी सम्झन्छन्, ‘कताकता त्यहि जीवनको भोगाईबाट नै गीतको सिर्जना भएको हो।’

हर्कले पात्र र परिवेशका लागि गीतका शब्दहरू धरै पटक केलाए। एउटा गीत लेख्न दुईचार दिनको समय लाग्छ। दुईचार पटक नै पुर्नलेखन गर्छन। झनै गहिराईमा पु¥याउँछ। गम्भिर पनि बनाउँछ।  

उनी भन्छन् पश्चिममा ‘उख्खुमै’ शब्द प्रयोग गरिँदैन। तर पूर्वमा यो शब्द प्रयोग गरिन्छ। सानोमा थुप्रै गाईवस्तु चराउन जाँदा। खोलाबाट कुहिरो दौडिएका यादहरू र त्यही शब्दलाई गीत तयार भएको हो।’  

हुरहुरी, उख्खुमै र गुटटुङ् शब्दहरू पूर्वका इलाम, पाँचथरतिर प्रयोग गरिन्छ। ती ठाउँमा पनि नयाँ पुस्ताले यी शब्द प्रयोग गर्न छाडिसकेको छ।  

हर्क पूर्व धेरै पटक गएका छन्। त्यहाँ बस्दा भाषा र लवजसँग उनको आत्मीयता बढ्यो । ‘त्यहाँका बुढा बुढ्यौलिहरूले प्रयोग गर्दा त्यो शब्दले मलाई तान्यो। अनि आफैंलाई पनि प्रयोग गर्न मन लाग्यो’, उनले भने।  

जुन ठाउँ पुगे पनि उनी त्यस समुदायको रहसहन, कला संस्कृतिमा प्रगाढ सम्बन्ध राख्छन्। उनीहरूको लवजसँग निकट हुन्छन। अनि त्यहि निकटता गीतमा झल्कन्छ।  

‘नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुग्दा त्यहाँको समुदायसँग नजिक हुन्छु। त्यहाका समुदायका नजिक भएर गीत लेख्छु’ उनले भने।  

गीतले  बोकेको सन्देश  

नेपाली समाजमा जातिय, धार्मिक र सांस्कृतिक विविधता छ। अझै पनि समाजले एउटा वर्ग वा समुदायले प्रेम गर्न दिँदैन। समाज नै बाधक बन्छ। जातीय विवेधका कारण भएको समस्यालाई समेत गीतले सम्बोधन गरेको छ।  

यतै बसे डाली गुँड गुलेलीले झार्देलान

तिमी डाँफे  मै मैना पासो भित्र पार्देलान  

लैजान्छुसँगै म गुटुङटुङ भगाई...  

सतही रुपमा हे¥र्यो भने यो गीतले धेरै सन्देश दिएको छ। गीतले भाषासंस्कृति र विविधतामात्रै बोकेको छैन, जातकै कारण प्रेम असफल भएको, ज्यान पनि गुमाउनु परेको भावपनि बोकेको छ।  

समाजले तिम्रो र मेरो मायालाई अवरोध गर्याे भने के गर्ने ? यहाँ त बस्न सकिँदैन। कता लान्छु गुटुङटुङ लान्छौं । यस्ता शब्द गीतमा राखिएको छ।  

जीवन भोगाईबाट पनि लेख्न उभिप्रेरित गर्छ। कल्पना गरेको र महशुस गरेर लेखेको पनि फरक हुन्छ। मानिस प्रकृतिसँग अर्कै खालको प्रेम गर्छ। उसले मानिससँग गर्ने प्रेम फरक हुन्छ।  

उनको गीतमा जिन्दगीका भोगाईहरू छन्। ‘मेरो मात्रै होइन। हामी सबैले पार गर्दै आएको जिन्दगीको भोगाईलाई नै गीतमा भन्न खोजेको छ। सबैले गोगेको कथा गीतमा आउँछ’ उनी भन्छन्,‘स्कुल र कलेजमा सबैले प्रेम गरेको हुन्छ। त्यो कतैकतै सबैको जीवनमा समाहित भएको हुन्छ।’

गीत लेख्ने काम सजिलो हुँदैन। उनी पनि निकै मेहेनत गरेर मात्र गीतलाई फाइनल गर्छन्। यसरी सृजना गरिएको गीत लोकप्रिय बन्न संगीत र गायनको पनि उत्तिकै भूमिका हुन्छ। त्यस माथि म्यूजिक भिडियो पनि सुहाउँदिलो बन्नु पर्छ।  

गीतकार साउद सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिए। बाल्यकाल डोटी  मै बित्यो।  सुदूरपश्चिमको संस्कृतिमा हुर्किएको मान्छे पूर्वेली भाकाको गीतमा लेखनमा पनि सफल बनेका छन्।  

संघर्षपूर्ण थियो उनको बाल्यकाल। उनको गाउँमा रेडियो थियो, टिभी थिएन। बिजुली बत्ति थिएन। मेलापात जाँदा रेडियो घन्किन्थ्यो।

उच्च शिक्षा अध्यनका लागि काठमाडौं आएपछि उनको संगीतकार कालीप्रसाद बाँस्कोटासँग भेट भयो। तिनै बाँस्कोटासँगको संगतको परिणाम ‘सुन साइँली’ गीत जन्मियो। यो गीत हिट भएसँगै उनको सांगीतिक यात्राले नयाँ मोड लियो। उनी नेपाली गीतसंगीतमै रमाउन थाले।  

उनको गाउँमा डेउडा र मारुनी नाच्ने चलन छ। डेउडा संस्कृतिमा हुर्किए उनी। स्कुले जीवनमा पनि नाटकहरूमा खेल्थे। गाइबाख्रा चराउन जाँदा पनि गीत गुन्गुनाउँथे।  

यसरी संगीतमा लत बस्दै गयो। समयक्रममा उनी स्थापित बने र आफ्नै ब्राण्ड बनाउन सफल भए।  

आजसम्म उनले एक दर्जन बढी गीत लेखि सकेका छन्। उनको अधिकाशं गीतमा  विविधता छ। यसकारण जनजिब्रो झुण्डिएका छन्। फरकफरक स्वादका ती गीतहरू फरकफरक परिवेशका प्रतिविम्ब हुन्।  

उनका गीतमा नेपाली माटोको सुवास पाइन्छ। त्यसमा संगीत र गायनको राम्रो संयोजन हुन्छ। त्यसैले ती लोकप्रिय बनेका हुन्। गीत लेख्न बस्दा समाजमा त्यसले कस्तो प्रभाव पार्छ भनेर सोच्नु पर्ने उनको सुझाब छ।

प्रकाशित: ५ श्रावण २०७७ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App