१६ चैत्र २०८० शुक्रबार
कला

भानु जयन्तीका अवसरमा एक दर्जन बढी स्रष्टा सम्मानित

प्रदेश सरकारले गरेको सम्मान ग्रहणपछि । तस्बिरः चुमन बस्नेत/नागरिक

प्रदेश १ सरकारले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्तीका अवसरमा एक दर्जन बढी स्रष्टालाई सम्मान गरेको छ ।  

विराटनगरमा सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रदेशमा रहेर साहित्य, कलालगायतको क्षेत्रमा विशेष योगदान दिने स्रष्टालाई सम्मान गरेको हो ।  बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना  र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन् ।  

सम्मान कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवश्यक रहेको बताए । संघीयताअघिको शासन प्रणालीले स्रष्टाहरूको खोजी, पहिचान र सम्मानको काम नगरेको बताए । ‘साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश १ सरकारले एकाडेमी बनाउने तयारी सुरू गरेका छौं,’ मुख्यमन्त्री राईले भने, ‘साहित्य, कला, संस्कृतिको संरक्षण हुन नसके नेपालीपन हराएर जाने छ ।’  

त्यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली भाषा संकटमा रहेको बताए । नेपाली भाषा प्रयोग गर्नेको संख्या अहिले ३० प्रतिशत घटेको र अहिले नै भाषा, साहित्यको संरक्षण र विकास नगरे भावि सन्ततिमा नेपाली भाषाको प्रयोग अझै घट्ने मन्त्री घिमिरेले बताए । नेपाली भाषामाथि चुनौती रहेकाले यसको विकास र संरक्षण आवश्यक रहेको र नेपाली भाषासँगै प्रदेश १ मा बोलिने १ सय ४ वटा भाषा पनि संकटमा छन् । मातृभाषा, संस्कृति र संस्कार संकटमा पर्दै गएकाले यसको संरक्षण गर्न लाग्नुपर्ने मन्त्री घिमिरेले बताए ।  

एक लाख रुपैयाँ राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित भए ।  उनले सम्मान वापत प्राप्त गरेको राशिमध्ये ५० हजार विराटनगरको आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गरे । राई स्वास्थ्य समस्याले गर्दा पुरस्कार लिन आउन सकेनन् ।  

त्यस्तै ललितकलातर्फ मोरङकी अनुराधा थापा, साहित्यतर्फ धनकुटाका उमानाथ घिमिरे ‘सागर’, मोरङका कविराज पोखरेल, झापाका मुनाराज शेर्मा, खोटाङकी पञ्चकुमारी परियार, पाँचथरका प्रेम ओझा, सुनसरीका शिवनारायण पण्डित ‘सिंगल’, साहित्य र कलातर्फ सोलुखुम्बुका डिबी किराँती, रंगकलातर्फ झापाकी कविता नेपाल, चलचित्रकर्र्मीतर्फ मोरङका केशव रायमाझी, नृत्यकलातर्फ मोरङकी माया पौडेल, गीत÷संगीततर्फ मोरङका वीरध्वज शिवा सम्मानित हुँदै जनही नगद ५०–५० हजार रुपैयाँका साथ सम्ममानपत्र प्रदान गरिएको थियो ।  

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले स्रष्टाहरूलाई सम्मान गरेका थिए भने प्रा.डा. टंक न्यौपाने, प्रा.डा. भीम खतिवडा, प्राज्ञ खेम नेपाली, साहित्यकार मुनाराम शेर्मालगायतले आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै शुभकामना दिएका थिए ।

प्रकाशित: २९ असार २०७७ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App