६ वैशाख २०८१ बिहीबार
कला

दीपाश्री निरौला छोरी भएर जन्मिनु नै गल्ती : केकी अधिकारी

केकी अधिकारी र दीपाश्री निराैला

अभिनेता राजेश हमालका विषयमा टिप्पणी गरेपछि सामाजिक सञ्जालमा उनका फ्यानले यति आलोचना गरे कि कलाकार दीपाश्री निरौला माफी नै माग्न बाध्य भइन् ।  

एक टेलिभिजन अन्तर्वार्तामा अभिनेत्री निरौलाले  ‘राजेश हमाल महानायक हो र !’ भन्ने टिप्पणी गरेपछि उनको व्यापक आलोचना भएको हो । त्यसपछि निरौलाले फेसबुकमा लामो स्टाटस लेख्दै माफी मागेकी थिइन् ।  

यसै सन्दर्भमा नायिका केकी अधिकारीले पनि फेसबुकमार्फत नै टिप्पणी गरेकी छन् । उनले व्यंग्यात्मक शैलीमा लेखेकी छन्, ‘गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के?’

यस्तो छ उनको स्टाटसको पूर्णपाठ :

विगत केही हप्तायता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ । फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा, तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुकमै हुन्छ । नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो। अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो। सहनै गाह्रो हुने प्रतिक्रियाहरू आउँछन्, अनि मेरो मन भतभत पोल्छ भन्नुभो।

म एकछिन् घोत्लिए अनि सोचें, गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो । यो त पराकाष्ठा नै भैगो नि ।

गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त । अनि थाहा पाईपाई यत्रो अपराध गरिदिने ? हामीलाई त्यस्तो अनुमति छ र ? यहाँ कुनै दीपा,  पूजा, वर्षालाई गल्ती गर्ने छुट छैन है । भन्देको छु नि । मान्छे बन्ने कोसिस नगर्नू ।

ल आमा, तपाईंले यो पनि हेरिहाल्न्नु हुन्छ, त्यसैले ढुक्क हुनु है । मैले त्यस्तो केही लेखेको छैन । हाम्रो समाजकै समर्थनमा लेखेकी छु । मैले मरणासन्न हुनेगरी गाली खान्नँ, होला। मेरो चरित्र जोगिन्छ होला । 

प्रकाशित: २७ असार २०७७ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App