८ वैशाख २०८१ शनिबार
कला

टाइम आउट

खेमराज पोखरेल

खेमराज पोखरेल

नानीबाबुहरू,

आज म तिमीहरूलाई मेरी ४ वर्षे नातिनी एनिजाको ‘टाइम आउट’को कथा सुनाउँछु ।

मेरी नातिनी एनिजा एकदम चकचके, ट्यालेन्ट र सहयोगी छिन् । अरूको मर्म पनि बुझ्दछिन् । कसले के खायो, कसले खाएन सबै कुरामा ध्यान दिन्छिन् । तर कहिलेकाहीँ उनले बदमासी पनि गर्छिन् बाबैे । भनेको नै मान्दिनन् । एनिजाले कहिलेकाहीं खेलौना फुटाउँछिन् । खानेकुरामा झगडा गर्छिन् । आफूले लगाएको लुगा फोहोर पार्छिन् । आमाबाबुले भनेको मान्दिनन् । एनिजाले यस्तैयस्तै बदमासी गर्छिन् ।

बदमासी गरे पनि बाबुआमाले अमेरिकामा आफ्ना नानीबाबुलाई कुट्न र गाली गर्न पाउँदैनन् । आमाबाबुलाई रिस त कत्ति उठेको हुन्छ नि ! अनि यस्तो बेलामा हामी एनिजालाई ‘टाइम आउट’ दिने गर्छौं । उनले गरेको बदमासीअनुसार ५ मिनेटदेखि २० मिनेटसम्म टाइम आउट दिइन्छ । तिमीहरूलाई टाइम आउट भनेको थाहा छैन होला । टाइम आउट भनेको गल्ती गर्नेलाई केही निश्चित समय एउटा कोठामा लगेर थुन्ने हो वा एउटा कुनै निश्चित ठाउँमा उभ्याउने हो । समय नसकीकन टाइम आउट दिएको ठाउँबाट निस्कन र हिँड्न पाइँदैन ।

आज बिहान एनिजाले उनीभन्दा सानी २ वर्षकी बहिनी नाइसालाई कुटिन् । नाइसा निकै रोइन् । यसरी एनिजाले निकै बदमासी गरिन् । हामी सबै जना मिलेर उनलाई १० मिनेट टाइम आउट दियौं । उनी पनि रुँदै टाइम आउट दिएको ठाउँमा गएर बसिन् । एनिजालाई आफूले गल्ती गरेको थाहा हुन्छ । अनि उनी ‘सरीसरी’ भन्दै सजिलै टाइम आउट जान्छिन् । टाइम आउट भनेको साना केटाकेटीले ‘आफूले गल्ती गरें’ भन्ने कुरा आफैंलाई बुझाउनका लागि हो । समय सकिएपछि जसले टाइम आउट दिएको हो उसैले त्यो ठाउँबाट निकालेर ल्याउनुपर्छ नि फेरि । टाइम आउटबाट निकालेपछि एनिजाले मलाई भनिन्, ‘हब्बा म अब कहिले पनि बहिनीलाई कुट्दिनँ है । बदमासी पनि गर्दिनँ है ।’

आज दिउँसो म र मेरी नातिनी एनिजा काठका सानासाना ब्लकको घर बनाउने खेल खेल्दै थियौं । कसले छिटो र राम्रो बनाउने भनेर हाम्रो कम्पिटिसन थियो । एनिजा र म ब्लकको घर छिटोछिटो बनाउन थाल्यौं। घर बनाइसक्दा मैले ढिलो गरें । मैले बनाएको घरभन्दा उनले बनाएको घर राम्रो थियो । उनी मलाई जितेकोमा दङ्ग थिइन् । मलाई ‘यु लुज हब्बा’ भनेर झन् – झन् उफ्रिन थालिन् । ‘यु लुज हब्बा’भनेको ‘तपाईँले हार्नुभयो हजुरबा’भनेको हो ।

मैले  जानीजानी बदमासी गरिदिएँ । उनले बनाएको घरलाई बिस्तारैबिस्तारै एउटाएउटा ब्लक झिकेर भत्काइदिएँ । मैले घर भत्काइदिएको उनले थाहा पाइहालिन् । घर भत्किएपछि उनी बेस्सरी रुन थालिन् । उनले रिसाएर मैले बनाएको घर पनि भत्काइदिइन् । ब्लक कोठाभरि छरियो । उनी रोइरहेकी थिइन् । अनि मैले पनि रोएजस्तो गरें । तर उनको रुवाइ कम भएन । मैले बाध्य भएर आफ्नो कान समातेर माफी मागें ।  ‘सरीसरी मेरी नातिनी, अबदेखि गर्दिनँ’ भने । ‘अबदेखि तिमीले बनाएको घर पनि भत्काउन्न । तिम्रो घर पनि बनाइदिन्छु । नरिसाऊ है’ भनें । तर उनको रिस मरेन । 

गल्ती गरेपछि सजाय पनि पाउनुपर्छ भन्ने उनको कुरा थियो । उनी एकाएक रुन लागिन् । त्यसपछि उनले मेरो हातको औंला समातेर तानेर घरको एउटा कुनामा लगिन् र मलाई ५ मिनेट ‘टाइम आउट’दिइन् । यसरी उनले मलाई ५ मिनेट उभ्याएर दण्ड दिइन् । ‘अबदेखि यस्तो बदमासी गर्दिनँ’ भन्न लगाइन् । यो भनेको उनले मलाई दण्ड दिएको हो । उनले घडी हेरेर ५ मिनेट मलाई उभ्याइन् । मेरो टाइम आउट सकिएपछि उनले मलाई त्यहाँबाट निकालिन् । माफ गरिदिइन् । अनि हाँसेर मेरो काखमा आएर बसिन् ।

नानीबाबुहरू,

तिमीहरूले पनि बदमासी गर्छौ होला ! मेरी नातिनी एनिजाले जस्तो बदमासी गर्न हुँदैन है । बदमासी गर्ने मान्छेलाई कसैले पनि मन पराउँदैन । माया पनि गर्दैन । तर बदमासी गरेपछि पनि तिमीहरूका बुवाआमावा स्कुलका सर, म्याडम वा मिसले तिमीहरूलाई कुटे भने तिमीहरूले पनि उनीहरूलाई ‘टाइम आउट देऊ’ है । साना  नानीबाबुहरूलाई कुट्न हुँदैन भनेर पनि सिकाइदेऊ है । किनभने तिम्रो बाबुआमाले यो कुरा जानेको नहुन पनि सक्छ । तिमीहरूको आमाबाबु पनि सानो छँदा कुटाइ खाएरै हुर्केका हुन सक्छन् । नपत्याए सोध न आफ्नो आमाबाबुलाई । लहै त आजलाई बिदा, फेरि भेटौंला  ।

तिमीहरूलाई माया गर्ने

अमेरिकाको हजुर्बा।

प्रकाशित: २७ असार २०७७ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App