पसीनाको जीवनचक्र
जोत्दैछु जीवन जस्तै
दुबोले गाँजेका गराहरू
चिर्दै जान्छ फालीले बाँझो माटो
चरचरी च्यातिन्छ धरती
औंलाऔंला छोएर बजिरहन्छ
चपरीको चर्चरी।
जब उड्दै जान्छ
हावाको गाला मुसारेर
पसीनाको गन्ध
आकाशले आँखा खोल्छ
बर्षन्छ झरझर हर्षाश्रु।
उम्रन्छ कुमारी माटोमा
भोलिको मीठो बास्ना
सुरु हुन्छ माटोको ऋतुस्नान।
पसीनाको स्खलनसँगै
खुशी रोपिन्छ पृथ्वीको पर्णशालामा
र हलक्क हुर्कन्छन् पसीनाका सन्तानहरू।
धर्तीका छातीमा खेल्दैखल्दै
फक्रन्छन् तन्नेरी पसीनाहरू
हावामा हल्लिन्छन्
पसीनाका फूलहरू।
पसीनाको फसल टिप्ता नटिप्तै
उम्रन्छ उही दुबो
फेरि माटोलाई
कुमारीे बनाउन
दुबोले सिइदिन्छ उसका चिराहरू
र
नयाँ हाइमेन पलाउँछ ।
वैशाखको बतासमा
छिल्लिदै र मुस्कुराउँदै
उसरी नै सुरु हुन्छ
कुमारी माटोको आह्वान।
कहिल्यै नतोडिने
उसको कुमारीत्वले
फेरि एकपटक
बोलाएको छ
र हलो बोकेर
उभिएको हुँु म किसान ।
०००
आमा हुन् गाउँ
प्रकृतिले अझै पनि
काखमा राखेर मुसारिरहेको
चुलबुले बालक हो गाउँ।
कोदोका बाला भएर
मुन्टो लुकाउँछ भोकले
पीपलको हाँगा भएर
फिजारिन्छन् दुखका हातहरू
त्यही दुखको गाभो चुसेर
जिमखाना जान्छ ऐंजेरु शहर।
अझै पनि गाउँमा
परदेशिएको खसमको वियोगमा
एक्लै रुन्छे न्याउली
बाबुले सुने पनि नसुने पनि
काफल पाक्यो भनेर
बोलाइरहन्छन् नानीहरू ।
थाहा हँुदैन
कहाँकहाँ जाल थाप्छ
शिकारी समय
र भोका बचेराहरू
र्चििर्बराउँछन् भोकको गीत
सुनेर त्यही सङ्गीत
राहत बोकेर रूख चढ्छ कालो सर्प।
हरेकवर्ष
उसरी नै उर्लन्छ असारे भेल
खोला तर्दातर्दै बग्छन्
स्कुल हिँडेका नानीहरू
उर्लदो भेलमा
बाँकाटे हानेर पस्छ
उध्दारमा गाउँको जोस
उसरी नै चल्छ चैते हुरी
धुरीबलो समातेर
जुधिरहन्छ गाउँको साहस।
गाउँमा अझै पनि
खेतैखेत रोपिन्छन् कविताहरू
पाखैपाखा गुन्जन्छन् गीतहरू
उस्तै छन् कागका गुँडहरू
उसैगरी माटोका दरबार बनाइरहेछन्
कमलकोटीहरू
उसैगरी बेसीमा टमक्क बस्छ कुहिरो
र कुहिरोको मैदानमा
ठमठम हिँड्ने सपना देख्दै
हुर्कन्छन् नानीहरू।
उसरी नै
रूखको बोक्रामा
ढुङ्गाले खोपेर
पोखिन्छ प्रेमको पहिलो अक्षर
एउटा दुख्दा
अर्कामा पनि सर्छ पीडा
एउटालाई चोट लाग्दा
अर्कोमा पनि सर्छ वेदना।
अघाएका सन्तान हेरेर
भोकै अघाउन सक्ने
आमा हो गाउँ।
अविराम धड्किरहेको
मुटु बाँकी छ गाउँमा
जसले पठाउँछ
श्रमका धमनीहरू हुँदै
शहरसम्म
खुशीका रक्तबीजहरू
शहरको शिरा हुँदै गाउँ पस्छ
सम्बन्धको प्रदूषण ।
हेरिरह्यो भने गहिरा आँखाले
जस्तै प्रदूषाणले पनि
मार्न नसकेको
मानवताको ढुकीढुकी
बाँकी हुन्छ गाउँमा।
नियालेर हे¥यो भने
देखिन्छ गाउँमा
जस्तै संकटमा पनि
सहानुभूतिको साथ
सुनिन्छ सौहार्द संगीत।
गाउँमा अझै पनि
गाउँ मरेको छैन
साँच्चै
तिम्रो जीवनमा गाउँ छ कि छैन?
०००
नामर्द
तिम्रो पुतली उमेरमै
बिसाइदिएँ काखमा
मेरो गह्रुङ्गो जिन्दगी।
उचालेर यो भारी
हिँडौली कसरी
नसोधीकन
उडिदिएँ खोसेर
तिम्रा एकजोर पंखेटा ।
त्यही दिनदेखि मलाई उनीहरूले मर्द भने ।
मैले हेरिरहेँ
मेरो जिन्दगीका
चिहान जस्ता चिसा कोठाहरूमा
तिम्रा भर्भराउँदाहातहरूले
लिपिरहेको निर्मम दृष्य।
घिस्रदैघिस्रदै
तिमीले बोकिहिँड्यौ
अजंग पहाड
त्यही पहाडको संजीवनीले
मृत्युशैयाबाट बिउँझिएपछि
उनीहरूले मलाई भगवान् भने ।
मैले पढिनँ
यी घरका बुर्जाहरूमा
मेटिंदै गएको
समयको हस्तरेखा
यी बाटाका छपनीहरूमा
लुक्दै गएको विरह गाथा
यो आँधीको अँगालोबाट
आइरहेको सुरिलो आवाज।
र बजाइरहे
उत्खनन् गरी
भर्खरै निकालिएको
नलीहाडको बाँसुरी।
मैले कहिल्यै पढिनँ
तिम्रो दुखको कथा
मैले कहिल्यै पुछिनँ
तिम्रो निधारको पसीना
थाप्लोमा नाम्लो थामेर
तिमी मुस्कुराउँदै हिँड्यौ
तिमीले बोकिल्याएका
उत्साहहरू बाँडेपछि
उनीहरूले मलाई साहसी भने।
तिमीले कोरलेका कोकुनहरू उसिनेर
रेशमी बन्यो मेरो हुलिया ।
तिमीले संगालेका पुष्परसहरूले
मधुमय बन्यो मेरो भान्साघर ।
उनीहरूले मेरो तारिफ गर्दा
तिमी ढकमक्क फुल्यौ
उनीहरुले मेरो पूजा गर्दा
तिमी पुलकित बन्यौ।
त्यसै दिनदेखि
मैले मन्दिरमा
तिमी मुस्कुराइरहेको देखें
मेरो ह्रदयको पूजाकोठामा
टाँसिदिएँ तिम्रो भव्य तस्वीर
त्यही दिन मैले थाह पाएँ
तिम्रो सिउँदोमा
एक थुँगा लालीगुराँस पोतिदिए जस्तो सजिलो
होइन रहेछ पिरती
जुन दिन पूर्वबाट
बिस्तारै मेरो ओछ्यानमा ओर्लियो
घामको एउटा पातलो धर्सो
त्यही दिन म बिउँझिएँ।
म बिउँझिएको दिन
उनीहरूले मलाई नामर्द भने।
प्रकाशित: २६ असार २०७७ ०९:२७ शुक्रबार