२८ श्रावण २०७७ बुधबार
कला

मुस्कान

लघुकथा

राजु क्षत्री अपुरो

राजु क्षत्री अपुरो

ऊ पुरानो एल्बम पल्टाउँदै थियो । समयसमयमा खिचिएका फोटाहरूले मानसपटलमा ताजा स्मृति दिलाइरहेको थियो । यसै क्रममा उसले आफ्नो बालापनको फोटो भेटाएपछि टक्क रोकियो । फोटोमा ऊ मुसुक्क मुस्कुराइरहेको थियो । मीठो मुस्कानमा अबोधपन झल्किएको प्रष्टै देखिन्थ्यो । उसलाई आज पनि आफ्नो होस खुलेदेखि सम्झना छ, त्यो मुस्कानले त्यतिबेला उसका थुप्रै  आफन्त र छिमेकीहरूको मन जितेको थियो । मीठो मुस्कानस्वरूप  उपहारमा कतिपयले म्वाइँ   खाएका थिए भने कतिले गाला सुमसुम्याउँदै अँगालोमा लिएर छातीमा टाँस्दै माया गरेका थिए।

कतिपयले फलानाको छोराको मुस्कानले घर अझै उज्यालिएको छ भन्थे। यसको त हाँसै मीठो त्यै भएर पनि मन खिचिन्छ भन्ने छरछिमेकीहरू पनि थुप्रै थिए।

उसले बालापनको फोटो र हालको सेल्फी लिएको फोटो एकसाथ आफ्नो फेसबुकवालमा पोस्ट गरयो । क्याप्सनमा लेख्यो ,  ‘ पाँच वर्षको त्यो बालापनको मुस्कान र २५ बर्से युवाको मुस्कान !’

हेर्दाहेर्दै  मीठामीठा र प्रशंसाले भरिएका प्रतिक्रियाहरू आउन थाले । सयौं  मानिसको प्रतिक्रिया आयो –  गजव , मीठो मुस्कान ,  सधै मुस्कुराइरहनु, आहा कति हँसिलो । अझ केहीले त यही मुस्कानले थुप्रै युवतीहरू पट्याएको हुनुपर्छ भनेर लेख्न समेत भ्याए । यस्तैयस्तै प्रशंसाले भरिभराउ थियो उसको कमेन्ट बक्स ।  धन्यवाद फर्काउन समेत भ्याईनभ्याई भएको थियो  उसलाई  तर  अचम्म  उसका आफन्त , छिमेकी र उसलाई नजिकैबाट चिन्नेहरूको प्रतिक्रिया एउटा पनि थिएन । सुत्नुपुर्व  उसले पुनः मोबाइल खोल्यो ।  उसले अन्तिममा एउटा प्रतिक्रिया देख्यो। त्यो प्रतिक्रियामा थुप्रै निकट व्यक्तिहरूका लाइक थिए। प्रतिक्रियामा उल्लेख थियो ,   ‘रामकृष्णे , तँ जसरी मुस्कुराएको  छस् त्यसैगरी  तेरो परिवारलाई पनि  मुस्कुराउन दिँदो होस् त हामी  खुशी भएर कति मीठामीठा कमेन्ट लेख्थ्यौ होला !’ 

प्रकाशित: २६ असार २०७७ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App