८ वैशाख २०८१ शनिबार
कला

शान्तिको प्रतीक

लघुकथा

आचार्य प्रभा

आचार्य प्रभा 

सिमान्त आज भान्सामा  व्यस्त छ । उसले साँझ  डिनरमा साथी रुपेशको परिवारलाई बोलाएको छ।सिमान्त र रुपेश एउटै विचारको धारमा चल्ने मित्रहरू हुन् । जसको मूल आह्वान छ ,  "संसारभर शान्ति छाउनुपर्छ"।

उनीहरूले यही शान्तिको सन्देश छर्नलाई मिलेर अफिस पनि खोलेका छन्।

साँझ ठिक ७ बजे रुपेशको परिवारको आगमन भयो। सिमान्त र रुपाले डाइनिङ  टेबलमा खानाका परिकार सजाएर राखेका थिए।

खाना अगाडि पिउने ड्रिंक्स र सितन पनि तयार थिए।

सब जना डाइनिङ टेबलमा बसे। रुपेशका छोराछोरी पनि आएका थिए।  ड्रिंक्स र परेवाको भुटेको सितनबाट मेजमान शुरु हुनै लागेको थियो।

रुपेशले प्लेटको मासुको टुक्रा चलाउँदै सोध्यो , " योचाहिँ  केको भुटन परयो ?"

सिमान्तले जवाफ दियो , "तिमीलाई परेवाको मासु मनपर्ने भएकाले घरको धुरीमा परेवाका बच्चाहरू खान ठिक्क भएका थिए । आज त्यसैलाई यो  ह्विस्कीसँग ठिक पारियो।"

रुपेशले घुटुक्क थुक निलेर भन्यो , "वाउ यो हो नि साथीको खातिर गर्ने  तरीका ।   थ्याङ्क्यु मेरो धोको पूरा भयो यार । मलाई कैलेदेखि खान मन लागेको परेवाको मासु।"

आफ्नो बाबाको कुरा सुनेर रुपेशका छोराले भन्यो , "बाबा तपाई र अङ्कल त संसारभर शान्ति फैलाउने अभिव्यक्ति  दिनुहुन्छ। सबैलाई शान्तिको पाठ सिकाउनुहुन्छ अनि आफै शान्तिको प्रतीकको हत्या गरेर खान लाज लाग्दैन?"

छोराको कुरा सुनेर रुपेश निरुत्तर बन्यो र सोध्यो , "कस्ले  भन्यो तँलाई परेवा शान्तिको प्रतीक भनेर?"

अझ बाउँठिदै छोराले भन्यो , "तपाईहरूको  भित्ताको ब्यानरको लोगो हेर्नहोस् त!"

अलिक पर भित्तामा शान्तिको सन्देश भरिएको ब्यानर  झुन्डिरहेको थियो। रुपेश र सिमान्त लाजले पानीपानी हुँदै भुइँतिर हेर्न बाध्य बने छोराको प्रश्नले। टेबलमा सजिएको खानाहरु निल्नु न ओकल्नुभयो ती दुई परिवारलाई।

प्रकाशित: २४ असार २०७७ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App