२६ श्रावण २०७७ सोमबार
कला

एउटा पुरानो विम्ब

निबन्ध

बोधराज पौडेल

बोधराज पौडेल

एकाएक गायब भयो, आँखाबाट एउटा तस्वीर । जुन वर्षै पहिले बडो जतनका साथ मनमा सजाएको थिए । पहिला त त्यो धूमिल जस्तै थियो । पछि बिस्तारै यति गाढा भयो मानौं वर्षै पछि सुक्खा क्षेत्रमा भारी वर्षा भएको होस् । यस्तै भयो । वर्षापछि त्यो बञ्जर जमीन हरियालीमा रूपान्तर भयो । जहाँ करोडौ नयाँ बिरुवा उम्रिए र छोपियो घना झाडीभित्र मैले जतनले राखेको त्यो एउटा पुरानो विम्ब ।

कुनै बेला उहाँले भनेको कुरा सम्झिए, ‘हेर हिमाललाई कसैले सौन्दर्य भर्नुपर्दैन तैपनि निरन्तर चम्किरहन्छ ।’ आखिर सदियौदेखि हामीले यो कुरालाई मनन गरि नै रहेका छौ । यो भनाइले मनबाट हराइसकेको एउटा आशालाई जगाइदियो । सम्झें घरबाट देखिरहने हरेक प्रातमा हाँसेको हिमाल । जुन चाँदीको घेरामा सुनको जलप लगाएझैं थियो । जहाँ घामको झुल्को पर्दा आभा भरेर चम्किरहने । हिउँका चुलीहरू हेर्दा साँच्चै मनोरम थिए । एउटा सुन्दर मनको सोकेसजस्तै । तर व्यवहारमा ती हिउँभित्र लुकेका कालापत्थर दिलमा गढेर बसिरहे । जुन अरूलाई सौन्दर्य भरेर आफै लुप्त रहे ।

मनमा धेरै कुराहरू खेलिरहे । उसै अशान्त भयो मन । तलाउलाई कसैले छल्काएसरि । यस्तै भावमा घरको कोचमा बसिरहेको थिए । बाले दुखको बेला भन्ने गरेको शब्द झट्ट दिमागमा आयो । बा भन्नुहुन्थ्यो, ‘समुन्द्र आफ्नो सफाइ र सुरक्षा आफै गर्छ ।’ यसको अर्थ बाल्यकालमा मैले धेरै कोसिस गर्दा बुझ्न सकेको थिइनँ । अहिले यसको अर्थ बिस्तारै बुझ्दै छु । वास्तवमा हो पनि, त्यत्रो ठूलो समुद्रलाई कसले सफाइ गर्न सक्छ ? अनि सुरक्षा पनि । मानिसहरू फोहोर गर्छन । तैपनि ऊ सधैं सफा र शान्त देखिन्छ । ऊ अशान्त देखियो भने त विनाश ल्याएर फोहोर गर्नेहरूलाई सजाय दिन्छ । यसको अर्थ हरेक समस्याको समाधान आफैभित्र हुन्छ । त्यसका लागि धैर्यका आवश्यकता हुन्छ । यो कुराले मनलाई केही शान्त बनायो ।

चराहरू एक्कासि आकाशमा चिर्रबिराए । लाग्यो ठूलो कुनै समस्या आउनेवाला छ । यसको संकेत दिनकै लागि यिनीहरू भागदौड गरिरहेका छन् । बा सधैं मलाई सम्झाउनुहुन्थ्यो, ‘नानी हो हरेक दुखपछि सुखको दिन आउँछ । पतझड भएको वृक्ष पनि केही समयमा हरियो भएर आउँछ ।’ उहाँको यही कुरालाई  शिरोधार्य गरेर कुनै अप्रिय कुरा सुन्नु नपरोस् भन्ने कामना गरे । वास्तवमा दुखपछि सुख र सुखपछि दुख आफैमा चक्रजस्तै घुमिरहन्छ । हो, हामी पनि देख्र्छौ हरेक पतझड वृक्षमा थोत्रा पात झरेर नयाँ र राम्रा पातहरू आउँछन् । जसले रूख नयाँ लुगामा सजिएकी दुलहीझैं सुन्दर देखिन्छ ।

एकाबिहानै रेडियोमा एउटा समाचार सुनियो संसारभरि खडेरी परयो । खानका लागि कुनै कुरा बाँकी रहेन । सारा संसारले अब भोकमारीको समस्या सामना गर्नुपर्ने छ । गोठबाट ढुंग्रोभरि दूध लिएर आउँदै गर्दा मेरो बाले यो खबर सुन्नुभो र भन्नुभयो, ‘झारको बिउ राख्नु पर्दैन, त्यो कहिल्यै मासिदैन ।’ यो कुराले ठूलो ऊर्जा दियो । मैले देखेको थिए पानी बर्सिनेबित्तिकै झारहरु आफै उम्रिएको । 

झारलाई गोडमेल र संरक्षणको पनि आवश्यकता थिएन । हामीले जति नै मास्न खोजे पनि ती  आफैं जाग्थे । ती कहिल्यै मासिदैनथें । झारको बिउलाई बचाएर राख्नुपर्ने आवश्यकता कहिल्यै आएन । अनि बाले भन्नुभयो, ‘जसले जन्म दिएको छ, उसले पाल्छ पनि ।’ सत्य यही हो ।

उहाँले आश्वस्त पार्नुभयो । नानीहरू हो जंगली जनावरले कहिल्यै खेती गर्दैनन् । तैपनि उनीहरू जीवित रहेका छन् । त्यसो हुनाले कुनै खडेरी पर्दैमा मरिन्छ भन्ने सोच्ने होइन । त्यसको सामना गरेर कसरी समाधान निकाल्ने भन्ने हो । बाको कुराले मेरो दिमागमा चक्कर खायो । मैले बासँग पूरा भरोसा गरे थाहा छैन, प्रकृतिले भोकालाई पाल्छ वा पाल्दैन । म चाहन्छु मेरो बाको आशा निराशामा नबदलियोस । मेरो बाको पढाइको कुरा गर्दा हलो, कुटोे कोदालोमा उच्च श्रेणी हो । मिल्दो हो त गोल्डमेडल दिए हुन्थ्यो । बिचरा अक्षरसँग उहाँको साधारण परिचयभन्दा बढी थिएन ।

तिमीहरूलाई थाहा छ,‘नानी हो हरेक कुराको सिजन हुन्छ । फलफूल फल्ने समय उनीहरूको सिजनअनुसारको हुन्छ । वर्षाको आफ्नै तरीका हुन्छ । असारसाउनको समयमा अधिक वर्षा हुन्छ । जुन समय खेतीका लागि उपयुक्त समय हो । पुसमाघमा पानी कम बर्सिछ । जाडोमा पानी अधिक बर्सियो भने जाडो कति बढ्ला ? त्यसको सहन गर्न गाह्रो हुन्छ । त्यसो हुनाले प्रकृतिले सबै कुरा मिलाएको हुन्छ । सूर्य उत्तरायण र दक्षिणायन हुन्छ ।’ यही समयलाई हामी जाडो र गर्मी मान्छौ । बाले भन्नुभयो, ‘सुन्तला हरेक वर्ष चिसो समयमा पाक्छ । आँप, अम्बा गर्मीलाई नै पर्खिन्छ । मैले माने बा । त्यसै बालाई मैले गोल्डमेडलको माग राखेको पनि हैन ।

 मलाई यी यावत् कुराले जिज्ञासु बनायो । मैले बालाई सोधेँ, ‘बा संसार कसरी चल्छ त ?’ बाले यति सहज तरीकाले उत्तर दिनुभयो । यति सजिलो तरीकाले मलाई   चालिस गुरुले पनि बुझाउन सकेका थिएनन् । हेर नानी ‘लडेको ढुंगा पनि लडेको लड्यै गर्दैन । दुख पनि सधैं दुख गरेर बसिरहन सक्दैन् । लडेको ढुंगा पनि केही बल्डयाङ खाएपछि आफै रोकिन्छ ।’ दुख, खडेरी, महामारी पनि केही समयमा आफै आजित हुन्छ र त्यो स्थान छोड्छ बुझिस् । स्पष्ट बुझे बा । यति सहज कुरा पनि म कसरी बुझ्दिनँ र ।

मैले आफैलाई जति बुझे । किताबलाई जति पढेँ । आधा जीवन समाजलाई चिन्ने प्रयन्त गरे । तर मैले कहिल्यै ती ज्ञान पाउन सकिन । जति समाजका प्रौढ र निरक्षर भनिएकाहरुसँग थियो । हामीले देख्दा निरक्षर भएकाहरू विश्वविद्यालयका प्राध्यापक हुन । यो कुरा म गर्वका साथ भन्न सक्छु । मात्र उनीहरूलाई बिस्तारमा खोतल्न र पढ्न सक्नुपर्छ ।

यो मेरो सूक्ष्म अनुभव र अध्ययन हो । जुन कुरा विश्वविख्यात लेखकले पनि आफ्नो दर्शन र आख्यानमा उजागर गर्न सक्दैन । उनीहरू कि त त्यो कुरा जान्दैनन् कि समाजलाई बताउन चाहँदैनन् । त्यसैले प्रबुद्ध लेखकभन्दा समाजका प्रौढहरू हजार गुणा राम्रा लेखक हुन मेरो विचारमा ।

सहयात्राको लामो समयपछि बा बिस्तारै मुर्झाउन थाल्नुभयो । म उहाँको शरीर र शक्ति क्षणको अवस्था देखेर चिन्तित हुन थाले । मेरो चिन्ता देखेर बाले मलाई नजिकमा बोलाउनुभयो । कानका लोतीहरू छाम्नुभयो । कपाललाई खेलाउँदै मलाई सम्झाउनुभयो, ‘नानी तैले चिन्ता लिनुपर्ने कुनै कारण छैन । फूल फुलेर मुर्झाएर झरेन भने उसले नयाँ बिउ छर्न सक्दैन । नयाँ बिउ छर्न सकेन भने धर्तीले कसरी नयाँ फूल फुलाउन सक्छ ।’ यो त एक नियमित चक्र हो । बाको यो कुराले म निशब्द भए । बिनाअध्ययनको ज्ञान र त्यो सौम्यपना मबाट सधैंका लागि टाढा भयो । एउटा पुरानो विम्ब कहिल्यै नर्फकिने गरेर ।

प्रकाशित: २३ असार २०७७ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App