७ वैशाख २०८१ शुक्रबार
कला

पृथ्वीकी छोरी

कविता

दिपक थापा

तिमी  

चोली र फरियामा सजिएर सन्तप्त मुस्कान छर्दै  

पृथ्वीका फाटहरूमा  

शासकले बिराएका प्रत्येक खेतका  

आलिहरूमा  

मानव अंकित भाइचाराको झण्डा झुकाउन पुग्नेछौं  

र भनिदिने छौं

अणुवमका पारखिहरुलाई

जहाँ मानवता हुदैन त्यहा देश हुदैन भनेर 

 

र प्रत्येक सडक र सदनका किनाराहरूमा  

उभिएर भनिदिने छौं

ए ! मुर्खहरू हो ती कम्जोर मनका ऐनाहरूसंग  

प्रतिस्पर्धा गर्न सक्छौं

चन्द्रमा बस्ती राखी विश्व किर्तिमान राख्नसक्छौं  

तर, पृथ्वीलाई जित्न सक्दैनौं

त्यो उदाउने विहानी अस्ताउन सक्दैनौं

मानव शरीरमा रातो रगतबिना  

कारखानाको तरल पदार्थले  

मानवताको मुटु धड्काउन सक्दैनौं

 

त्यसैले,

आ–आफ्ना कारखानाहरूमा  

माटो खनजोत गर्ने औजार बनाउनु  

युद्ध गर्ने मेसिनगन हैन  

ती अवोध केटाकेटीहरूलाई

नैतिकता र सदाचारका पाठ घोकाउनु  

बारुद बनाउने शुत्र होइन्

 

र प्रत्येक राष्ट्रका चुलुहरूमा  

भोकको भाडा बस्नुपर्छ  

शौखिन तानाशाही खड्कुला होइन

प्रत्येक राष्ट्रका अदालतहरूमा  

न्यायका सुन्दर फूलहरू फक्रनुपर्छ  

सम्बन्ध बिच्छेदका फिरादपत्र होइन

 

अनि,

अन्तिममा मेटिदिने छौं

अहंकारी रगतले पोतिएका सिमानाहरू  

र कोरिदिने छौं

सिंगो युग बाच्ने स्वर्णिम मार्ग  

पृथ्वीका धुलकणहरूमा  

र पृथ्वीबाटै लखेटिदिने छौं 

 

राष्ट्रको खुम्चिएको पिरामिड संगै  

फैलिएको विकृती–विसंगती  

अनि रोपिदिने छौ संसारका बगैचाहरूमा  

सभ्यता र संस्कृतिका नयाँ फूलहरू  

ठीक त्यहिबेला  

अपमानको कात्रो लिएर  

ब्युझिनेछन बहुसंख्यक बुख्याचाहरू  

तर, तिमी सभ्याताको कोशेलीसंगै त्यो सुन्दरविहानी  

पृथ्वीको काखमा सुम्पिएर फर्कने छौं  

आफ्नै आकाशमा ।।

प्रकाशित: २१ असार २०७७ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App