७ वैशाख २०८१ शुक्रबार
कला

रंगकर्मीको गुरु-चेला सम्झना

रंगकर्मीका लागि गुरुपूर्णिमा विशेष दिन बनेर आउँछ। गलाभरि खादा, निधारमा टीका र हातभरि मिठाई। आत्मीय वातावरणमा आफ्ना चेलाहरूबीच रंगकर्मका अनुभव बाँड्न पाउँदा उनीहरूमा खुसी छाउँछ।  

बेलाबखतमा फोनबाटै सन्चोबिसन्चो त सोधखाज भइरहाल्छ। भेटघाट भने गुरुपूर्णिमा जस्तै तिथिमा हुन्छ। यो दिन गुरु र चेला दुवै खुसी हुन्छन्।  

‘मेरा लागि गुरुपूर्णिमा दसैंभन्दा महत्वपूर्ण चाड हो’, रंगकर्मी सुनिल पोखरेल भन्छन्,‘आफ्ना चेलाहरूको अनुहारमा खुसी देख्दा आनन्द लाग्छ।’    

गुरुपूर्णिमाका दिन गुरुकुलमा हुँदा र अनामनगरस्थित ‘ज्ञ’ डिस्कभर योरसेल्फ थिएटर चलाउँदा उनी बिहानैदेखि विद्यार्थीसँग घेरिन्थे। सबै विद्यार्थीसँग रंगमञ्चका अनुभव बाँड्थे। केही वर्षअघि गुरुकुल बन्द भएपछि गुरुपूर्णिमा मनाउने स्वरुप परिवर्तन भएको छ। अहिले ‘ज्ञ’ पनि बन्द छ। उनका लागि चेलाचेली भेट्न घरमै आउँछन्। अनि गुरुपूर्णिमा मनाउँछन्।  

गुरुपूर्णिमा गुरु र चेलाको सम्बन्ध ‘सेलीब्रेट’ गर्ने दिनका रुपमा लिन्छन्, सुनिल। आफूले पढाएका विद्यार्थीसँग विशेष दिनमा भेट्न र छलफल गर्न पाउँदा उनलाई आनन्द लाग्छ।  

उनका चेला रित्तो हात आउँदैनन्। ‘कतिपयले पुस्तक उपहार ल्याउँछन् त कतिले मिठाई’, उनी भन्छन्, ‘उखुको जुस पनि ल्याउँछन्।’  सुनिलाई उखुको जुस मनपर्ने उनका चेलाहरुलाई थाहा छ।  

विद्यार्थीलाई भेट्न पाउँदा मख्ख पर्छन् उनी। कति पुराना विद्यार्थी आउन भ्याउँदैनन्। नयाँ विद्यार्थी थपिन्छन्। जति भेट्न आउँछन् तिनलाई उनी टीका लगाएर हृदयभरिको आशिर्दाव दिन्छन्।  

गुरुपूर्णिमाका दिन कतिपय चेला फोनबाट शुभाशिष थाप्छन्। उनका उत्पादनले डाँडापाखा ढाकेका छन्। अर्थात् सिनेमा र नाटकमा छाएका छन्।  

‘मेरा विद्यार्थी नाटक र चलचित्र दुवै क्षेत्रमा सक्रिय छन्। कति घरव्यवहारमा लागे’, उनी सुनाउँछन्, ‘मलाई सबैको उत्तिकै माया लाग्छ। जो जहाँ भए पनि उनीहरू सधैं खुसी भइरहुन् भनेर भगवानसँग प्रार्थना गर्दछु।’  

अगुवा कलाकार पोखरेल कडा स्वभावका मानिन्छन्। ‘पहिले अलि कडा र रुखो थिएँ। मलाई घुसघुसे पनि भन्थे’, उनी सम्झन्छन्,‘सिकाउनेक्रममा विद्यार्थीलाई गाली पनि गर्थेँ। अचेल त्यो तरिका ठीक होइन भन्ने महशुस भएको छ। अहिले म निकै सजिलो मान्छे भएको छु।’

उनका लागि सबै विद्यार्थी समान छन्। तर, तिनका स्वभाव हेरेर उनी मूल्याङकन गर्छन्। गुरु र चेलाको सम्बन्ध उदार हुनुपर्छ भन्ने उनको मान्यता छ। विद्यार्थीले अप्ठेरो महशुस नगरुन्। आफूलाई मन लागेका कुरा खुलस्त भन्न सकुन भन्ने ठान्छन् उनी।  

गुरु र चेलाको सम्बन्ध खुलस्त हुनुपर्छ। नत्र त सम्बन्ध औपचारिकतामा सिमित हुन्छ। त्यहाँ मन साटिन पाउँदैन। यस्तै अनुभव छ पोखरेलको।    

उनी आफ्ना चेलाको प्रगतीमा खुसीका आँसु बगाउँछन्। ‘आफ्ना विद्यार्थीलाई छोराछोरीका रुपमा लिन्छु’, उनी प्रस्ट्याउँछन्, ‘उनीहरूलाई कहिले म फोन गर्छु, कहिले उनीहरूले मलाई गर्छन्।’  

हरेक कलाकारले आफूलाई विस्तार गर्ने माध्यम खोज्छ। फिल्म होस् या नाटक दुवै अभिव्यक्तिका माध्यम हुन्। चेलाहरू इच्छाले जता लाग्छन्, त्यही बाटोमा शुभाशिष दिन्छन् उनी।  

अब कुरा गरौं रंगकर्मी सरिता गिरीको। उनलाई गुरुपूर्णिमा विशेष लाग्छ। यो दिन उनी कर्म दिने गुरुहरूको स्मरण गर्छिन्। आशिवार्द थाप्छिन्।  

‘सुनिल सर पढिरहेका बेला आफू पनि गएर सोध्ने उत्सुकता बढ्थ्यो। तर डर लाग्थ्यो। डरसँगै सिक्ने हुटहुटी पनि मिसिएको हुन्थ्यो’, उनी भन्छिन्, ‘प्रश्न सोध्न पनि डर लाग्थ्यो। बोल्न र काम गर्न डर लाग्थ्यो। डरका बावजुद पनि सिक्ने उत्सुकता हुन्थ्यो’, उनले सुनाइन्।    कलाकार सुनिल पोखरेललाई उनी असल गुरु मान्छिन्। ‘उहाँले हामीलाई एउटै क्यारेक्टरमा बाँधेर राख्नु भएन। आफूलाई एक्सपोज गर्न मद्दत गरिरहनु भयो।’

गुरुले जे दियो चेलाले त्यही दिने हो। गिरी रंगकर्ममा लागेको दुई दशक भयो। ‘उहाँबाट अभिनय मात्र होइन, जीवन दर्शन नै सिकें’, गिरि भन्छिन्, ‘उहाँ नभएको भए यो क्षेत्र छोडेर भागिन्थ्यो होला। उहाँले संर्घष गर्न सिकाउनु भयो।’  

पोखरेलले चलाएको गुरुकुलबाट जीवन बुझ्न र रंगमञ्चमा रमाउन मद्दत गरेको उनको अनुभव छ।  

कुनै दिन गुरुले गाली गर्दा त्यसलाई अर्तिमा परिणत गरे जीवनमा सफलता पाउन सकिने उनको बुझाई छ।  

धेरैथोरै सिकाउने सबैलाई गुरु मान्छिन् अर्की रंगकर्मी पशुपति राई।  

‘जीवन जिउन कसैले सजिलो बनाई दिन्छ भने आफ्नो लागि गुरु हो। अघि बढ्न त्यो कुराले उत्प्रेरित गर्छ’, उनले भनिन्।  

उनी कलाकार सुनिललाई गुरु मान्छिन्। उनले अभिनयसँगै जीवन बाँच्ने कला पनि सिकाएको बताइन्।  

कसैले पढाएर मात्र होइन, हेरेर पनि ज्ञान आर्जन गर्न सकिन्छ। नेपाली रंगमञ्चमा सुनिल सरसँग अभिनयका क्लास लिएर मात्रै होइन हेरेर पनि सिक्छन्।  

उनलाई सुनिल सरसँग अझै पनि डर लाग्छ। ‘आज म रंगमञ्चमा जहाँ छु त्यो उहाँकै कारण हो’, राई भन्छिन्, ‘उहाँको सपना पुरा नहुँदै गुरुकुल भत्कियो। उहाँसँग अझै काम गर्ने मन छ।’  

रंगकर्मी कमलमणी नेपाल नाट्यकर्ममा गुरुहरूको अर्ति र गाली नपाएको भए आज पेशाबाट पलायन हुनु पर्ने अबस्था आउँथ्यो भन्छन्।  

‘हामीले गरेको कर्म नै उहाँहरूका लागि उपहार हो। त्यसैले हामीले हरेक ठाउँमा सम्मान गर्नु पर्छ’, उनी भन्छन्,‘जसरी मैले रंगमञ्चलाई रोजेँ त्यो उहाँको देन हो। मैले गरेका कर्मले पनि उहाँहरुलाई सन्तुष्टि दिन्छ।’  

गुरुसँग निकटता नहुन्जेल उनलाई डर लाग्थ्यो। ‘सिकाइको क्रममा सधैं डरैडरमा शिक्षा लिइयो। त्यो डरका कारण पनि आत्मीयता बढ्दै गयो’, उनले सम्झिए, ‘सुनिल सर अत्यन्तै कडा स्वभावको हुनुहुन्छ। विस्तारै घुलमिल भएपछि उहाँले माया  पनि गर्नु हुन्छ।’  

कमलमणीसँग गुरुकुलमा रहँदाका थुप्रै स्मरण छन्। त्यो एउटा छुट्टै संसार थियो। उनीहरूमा नाटकको भोक थियो। र, सबैभन्दा ठूलो कुरा उनीहरूले सक्षम गुरु पाएका थिए।  

जीवनको सिकाई र भोगाईसँगै गुरु फरक–फरक हुने कलाकार वुद्धि तामाङ बताउँछन्। करिब दुई दशक लामो रंगमञ्चमा यात्रा गुरुहरूको प्रेरणाले पूर्णता पाएको उनी बताउँछन् ।  

उनी डबली थिएटरबाट नाटकमा प्रवेश गरेका थिए। उनका धेरै गुरु छन्। ती मध्ये एक हुन् अनुप बराल। उनले ‘एक्टर्स स्टुडियो’ मा बरालसँग सिके।  

उनलाई गुरु सम्झनेवित्तिकै डर लाग्छ। ‘मेरा लागि यो क्षेत्र होइन रहेछ भन्ने महसुस हुन्थ्यो। तर यो क्षेत्र नै मन पर्यो’ उनी भनछन्, ‘अनुप सर खुलस्त रुपमा भन्नुहुन्छ। उहाँले मज्जाले सिकाउनु हुन्छ। उहाँसँग नाटक र फिल्ममा काम गर्ने मौका पाएको थिएँ। मैले डराउँदिन भन्न पनि ढुकढुक हुन्छ।’ कलाकार बरालबाट जीवनदर्शन बुझेका छन् उनले।

 

प्रकाशित: २१ असार २०७७ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App