१६ चैत्र २०८० शुक्रबार
कला

जिफानद्वारा तमु लघु चलचित्र बनाउने तयारी

कोभिड–१९ को महामारीकै समयमा गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले चलचित्र निर्माण गर्ने जनाएको छ । गुरुङ चलचित्र क्षेत्रलाई चलायमान बनाउन तमु लघु चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।  

जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र महासचिव मनोज गुरुङले लघु चलचित्र निर्माणको पहल शुरुवात गरेको भन्दै व्यक्ति व्यक्तित्व र संघसंस्थालाई आर्थिक सहयोगको निम्ति आग्रह गरेका छन् । तमु (गुरुङ) लघु चलचित्र निर्माणले गुरुङ समुदायको सभ्यता, सौन्दर्य शास्त्र, मुर्त अमुर्त सँस्कृति, आफ्नै प्रथाजानिक कानुन, मुल्य, मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै तमु(गुरुङ) संघ संस्थाहरूको मर्मलाई प्रस्तुत गरिने, गुरुङ श्रमजिवी चलचित्रकर्मीहरूलाई कोरोनाको कारणले दैनिकी जीविकोपार्जनमा समस्या परेकाहरूलाई लघु चलचित्र निर्माणको माध्यमबाट सक्रिय गराई सहजीकरण गर्ने विश्वास लिईएको छ  

गुरुङ चलचित्रको २५ वर्र्षे इतिहासभित्र बनेका गुरुङ चलचित्रहरूको पुनरावलोकन गर्दै अब बन्ने चलचित्रहरूको शैली तथा कथा लेखनमा रचनात्मक सुधार गरि मौलिकता खोज्ने,समुदायमा मात्र सिमित गुरुङ चलचित्रको दायरा फराकिलो पार्न स्वदेश तथा बिदेशमा तमु चलचित्रहरूको महोत्सव गर्ने उद्धेश्य रहेको जिफानका अध्यक्ष भोजबहादुर गुरुङले बताए ।  

गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान) २०६५ सालमा पोखरामा स्थापना भएको हो भने २०५२ सालमा रोधी साँस्कृतिक समूहबाट निर्माण गरिएको चलचित्र पातें पहिलो गुरुङ चलचित्र भएको आधारमा रजत जयन्ती वर्ष अर्थात २०७७ सालसम्म आईपुग्दा १४४ वटा चलचित्रहरू निर्माण भएको जिफानले जनाएको छ।  

रजत जयन्ती वर्षमा चलचित्रकर्मीहरू उत्साहित भईरहेको अवस्थामा कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व फिल्मी बक्स अफिस नै शुन्य बनाईदिदा गुरुङ चलचित्र पनि अत्यन्तै प्रभावित बनेको महासचिव मनोज गुरुङले जानकारी दिए । नेपालमा २०७६ साल चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा पश्चात गुरुङ चलचित्र क्षेत्रका लगानीकर्तालाई करिब १ करोड ५० लाखको व्यापार प्रभावित बनाएको र तीन सय जना गुरुङ चलचित्रकर्मीहरू बेरोजगार बन्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: १९ असार २०७७ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App