—सुरेश हाचेकाली
म भागिरहेछु
नमरुँ भनेर भागिरहेछु
बाँचिहाल्छु कि भनेर भागिरहेछु
भोलिका सन्तानहरूको
भाग्नुपर्ने दिन भागोस् भनेर भागिरहेछु
आफू बाँच्ने लोभले भन्दा पनि
मान्छे बाँचोस् भन्ने लोभले
यो जोखिमपूर्ण जिन्दगी भागिरहेछु
मरुभूमिको भुङ्ग्रो छातीमाथि
हप्याकहप्याक कुदिरहेको बूढो ट्रकमा
पानी प्यासले आकुलव्याकुल भएर भागेँ
ट्राभल बिचौलियाको पासोबाट
श्वासनली निचोरिँदै भागेँ
मेरै जन्मभूमिका अधर्मीहरूले
लैङ्गिक धनुकाँड सोझ्याइरहेको बेला
आइमाई अस्मिता जोगाउँछु भनेर भागेँ
भाग्दाभाग्दै
पानीजहाजबाट खसेर
अस्ताउन लागेको घामसँगै
पट्यारलाग्दो पानीको
बिस्मृतिमा अस्ताउन सक्छु
घाम अस्ताए भोलि उदाउला
तर म अस्ताएँ भने
यो जलराशीको बिरानो गहिराइमा
सधैँका लागि अस्ताउने छु
यो अनकन्टार रातमा
धेरै धेरै टाढा
मेरो गाउँका नानीहरू
कुकुर भुके पनि निदाइरहेका होलान्
बन्दुक भुके पनि निदाइरहेका होलान्
आँखामा डरलाग्दो डर बोकेर
गाउँलेहरू जाग्राम बसिरहेका होलान्
शत्रु राज्यको सिमानामा
अनिश्चयको यात्रा हिडिरहेछु म
यसैबेला एक हतोत्साही राइफल
मेरो कञ्चट ताकेर बसिरहेको हुनसक्छ
गोधूलिमा
गोठ फर्किरहेको गाईजस्तो
आफ्नै घरको
आरामदायी शयनकक्ष ताकेर भागिरहेकी छैन म
लोग्नेको निरङ्कुस निवासबाट
माइतीको
न्यानो स्वतन्त्रतातिर भागिरहेकी छैन म
भाग्दाभाग्दै मरेंछु भने
थाहा छैन
पानी हुन्छु कि माटो हुन्छु
मेरो श्रद्धाञ्जलीमा
केही ‘होलसेल’ बक्तव्य आउन सक्छन्
थाहा पाए भने मेरो गृहदेशमा
आफन्तहरू केही समय झोक्राउन सक्छन्
तर ढुक्क हुनू
मेरो दारुण कहानी
कुनै जीवनी र आत्म–जीवनीमा लेखिनै छैन
तसर्थ
भन
भन पृथ्वीका हजारौँ सरकारहरू भन
मान्छेले मान्छे भएकै कारण
भागाभाग गर्नुपर्ने नियति
तिमीहरूले पृथ्वीबाट कहिले भगाउँछौ ?
यो पनि पढ्नुहोस्
प्रकाशित: १८ असार २०७७ ११:१५ बिहीबार