३० श्रावण २०७७ शुक्रबार
कला

कलाबाटै मनको उपचार

बौद्ध दर्शनमा रुझेका कलाकार

कलाकार विजय सर्ग। तस्बिर: अमृत भादगाउँले

हामी सबैसँग मन छ। मनमा दुःख छ। हामी दुःखबाट मुक्ति चाहन्छौं। लोभ, राग, द्वेश, ईष्र्या, तृष्णा, माया, मोह र महत्वाकांक्षाले मान्छेलाई दुःखी बनाउँछ। दुःखको त्यही भुमरीबाट मुक्त हुने सन्देश बाँड्दै छन् कलाकार–विजय सर्ग।  

करूणाका प्रतीक गौतम बुद्ध। तिनै बुद्धको दर्शनमा आधारित भएर चित्र बनाउने सर्गका कुरा सुन्दा उनी दार्शनिक हुन् कि जस्तो लाग्छ। ठीकै भने उनले, अध्यात्म सुखको मूलबाटो हो। संसारमा आफूलाई चिन्नेहरू नै सुखी बन्छन्।  

थाङ्का कलामा निपुण विजय सर्ग अब्बल कलाकार हुन्। उनी कलामार्फत मनको दुःख मेटाउने सन्देश बाँड्छन्। मुलुकभित्र मात्र होइन, मुलुकबाहिर पनि उनी चर्चित छन्।    

उनले बनाएका थाङ्का (पौभा) चित्रले दुःखबाट रूपान्तरित हुन प्रेरित गर्छन्। ती चित्रमा जीवनचक्र, ध्यान र साधनाको फ्युजन हुन्छ। अन्तर मनका क्लेशहरू रूपान्तरण गर्ने दरिलो माध्यम हुन् थाङका। कलाकारहरू यही थिममा थाङ्का कोर्छन्। फरक यत्ति छ कि सर्ग मनोवैज्ञानिक तथा दर्शनका जटिल विषयलाई पनि सरल ढंगमा पस्कन सिपालु छन्।    

उनी सधैं कलाकारितामै रम्छन्। कोभिड–१९ कारण सिंगो संसार थला परेका बेलामा पनि उनी निरन्तर कलाकर्ममै सक्रिय छन्। बन्दाबन्दीको सय दिन बितिसक्यो, उनमा ऊर्जा घटेको छैन। बरु बढेकै छ। उनी हरेक दिन क्यानभास रंगाउँछन्। साथै शिष्यहरूलाई कलाकर्म पनि सिकाउँछन्।  

‘हामी कलाकार सधैं लकडाउनमा बसेर काम गर्छौं’, दैनिक १० घन्टाभन्दा बढी समय रंग र बुरूससँग खेल्ने बानी परेका सर्ग भन्छन्, ‘अहिलेचाहिँ अलिकति समस्या छ। चित्रकलाको बजार घट्न थालिसक्यो। तर हामीले काम गर्न छाड्नु हुन्न।’  

जीवनमा कहिले घाम, कहिले पानी त भैहाल्छ। मान्छेले आशावादी भएर बाँच्नुपर्छ।  

उनका चित्रमा मनोवैज्ञानिक र मनोविश्लेषणात्मक विश्लेषण पाइन्छ। उनको शैली फरक छ। पहिचान फरक छ। जीवनमा ४८ बसञ्तको स्वागत गरिसकेका कलाकार सर्ग स्वदेशी तथा विदेशी कलाप्रेमीमाझ सम्मानित छन्। उनको कलाकृतिको माग बढ्दो छ।  

जीवनको सुखद मोडमा आइपुग्न उनले निकै संघर्ष गर्नुप-यो। सजिलै फिलोसपिकल चित्र बनाउन जानेका होइनन्। दर्शन पहिला आफूले बुझ्नु प¥यो। अनि त्यसमा चुर्लुम्म डुब्नु प-यो। उनी त बौद्ध दर्शनमा निथ्रुक्कै रुझेका छन्।  

उनले विगतमा तीन वर्ष तिब्बती थाङ्का चित्र र त्यति नै वर्ष नेवारी पौभा चित्रको अध्ययन गरे। ३० वर्ष अघि स्वयंभूमा बसेर चित्रकारिता गर्ने तामाङ र लामा दाइहरूसँग सिकेर उनी थाङका कलामा निपुण बने। त्यसको केही समयपछि कलाकार प्रेममान चित्रकारसँग पौभा चित्रकारिताको ज्ञान लिए।  

अनुभवले खारिँदै गएका उनका प्रथम कला गुरू भने केके कर्माचार्य (हालका ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति) हुन्। स्कुल पढ्दैखेरि कर्माचार्यसँग सिकेका। कलाको भोकले गर्दा उनी कर्माचार्यको निवास कमलादीमै पुग्थे। यसरी गुरुकुल परम्परामा सिके उनले।  

उनी स्कुले जीवनमै चित्र बनाउँथे। तिनताका उनको जन्मथलो न्यूरोडमा पनि थरीथरीका चरा चिरबिराउँथे। तिनका आनीबानीबाट प्रभावित उनी कागजमा चरा बनाएर मुस्कुराउँथे।  

‘हाम्रो घरसँगै चित्रकार हिरालाल डंगोलको घर थियो’, सर्ग बाल्यकालतिर फर्कन्छन्, ‘उहाँले बनाएका चराका चित्रहरू देख्दा ममा पनि कलाकार बन्ने इच्छा जाग्यो। त्यसैले चित्र बनाउन थालें।’  

उनका चित्रले दुःखबाट रूपान्तरित हुन प्रेरित गर्छन्। अन्तर मनका क्लेशहरू रूपान्तरण गर्ने दरिलो माध्यम हुन् थाङका। कलाकारहरू यही थिममा थाङ्का कोर्छन्। फरक यत्ति छ कि सर्ग मनोवैज्ञानिक तथा दर्शनका जटिल विषयलाई पनि सरल ढंगमा पस्कन सिपालु छन्।    

उनले दुई वर्ष ललितकला क्याम्पस पनि पढे। कलेज पढ्न तिनै कर्माचार्य गुरुले सुझाएछन्। ‘म तिमीलाई सिकाउन सक्छु तर सर्टिफिकेट त दिन सक्दिनँ नि’, गुरुका कुरा सुनेर उनी कलेजमा भर्ना भए। त्यहाँ उनको मन अडिएन। अंग्र्रेजी पढ्न गाह्रो लाग्थ्यो। त्यसैले दुई वर्ष पढेर छाडिदिए।  

कलेज पढ्ने बेलामा उनी जागिर खान थालिसकेका थिए। तिनताका नारायणहिटी राजदरबार नजिकै धर्मपाला सेन्टर थियो। ‘त्यहाँ थाङ्का मात्र लेख्ने डेढ सय जना कलाकार थिए’, उनले सुनाए, ‘मैले पनि त्यहाँ दुई वर्ष जागरि खाएँ।’ त्यसपछि उनले आफ्नै घरलाई स्टुडियोमा रूपान्तरण गरे।  

पुराना दिन सम्झने हो भने, ज्यापू समाजमा जन्मेहुर्केका सर्गको परिवारले कालिमाटीमा वर्कसप चलाएको थियो। त्यहाँ मोटरहरू ममर्त गरिन्थ्यो। उनले ६ वर्षको उमेरदेखि १६ वर्षसम्म त्यहीँ परिवारलाई सघाए।  

उनी बरोबर जीवन र जगतका विषयमा घोत्लिन्थे। उनको मनले केही भन्थ्यो। ती आवाज पोख्ने माध्यम बन्यो कला। निरन्तरको साधना र कामप्रतिको समर्पणले उनी खारिए र समयसँगै कलाकर्ममा स्थापित बने।  

उनले थाङ्कामा नयाँ प्रयोग गरे। त्यसका लागि बौद्ध दर्शनको गहिरो अध्ययन चाहियो। स्वअध्ययनसँगै महायोगी श्रीधर राणा रिम्पोचेको सानिन्ध्यबाट ज्ञानगुण बटुले।  

आफ्ना चेलाहरू अमृत डंगोल, सरू प्रजापति, महेश्वर डंगोल, विनम्र डंगोल, सुरेन्द्र सिल्पकार, राकेश महर्जन लगायतले ख्याति कमाएको देख्दा उनको अनुहार धपक्कै बल्छ। सम्झँदा मनमा आनन्दको लहर चल्छ। 

‘परम्परागत थाङ्का कलामा नवीनता दिन रिम्पोचे गुरुबाट स्वीकृति लिएँ’, उनको बाटोमा आज धेरै कलाकार हिँडेका छन्, ‘आज मेरो कामको सिको गर्नेहरू  बढ्दै गएका छन्।’  

अचेल परिवारको साथमा कालिमाटीमा बस्दै आएका कलाकार सर्गले धेरै चेलाचेली जन्माइसके। १५ वर्ष भयो उनले घरमै सिकाउन थालेको। आफ्ना चेलाहरू अमृत डंगोल, सरू प्रजापति, महेश्वर डंगोल, विनम्र डंगोल, सुरेन्द्र सिल्पकार, राकेश महर्जन लगायतले ख्याति कमाएको देख्दा उनको अनुहार धपक्कै बल्छ। सम्झँदा मनमा आनन्दको लहर चल्छ।  

सिकाउनेक्रम जारी छ। हिजो तामाङ दाजुभाइबाट सिकेका थिए उनले। आज तामाङ समुदायकै चेला पनि उनीसँग सिक्छन्। त्यस्तै एउटी प्रतिभा हुन्–लक्ष्मी तामाङ। पछिल्लो ४ वर्षदेखि सिक्दै आएकी कानपुर, काभ्रेकी तामाङ भन्छिन्, ‘उहाँ मनको सफा हुनुहुन्छ। हामीलाई निःशुल्क सिकाउनुहुन्छ।’  

उनको काममा परिवारको राम्रो सहयोग छ। श्रीमती वीणा र छोरा अश्वजित पनि सृजनशील कर्ममै सक्रिय छन्।  

कलाकार सर्गलाई सोधियो, ‘चित्र किन बनाउनुहुन्छ?’

‘मान्छे भएपछि जो कोहीले पनि आफ्नो अस्तित्वको परिचय दिन चाहन्छ। त्यसमा मैले चित्रलाई रोजें’, उनले सजिलो जवाफ दिए।  

उनका अनुसार शुद्ध कला र साहित्यले केही पाउने आशा गर्दैन तर प्रकृतिको नियमै यस्तो छ कि राम्रो मनसायले गरेका कामको परिणाम राम्रै आउँछ। आखिर बाली रोपेपछि फसल त फल्छ, फल्छ।  

उनको जिन्दगीको गुजारा राम्रैसँग चलेको छ। कला संकलकहरू उनको घरमै चित्र लिन आउँछन्। कहिलेकाहीँ उनी आफैं ठमेलका पसल तथा ग्यालरीमा पु-याउँछन्।  

उनी पोस्टर र तैल रंगको प्रयोग गरेर क्यानभासमा चित्र कोर्छन्। कुनै चित्र पूरा गर्न बर्सौं लाग्छ भने, कुनै महिनौ। अनि कुनै दुई–चार घन्टामै पुरा हुन्छ।  

आध्यात्मिक स्वभावका कलाकार सर्गको जिन्दगी चलाउने आफ्नै शैली छ। मान्छे भौतिक रूपमा कति सम्पन्न र सबल भयो भनेर हेर्नुभन्दा पनि उसले आध्यात्मिक रूपमा आफ्नो मनलाई माझ्न कत्तिको सफल भयो, त्यसको मूल्याङकन गरिनुपर्छ भन्नेमा उनी जोड दिन्छन्।  

खासमा कला अमूल्य मानिन्छ। पैसासँग तुलना गर्न मिल्दैन। यद्यपि बेच्नका लागि त मूल्य तोक्नै पर्छ। त्यसमा खर्चिएको श्रम र सीपका आधारमा उनी पारिश्रमिक लिन्छन्।  

संसारले जाँचिसक्यो उनको कला। उनले औपचारिक रूपमा एकल कला प्रदर्शनी गर्न भ्याएकै छैनन्। ‘आउँदो वर्ष पक्कै प्रदर्शनी गर्नेछु’, उनी भन्छन्, ‘म शुभेच्छुकहरूको आग्रह पूरा गर्नेछु।’  

विद्ववानहरूले भनेका छन्, ‘माइन्डको न्यूरोशिस (मनको गञ्जागोल) हटाउने उत्तम माध्यम भनेको कला हो। कलाकार सर्गलाई पनि त्यस्तै लाग्छ। आखिर सल्बाडोर डालीका चित्र पनि हाम्रै अन्तरमनका गञ्जागोलहरूको अभिव्यक्ति न हुन्।  

‘थाङ्का पनि त्यस्तै हो तर’, उनी भन्छन्, ‘थाङ्काचाहिँ सुपर कन्सस् माइन्डका अभिव्यक्ति हुन्।’  

बुद्धभूमि नेपालमा बुद्ध वाणीको राम्रोसँग पालना भएको छैन। आजका मान्छे कसरी हुन्छ कमाउने ध्याउन्नमा हुन्छन्। धनदौलतले सुख ल्याउँछ भन्ने भ्रममा बाँच्छन्। त्यसैले भौतिक सम्पत्तिको थुप्रोमाथि सुत्नेहरूले पनि निदाउन सिल्पिङ ट्याब्लेट खानु परिरहेको छ। किनकि उनीहरूको मन सधैं अशान्त भैरहन्छ।  

‘हाम्रा बालबालिकालाई ज्ञानको प्रयोग कसरी गर्ने भन्ने सिकाउनु जरूरी छ’, उनी सुझाउँछन्, ‘हामीले पहिला आफ्नै मनलाई बुझ्नुपर्छ। घुमिफिरी रुम्जाटार भनेझैं सबैभन्दा ठूलो कुरा मन हो। मनलाई बुझेमा दुःखबाट मुक्ति मिल्छ।’  

आध्यात्मिक स्वभावका कलाकार सर्गको जिन्दगी चलाउने आफ्नै शैली छ। मान्छे भौतिक रूपमा कति सम्पन्न र सबल भयो भनेर हेर्नुभन्दा पनि उसले आध्यात्मिक रूपमा आफ्नो मनलाई माझ्न कत्तिको सफल भयो, त्यसको मूल्याङकन गरिनुपर्छ भन्नेमा उनी जोड दिन्छन्।  

फर्केर हेर्दा जीवन सार्थक बन्दै गएको अनुभूति हुन्छ। वास्तवमा संसारमा असल मान्छे नै पूजिन्छन्। तर, असल बन्न सजिलो छैन। त्यसैले हामीले सत्कर्म गर्नुपर्छ। परकल्याण गर्नेहरू नै सधैं सुखी हुन्छन्।  

आशाले नै मान्छेलाई बचाउँछ। आज लकडाउन छ। सधैं यस्तो अबस्था रहनेछैन। त्यसैले कोरोना भाइरसका कारण जीवनमा आइपरेका संकट समाधानका लागि चिन्ता होइन, चिन्तन गरौं। यस्तै सन्देश बाँड्न चाहन्छन् कलाकार विजय सर्ग। उनको सुस्वास्थ्य एवं दीर्घायुको कामना!

प्रकाशित: १८ असार २०७७ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App