५ वैशाख २०८१ बुधबार
कला

बज्जिका व्याकरणको पहिलो लोकार्पण

नेपालमा बज्जिका भाषामा लेखिएको पहिलो व्याकरणलाई लोकार्पण गरिएको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशको सातौँ ठूलो मातृभाषा र प्रदेश नम्बर २ को तेस्रो ठूलो मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको पहिलो व्याकरण रौतहटमा लोकार्पण गरिएको हो ।

मुख्य गरी सर्लाही र रौतहटमा बोलिने बज्जिका भाषा महोत्तरीको पश्चिमी र बाराको पूर्वी भागमा बोल्ने गरिएको दाबी गरिँदै आएको छ । रौतहट र सर्लाहीमा बज्जिका चेतनाको विकास हुन थालेको अवस्थामा बज्जिका अभियन्ताद्वय सञ्जय साह मित्र र रामअधार पासवानद्वारा लिखित बज्जिका व्याकरणको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी र प्रकाशकका तर्फबाट नागरिक दैनिकका रौतहट प्रतिनिधि मदन ठाकुरले रौतहटको गरुडामा लोकार्पण गरेका हुन् ।

बिना कुनै औपचारिक कार्यक्रम र बिना कुनै औपचारिकता सार्वजनिक गरिएको कार्यक्रममा बज्जिका साहित्यकार किशुनदयाल यादव तथा हेटौँडाका साहित्यकार राम अविकासका साथै लेखकको तर्फबाट सञ्जय साह मित्रको सहभागिता रहेको थियो ।

नेपालमा बज्जिका भाषाको पहिलो कृतिका लेखक मित्रको नवौँ कृतिको रुपमा बज्जिका व्याकरण आएको हो । देवनागरी लिपिमा रहे पनि कृति स्थानीय बज्जिका भाषामा नै लेखिएको छ ।

कृतिको प्रकाशन गढीमाई नगरपालिकाका नागेन्द्र यादव र मदन ठाकुरले गरेका हुन् ।

कृतिलाई सार्वजनिक गर्दै मेयर यादवले यस कृतिले बज्जिका भाषाको इतिहासमा एउटा ठोस योगदान दिने विश्वास व्यक्त गरेका छन् । मेयर यादवले कृति सार्वजनिक गर्ने ऐतिहासिक अवसर आफूले प्राप्त गरेकोमा निकै खुसी लागेको पनि बताएका छन् ।

प्रकाशित: १७ असार २०७७ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App