२३ असार २०७७ मंगलबार
कला

मेरो मात्र

कथा

साहस अर्थात् मेरो छोरो आक्रोशित अनुहार लिएर तेज रफ्तारमा फर्किरहेको  थियो । आफ्नी पे्रमिका रमिलाको हात माग्न आफैं आँट गरेर गएको छोरालाई अनौठो भावावेशमा देखेर मैले सोधेंं, ‘बाबु कुरा गरेको हो ? के भो ? के भन्नुभो रमेश अङ्कलले ?’  

आक्रोश र पीडा मिश्रित आवाजमा उसले भन्यो, ‘मम्मी, आजबाट मैले रमिलालाई छोड्ने निर्णय गरें ।  त्यो धोकेवाज रहिछ । आज  रमेश अङ्कलले उसका बारेमा सबै कुरा बताउनुभो ।  मम्मी, ऊ त रमेश अङ्कलकी छोरी नै होइन रहिछ । ऊ सविता अन्टीले कृत्रिम गर्भाधान गरी जन्माएकी छोरी पो रहिछ । त्यती नराम्रा बाबुकी यति राम्री छोरी कसरी भएकी होली भन्दै म सधैं अचम्मित हुन्थें । आज पो रहस्यबाट पर्दा खस्यो । यसपछि मैले उसलाई ठाडै अस्वीकार गरेंं । बाबुसमेत ठेगान नभएकी त्यस कलङ्कित केटीलाई बिहा गरी मैले आफूलाई कलङ्कित गर्नु छैन । त्यस्ती बुहारी ल्याएर म तपाईं र बाबाको अपमान गर्न चाहन्नँ । मम्मी, के मैले ठिक गरिनँ त ?’  

साहसको कुराले म झसङ्ग भएँ । ‘खै बाबु १ के ठिक, के बेठिक हो रु भैगो  अहिले छोड । बाबा आएपछि  यसबारे बसेर कुरा गरौंला ।’  

मैले उसको प्रश्न र प्रसङ्ग त्यतिकै टुङ्ग्याइदिएँ  र भान्साको काममा लागें । भान्सामा काम गर्दै गर्दा एकै छिनमा सञ्जय पनि आई पुग्नुभयोे । मैले वहाँलाई साहससँग भएको कुरा सुनाएँ । साहसलाई सम्झाउन आवश्यक भएको हामी दुवैले महसुस गर्यौं ।  

०००

साहस र  उत्साह दुवैलाई मैले भान्सामा बोलाएँ । यतिन्जेल साहसको आक्रोश पनि केही मत्थर भएको थियो । किचनमा सबै जुटेपछि मैले कुरा सुरु गरें । साहसको मुखतिर हेर्दै मैले भनें, ‘बाबु १ हुर्किएका सन्तान भनेका साथी बराबर हुन्छन्  त्यसैले म आज तिमीलाई आफू समान सम्झेर सबै कुरा प्रस्ट पार्न चाहन्छु । मलाई लाग्छ, त्यसका लागि उपयुक्त समय नै आज हो । मम्मीले के भनी भनेर अनौठो नमान्नू । मेरा सबै प्रश्नको उत्तर तिमीले इमानदारीपूर्वक दिनू  र म पनि तिम्रा पिता सञ्जयलाई साक्षी राखेर तिम्रा सबै प्रश्नका उत्तर इमानदारीपूर्वक दिन्छु ।  अघि तिमीले जुन प्रश्न गर्यौ, त्यसको उत्तरका लागि म तिमीलाई मेरी एक साथीको वास्तविक कथा सुनाउँछु । यो कुरा तिम्रा बाबालाई पनि थाहा छ ।’  

मैले कुराकानी अगाडि  बढाउँदै भनें– म क्याम्पस पढ्दा मेरी माया नामकी एउटी मिल्ने साथी थिई । मायाले कलेज जीवनदेखिकै लामो प्रेम सम्बन्धपछि विपिन नामको एउटा सहपाठी साथीसँँग बिहा गरेकी थिई । उनीहरू असाध्यै एक अर्कालाई प्रेम गर्थे ।  कलेज खुलेका दिन त उनीहरूको स्वाभाविक भेट हुने नै भयो । बिदाका दिन पनि उनीहरू नभेटी बस्न सक्दैनथे । बिदाका दिन कहिले गोदावरी, कहिले भक्तपुर पुग्थे भने कहिले काठमाडौं र ललितपुरका सहर घुम्थे । कहिले विश्वज्योति, कुमारी, रञ्जना र जय नेपाल हलमा चलचित्र हेर्न पुग्थे । यस्तो बेला कहिलेकाहीँ अरू साथीहरू पनि सँगै हुन्थ्यौं ।

उनीहरूको प्रेमको दुनियाँ  अरूका लागि पनि वास्तवमै लोभलाग्दो थियो । यस्ता भेटका  निरन्तरका अनगिन्ती शृङ्खला पछि  उनीहरू दाम्पत्य जीवनको अध्यायमा बाँधिएका थिए । मायाको दाम्पत्य जीवनका सुरुवाती दिनहरू अत्यन्त रोमाञ्चक ढङ्गबाट  बिते । ती दिनको वर्णन किन पनि आवश्यक छैन भने सबै दाम्पत्यका आरम्भ रोमाञ्चक, मनोरम र अविस्मरणीय हुन्छन् । सङ्कोच, भय, रोमाञ्चकताका बीच केही जानेर केही नजान्दै, केही मानेर केही नमान्दै गुजारिने निश्चित अनिश्चयका ती क्षण जिन्दगीका अनमोल क्षणहरू हुन् । उनीहरूलाई नपुग्दो केही थिएन । 

प्रेमिल दुनियाँमा उनीहरूका ती दिन पलक झैं बित्दै गए । उनीहरूसँग मानिसको खुसीका लागि चाहिने सबै वस्तु थिए । तथापि समय बित्दै जाँदा उनीहरूको दाम्पत्यमा फिकापन आउन थाल्यो । मायालाई कता कता आफ्नो जीवन अपूर्ण र अभावयुक्त लाग्न थाल्यो । त्यसको मूल कारण थियो– विवाहको आधा दशक बित्दै गर्दा पनि उनीहरू दुईबाट तीन हुन सकेका थिएनन् । जीवन सधैं एउटै रङ र स्वादमा कहाँ रहन्छ र ?  अब उनीहरूका दिनहरू हिजोका जस्तो स्वर्णिम र प्रेमिल थिएनन् । लामा र पट्यारलाग्दा हुन थालेका  थिए  दिनहरू । सुरुमा यो विषय घरभित्रको मात्र थियो तर क्रमशः यसले ठूलो आकार र रूप ग्रहण गर्दै गयो ।

००००                         

एक दिन पल्लाघरे छिमेकी काका विपिनका बासँग आँगनमा घाम तापेर गफ गरिरहेका थिए । जमानादेखिका समवयी भएकाले वहाँहरूबीच गाढा मित्रता थियो । प्रायःजसो  सधैं मायाका घरको आँगनमा बसेर उनीहरू तितामिठा र पुराना घटना स्मरण गर्दै गफिन्थे ।  बुढेसकालका गफमा बितेका दिनका हर्ष, पीडा, ईष्र्याको सम्झना हुनु स्वाभाविकै हो । दिउँसोतिर माया जहिले पनि वहाँहरूलाई चियाखाजा लगिदिन्थी । वहाँहरू भान्सा नजिकैको पटाङ्गिनीमा बसेर गफिने हुनाले भान्साबाट सामान्यतया वहाँहरूका गफ सजिलै  सुन्न सकिन्थ्यो । एक दिन माया वहाँहरूलाई चिया पुर्याएर फर्केर भान्सामा काम गर्दै थिई, उताको एउटा कटु संवाद उनको कानमा पर्न गयो ।  पल्ला घरे दिनानाथ काकाले मायाका ससुरालाई भन्नुभयो, ‘दाज्यै घरमा नपुग्दो केही छैन । सबै परिपूर्ण छ, अब आँगनमा नातिनातिना पनि खेल्नुपर्यो ।’  

मायाका ससुरा  केही बोल्नुभएन तर भान्साबाट यो कुरा सुनेपछि माया पीडाले आहत भई । डाक्टरी जाँचका क्रममा भनिएको थियो– विपिनमा बाबु हुने क्षमता छैन ।  राति मायाले दुःखित हुँदै दिउँसोका सबै घटना विपिनलाई सुनाई ।  

विपिनले भन्यो, ‘काकाले भनेको कुरा त बेठिक होइन । तर भगवान्ले नै नदिएपछि हाम्रो के लाग्छ र रु कर्मको लेखो भनेर चित्त बुझाउनुपर्छ ।’  

मायाले विपिनलाई यो कुरा सुनाउनुको अर्थ दिउँसोको घटना बताउनु थिएन । अब सन्तान प्राप्तिका लागि वैकल्पिक उपाय अपनाउनुपर्छ भन्ने आग्रह थियो । यसमा विपिनको स्वीकृति र साथका लागि अनुरोध गरिएको थियो । विपिनलाई पनि थाहा थियो कि माया  अन्तर्हृदयबाट मातृत्वको  गौरव लिन व्यग्र छे भन्ने कुरा । विपिनको शारीरिक अपूर्णताका कारण  मायाका लागि स्वाभाविकतामा सन्तान प्राप्ति सम्भव थिएन । तर विपिनले बुझेर पनि नबुझे झैं गर्यो ।  

निकै बेरको मौनता पछि मायाले साहस बटुलेर भनी, ‘विपिन, अब त अति नै भो । यो आधुनिक जमानामा पनि हामी निःसन्तान रहने रु अब केही उपाय नगरी हुन्न । मलाई आमा बन्ने धेरै ठूलो रहर छ । विपिन, हामी पनि कृत्रिम  गर्भाधानको प्रविधि प्रयोग गरौं न ।’  

विपिन केही नबोलेर ओछ्यानमा अर्कोतिर फर्कियो । मन नपरेका कुरामा उसको प्रतिक्रिया व्यक्त गर्ने यो तरिका पहिलेदेखिकै हो । यस विषयमा उसको अनिच्छा रहेको बुझ्न मायालाई कठिन भएन । यसै पनि विपिन पहिलेभन्दा धेरै बदलिएको थियो । विवाहलगत्तै बेहुली फर्काउने समयमा माइती जाँदा प्रेम विवाह र दाम्पत्यबारे अञ्जली दिदीले भनेको मार्मिक  वाक्य मायाले सम्झी ।  

अञ्जली दिदीले मायालाई भन्नुभएको रहेछ, ‘प्रेमी र पतिमा ठूलो अन्तर छ । ती दुवै कहिल्यै एउटै मानिस होइनन्  । प्रेमीहरू पति भएकै हुँदैनन् र पतिहरू प्रेमी  रहँदैनन्  ।’  

प्रेमी विपिन र पति विपिनमा ठूलो अन्तर आइसकेको  अनुभूति मायालाई पनि भइसकेको थियो । अञ्जली दिदीको अभिव्यक्तिको खास मर्म त्यस दिन मायाले  बोध गरी ।

००००

आमा बन्ने उसको तीव्र चाहना र  यसप्रति विपिनको बेवास्ता तिनको दाम्पत्य सम्बन्धमा दरारको प्रमुख कारण बन्यो । बिस्तारै उनीहरू एउटै छतमुनि सँगै तर अलग अलग जिउन थाले । हिजोको आधुनिक  लाग्ने विपिन  पूरै पुरातन पन्थी भएको थियो । विज्ञानको आधुनिक उपलब्धिको उपयोगबाट मातृत्व प्राप्तिको मायाको लक्ष्यमा उसको कहिल्यै सहमति रहेन ।  मायाको अठोट र विपिनको अवरोधबीच अब द्वन्द्व निश्चित थियो । प्रारम्भमा मायाले मौनताको बाटो समाती भने विपिनले उपेक्षाको उत्तर दियो ।  

अन्ततः विपिनको सहमतिविना नै मायाले अठोट गरी,  ‘आमा बन्न पाउनु हरेक महिलाको प्राकृतिक अधिकार हो । यसमा पुरुषको स्वीकृति र अस्वीकृतिको स्थान छैन । अब म विपिनलाई सोध्दिनँ र सुन्दिनँ । म विज्ञानको आधुनिक उपलब्धिमार्फत मेरो नारी जीवनलाई सार्थक र गौरवान्वित गराएरै छाड्छु ।’  

विपिनको असहमति हुँदाहुँदै एक दिन आँट गरेर मातृत्व प्राप्तिका लागि मायाले कृत्रिम गर्भाधानको उपाय अख्तियार गरी र विपिनलाई  त्यसको जानकारी दिई ।  

यसपछि विपिनले प्रस्टसँग  मायालाई घर छोड्न आदेश दियो । कानुनतः उसले मायालाई त्यसो गर्न सक्दैनथ्यो  । त्यो घरमा मायाको पनि अवश्य हक थियो तर मायाले आफ्नै इच्छाले त्यो घर त्यागी ।

 मायालाई लाग्यो,  ‘एउटा पौरुषत्वविनाको लोग्नेमान्छे अर्थात् लोग्नेपन विनाको लोग्ने र मान्छेपन विनाको मान्छेसँग  बस्नुको  कुनै अर्थ छैन ।’ त्यसैले मायाले  कुनै कानुनी अधिकारसमेत दाबी नगरी सजिलै उसलाई छोडेर हिँडी । 

सतहमा हेर्दा यस प्रकरणमा विपिनले  मायालाई घरबाट बाहिर निकालेको थियो तर वास्तवमा  मान्छेविनाका मान्छेको बस्तीबाट एउटा आजाद दुनियाँका लागि माया आफैं मुक्त भएकी थिई ।  त्यसपछि मायाले त्यो घर मात्र होइन, त्यो सहर नै छोडी । अझ पछि त्यो देश नै छोडी । आफ्नो इच्छाअनुसार विदेश गएर उसले आफ्नो सन्तानलाई जन्म दिई । विपिन साघुँरा थिए तर यसको अर्थ यो होइन कि दुनियाँका सबै लोग्ने मान्छे त्यस्तै हुन्छन् । विदेश पुगेपछि मायाले एउटा सत्पात्रसँग नयाँ दाम्पत्य सुरु गरी । अहिले उनीहरू एउटा सम्मानति र सुखको जिन्दगी बाँचिरहेका छन् ।  

‘तिमी भन त साहस । के माया गलत थिई ? उनलाई स्विकार्ने पुरुष गलत थियो ?’  अनि मायाबाट जन्मिएको सन्तान कलङ्कित थियो ?’ मैले भनें ।

साहसले भन्यो, ‘तपाईं जे भन्नु मम्मी, परपुरुषबाट सन्तान ग्रहण उचित होइन । म त्यसलाई ठिक मान्दिनँ । माया ठिक कि बेठिक अर्कै कुरा हो । उसको सन्तानको सामाजिक स्ट्याटस के हुने ? त्यो अर्काको विषय हो तर  रमिला ठिक कि बेठिक हाम्रो विषय हो । अरूको विषय ल्याएर हाम्रो विषयमा मिसाउन उचित हुँदैन मम्मी । त्यो कोही कसैको कथा होला । कथामा एउटा परिवर्तनको  उद्देश्य र आदर्श होला, एउटा मानक होला । तर हाम्रो सामाजिक जीवन त्यसबाट चल्दैन । फेरि अर्को कुरा  रमिलाले मलाई पहिले नै यो सब किन भनिन ? किन मलाई यत्रो धोखा दिई रु म त्यो कुराले पनि आहत भएको छु । मम्मी, छोड्दिनू यो सब कुरा । म तपाईंलाई नै सोध्छु, ‘के पिताको ठेगान नभएकी त्यस्ती केटीलाई बुहारी मान्न तपाईं तयार हुनुहन्छ ?’

मैले भनें, ‘आमाबाबुले आफ्ना सबै दुःख सन्तानलाई नभनेका पनि हुन सक्छन् । आफ्ना दुर्दान्त कथा सुनाएर सन्तानलाई किन दुःखको बोझ बोकाउने भन्ने सोचले पनि धेरै बाबुआमाले आफ्नो दुःखको कथा सन्तालाई सुनाएका हुँदैनन् । हुन सक्छ, रमिलालाई पनि त्यो थाहा थिएन होला ।’  

‘साहस, म तिमीलाई अझै  केही प्रश्न सोध्न चाहन्छु, ‘के सन्तान उत्पादन गर्ने क्षमता नभएका वा कारणवश सो क्षमता नष्ट भएका पुरुष कि पत्नीलाई आमा बन्ने अधिकार छैन ? महिलाले आफ्नो शरीरमाथिको पूर्ण अधिकार राख्छन् कि राख्दैनन ? यदि आफ्नो शरीर माथिको अधिकार महिला आफैंको हो भने कोबाट या कसरी आमा बन्ने भन्ने छनोटको अधिकार महिलाको हुन्छ कि हुँदैन रु सामान्य पोथी पशुले प्राप्त गरेको यो अधिकार महिलालाई किन प्राप्त हुन सक्दैन ?’

‘मम्मी तपाईंले गरेको कुरा आदर्शको कुरा हो । कृष्णलाई सुदामाले कनिका खुवाएको आदर्श कथा हामी सुन्छौं, सुनाउँछौं । तर के पाहुनालाई कनिका खुवाएर स्वागत गर्छौं या गरेका छौं ? सावरीको जुठो वयर रामले खाए भन्दैमा त्यस्तै कुनै फोहोरी बूढीले जुठो पारेका वयर हामी खान्छौं या खाएको छौ ? आदर्श र वास्तविक जीवन मिल्दैन मम्मी ।’ साहसले तर्क गर्यो ।

‘हेर बाबु, जेलाई तिमीले आदर्श भन्यौ ती निरर्थक कथा होइनन् । ती मानव जीवनलाई बुझ्ने र सञ्चालन गर्ने दृष्टान्त हुन् । मानव जीवनका मार्ग चित्र हुन् । धार्मिक ग्रन्थमा उल्लिखित घटनातिर ध्यान देऊ बाबु । महाभारत कै कुरा गरौं न ।  के कुन्ती एउटी आदर्श नारी होइनन् रु ऋषिबाट पाएको श्रापका कारण दैहिक मिलन गर्न राजा पाण्डु असमर्थ थिए तर कुन्ती पाण्डुको असमर्थतामा बाँधिइनन् । उनी ती आदर्श नारी हुन्, जसले  छानी छानी अलग अलग योग्य र सामथ्र्यवान् परपुरुषबाट सन्तान प्राप्त गरिन् । धर्मराजबाट युधिष्ठिर जन्माइन्, वायुबाट भीमसेन अनि इन्द्रबाट अर्जुन जन्माइन् । त्यति मात्र होइन । उनले बिहा अघि नै सूर्यबाट कर्ण  जन्माइसकेकी थिइन् । यी सबै घटनाका बाबजुद तिमी कुन्तीलाई कुलटा भन्न सक्छौं रु व्यभिचारिणी भनी आरोपित गर्न सक्छौ ?  तत्कालीन समाजले उनलाई  बहिष्कार गर्न सक्यो ?  तिनका सन्तानको सामाजिक स्तरमा तल झार्न सक्यो ? त्यो बेलादेखि अहिलेसम्म समाजले उनलाई एउटी महान् र आदर्श नारी मानेको छ । जब त्यही काममा कुन्ती महान् नारी हुन्छिन् भने माया किन हुन सक्दिनन् ? कुन्तीका सन्तानहरू वैध र समाजमा सम्मानित हुन्छन् भने रमिला किन हुन सक्दिनन् रु कुन्तीले मात्र होइन, माद्रीले समेत परपुरुष (कामदेव)को पुंशकत्वबाट नकुल र सहदेव जन्माएकी हुन् । द्रौपदीका एक साथ पाँच पति थिए । के तत्कालीन समाजले ती नारीलाई दुत्कार्न सक्यो ? सकेन । तिनका सन्तानलाई बहिष्कार गर्न सक्यो ? सकेन । त्यसैले माया र रमिलाको पनि समाजमा उति नै इज्जत र मर्यादा हुनुपर्छ, जति अरू कथित एकल पुरुष सतित्वमा रहेका भनिएका महिलाहरूको छ । विवाहै नगरी पराशरले  मत्स्यगन्धाबाट सन्तानका रूपमा व्यासलाई जन्माएका होइनन् रु अप्सरा अद्रिकाले परपुरुष राजा उपरिसर वासुको पुंशकत्वबाट सत्ववतीलाई जन्म दिएकी होइनन् ? के सत्यवती कलङ्कित भइन् ? व्यास कलङ्कित भए ? बाबु इतिहास साक्षी छ । परापूर्व कालदेखि नै थुप्रै रमिलाहरू जन्मिएका थिए । त्यसैले परस्त्री वा परपुरष सहचर्यबाट जन्मँदैमा कोही कदापि कलङ्कित हुँदैन । न हिजो भयो न आज हुन्छ न त भोलि नै हुनेछ,’ मैले भनें ।

मेरा कुरा सुनेर साहस छक्क पर्यो । उसले आमाको माया  र विनयशीलता त देखेको थियो तर डरलाग्दो आक्रोश जीवनमा ऊ पहिलोपल्ट देख्दै थियो । उसले उसकी आमा आज किन यति आक्रोशित भई, उसको कुन मर्ममा चोट पुग्यो, बुझेकै थिएन । सबै कुरा बुझेका सञ्जय र केही नबुझेकी उत्साह आमा–छोराको विवाद चुपचाप सुनिरहेका थिए ।

‘मम्मी,  हजुर हामीलाई आदर्श र मर्यादाका प्रसङ्ग खुब सुनाउनुहुन्थ्यो ।  आज कहाँ गए हजुरका ती भनाइ रु उसो भए तपाईं  त्यो रमिलालाई बुहारी बनाएर ल्याउन तयार हुनुहुन्छ, होइन त रु’ साहसले केही आक्रोशित भएर प्रश्न तस्र्यायो ।

मैले भनें, ‘हो बाबु, म तयार छु । बाबु  तिमीले अझै सुन्न बाँकी छ । के तिमीलाई थाहा छ अघि मैले सुनाएको कथाको माया पात्र को हो रु’

‘मलाई थाहा छैन  मम्मी र थाहा पाउनु पनि छैन,’ उसले झन् आक्रोशित भएर भन्यो ।

म सञ्जय भएको ठाउँमा गएर उभिएँ र उनको हात समातेर भनें, ‘बाबु तिमीले यो थाहा पाउनैपर्छ । यो तिमीसँग पनि सम्बन्धित छ ।  अघि तिमीले सुनेको कथाकी माया पात्र तिम्री आमा हो । म हो त्यो पात्र । विपिनबाट छुट्टिएपछि समाजसँग लडेर मलाई र तिमीलाई स्विकार्ने त्यो साहसी व्यक्ति तिम्रा सामाजिक पिता सञ्जय हुन् । तिमी मेरो कृत्रिम गर्भाधानको सन्तान हौ । यसको अर्थ तिमी मेरो मात्र प्रामाणिक सन्तान हौं । सञ्जय र तिम्रो कुनै जैविक या अनुवंशीय सम्बन्ध छैन । तर के सञ्जयमा तिमीले कहिल्यै त्यो अनुभव गर्यौ ? तिम्री बहिनी उत्साह, जो  सञ्जयकी आफ्नो जैविक सन्तान हो । उसमा र तिमीमा कुनै विभेद वहाँबाट अनुभव गर्यौ ? तिम्रो शरीरमा उनको अंश त छैन तर यी तिम्रो जैविक पिताभन्दा पनि नजिकका र माथिका पिता हुन्, देव पिता हुन् ।  तिम्रो जैविक पिता को हो, मलाई थाहा छैन । सिमेन बैंकर्सलाई पनि थाहा छैन, डोनर्सलाई पनि थाहा छैन ।  त्यसैले तिम्रो जैविक बाबु सबैका लागि र सधैंका लागि अज्ञात छ । यसको अर्थ हो दुनियाँमा तिम्रो कोही जैविक बाबु छैन । तिमी मेरो मात्र सन्तान हौ । मात्र मेरो ।  अब भन, कसैबाट पुंशकत्व ग्रहण गरी तिमीलाई जन्माएका कारणले म कलङ्कित भएँ रु के तिमी कलङ्कित भयौ ?’

मेरो कुरा सुनेर साहस भुइँमा थुचुक्क बस्यो । केहीबेर उसमा न कुनै भाव देखियो न कुनै प्रतिक्रिया । पछि बर्बर आँसु खसाउँदै उसले पहिले बाबुको पाउ समात्यो अनि मलाई अङ्कमाल गरेर खुब रोयो । सायद बाल्यकालमा कुनै चिज प्राप्तिका लागि झगडा गर्दाबाहेक रुनु के हो, उसलाई थाहा थिएन । एकछिनपछि उसले जुरुक्क उठेर भन्यो,  ‘बाबा, मम्मी १  मलाई माफ गरिदिनुस् । अब म हिँडिहालें ।  म रमिलालाई लिएर मात्रै आउँछु ।’

सञ्जय र म दुवैले एक अर्कालाई अङ्कमाल गर्यौं । त्यसमा छोरी उत्साह पनि थपिई । दुवैले पहिले छोरीको आँसु पुछ्यौं, अनि एक अर्काको  ।

 

यो पनि पढ्नुहोस्

अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’

 

प्रकाशित: १६ असार २०७७ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App