२२ असार २०७७ सोमबार
कला

कोरोनाको मृत्यु

कविता

गणेश श्रेष्ठ ‘अपेक्षा’

गणेश श्रेष्ठ ‘अपेक्षा’  

 

ए बेइमान कोरोना !  

आफू अदृश्य, अमूर्त रहेर

कतिन्जेल पिरोल्छ्स् मान्छेलाई?

तेरै डरले पिल्सीपिल्सी  

मान्छेले मान्छेबाट

कति टाढासम्म टाढिरहनुपर्ने?

तैले मारेकालाई  

अधमरो बाँचेर आफन्तले

अन्तिमपटक छोएर

आँसु, फूल, पानी चढाउन नपाइने!  

न मलामी, नत सहज अन्त्येष्टि!  

दुनियाँलाई जिउँदो राख्ने मान्छेलाई

किन दिन्छस् हँ  

यति पीडादायी मरण?

 

घरबाहिर कतै हिँड्दा

तेरै भय बोकिरहनुपर्ने!  

कसैको फोन उठाउन काम्नुपर्ने!  

तँ यति बदनाम भइस् कि  

अरू कुनै कमजोरीले मान्छेलाई

ज्वरो आउँदा, टाउको दुख्दा,

खोकी लाग्दा, सास फेर्न गाह्रो हुँदा

पहिलो शंका तैँतिर जान्छ,

चरम घृणामा अब मान्छेले

कसैको कुभलो चिताउँदा  

‘कोरोना लागोस्’ भन्लान्  

 

मान्छेलाई आक्रमण गर्न

मान्छेकै हातलाई

पहिलो हतियार बनाउने

तँ आतंककारीलाई मैले कतै भेटे  

तेरै हात भाँचिदिन्थेँ,

सासलाई मूलबाटो बनाएर

फोक्सोमा बस्न जाने

तँ अपराधीको नाकमुखमा

मेरी श्रीमतीले नछुने हुँदा लगाएको

आलो रगतसहितको प्याड कोचिदिन्थेँ,

मान्छेलाई आफ्नै लुगासँग थुरथुर पार्ने

तँ असतीलाई मैले फेला पारे

मेरै कट्टुको पासोमा झुन्ड्याई मार्थेँ।

बलिया शत्रुलाई पछार्दै आएका मान्छेले

बनाउँदैछन् तँलाई पनि जित्ने हतियार

ती सफल भएपछि

मनाउनेछौँ हामी विजयोत्सव

तेरो कष्टकर, दर्दनाक मृत्युमा ।  

(खाँदबारी– ५,संखुवासभाका कवि श्रेष्ठ अचेल अमेरिकाको कोलोराडोमा बस्छन्।)

प्रकाशित: १४ असार २०७७ १६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App