२२ असार २०७७ सोमबार
कला

स्पेयर टायर

आत्मपरक निबन्ध

अहिले पो उखानहरूमा पनि लै‌गिक हि‌सा, समानता र मानव अधिकारका ए‌गल मिलाएर सोही अनुसारका चस्माले हेर्न थालिएको छ । हिजोको समयमा एउटा मार्मिक उखान थियो –‘तीन गोरुको हल बलियो, दुई जोरूको घर बलियो ।’ यो उखानमा प्रविष्ट ‘जोरू’ शब्द खासमा हिन्दी भाषाबाट नेपालीमा आगन्तुक कोटिमा आएको शब्द हो तर यसले नेपालीमा समेत आफ्नो उखानीय भार समेटेको छ । यो त्यो जमानको उखान हो जुन बेला मानिसहरू पूर्णतया कृषि पेसामा आश्रित थिए ।  

सोही बेलाको अर्को उखानले भन्छ –‘उत्तम खेती, मध्यम बेपार निर्घिणी जागिर ।’ यो उखानको अविर्भाव भएका बेलाँ पनि खेतीपातीलाई उत्तम पेसाका रूपमै लिँइदो रहेछ । मध्यम बेपार भयो किनकि यसको गति दायाँबायाँ र अघिपछि दुवैतिर समान तवरले गएको हुन्छ । बाँकी रह्यो – निर्घिणी जागिर । जागिरलाई मध्यम नभनिनुका पनि अनेकानेक स्वकारणहरू होलान् । दमडी दिन नथालुन्जेल निजामति होस् वा जंगी दुवैलाई राज्यले पारिश्रमिकका रूपमा जग्गाजमिन दिने गर्दथ्यो र जसलाई ‘जागिर’ भनिन्थ्यो । त्यो जागिर कहिलेकाहीँ जागिरेले भोग चलन गर्नै नसक्ने स्थानका पनि हुने गर्दथे । अचल जग्गाजमिन दिने चलन शनैःशनैः हराउँदै गयो अनि आयो नगद दिने चलन । ‘जिन्सीका एक दाउ, नगदका दस दाउ’ नगदको सजिलो र चञ्चलपन देखेर सो बेलाका बूढापाकाहरूले यसरी सो अर्को उखान पनि कोरलेका हुनुपर्छ । अनुभूतिले अभिव्यक्ति दिने रहेछन् । यदि ती अभिव्यक्ति भोगाइमा चुर्लुम्म डुबेका रहेछन् भने मार्मिक बन्दा रहेनछन् यदि डुबेका रहेनछन् भने खल्ला हुने रहेछन् ।  

घुमिफिरी रुम्झाटार भनेझैँ अहिलेको विश्वव्यापी कोभिड –१९ महामारीका समयमा सो उखान चरितार्थ भएरै छाड्यो । जति पनि व्यक्तिहरूलाई समेट्न सक्ने तागत भएकैले खेतीपातीलाई उत्तम भनिएको हुनुपर्छ । अनि ‘बेपार अपार हो’ भन्ने उखानलाई मध्यमावस्थामा रहेको बेपारले नै सम्झाएको छ । जागिरलाई हिजो पनि अन्तिममा राखिन्थ्यो आज पनि अन्तिममै राखिन्छ ।  

उहिले काजी जसपाल थापाका पालामा भनिएको थियो –‘सक्छौ जागिर नखाऊ, सक्दैनौ जागिर खाऊ । झण्डामुनि बस तर दरबार नपस ।’ जागिर हिनाम पेसा रहेछ भन्ने कुरा यो उखानले पनि बुझाएको छ । सलामी, गुलामी र मलामी बन्नेहरूका लागि जागिर केही होला रे तर यी कुनैमा नटिक्नेहरूका लागि त जागिर नै पनि घाँडो सावित हुनबेर लाग्दैन ।  

समय समयको बात हो । हिन्दीमा अर्को मुहावरा झन् तगडा छ – ‘समय समयकी बात, मुर्गी मारे लात ।’ संसारमा सबैभन्दा बलवान् भनेकै समय हो । समयभन्दा अघि र भाग्यभन्दा धेरै यो जुनीमा कसैले पाएको छैन र पाउँदैन पनि । तर यदि भगवान्ले दिन्छन् भने फेरि सोहोरेर दिन्छन् । हिन्दीमै भन्छ अर्को उखानले –‘भगवान् जब देता है तो छप्पड फारकर देता है, जब लेता है तो गाँड मार कर लेता है ।’ भाषिक रूपमा हिन्दीमा धेरै उखानहरू चल्तीमा छन् ती नेपालीका पनि सहयात्री हुन् । भाषा लवज र लिपिमा फरक भए पनि तिनको आशय उस्तैउस्तै हुन्छ । नेपालीमा चल्तीका रूपमा आएका उखान हिन्दीमा नआउने होइनन् तर उनीहरूले प्रयोग गरेका उखानहरू नेपालीमा पनि बग्रेल्ती प्रयोग भैरहेका छन् ।  

स्पेयर भनेको जगेडा । भविष्यका लागि जगेडा । साँचोमुचो । व्यवहारमा पनि जगेडाले खूब काम दिन्थ्यो । जतन गर्नु आफ्नै लागि हो । जीवनकै लागि हो । कतिपय जतनले भविष्यका खनखाँचाहरूमा पनि मानिसलाई भरथेग नै गर्दछन् । पहिलेपहिले स्कुटरमा पछाडिपट्टि स्पेयर टायर हालेर पञ्जाबीहरूले स्कुटर कुदाएको देखिन्थ्यो । त्यो चलन अहिले स्वाट्टै हटेको छ । अहिले चार पाङ्ग्रे र सोभन्दा बढीका सवारीहरूमा एकवटा पाङ्ग्रा तयारी हालतमा राखेर सवारी कुदाइन्छ ताकि त्यो सवारीले भर अभरमा सोही स्पेयर टायरलाई प्रयोग गर्न सकोस् ।  

यसले पनि हामीलाई यहाँनेर नेपाली भाषाकै उखान –‘अड्को पड्को तेलको धूप’ भन्ने उखानलाई नै सम्झाउने काम गरेको छ । बर्खाका देवता इन्द्रलाई पुकारा गरेर किसानहरूले बर्खा लाग्ने मुखमुखको समयमा इन्द्रको पूजाआज गर्छन् । कुनै समयमा इन्द्रको पूजा गाउँभन्दा केही बाहिर सम्पन्न भयो । लैजानु पर्ने सबै पूजा सामग्रीहरू लगिएको रहेनछ । गर्दै जाँदा धूप हाल्ने बेला आयो । सोही बेलामा काम चलाउनका लागि घिउका ठाउँमा तेल प्रयोग भयो ।

पूजाविधि सम्पन्न गर्नका लागि पुरेत बाहरूले सबै पूजासामग्रीको प्रयोग गरे । घरमुलीले हतारको काम लतारपतार भनेझैँ घिउ लैजान भूलेका रै’छन् । सुपारीको आभावमा ताम्बुल अभावे पुष्पम् समर्पयामी भन्दै पुरेत अघि बढे । अनि बेलपत्रं अभावे पुष्पम् समर्पयामी भन्दै अघि बढ्दै जाँदा त घिउ नै रहेनछ – पूजा सामग्रीमा । अनि पुरेतले जुक्ति निकाले घृतम् अभावे तेलम् समर्पयामी । अर्थात् अनि निस्कियो नयाँ उखान –‘अड्को पड्को तेलको धूप ।’  

यो किन भयो भने संसारमा कुनै कुरा पनि अकाट्य सत्य भन्ने नै छैनन् । अनुकूल सत्य, पारिवेशिक सत्य र चारित्रिक सत्यका कन्थाहरू कहीँकहीँ कहिएका छन् । हुन त आदि शंकराचार्यले ‘ब्रह्म सत्य जगत् मित्थ्या’ भनेर प्वाक्कै भनिदिए । अनि विरोधाभाषास्वरूप उनैका चेलाले ठिक उल्टो गरी –‘जगत् सत्य ब्रह्म मिथ्या’ भनेर भनेपछि संसारमा तर्कको खैलाबैला र ज्ञानको रडाकै मच्चियो । ‘गुरु  गुण चेला चिनी’ भन्ने उखान सोही कालावधि पछि नै आएको हुनुपर्छ । हुन त अङ्ग्रेजीका लवजमा भनिएको हुन्छ –थेसिस, सिन्थेसिस र एन्टीथेसिस । पृथ्वीमा सबैले सबैका कुरा मान्नु पर्छ र खानु पर्छ भन्ने छैनन् । समूहमा हिँडेजस्ता देखिए पनि यहाँ सबै एक्लाएक्लै छन् । जोडी बाँधिए पनि सबै विजोडी नै छन् । स्थुल शरीरले बहुवचनमा देखिएजस्ता भएका मात्र हुन् तर सूक्ष्मताका मापोमा भने सब एक्लाएक्लै छन् ।  

सबै आआफ्नो गोहो हिँड्ने हुन् । बाघको बाटो बाघ हिँड्छ । सर्पको बाटो सर्प । कोही कसैका प्रतिस्पर्धी हुन्नन् । ढोँग र स्वाँङका लागि मात्र प्रतिस्पर्धी चुनिएका हुन् । बनाइएका हुन् । सौजन्य र बेपारले मात्र यहाँ सबैलाई एकै लहर या हारमा राखेको हो । कोही कसैसँग एकै लहरमा छैनन् । एकै ड्याङ्मा रहँदैनन् । अज्ञानीले भन्ने हो –फलानो र फलानो एकै ड्याङ्का मुला हुन् । तर कुरोको चुरो त्यहाँ पनि फरक परिरहेको हुन्छ । पृथकताका माझमा अझ बढी पार्थक्यता हुँदो रहेछ ।  

पर प्रतिस्पर्धीमा भन्दा स्वप्रतिस्पर्धीमा परमानन्दको अनुभूति हुन्छ । अरूलाई जित्न सजिलो छ तर आफूलाई जित्न महा कठिन । त्यसैगरी ढाँट्न पनि सोही हो । आफूलाई ढाँट्न मानिस मरिगए पनि सक्दैन । यहाँ आफू नै आफ्नो प्रतिस्पर्धी । आफू नै आफ्नो प्रतियोगी हो । यसो भयो भने कम्ति मजा आउँदैन । न दर्शक र निर्देशक कसैको कर्सैलाई जरूरत नै पर्दैन ।  

न नियम । न नीति । आफू आफैँमा पूर्ण । भनौं न परिपूर्ण । कसैले कसैलाई हाँक्न, आँँक्न र जित्न सक्दैनन् । अझ एक कदम अघि बढेर भन्ने हो भने त आफ्नो पछिल्लो कामभन्दा उम्दा काम गर्नका लागि जो यहाँ तयार हुन्छ त्यसैले संसार जित्छ । जितेको छ । जित्नेछ । जो ऐजनऐजन कार्य र कर्म मै रमाउँछ त्यसले केही जित्न सक्दैन । सकेको थाहा पनि छैन ।  

‘संसार जित्ने मानिस घरमा हार्छ’ यो भनाइले मै हूँ भन्ने संसारका धेरै मानिसहरूको हुर्मत लिइरहेको छ । यतिखेरको विषय स्पेयर टायर जो छ । ती र तीहरू जो शरीर खुस र सुखका लागि माहिर बनेका छन् तिनले नै यो स्पेयर पन्थको आविष्कार गरे हुनन् । जानी नजानीकन स्पेयरपन्थी भए हूनन् । नजाने कसरी भयो होला यो इच्छाको बारीमा मनको खनजोत हुने कायाको खेती ? को होला यसको मीमांशाकार ? को होला यसको भाष्यकार ? कसले भाषा र टीका बनायो होला ? यी र यस्ता प्रश्नहरू नैरन्तर्य अनुत्तरित छन् – इतिहासदेखि वर्तमानसम्म । हिजोका ऋषिमुनि र आजका सिसीमुनिका बीच आकास जमिनको फासला रहेको छ । यो दरारले नै दिलखुस गराउनका लागि विषयीपन्थको बाटो रोजायो होला !  

सन्त कविर भन्छन् –‘लिकै लिक हिँड्छ कायर, लिक छाड्दैन कपुत, लिक छोडी हिँड्छन् तीन सायर, सिँह र सपुत ।’ यसरी कोही कसैको स्पर्धी नहुने कहावत् कविरले पनि भाकेपछि हामीले के टुङ्गोमा पुग्यौं भने लालसी र भोगी मानिस आफ्नो सुखको संविधान आफैँ बानाउँदो रहेछ । त्यसैले नै उसलाई सो पन्थको अनुयायी बनाउने रहेछ । हामी यसलाई विचारेर हेरेका खण्डमा सत्यांश भएको पाउँछौं ।  

स्पेयर टायर सवारीमा ठिक होला । औजारका हिसाबमा गम्य होला तर यो घर परिवारका दर्ग दिशामा कवै उचित होइन । यसले परिवारको रालोलाई छिनालेर उखपात गर्नै डर हुन्छ । परिवारलाई महत्व नदिएर परचक्रीसँग लोलोपोतो घस्ने स्वभावले नै हो घरमा डढेलो झोस्ने भनेको । सुझ न बुझ यो चस्कामा लागेका मानिसका एक दिन न एक दिन घर सकिन्छ सकिन्छ । ढिलोचाँडो मात्र हो । शारीरिक ढोँग भरिएको स्वाँङले मैनाक पर्वत लङ्घन गर्न किमार्थ सक्दैनन् । यो सोरै आना सत्य हो ।  

‘संसारको सबैभन्दा सुन्दर चिज यौन हो तर त्यो धरापमा छ’ अचाडु र बेशुद्धि भएकाले पक्कै यसो भनेको होइन होला । दम छ यसमा । दामी पनि छ वाणी । जुन कुरामा दम छ त्यो दामी पक्कै हुन्छ । अर्थ गहिरो भएका शब्दहरूमा डुबुल्की लगाउनै सकिन्छ । संसारमा गह्रांै कुरा खोज्नेहरू गहिरो सागरमा डुबुल्की लगाउने मध्येकै छन् । बुझेका मानिससँग डिल गर्न सजिलो छ । नबुझेका मानिससँग पनि डिल गर्न अझ सजिलो छ तर आधा बुझेका मानिससँग त डिल गर्न असाध्यै गाह्रो छ । ती जो अलिअलि बुझेका हुन्छन् नि ती आधि गाग्रोझैँ हल्लीरहन्छन् । कराइरहन्छन् । स्वर मसिनु हुनेको सुरिलो र ठूलो हुनेको कर्कष भएझैँ मध्यम हुनेको न लय बर्तिन्छ न नाद । प्रयासका पन्थहरुमा पनि जताततै पहिरो जान्छ । त्यो देखिएको छ –समाजमा । कतै श्यामश्वेत र कतै रङ्गीन कलेवरमा ।    

अश्रुको अनादि सिन्धुमा आफूलाई क्रमिक रूपले पखाल्नेहरू नै यो भवसागर तर्नेहरू हुन् । जहाँसम्म स्पेयर टायरको कुरा उठाउन खोजिएको छ त्योचाहिँ मानिसहरूको नदेखिएको पाटोलाई खोतल्ने प्रयास गरिएको मात्र हो । फेसबुकमा एकजना पाका काया र विचार भएका व्यक्तिले आफ्नो स्टाटस राखे –‘पुरुष र नारीलाई एक रथका दुई पाङ्ग्रा भन्छन् । हिजोआज त्यो रथको कुनै एक वा दुवै पाङ्ग्रा कमजोर भएको ठानेर होला पुरुष र नारी दुवैले बाहिर एउटा इच्छाको स्पेयर राखेको हुन्छ । यसमा यो ऊ दोषी भन्ने नै भएन । मात्र मानसिकता कस्तो छ भन्ने हो ।’ मैले यो कुरा मन मिल्ने एकजना अनुजलाई सुनाएँ । उसलाई लघुकथाको गुत्थी प्राप्त भयो । मलाई निबन्धको आधारशीला तय भयो । जसरी स्पेयर टायर भएका बेला ड्राइभर निश्चिन्त भई सवारी जनमार्गहरूमा दौडाउन सक्छ ठीक त्यसैगरी शरीर सुखका लागि जो सुखका खातिर भौंतारिरहेको छ ऊ दौडिने हो –लखरलखर श्वान भाँतीमा ।  

अलि गूढ गम्भीर भएर विचार्ने हो भने दम्पत्तीका बीचमा आएको स्पेयर टायरचाहिँ छिचरोपनको भलिभाँती उदाहरण हो । पुर्खाले भनेका –‘एक नारी सदा सुखी अनेक नारी सदा दुखी’को अन्तर्यलाई यहाँनेर मनन गर्दै यहाँ स्पेयरका रूपमा चलन गर्दै रहेका पुरुष नारीलाई हामी मानिसले सिकाउनै पर्दैन । समयले आपसे आप एकदिन सिकाउँछ । सिकाइरहेको पनि छ सास्ती दिएरै समयले ।  

सिकाउने मामलामा एउटा मामिर्क भनाइ छ –‘घोडालाई पानी खुवाउनका लागि नदी वा पोखरीसम्म तानेर लैजान सकिएला तर पानी खुवाउनका लागि मुन्टो थिचेर नदी वा पोखरीमा जोत्नचाहिँ सकिँदैन ।’ जसलाई खाँचो छैन उसले सिक्दैन । यो दृष्टांश संसारभरि देख्न सुन्न पाइन्छ । खोजी पस्नु मात्र पर्छ –देखिन्छ यत्र, तत्र र सर्वत्र ।

प्रकाशित: १३ असार २०७७ १८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App