coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कोरोना कहरले डामाडोल नेपाली फिल्म जगत्

तीन महिनाअघि लागु गरिएको लकडाउन खुकुलो भए पनि फिल्म तथा मनोरञ्जनसम्बन्धी गतिविधि ठप्प छ। त्यसकारण यस क्षेत्रमा आबद्ध श्रमजीवी मजदुरदेखि कलाकार, फिल्मकर्मी र हल सञ्चालक मारमा परेका छन्।  

३१ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय लाइटम्यान दिनेश लामा लकडाउन घोषणा हुँदा आदिवासी फिल्म ‘मरंग’ को सुटिङमा व्यस्त थिए। दैनिक दुई हजारदेखि २५ सय रुपैयाँसम्म कमाउने उनी अहिले बेरोजगार भएका छन्। आफूजस्ता थुप्रै ज्यालादारी प्राविधिकले भोकभोकै मर्नुपर्ने स्थिति आएको उनले बताए। ‘यसअघि जनयुद्ध र विभिन्न आन्दोलनले फिल्म क्षेत्र धरासयी भए पनि आम्दानी प्रभावित भएको थिएन,’ उनले भने, ‘अहिले ऋण दिने फिल्मकर्मीहरूको समेत अवस्था नाजुक हुँदै गएको छ। सावधानी अपनाएर फिल्मसम्बन्धी गतिविधि सञ्चालन गर्न नथाले भोकै मर्नुको विकल्प हुन्न।’

नेपाली फिल्म क्षेत्रबाट करिब ३५ सय प्राविधिकको रोजीरोटी चलिरहेको छ ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार संघमा स्पट ब्वाई, लाइटम्यान, मेकअपम्यान, ड्रेसम्यान, क्ल्याप ब्वाईजस्ता गरी १५ सय सदस्य छन्, तीमध्ये पाँच सयको अवस्था नाजुक बनेको छ। ‘हामी चलचित्र विकास बोर्डमार्फत प्राविधिकलाई राहतका निम्ति पहल गरिरहेका छौं,’ उनले भने।

अर्जन कुमारले ‘चपली हाइट ३’ फिल्मको सुटिङका लागि एक करोडभन्दा बढी रुपैयाँ खर्च गरे। जेठ २८ मा फिल्म रिलिज गर्न उनले ट्रेलर र गीत सार्वजिक गरे। त्यसको केही दिनमै लकडाउन घोषणा भएपछि उनको खर्च बढेको छ। रिलिज अनिश्चय हुँदा ब्याज थपिएको छ। ‘प्रचारप्रसारसहित डेढ करोड रुपैयाँमा फिल्मको काम सिध्याउने योजना थियो, लकडाउनले प्रभावित भयो,’ उनले भने, ‘अहिलेसम्म एक करोड १५ लाख रुपैयाँ खर्च भइसक्यो। दसैंतिहारमा फिल्म रिलिज गर्न पाइएला भन्नेमा आशावादी छु। यो स्थितिमा ओभरसिज राइटको माया मारिसकेको छु।’  

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्सले देशभर २७ पर्दा रहेका १२ हलमा आबद्ध करिब सात सय हाराहारीमा कर्मचारीलाई आधा तलब दिइरहेको क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन अडिगाले बताए। प्रत्येक हलमा दैनिक पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको बताउँदै उनले भने, ‘अधिकांश गतिविधि ठप्प भइरहेको अवस्थामा हल भाडा मात्र तिर्न बाध्य छौं,’ उनले भने, ‘अहिले व्यापार खासै नहुने भए पनि सरकारको निर्देशिका पालना गरेर हल खोल्न तयार छौं।’

चलचित्र विकास बोर्डले लकडाउनपछि नेपाली फिल्म क्षेत्रमा १२ हजारभन्दा बढी श्रमजीवी फिल्मकर्मी प्रभावित हुने तथ्यांक सार्वजनिक गरेको छ। बोर्डले आव २०७६/७७ मा ८६ वटा फिल्मलाई निर्माण इजाजतपत्र दिएको थियो। तीमध्ये ६६ वटा फिल्मको सेन्सर सिफारिस भएको थियो। आव २०७६/७७ को चैत पहिलो सातासम्म नेपाली र विदेशी गरेर एक सय ३९ वटा फिल्म प्रदर्शन भएका थिए। रिलिज मिति तय भएर प्रदर्शन स्थगित हुँदा १५ करोड रुपैयाँ क्षति भएको अनुमान बोर्डले गरेको छ।  

२०७६ सालमा ५५ वटा नेपाली फिल्म रिलिज भएकोमा ‘जात्रैजात्रा’, ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ फिल्म हिट भए। त्यसअघि  २०७५ सालमा ९६ फिल्म रिलिज भएकोमा आधा दर्जनले मात्र नाफा कमाए। गत वर्ष फिल्मको संख्या मात्र नभएर व्यापार पनि ओरालो लागेको थियो। 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाबाट प्रभावित नेपाली फिल्म क्षेत्रलाई सम्बोधन गर्न समिति बनाएको जानकारी गराए। ‘नेपाली फिल्म क्षेत्रलाई सम्बोधन गर्न १५ दिनदेखि बोर्डले फिल्मकर्मीसँग छलफल गरिरहेको छ,’ उनले भने, ‘अहिले बोर्डको आन्तरिक स्रोत खुम्चिए पनि मन्त्रालयसँग पत्राचार गरिसकेको छु। श्रमजीवी फिल्मकर्मीदेखि निर्माण, प्रदर्शन र निर्माता लगायतलाई राहतका लागि पहल भइरहेको छ।’ उनले श्रमजीवी फिल्मकर्मीको जीवनस्तर सुधार्न प्याकेज घोषणा गरिने बताए। ‘तत्काल फिल्म हल नखुले पनि निर्देशिका तयार गरिरहेका छौं। मौलिक र कलात्मक फिल्म निर्माणलाई प्रोत्साहन गर्न स्क्रिप्टमा आर्थिक अनुदान दिने विषयमा मन्त्रालयमा छलफल गरिरहेका छौं।’

देशभर एक सय १५ वटा हलमा ७० हजारजति सिट छन्। विदेशी फिल्मको प्रदर्शनबाट वार्षिक १० करोड चलचित्र विकास शुल्क र यति नै मात्रामा राजस्व उठ्ने गरेको छ। विदेशी फिल्मबाट मासिक ९० लाख रुपैयाँ र नेपाली फिल्मको प्रदर्शनबाट न्यूनतम पाँच करोड रुपैयाँको व्यापार हुने गरेको थियो। नेपाली र विदेशी फिल्मबाट मासिक न्यूनतम अनुमानित २० करोड रुपैयाँको व्यवसाय हुने गरेको छ। लकडाउनसँगै देशभरका दुई सय १५ फिल्म हल बन्द भएसँगै तीन हजारजना प्रत्यक्ष रूपमा रोजगारबाट प्रभावित भएका छन्। फिल्म प्रदर्शन र हलको व्यापारमा मासिक अनुमानित करिब २० करोड रुपैयाँ नोक्सान परेको छ। फिल्म वितरणमा आबद्ध ४८ स्ंस्थाका करिब दुई सय ५० जनशक्ति प्रभावित भएका छन्।  

२०७६ सालमा ५५ वटा नेपाली फिल्म रिलिज भएकोमा ‘जात्रैजात्रा’, ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ फिल्म हिट भए। त्यसअघि  २०७५ सालमा ९६ फिल्म रिलिज भएकोमा आधा दर्जनले मात्र नाफा कमाए। गत वर्ष फिल्मको संख्या मात्र नभएर व्यापार पनि ओरालो लागेको थियो। बिस्तारै सुधार हुँदै गएको महसुस हुन थाल्दा लाग्दा कोरोना महामारीले संकट ल्याइदिएको क्युएफएक्सका सिइओ अडिगाले बताए।

नेपाल चलचित्र निर्माता संघको तत्थांकअनुसार ‘म यस्तो गीत गाउँछु २’, ‘प्रेमगीत ३’, ‘नीरफूल’, ‘लक्का जवान’, ‘हिजोआजको कुरा’, ‘सुस्केरा’ र ‘चपली हाइट ३’ लगायत २३ वटा फिल्म तोकिएको मितिमा रिलिज हुन पाएनन्। समयमै रिलिज नहुँदा लगानीको भार बढेको बढ्यै छ । त्यस्तै ‘पारस’, ‘छक्का पन्जा ४’, ‘नाइँ नभन्नु ल ६’ र ‘मनको बाँध’ लगायत १५ वटा फिल्म फ्लोरमा जान पाएका छैनन् भने ‘२ नम्बरी’, ‘द होल टाइमर’, ‘परदेशी २’, ‘ए मेरो हजुर ४’, ‘गुन्जन’, ‘देसान’ र ‘झिंगे दाउ’ लगायत फिल्मको सुटिङ र पोस्ट प्रोडक्सन रोकिएका छन्। सुटिङ दोहोरिँदा बजेट बढेको छ।  

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार राज्यले फिल्म क्षेत्रलाई समेत अति संवेदनशील र प्रभावित क्षेत्रमा राखेर सोहीअनुसार सहुलियत दिनुपर्छ। ‘निर्देशिका जारी गरेर फिल्म हल खुलाए पनि अकुपाई ३३ प्रतिशतमात्र हुने भएकाले निर्माताको लगानी उठ्दैन,’ उनले भने, ‘यस क्षेत्रलाई जोगाउन सेन्सरमा गएका फिल्मको राजस्वबाहेक अनावश्यक रकम कटौती हुनुपर्छ। बोर्डले दिने इजाजतमा उल्लेख भएको अनुमानित रकममध्येको २० प्रतिशत राहत दिने ग्यारेन्टी गरिदिनुपर्छ। बिमा व्यवस्थासहित फिल्म प्रचारप्रसार राज्यले गरिदिए यो क्षेत्रलाई उकास्न सम्भव छ। मापदण्ड तोकेर सुटिङ सुरु गराउनु जरुरी छ।’

हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघको तत्थांकअनुसार देशभरका दुई सयभन्दा बढी फिल्म हलमा चार हजार हाराहारीका कर्मचारी छन्। संघको तत्थांकअनुसार क्युएफएक्सको २७ पर्दा र अन्य एक सय ७३ पर्दा गरेर कर्मचारीको तलब भत्तामा ६ करोड २१ लाख रुपैयाँ खर्च हुने गरेको छ। त्यस्तै विद्युत् महसुल ९५ लाख, ५५ हजार रुपैयाँ, हल भाडा ५५ लाख ५० हजार रुपैयाँ, मर्मत ३५ लाख रुपैयाँ, अन्य खर्च २५ लाख रुपैयाँ र बैंक ब्याच सात करोड ५० लाख रुपैयाँसहित मासिक करिब १६ करोड रुपैयाँ खर्च हुने गरेको छ। संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार देशभरका फिल्म हल मासिक करोडौं रुपैयाँ घाटा बेहोर्न बाध्य छन्। ‘फिल्म हलको नोक्सान अत्यधिक छ,’ उनले भने, ‘मन्त्रालय र बोर्डसँग राहत र हल खुलाउने विषयमा छलफल भइरहेको छ। ३३ प्रतिशत दर्शकको उपस्थितिमा हल सञ्चालन गर्दा भाडा उठाउन ग्राहो हुन्छ। अहिले गृहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन।’

प्रकाशित: १३ असार २०७७ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App