२३ असार २०७७ मंगलबार
कला

पचपन्ने राजनीति

कविता

वसन्त लोहनी

बाउन्ने गाउँको

चौवन्नियाँ खेलमा  

पचपन्ने राजनीति  

यस्तो के राजनीति?

गणेश राजनीतिमै छ

लेखक- वसन्त लोहनी

ऐतिहासिक पार्टीको नेतृत्व पंक्तिमा

तर अझ राजनीतिज्ञ बन्न सकेन

चरी भट्टाबाट खरा निस्कनुअगाडि  

उपयोगिता सकियो  

इन्काउन्टरमा मारियो

बाँचेको भए ऊ दाहिने हुन्थ्यो

हातमा तागत, बोलीमा खुस्बु

सांसद अपहरणको नेतृत्व उसको हुन्थ्यो

विपक्षी टुटिसकेका हुन्थे

उसको राजनीतिमा सबै जोडिन्थ्यो

कम्तीमा पच्चीस वर्ष पुग्थ्यो

दीपकले चुनाव जित्यो

राजनीतिज्ञ बनेर  

तर, अझ पनि राजनीतिज्ञ बन्न सकेन

भट्टा नै पाएन

त्यसैले वर्ष जोडिन बाँकी छ

राजनीति भनेकै भट्टा हो

अनि पो भनिन्छ–

कोही महान बनेका छन्

कोही अभिमानी यहाँ  

अहिलेको राजनीतिज्ञ?  

को गैरराजनीतिको ?

राजनीतिमा नछिरी उद्योग व्यवसाय नचल्ने

क्षमता जतिसुकै होस्

अवसर नै नपाउने

किनेर पनि बिल्ला लगाउनैपर्ने

हुनेले त किन्छ  

नहुनेले के गर्ने?  

भारी बोक्ने हो भने  

लगानीकर्ता फालाफाल छन्,

यसरी बनेको रसदपानीको व्यवसाय  

यहाँको मुख्य राजनीति व्यापार  

सबैको एकनास छैन

कसैको चल्यो, कसैको चलेन

राज्यको तागत उसले समात्यो

जसले मुसदण्डको तागत समात्यो

विदेशी आशीर्वादको जोहो ग¥यौ

अनि जनतालाई घुमायो

घट्ट घुमाएसरह

हेर्नुस् रसदपानीको मालामाल  

सबैले सक्तैनन्  

केही त्यो बेइमानी गर्न चाहँदैनन् पनि

जसले सक्तैनन्

उसको पसल बन्द हुन्छ

तर पनि ऊ चिनिन्छ–

पुरानो ठूलो पसले वा सानो पसले

भनेर

नांलो पसल भए पनि बन्द गरिहाल्नु हँुदैन

पछि सबै वर्ष जोडिन्छ

मालामाल हुन सक्छ  

मोहन एक सुरमा चन्द्रमा हेरिरहेका छन्

राधा कृष्णबाट नै पर

वामको पनि देव

जोकर बनेका छन्

सीपी पिपी चुसिरहेका छन्

रतिको पतिलाई नै मारिदिए

युद्धका सरदार त भारदार बनेका छन्

धुन बजिरहेको छ–

‘नाचन झिल्के नाचन

पैसा दिउँला पाचान’

नाचिरहेका छन्

मदारीले बाँदर नचाएको जस्तो

उसले नचाइरहेको नाच  

राष्ट्रिय राजनीति पो बन्यो अहिले

त्यसैले जोसँग तागत छ  

उसले नै भोग गर्छ

भनिएकै छ–  

‘वीरभोग्या वसुन्धरा’

तर यो क्षणिक हो

कसले कति राजनीति ग¥यो

कसले कति द्रव्यनीति सँगाल्यो

त्यो हिसाबकिताब नै गोलमाल छ

एउटै ड्याङका यी

त्यसैले–

कसैको पचपन्न वर्ष होला

कसैको साठी

तर राजनीतिको गाँठीचाहिँ  

अन्तको लाठी

त्यसैले कसैले भोलि नभने हुन्छ

गोली नबने हुन्छ

टौवामा बसेर कति हौवा फैलाएको ?

आजै सकिने यी पटाका–उज्यालो  

भोलि बेपत्ता हुन्छन्

पचपन्ने झ्याल हाम्रो गौरव हो

पचपन्ने राजनीति अभिशाप  

अर्को दिनको सुरुवात गर्न बाँकी नै छ

गर्ने हामीले नै हो, मात्र हामीले हो

नत्र बहिरहेको आमाको आँसु  

कसले पोछ्ने त ?

प्रकाशित: १३ असार २०७७ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App