४ वैशाख २०८१ मंगलबार
कला

उनका सर्तहरू

कथा

अर्जुन थापा

अर्जुन थापा

‘दाइ के हो गाडी अगाडि बढ्दै बढ्दैन त ? केको जाम हो ?’, उसले बसको कन्डक्टरलाई प्रश्न गर्छ ।

‘अरू के हुनु, बिहेका जन्तीहरूले पूरै बाटो ढाकिएको छ । बाटामै मान्छेहरू नाचेर बसेका छन्’, नाच्दै गरेका केटीहरूलाई हेर्दै उत्तर दिन्छ ।

बसको झ्यालबाट टाउको बाहिर निकालेर हेर्छ ऊ पनि । दौरासुरुवाल, ढाका टोपी, कालो चश्मा र दूवोको मालामा सजिएर दुलहीसँगै बग्गीमा बसेर सानका साथ बाटामा हिँड्दै गरेका मान्छेलाई हेर्दै मन्द मुस्कान छोडिराखेको दुलाहालाई देख्छ बसको सिटैबाट ।  

कुनै युद्ध जितेर फर्कंदाको जस्तै दुलाहाको अनुहारमा छरिएको खुसी र घरीघरी आफ्नी नव दुलहीलाई कानेखुसी गरेको साथै त्यस बग्गी अगाडि नाच्दै गरेका मान्छे देखेर उसलाई हाँसो उठ्छ ।

‘भाइ खूबै दंग पर्नु भयो नि बिहेको जन्ती देखेर ?’, सँगै सिटमा बसेकी महिलाले सोध्छिन् ।  

‘उनीहरूको खुसीमा समर्थन जनाएको नि आन्टी मैले पनि’, हाँस्दै जवाफ दिन्छ ।  

गाडी अझै अघि बढ्न सकिराखेको छैन । पञ्चे बाजाको धुनमा जन्तीहरू झन् मच्चीमच्ची उफिरहेका देखिन्छन् । पैदलयात्री उभिएर मज्जा लिइरहेका छन् ।  

‘जिन्दगीमा पहिला आफूखुसी हुनुपर्छ अनि मात्र अरूको पालो आउँछ । दाँत फुक्लेपछि गरिएको रमाइलोलाई रमाइलो मान्दिनँ म । आफू भोकै बसेर अरूलाई दिने र अहिले दुःख गरेर बुढेसकालमा खुसी हुने सिद्धान्त मलाई खोक्रो लाग्छ ।’

‘यसरी नै धुमधामका साथमा बुहारी भित्र्याउने छु म पनि । राम्रो घरकी छोरी भए भन्नू ल । यसपालि त जसरी पनि गर्ने हो छोराको बिहे ।’  

‘बिहेका लागि केटाकेटी र जग्गा खोज्ने काम त जीवनभर गर्ने छैन, राम्रो भए हाम्रो भाग्यले र नराम्रो भए त्यसले खोजिदिएकी खत्तम प¥यो भनेर अपजस आउँछ । छोरीको बिहे भएन दिदी भनेर रुँलाझैँ गरेकी भएर छिमेकीको छोरीका लागि कत्रो दुःख गरेर केटा खोज्दे । बिहे गरेकी दुई महिनामा नै पुरानो प्रेमीसँग भागिछ । अहिले आएर केटापट्टिको घरले मलाई पो कति पैसा लिएकी थियौ तिमीले हाम्रो छोराको भविष्य खत्तम पारिदियौ भन्छन् ।’  

‘त्यही त भनेको, अर्कैसँग जानु छ भने किन अर्काको भविष्यसँग खेल्नु ? जीवनभर पछुताउनुभन्दा बिहे नै नगर भन्छु बरु छोरालाई । के जमाना आयो भगवान् !’  

ठीक पछाडीपट्टि दुई महिलाको संवाद चाख दिएर सुनिरहेको थियो ऊ । बसले बिस्तारै आफ्नो गति लिन खोज्दै थियो ।  

‘विवाह भनेको जीवनमा एक पटक गरिने हो । त्यसैले आफ्नो बिहे भव्य तरीकाले गर्न चाहन्छु’, म्यासेन्जरमा म्यासेज आउँछ उनको ।  

‘तिम्रो विचारलाई सम्मान गर्छु । सुहाउँदो तरिकाले विवाह गर्ने र बरु कुनै वृद्धाश्रममा गएर सहयोग गर्दा झन् उत्तम हुन्थ्यो कि !’, रिप्लाई गर्छ ऊ ।

‘जिन्दगीमा सबैभन्दा पहिला आफूखुसी हुनुपर्छ अनि मात्र अरूको पालो आउँछ । दाँत फुक्लेपछि गरिएको रमाइलोलाई रमाइलो मान्दिनँ म । आफू भोकै बसेर अरूलाई दिने र अहिले दुःख गरेर बुढेसकालमा खुसी हुने भन्ने सिद्धान्त मलाई खोक्रो लाग्छ’ टिङ बज्छ उनको म्यासेज फेरि ।

‘हाहाहा, हँसाउँछ्यौ तिमी पनि । साँच्चि, मेरो फोटो कस्तो लाग्यो त तिमीलाई ? तिम्रो टाइपको छु त म ? मनमा केही जिज्ञासा छन् भने सोध । विवाह हुनुअघि एकअर्काको बारेमा सबै जानेको राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।’  

मेरो टाइप भनेको त्यस्तो लोग्ने होस् । जो एउटा चलचित्रको हिरो जस्तो सबै गुणले युक्त मेरो हरेक कुरामा समर्थन गर्ने हुनुपर्छ । कुरा घुमाएर गर्ने खालको मान्छे होइन म । हाम्रो विवाहको कुरा चलिरहेको छ तर मेरा केही सर्त छन् जुन तिमीले मानेमा विवाहका लागि विचार गर्नेछु ।  

 हामी जुनदिन भेट्छौं त्यस दिन यदि म मन नपरेको खण्डमा तिमीले नो भने पनि र तिमी मन नपरेको खण्डमा मैले नो भने पनि हामी दुईले यस निर्णयलाई स्वीकार गर्नुपर्नेछ ।  

 विवाहपश्चात् माइत र घर बराबरी रूपमा बस्न पाउनुपर्ने छ मैले ।  

 जसरी तिम्रो घरमा मैले व्यवहार गर्छु । त्यसरी नै मेरो माइतीमा तिमीले हेरविचार गर्नुपर्नेछ ।  

 कहाँ गएको, के गरेको, कस्तो लुगा लगाएको र कोसँग बोलेको जस्ता प्रश्न गर्न पाइने छैन ।  

 घरको काम घरका सबै सदस्यले बराबर रूपमा गर्नुपर्नेछ ।  

 एक अर्काको विनामन्जुरी शारीरिक सम्बन्ध राख्न पाइने छैन ।  

 दाइजोका रूपमा मैले लगाएको एकसरो लुगाबाहेक अरू केही पाउने छैनौ ।

 विवाहपश्चात् मेरो जिम्मेवारी तिम्रो हुनेछ । मैले दुःख गरेर कमाएको पैसामा तिम्रो कुनै अधिकार हुने छैन ।  

 बिहान सासूहरू सँगै उठ्नुपर्ने, खुट्टामा ढोग्नुपर्ने, आएका पाहुनाहरूको हातहातमा गएर टाउको झुकाउनुपर्ने जस्ता कुरीति पालना गर्नुपर्ने छैन ।  

उल्लिखित बुँदाहरूलाई तिमी तथा तिम्रो परिवारले पूर्णरूपमा पालना गर्ने हो भने कुरा अगाडि बढाउन म तयार छु ।’  

१० मिनेटपछि लामो म्यासेज आयो उनको । ऊ आधा घन्टा लगाएर दोहो¥याईदोहो¥याई उनको म्यासेज पढ्छ ।

‘आज गुरूकाँ चिना देखाएर आको तेरो र उनको ठ्याक्कै सबै गुण मिल्यो । केटीको परिवार पनि मलाई साह्रै चित्त बुझ्यो । अरू कुरा थाहा छैन यही केटीसँग तँैले बिहे गर्ने हो । सबै पक्का गरेर आइसकेँ मैले । यस्तो केटीलाई बुहारी बनाएर घर भित्र्याउन नपाउनु मेरो सौभाग्य हो’, भन्दै आमा भान्सातिर लाग्छिन् ।  

सिरानीमा रहेको उनको फोटो, उनका सर्तहरू र आमाको हुनेवाली बुहारीप्रतिको माया सोचिरहन्छ ऊ ।  

  

‘हेलो दाइ कहाँ झर्ने हो तपाई ? यो लास्ट स्टप हो बसको’, कोट्टयाउँछ कन्डक्टर ।  

बसको सिटमै मस्तले निदाएको ऊ झसंग हुन्छ । हतारहतार बाहिर निस्कन्छ बसबाट । निधारको पसिना पुछ्दै वरिपरि आँखा डुलाउँछ । नीलो सफा आकाश, चराहरू आआफ्नै तालमा उडिरहेका हुन्छन् । मान्छेहरू आफ्नै धुनमा काम गरिरहेका हुन्छन् । खल्तीबाट मोबाइल निकालेर म्यासेज चेक गर्छ । त्यहाँ कुनै म्यासेज पाउँदैन उनको ।

‘हरे ! के भाको होला म पनि, दिउँसै सपना देखेछु, त्यो पनि बसमा’, मुसुमुसु हाँस्दै अर्को बस चढ्छ ।  

प्रकाशित: २३ जेष्ठ २०७७ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App