coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

होटलको क्वारेन्टिनमा मनीषा कोइराला

अभिनेत्री मनीषा कोइराला राजधानीको एक होटलमा १४ दिने क्वारेन्टिनमा बसेकी छिन् । स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी उनी आमा र बुबासहित क्वारेन्टिनमा बसेकी थिइन् ।  

नेपाली सेनाले स्कर्टिङ गरेर उनलाई राजधानी ल्याएको थियो । ‘मनीषा कोइराला आमा र बुबासहित राजधानीको एक होटलमा मंगलबारदेखि क्वारेन्टिनमा बसिरहनु भएको छ,’ अभिनेत्री कोइराला निकट स्रोतले भने, ‘होटलमा १४ दिने क्वारेन्टिन अवधि पूरा गरेर उहाँहरू घर जानु हुनेछ ।’

मुम्बईबाट गोरखपुर एयरपोर्टमा ओर्लिएलगत्तै बेलहिया नाकामा ज्वरो मापन गराएर उनी नेपाल प्रवेश गरेकी थिइन् । कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि उनी आमा र बुबासहित मुम्बईस्थित घरमा क्वारेन्टिनमा बसेकी थिइन् ।  

यसअघि नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया उनीविरुद्ध खनिएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’  

उनको सो अभिव्यक्तिमा नेपाल र भारतको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको थियो, ‘नेपालमा जन्मेकी अभिनेत्री मनीषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छिन् । उनीहरूको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’

लिम्पियाधुरासहित तीन सय ३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्ष लिएको भन्दै भारतीय मिडियाले अभिनेत्री कोइरालाको आलोचना गरेका थिए । भारतीय मिडियाले उनलाई चीनको पक्ष लिएको भनेर समेत लेखेका थिए । उनीहरूले अभिनेत्री कोइरालालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका थिए ।  

बलिउडलाई कर्मथलो बनाएकी अभिनेत्री कोइरालाको अभिव्यक्तिविरुद्ध भारतीय नागरिकहरू आक्रोशित भइरहँदा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको पक्षमा उत्रिएका थिए  ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App