६ वैशाख २०८१ बिहीबार
कला

भारतको फिल्म हल पुनः खोल्न आग्रह

फिल्म निर्माताहरूले राज्य सरकारलाई प्रोडक्सन फेरि सुरू गराउन अनुरोध गरेको एक सातापछि भारतको मल्टिप्लेक्स संघले आगामी जुन ३० देखि फिल्म हलहरू पुनः खोल्न केन्द्रिय सरकारसँग अनुमति मागेको छ। भारतीय सञ्चार माध्यमले मल्टिप्लेक्स शाखा इन्टरटेनमेन्ट्स प्याराडाइज्स्का अभिमन्यु बन्सलको उद्धृत गर्दै आगामी जुन १५ देखि ३० सम्ममा भारतका फिल्म हलहरू फेरि खुल्ने सम्भावना रहेको उल्लेख गरेका थियो।  

‘यस उद्योगले पेश गरेको दिशानिर्देशनलाई सरकारले स्वीकृत गरेपछि आगामी जुन १५ देखि ३० को बीचमा फिल्म हलहरू फेरि खुल्नेमा आशावादी रहेका छौं,’ उनले भनेका थिए। संघले यसअघि फिल्म हलहरूमा सुरक्षा उपायहरूको अनुसरण गर्नका लागि आफ्नो योजना साझेदारी गरिसकेको छ। भारतको मन्टिप्लेक्स संघले कोरोना भाइरस महामारीको अवस्थामा सावधानी अपनाएर सुरक्षाको सुनिश्चितसहितका योजना र दिशानिर्देशहरू लागु गरेर फिल्म हलहरू पुनः खोल्न केन्द्रलाई आग्रह गरेको छ।  

आइतबार महाराष्ट्रको सांस्कृतिक विभागले फिल्म निर्माताहरूलाई तोकिएको निर्देशिकाको अनुसरण गर्दै फिल्म सुटिङ गर्न आदेश दिएको थियो। सरकारले १६ पृष्ठ को निर्देशिका जारी गरेर फिल्मको सुटिङको अनुमति दिएको थियो। नयाँ निर्देशिकाअनुसार फिल्म सुटिङमा कलाकारबाहेक ३३ जनासम्मको प्राविधिक टोली सहभागी हुन पाउनेछन्। फिल्म सुटिङमा उपस्थिति प्राविधिक र कलाकारहरूका लागि अनिवार्य शरीरको तापक्रम जाँच्न गर्न एम्बुलेन्स र चिकित्सक टोली हुनुपर्ने मापदण्ड तोकिएको छ।

यसअघि कोरोना भाइरस महामारीबाट बलिउडलाई उकास्न अनलाइन स्ट्रिमिङ प्लेटफर्म फिल्महरू रिलिज हुने भएसँगै फिल्म हल सञ्चालकहरू आक्रोशित भएका थिए। स्ट्रिमिङ सेवा दिँदै आएको अमेजन प्राइम भिडियोले कोरोना भाइरस महामारीका कारण रिलिज हुन नसकेका बलिउड फिल्मको अनलाइन स्ट्रिमिङ गर्ने घोषणा गरेको थियो।  

सुजित सरकार निर्देशित बलिउड फिल्म ‘गुलाबो सिताबो’ आगामी जुन १२ मा अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत संसारभर रिलिज हुँदैछ। अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुँदै गरेको अभिनेता अमिताभ बच्चन र आयुष्मान खुरानाले मुख्य भूमिका रहेको ‘गुलाबो सिताबो’ फिल्मलाई ‘गेम चेन्जर’ को संज्ञा दिइएको छ।  

अभिनेत्री विद्या वालन अभिनित बायोपिक फिल्म ‘शकुन्तला देवी’ पनि अमेजन प्राइम भिडियोमार्फत अनलाइन रिलिज हुने भएको छ। अभिनेत्री वालनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘शकुन्तला देवी’ फिल्म अमेजन प्राइम भिडियोमार्फत रिलिज हुने जानकारी गराएकी थिइन्। ‘गुलाबो सिताबो’ र ‘शकुन्तला देवी’ सहित सात फिल्मका निर्माताहरूले अमेजनसँग सम्झौताका थिए।  

कोरोना भाइरसको जोखिम कम गर्न लकडाउन गरिएसँगै भारतको अनुमानित ९५ सय फिल्म हल विगत दुई महिनादेखि बन्द गरिएका छन्। फिल्म हलहरू फेरि कहिले खुल्ने भनेर अन्यौलता सिर्जना भएको छ।

प्रकाशित: २० जेष्ठ २०७७ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App