१६ चैत्र २०८० शुक्रबार
कला

‘रुकुम घटनाले आक्रोशित बनाएको छ’

अभिनेता राजेश हमालले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीले सजाय पाउनुपर्ने अभिव्यक्ति दिएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले जातीय विभेदले समाजको प्रगति ओझेलमा पर्ने अभिव्यक्ति दिएका थिए।  

‘सामाजिक सद्भाव र मानवताप्रति सम्मान गर्ने मलगायत धेरै व्यक्तिहरूलाई नवराज विश्वकर्मा र उहाँको समुदायमाथि भएको अपराधिक घटनाले स्तब्ध र दुखितमात्र नबनाएर आक्रोशित समेत बनाएको छ,’ उनले भने, ‘जातीय विभेदले समाजलाई विचलित र विभाजित गर्दछ। तर जात र पृष्ठभूमिको आधारमा कसैको भावनामा ठेस पुर्याएर अपमान र गाली गलौच गर्ने कसैलाई पनि अधिकार छैन।’

उनले जातको आधारमा अपमान गरेर हिंसात्मक क्रियाकलापमा संलग्न व्यक्तिहरू अपराधी भएकाले कानुनअनुसार कारबाही हुनुपर्ने तर्क गरेका थिए। ‘यस्ता क्रियाकलाप गर्ने अपराधी हुन्। त्यस्ता अपराधीलाई नेपालको कानुनअनुसार कारबाही हुनपर्छ,’ उनले भनेका थिए , ‘कायर व्यक्तिले मात्र जातको आधारमा अरूलाई अपमान गर्ने प्रयास गर्छ। मानवता र आत्मको सम्मान गर्ने व्यक्तिले सबैलाई सम्मान गर्दछन्। निच व्यक्तिहरूमात्र अपराधको क्रियाकलापमा उत्रिने गर्छन्।  

उनले जातीय भेदभाव संसारधर भएको हुँदा सामाजिक सद्भावले यसको अन्त्य गर्नुपर्ने बताएका थिए। ‘जातीय विभेद नेपालमा मात्र नभएर संसारभर छ। मानव जातिलाई यसले नराम्रोसँग असर पारेको छ,’ उनले भने, ‘सकारात्मक भएर सोच्ने हो भने नेपाली समाज र नेपाली समुदायहरू एकआपसमा भाइचारा र सामाजिक सद्भाव कायम राख्ने भनेर विश्वसामु परिचित छौं। विकसित देशमा समेत विभाजन भएको हुँदा हामी एकले अर्कालाई सम्मानका साथ सम्बोधन गछौं।’

उनले जातीय विभेदलाई जरादेखि उखाल्न नसकिए आगामी दिनमा दुःख दिने तर्क गरेका थिए। ‘पुर्खौंदेखि चलिरहेको जातीय विभेदलाई जरादेखि उखाल्न सम्भव भएन भने आउँदा दिनमा तगारो लागि रहन्छ,’ उनले थपे, ‘जातीय विभेदले समाज र राजनीतिमा कहिल्यै परिवर्तन ल्याउन सक्दैन। फोहोरी राजनीतिले मतभेद र विभाजनमाथि खेलेर मलजल गर्ने प्रयास गर्दछ। फोहोरी राजनीतिबाट देश सञ्चालित भएको खण्डमा शिक्षा र स्वास्थ्यदेखि विकासका काम ओझेलमा पर्न जान्छ।’

नेपालीहरूले सामाजिक र जातीय सद्भावलाई प्रगाढ राख्नुपर्ने उनले बताए। ‘हामीले सद्भावलाई प्रगाढ राख्न सक्नुपर्छ,’ उनले भने, ‘जातीय विभेदको अन्त्य हुन सके समाज र राजनीतिमा सुधार आउथ्यो। त्यसपछि राजनीति विकासमा मुद्दामा केन्द्रित हुन्थे। जुनसुकै समुदाय, भाषा र सँस्कृति अपनाएका नेपालीलाई नेपालीपनको बलियो डोरीले बाँधेको छ भन्ने किसिमको भावना कायम राख्नुपर्छ। जातीय मतभेद कायम रहेसम्म प्रगतिको बाटो ओझेलमा पर्दछ।’

यसअघि हास्यकलाकार सीताराम कट्टेलले जातीय विभेदको अपराध गर्ने दोषीलाई सजायको माग गरेका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पीडकलाई कडा सजाय होस्। जन्म कसैको रोजाई हैन। तर कर्म मानिसको रोजाई हो।’  

उनले मानवताभन्दा ठूला भावना नभएको हुँदा जातको कारण मानिसको ज्यान जानु लज्जास्पद विषय भएको उल्लेख गरेका थिए। ‘मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन्। जातीय कारणले मानिसको ज्यान जानु भनेको मानव सभ्यताको सबैभन्दा ठूलो लज्जाको विषय हो,’ उनले लेखेका थिए, ‘यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठोर प्रयोग गरियोस्। घटनाको सत्य तथ्य छानबिन होस्।’  

अभिनेत्री लक्ष्मी बर्देवाले जात प्रेमको काल नहोस् भनेर सामाजिक सञ्जालमा सो घटनाको विरोध गरेकी थिइन्। ‘अब फेरि जात अनि प्रेम काल नहोस्। मृत्यु अप्रिय होस्। तर यस्तो बिकराल नहोस,’ उनले फेसबुकमा लेखेकी थिइन्, ‘मान्छेलाई मान्छेसम्म गन्न नसक्ने के चीज हो यो? अब के उहाँहरूको मृत्युले समस्या समाधान भयो ? अझ पढे लेखेकाहरूबाट यस्तो घृणित कार्यमा समर्थन। हामीसँग यो घटना पढेर पनि सहजै निदाउने क्षमता छ ?हत्यासम्मको कदम चाल्न नडराएको उनीहरूको मानसिकता के कुराले ग्रसित होला ?’  

त्यस्तै गायक प्रकाश सपुतले सामाजिक सञ्जालमा यस्ता घटनाले नेपाली समाज खस्कदै गएको उजागर गर्ने तर्क गरेका थिए। ‘नवराज तिमीसँगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ,’ उनले लेखेका थिए, ‘दलित भएको प्रेम गरेको कारण मर्नु पर्ने नियति देशको लागि लज्जास्पद छ।’  अभिनेता हमालले यसअघि नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गर्दै सीमालाई लिएर कुनै विवाद नभएको तर्क राखेका थिए। उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर भारतको कदमले नेपालीलाई मर्माहत पारेको बताएका थिए। उनले नेपाल र भारतजस्तो असल मित्र संसारमा कमै भएकालेकोरोना भाइरस महामारीबीच उत्पन्न भएको सीमा विवादले भारतबारे नराम्रो सन्देश जाने बताएका थिए।  

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App