४ वैशाख २०८१ मंगलबार
कला

भर्चुअल पर्दामा मानवीय अस्तित्वको खोज

  सामाजिक सञ्जालका भर्चुअल पर्दामा चित्र प्रदर्शन गर्नुपर्ला  भनेर सोचेका पनि थिएनन, चित्रकार एनबी गुरुङले। कोभिड–१९ को महामारीपछि जारी लम्बेतान लकडाउनमा त्यो अनुभव लिनैपर्ने बाध्यता पर्यो। चित्र मनको भाव व्यक्त गर्ने सशक्त माध्यम हो। चित्रले संसारलाई गहिरो रुपमा  बुझ्ने र अरुलाई बुझाउने अर्को महत्वपूर्ण माध्यम हो भन्ने कुरा उनलाई हेक्का नभएको होइन। कोभिड–१९ का कारण प्रत्येक महिनामा चित्रकला प्रदर्शन हुने चित्र घरहरु बन्द छन्। चित्र ‘भिजुयल’को अर्को रुपमा आउने हुनाले भर्चुअल पर्दामा चित्रमा पनि उपयुक्त देखे। आफ्ना फेसबुक र यूट्युबमा थ्रिडि एनिमेसन मार्फत चित्र प्रर्दशन गर्न कस्सिए गुरूङ।  

‘कोभिड–१९ ले विश्वका कलाक्षेत्र नै बन्द भएका छन्। अहिले कलाकारहरुको दैनिकी फेरिएको छ’, उनी भन्छन्, ‘घरभित्र बसेपनि आफ्नो सिर्जना रोकिएको छैन्। सिर्जना सामाजिक सञ्जालको भित्तामा पोखिएका देख्न सकिन्छ। आफ्नै भन्दा पनि भर्चुअल ग्यालरीमा उपयुक्त मध्यम हो।’  

भर्चुअल पर्दामा मे २३ देखि २२ जुनसम्म विभिन्न चित्रहरु प्रदर्शनमा राखिएको छ। दुई दशक लामो चित्रकारिताको अनुभवलाई भर्चुअल प्रदर्शनीमा सर्मपित गरेका छन् उनले आफूलाई।  

‘यो संकटको घडीमा सबैले मिलेर समाना गर्नका लागि चित्रले पनि केहि हद सम्म मद्दत पुर्याउँछ जस्तो लाग्छ। त्यसैले पनि चित्र यो नयाँ युगमा नयाँ कामको सुरुवात गरिएको हो, उनले भने।’

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्मचार्य, गोपाल चित्रकार, राधेश्याम मुल्मी,बाबुराजा धोइला, डिराम पाल्पाली, सुष्मा राजभण्डारी, मुकेश मल्ल, यादव भुर्तेल लगायत ६० जना कलाकारहको ६० वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन्।यो प्रदर्शनी नेपाली कलाकारहरुलाई मुख्य प्राथमिकता दिइएको छ।

‘कोभिड–१९ ले विज्ञानलाई चुनौती दिएको छ। पृथ्वीमा मानवीय अस्तीत्व नै नहरला कि भन्ने सबैलाई चिन्ता छ’, उनी भन्छन्, ‘यस्तो बेला चित्रहरुले मान्छेको संवेदना प्रकट गर्छ। चित्र पनि समाजको एउटा माध्यम हो। यसले मान्छेको कथालाई बोकेको हुन्छ।’  

उनले ‘भर्चुअल साउन्ड’ नाम दिएर आफ्नै युट्युब च्यानल एन बी गुरुङ आर्ट स्टुडियो मार्फत प्रिमियर गरेका छन्। युट्युबका साथै गुरुङको आफ्नै फेसबुक पेज एनबी गुरुङमार्फत पनि हरेक दिन लाइभ स्ट्रिम हुने गर्दछ।  

‘विद्युतीय माध्यमबाट एक सकारात्मक आवाज कन्भे गर्ने कन्सेप्टले ‘भर्चुअल साउन्ड’ नाम राखेको छु’, उनले भने, ‘घरैभित्र बसेर कलात्मक र सृजनामत्क काम गर्ने अर्को अवसर पनि मिलेको छ। कलापारखीलाई ग्यालरीमा प्रत्यक्ष गएर कलाको दृश्यपान गरेको अनुभूति गराउन गुरुङले यस प्रदर्शनीलाई थ्री डि एनिमेसनमा ढालेर देखाईको छ।’  

उनी भन्छन्– ‘घरैबाट आफ्ना सिर्जना कलामार्फत पस्केका छन। त्यसबाहेक कलाका पछिल्ला गतिविधिलाई ईन्टरनेटको माध्यमद्वारा सिक्ने, अन्तरक्रिया गर्ने र अध्ययनको दायरा फराकिलो पार्दै लगेका छन्।’

समाजिक सञ्जालमा बढी नै चित्रलाई  दर्शकले अवलोकन गरेका छन्। यो कलाकारहरुको लागि निकै फाइदा रहेको उनी बताउँछन्।  

‘नेपालमा ईन्टरनेट प्रयोगकर्ता मध्ये दुई तिहाई मानिस कुनै न कुनै रुपमा सामाजिक सञ्जालमा सक्रिय छन्। त्यसैले ति प्रयोगकर्तालाई ध्यानमा राखेर यो कला प्रदर्शनी  सामाजिक सञ्जालको माध्यम उत्तम रहेछ’, उनले भने।  

‘फिजिकल ग्यालरी’ मा एक हप्ता प्रदर्शनीमा रहदा मुस्किलले एक/दुई सय दर्शक अवलोकन गर्थे। भर्चुअल पर्दामा दर्शकको उपस्थिति पनि बढेको छ। यो हामी कलाहरुको लागि खुशीको कुरा हो’, गुरूङले थपे।  

बन्दाबन्दीका कारण कलाकारले आफ्नो चित्र प्रदर्शन गर्ने स्थान नपाइरहेको अवस्थामा समाजिक सञ्जालमा व्यवस्थित रुपमा चित्र प्रदर्शन अवसरको  विकास भएको उनी बताउँछन्।

‘स्टुडियोमा थन्किरहेको कलालाई बाहिर देखाउन र हाम्रा कलासंस्कृति विविधता पनि संसारका दर्शक तथा कला पारखीले हेर्ने मौका मिलेको छ’, उनले भने, मानिसले आफ्नो अस्तित्व सुरक्षित गर्न विभिन्न उपाय अवलम्बन गर्छन। कलाकार पनि यसको अपवाद हुने कुरा भएन। यो समयमा चित्रको माध्यमद्वारा मानवीय अस्तित्वको पनि खोज गरेको छ।’  

विश्व बजारमा नेपाली चित्र : भर्चुअल माध्यम  

प्रविधिको विकास भएसंगै विश्व चित्रकारितको माध्यमा पनि फराकिलो भएको छ। ईन्टरनेट र सामाजिक सञ्जालको सुविधाले नेपाली कलाकारका चित्रकलाकृति विस्तारै विश्व कला मैदानमा प्रवेश गरेको छ। नेपाली कला र त्यसको  प्रभावकारिता परीक्षण हुने अवस्थामा छ। केही नेपालीका कलाकृति निकै मन पाईएका छन। उनी भन्छन् – ‘मुलतः नेपाली मौलिक कलालाई विदेशी कलापारखीले निकै महत्वका साथ हेरेका छन्। चित्र मात्रै नभएर सिनेमा र नाटकलाई त्यसरी नै हेरेका छन् जस्तो लाग्छ। त्यसैले चित्रमा पनि मौलिकता खोजिरहेको हुन्छन्। नेपाली कलाकार र चित्र पनि परीक्षणको अवस्थामा  छ।’  

पछिल्लो समय नेपाली चित्रपनि विश्व बजारमा अब्बल  उपस्थित जनाउन सफल भएको छ। नेपाली कलाकारले कलाको पछिल्लो शैलीमा आफुलाई ढालेर काम गरिरहेका उनको भनाई छ। निकट भविष्यमा अन्र्तराष्ट्रिय कला प्रदर्शनी गर्ने उनको सोच छ।  

 

प्रकाशित: १८ जेष्ठ २०७७ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App