८ वैशाख २०८१ शनिबार
कला

‘मुटु नभएका मेरा–बा’

म माधुरी । मेरा बाले राखेको नाम हो यो । केही दिन अघि मात्र हो मलाई फेसबुकमा रहेको आफ्नो चलेको नाम हटाएर त्यो ठाउँमा बाले राखिदिएको यो नाम राख्न मन लाग्यो । राखें पनि । नाम धेरैलाई मन पर्यो । पछिल्ला दिनहरुमा मेरो फेसबुकमा जोडिनु भएका साथीहरुलाई सायद मेरो यो नाम थाहा थिएन । उहाँहरुले सोध्नुभो, नाम किन फेरेको भनेर, कति जना त झुक्किनु पनि भयो । मैले उहाँहरु सबैलाई राम्रै उत्तर दिएँ ।  

मेरा बाले मलाई मेरो जीवनमा दिएको माया, ममता, स्नेह, संस्कार, शिक्षा जे भने पनि यहीं एउटा नाम त हो, त्यसैले पनि होला पुरोहितले जुराएको नाम भन्दा मलाई मेरा बाले दिएको नाम अत्ति मन पर्छ । सबैले मलाई यहीं नामले बोलाइदिए हुन्थ्यो जस्तो झन् लाग्छ ।  

म पहाडमा जन्मे हुर्केकी चेली हुँ । मेरो मामाघर पनि पहाडमै पर्छ । संयोगवश मेरो मामाघर र मेरा बाको मामाघर एउटै टोलमा । आजभन्दा तीस वर्ष अघि बा आफ्नो मामाघर गएको बेला आमासँग भेट भएको रे । अनि त्यतिबेलै चिनजान पनि भएछ । दुई चार दिनको बसाईँमै बालाई आमा मन परेछ । आफु मामाघरबाट फर्किदा आमालाई पनि सँगै ल्याउनु भएको रे । 

केटाकेटी बुद्धि, १५ वर्षको उमेरमा आफ्नो जन्मदिने बाआमालाई छोडेर बासँग आएकी आमा । त्यतिबेला त खुब माया गर्नुहुन्थ्यो रे बाले आमालाई । हजुरबाले भनेअनुसार म जन्मिँदासम्म त बा र आमाको सम्बन्ध ठिकै थियो रे नियतिको खेल न हो म पछिको भाई जन्मेपछि उहाँहरुको सम्बन्धमा खटपट आएको रे ।  

बा पहिलादेखि नै इन्डिया बस्नुहुन्थ्यो रे । वर्ष वर्षको दशैँमा घर आउने जाने गर्नहुन्थ्यो रे । म जान्ने हुँदा पनि बा अरु बेला घरमा बसेको थाहा पाइन । भाग्यको खेल भनौं कि के, लामो समयदेखि इन्डिया बस्दै आएका मेरा बालाई मेरी आमाभन्दा उतैको केटी मन परेछ । त्यसपछि छोराछोरी, बा आमा, आफन्त त के आफुले भगाएर ल्याएको श्रीमतीलाईसम्म बिर्सनु भयो ।  

बाले बेला बखतमा पठाइदिने पैसाले हामीलाई हुर्काउँदै आएकी आमा पो त्यसपछि फसादमा परिन । कतै काम गर्न जाउ भन्नलाई साना लालाबाला कहाँ छोड्नु, नजाऊ छोराछोरीलाई भोकै कसरी राख्नु ।

तर पनि मेरी आमाले हरेश भने खाइनन् । पिठ्युमा दुधे बालक (मेरो भाई) बोकेरै भए पनि अरुको मेला गइन् । दश नग्रा खियाएर हामीलाई हुकाईन्, बल्लतल्ल पढाइन् । सानै उमेरमा माइती छोडेर आएकी मेरी आमाका न त सुखका दिन आए न त श्रीमानबाट नै सन्तोष मिल्यो ।  

घरको मूल खम्बा नै भाचिँदाको पीडा त मेरी आमालाई पो थाहा छ । आफुले सबथोक मानेर विश्वास गरेर आएको श्रीमानको साथ टुटेपछि आफ्ना सन्तान हुर्काउँदाको संघर्ष पनि उनैलाई थाहा छ । उनको पीडा म पनि महसुस गर्न सक्छु । तर बाको बारेमा सबै जान्दा जान्दै, उनको वेवास्ता देख्दा देख्दै पनि उनकै मायाको लागि तड्पिने यो मन म बुझाउ कसरी ?

आमाले हाम्रा लागि विगतका दिनहरुमा गरको संघर्ष, उनले पाएको दुःख देखेर यही प्रश्न मनमा खड्किरहन्छ कि एउटै रगत र बिउबाट जन्मेका सन्तानको लागि तिनै आमा यति तड्पिन्छिन्, सन्तानको पेट भर्न दश ठाउँमा हात फैलाउन पनि पछि पर्दिनन् तर तिनै बाले सन्तानलाई अलिकति माया दिन किन सक्दैनन् ? आफ्ना सन्तानका लागि एउटी आमाको छातीभित्र हुने मायाले भरिएको मुटु ती बासँग किन हुँदैन ?  

तिनै मुटु नभएका मेरा बाको माया, साथ र हौसला नपाएर नै होला म बाको मायाको लागि असाध्यै भोकी छु । प्यासी छु । त्यसैले पनि होला, मैले मेरा बाको उमेरका धेरै बाहरुसँग बाको माया पाउन खोजिरहें, अझै पनि खोज्छु तर कसैबाट पनि मैले पितृस्नेह पाउन सकिन । संसार साँच्चै स्वार्थी छ, मेरै बाका उमेरका बाहरु बरु मसँग उल्टै जिस्किन चाहे । तर एउटा सन्तानलाई दिने माया ममता र स्नेह दिन चाहेनन् । म मात्र होइन कि म भन्दा अघि जन्मेका मेरा दिदी दाई पनि बाको मायामा उत्तिकै भोको छन् । उनीहरुले पनि बाको माया पाएनन्, बाको माया के हो उनीहरुलाई पनि थाहा छैन ।  

नेपाली उखानमै छ नि, आमाको छाती चुसेर त नभएको बाउको घुँडा चुसेर कहाँ पेट भरिन्छ र ।’ जुन कुरा म संग मेल खायो । अरुका बाबाट बाको मायाको आशा राख्नु मेरो पनि त कमजोरी नै होला ।  

सानो छदाँ स्कुलमा साथीहरुको भनेको सुन्थें, मलाई मेरो जन्मदिनमा मेरा बाले यस्तो किन्दिनु भो, सहरबाट आउँदा यस्तो ल्याइदिनु भो । मैले पनि बाको जन्मदिनमा मैले यस्ता चिजहरु दिन्छु । ती कुरा सुन्दा मेरो मुटु पोल्थ्यो, आँखा रसाउँथ्यो ।  

काठमाडौं आएपछि कलेजका साथीबाट पनि त्यहीं सुनें, जुन स्कुले जीवनमा सुन्ने गर्थें । उनीहरुलाई उनका ड्याडीले धेरै माया गर्छन् रे, मन पर्ने चिजहरु किन्दिन्छन् रे, आफुले नजानेको कुरा ड्याडीले सिकाइदिन्छन् रे, कति धेरै माया गरेर जन्मदिनको शुभकामना दिन्छन् रे यस्तै यस्तै ।

अरु दिन आफ्नो नाम हेरेरै बिताए पनि बुबाको मुख हेर्ने दिन मलाई कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ । सामाजिक सञ्जालभरी अरुले राखेको बाको फोटो देख्दा पनि किन किन रिस उठे जस्तो, भित्र भित्रै ईष्र्या लागे जस्तो हुन्छ ।  

मन बुझाउने बाटो..  

मलाई बाको मायाको आभास नभए पनि बाले दिएको सुन्दर नाम त छ नि मसँग । मलाई बेहद मन पर्ने नाम त छ नि मसँग । मलाई मात्र होइन संसारका धेरै मानिसलाई मन पर्ने नाम त छ नि मेरो ।  

साँच्चै नै मेरा बाले दिएको नाममा यति धेरै मिठास छ कि सुन्दरता छ कि म बयान गर्नै सक्दिन । मेरा बालाई म अनमोल नभए पनि मलाई उहाँले दिएको नाम अनमोल छ । उहाँले दिएको अनमोल नाम देखेर लाग्छ, नाम सँगसगै मेरा बाले मलाई माया, ममता, स्नेह र असल शिक्षा दिएको भए म पनि मेरो नाम जस्तै प्रिय हुन्थें होला, बाको साथ र हौसला पाएको भए मैले पनि ठूला ठूला लक्ष्य लिएर जीवनलाई सार्थक बनाउथें होला ।  

बाको माया पाउन पनि साँच्चै भाग्यमै लेखेर ल्याउनुपर्ने रहेछ । मेरो भाग्यमा कसैले सोध्दा बा छन् भन्नलाई भगवानले बा त दिए तर मेरा बालाई आफ्ना छोराछोरीका लागि माया, ममता र स्नेहले भरिएको मुटु दिएनन्, । भोग, विलासी र रमाइलोलाई मात्रै जीवन जिउने आधार बनाएका मेरा बालाई छोराछोरीको भविष्यको निम्ति जिम्मेवारीबोध र सोच्नेसम्मको कुनै खोपडी पनि दिएनन् । त्यसैले त मलाई पटक पटक भन्न मन लाग्छ, ‘मेरा मुटु नभएका बा’ ।

नेपाली उखानमा ‘आमाको छाती चुसेर त नभएको बाउको घुँडा चुसेर कहाँ पेट भरिन्छ’ भनेर लेखे पनि अब अन्तिम एउटा आश छ, कर्मदिने बाबाट बाको माया पाउने । मेरो तड्पाइ र पितृस्नेहको भोक मेट्नकै लागि भए पनि जन्मदिने बाजस्तै कर्मदिने बा मिल्न सकुन् ।  

आफूले बाको माया नपाए पनि मलाई यत्ति कुरा था छ कि छोराछोरी जीवनमा सफल हुन बाको पनि आमाकै जस्तै साथ, हौसला र प्रेरणा चाहिन्छ । त्यसैले पनि भगवानसँग एउटै प्रार्थना छ कि मेरा भावी सन्तानलाई भगवानले मेराजस्ता बा नदिउन् । मेरा सन्तानलाई मात्र होइन कि संसारका कुनै पनि छोराछोरीलाई मेरा बा जस्तो मुटु नभएका बा नपरुन् ।  

सबै बाहरुले आफ्ना छोराछोरीलाई नामसँगै माया ममता, साथ हौसला र प्रेरणा दिनोस्, उनीहरुलाई धेरै माया गर्नोस्, ताकि बाको मायाको लागि भीख माग्ने अर्को ‘माधुरी’ को जन्म नहोस् । तिनै बाको मायाकै लागि कुनै अर्की ‘माधुरी’ ले तड्पिनु नपरोस् ।  

म बाको मायाको यति भोको छु कि अझै म मेरो दाईमा मेरा बालाई खोज्छु । म मेरा साथीका बाहरुमा मेरा बालाई खोज्छु । म मेरो प्रेमीको न्यानो स्पर्शमा बाको हातको न्यानो महशुस गर्छु । बा ! यतीबेला मैले मेरो साथीले वेवास्ता गर्दा किन तपाईले गरेको वेवास्तासँग दाँज्छु ? बा तपाई हुनुहुन्छ र पनि मैले तपाईको अभाव किन महशुस गरिरहेको छु ? भनिदिनुहोस् न ।

बच्चाबेला देखिको भोको मनले अझै पनि कसैलाई ‘बा’ भनेर बोलाउन मन लाग्छ । तर सक्दिन । कारण मैले अहिलेसम्म यो शब्दले कसैलाई बोलाएकी नै छैन । बाल्यकालमा बाको पिठ्युमा चढेर हट घोडा हट भन्दै लडिबुडी गर्दाको रमाइलोका अनुभूति गर्न पाउनु त टाढाको कुरा हो, बा भनेर बोलाउनसम्म मेरो नसिबमा रहेनछ ।

प्रकाशित: १७ जेष्ठ २०७७ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App