लघुकथा
वृद्धाश्रममा पुगेको पहिलो दिनदेखि नै एक वृद्ध महिला मेरो आँखाको नानी चोरी भयो भनेर रुन थालिन् । रुने क्रम नरोकिएपछि उनलाई आँखा अस्पतालमा भर्ना गरियो ।
अस्पतालमा आँखाको सम्पूर्ण जाँच गर्दा उनको आँखाको नानी चोरी नभएको, आँखा ठीक रहेको र उनले देख्न सक्ने कुरा डाक्टरले बताए । त्यसपछि उनी वृद्धाश्रम फिर्ता भइन् ।
वृद्धाश्रममा पुगेपछि फेरि पनि आँखाको नानी चोरी भयो भनेर रुन थालिन् । अविरल बगिरहने उनको आँसु मिश्रित पीडाका कारण वृद्धाश्रमबाट उनलाई मानसिक अस्पताल पु¥याइयो ।
मानसिक अस्पतालमा उनको शरीरको सम्पूर्ण जाँच गरियो । त्यहाँ केही दिन राखेर उनको शारीरिक र मानसिक अवस्थाको निगरानी गरियो । उनमा कुनै मानसिक समस्या नभएको डाक्टरले रिपोर्ट दिए । मानसिक अस्पतालबाट डिस्चार्ज भएपश्चात् वृद्धाश्रम पु¥याइयो ।
अचम्म, वृद्धाश्रममा फेरि पहिलेकै जस्तै एकोहोरो आँखाको नानी चोरी भयो भनेर रुन थालिन् । उनको रुवाइले वृद्धाश्रममा रहेका अन्य व्यक्तिलाई समेत नराम्रो असर पर्न थाल्यो ।
त्यसपछि वृद्धाश्रमले चोरी भयो भनिएको उनको आँखाको नानी पत्ता लगाउन प्रहरीको सहयोग लिने भयो । अन्ततः उनलाई प्रहरी चौकीमा लगियो । प्रहरीले उनलाई सोधपुछ गर्न थाले ।
‘तपाईंको आँखाको नानी कसले चो¥यो बजै ?’ प्रहरीले सोधे ।
‘बुहारीले ।’ वृद्धाले भनिन् ।
‘कसरी ?’ प्रहरीले सोधे ।
‘सन्तानको नाममा एक मात्र छोरा मेरो आँखाको नानी थियो । विवाह गरेपछि श्रीमतीले जे भन्थी त्यही मात्र देख्न थाल्यो । एक दिन श्रीमतीको कुरा सुनेर मेरो पसिनाको कमाइले बनाएको मेरै घरबाट निकाल्यो । अहिले वृद्धाश्रममा शरण लिएकी छु । मेरो आँखाको नानी बुहारीको कब्जामा छ । न्याय पाऊँ हजुर ।’ ती वृद्धाले रुँदै भनिन् ।
प्रकाशित: १७ जेष्ठ २०७७ ०८:३१ शनिबार