पुष्प मूनंकःमि
ज्वालामुखी विस्फोटपछि
सुनामी भएर
पसिरह्यो लहर संसारभरि
तर कहीँकतै पनि एक थोपा पानी देखिँदैन
तापनि सबै त्राहिमाम छन्
लहरको छिटाले मात्र पनि छोला भनेर
सडक मात्र होइन बस्ती समेत सुनसान
मानिसहरु आफैँलाई कैद गरिरहेका छन्
आफ्नै कैदखानाभित्र
बाहिर आउने साहस छैन अब मानिससँग
स्वतन्त्रता तिनीहरुको पर्याय भए पनि ।
कैदमा नबसीकन बाहिर आएकाहरु
आज आफँलाई सुताइरहेका छन्
सासैसम्म फेर्न गाह्रो भएर
यो बेला समग्र मानव जाति नै
पर्साइरहेको जस्तो लाग्न थाल्यो
को को लाने हुन् ?
हेर्न बाध्य भएका छन्
आफैँ नै आफ्नो अगाडि ढले पनि
आफैँलाई आफैँले उठाउने अवस्था नभएर ।
शक्ति राष्ट्र मात्र होइन
महाशक्ति राष्ट्र पनि निरीह
केही सीप नलागेर
सोचमग्न भए तिनीहरु
अब कसरी जोगिने भन्दै
हतियार, औजारको सान देखाएर
संसारलाई थर्काइरहेका
यो संगीन समयमा
ती हतियार, औजारले
आफैँलाई जिस्काएजस्तो लाग्न थाल्यो
छटपटिँदै उनी
भिक्षा देही भन्दै माग्न थाले
आफ्नै प्राणको भिक्षा
बाबा (फकिर)सँग
किसानसँग ।
तर टाढा क्षितिजमा
म देखिरहेको छु
सिन्दुरको रास
फूलमालाले सजाएको द्वारभित्र
यो सुनामीबाट बाहिर आउन सक्नेलाई
सिन्दूर जात्रासहित स्वागत गर्नका लागि ।
प्रकाशित: १७ जेष्ठ २०७७ ०७:११ शनिबार