८ वैशाख २०८१ शनिबार
कला

‘विधिमा गुरु अघि र प्रविधिमा शिष्य अघि’

कोरोना निबन्धानुभूति

पेशल आचार्य  

सिकाइ जीवनपर्यन्त चलिरहने एउटा प्रक्रिया हो । अझ मेरो पेसा नै सिकाउने÷पढाउने शिक्षक÷प्राध्यापकको भएकाले नैमित्यिक रूपमा विद्यार्थीलाई म केही न केही नयाँ विषयवस्तु सिकाइरहेको÷पढाइरहेको हुन्छु । कक्षा तयारी गर्नुपूर्व आफूलाई नसुझेका विषयका गुत्थी र नूतन प्रविधि साथीभाइ र विद्यार्थीसँगै बसेर सिकिरहेको हुन्छु । मलाई सिक्न र सिकाउन कुनै दिग्दारी लाग्दैन । सिक्दा भित्री मनले भनिरहेको हुन्छ– ‘बालक भएर सिकौं र प्रौढ भाँतीमा सिकाऊँ, असीम आनन्द मिल्छ ! जसको वर्णन असम्भव छ ।’  

पेशल आचार्य 

केही सिर्जनात्मक स्वानुभूतिका लागि रचिने आफ्ना रचना औ केही विषयातीरेक कन्सेप्ट र कन्टेन्टहरू शिक्षार्थीहरूका लागि पनि क्लास नोट, शिक्षण÷प्रशिक्षणका स्लाइड या हेन्सआउट मटेरियलका रूपमा लेखिरहेको÷सम्पादन गरिरहेको हुन्छु । सिर्जनात्मक चस्का लागेका मानिसका लागि अक्सर लेखन र पुनर्लेखन दुवै वर्णनातीत हुँदा रै’छन् चाहे तिनले पेटका आदेशमा लेखून् या मनका !

मैले गत वर्ष ‘सिकाइ’ मासिकका लागि भर्चुअल एडिटर भएर मन्थलीबाटै काम गरेँ । सो काममा मज्जा आयो । भर्चुअल एडिटिङ् गरेर धेरै कुरा सिकेँ । कहिलेकाहीँ पाण्डुलिपिमै वैविध्य लेखकका ‘भर्जिन’ भावनाहरू पढ्दा चाहिँ उड्न नसकेका चराका बचेरा खेलाएझैँ अनुभूति हुने । डेटलाइन पक्रिने रिले दौडको चटारो हुने हुँदा कहिले त धीतै नमरी सामग्री इमेल गर्नुपर्ने बाध्यता हुन्थ्यो । पत्रिकाचाहिँ काठमान्डुबाट निस्कन्थ्यो । त्यो काम गर्न रसिलो लाग्यो जसले मलाई पार्ट टाइम जबको कन्सेप्ट बढाइदियो । सो अलाबा अरू भाँतीका सम्पादन कामहरू म विगतदेखि इमेलमार्फत गर्छु ।  

शिक्षणका ३० र पत्रकारिता औ लेखनका ४० वर्षे दौरानमा मैले विगत दिनमा साहित्य लेख्न र समाचार तयार गर्न कापीकलम प्रयोग गरेँ । अहिले कम्प्युटर किबोर्ड थिचेर सररअ लेख्न थालेको १६ वर्ष भयो । किबोर्ड थिचेरै दशवटा किताब प्रकाशित गरेँ । ‘डुसी बाछी र भाइटीका’ र ‘किस्ताको कम्प्युटर’ नामका दुई बालकथा निजी स्कुलका पाठ्यक्रममा क्रमशः कक्षा ५ र ६ मा १२ वर्षदेखि पढाइ हुन्छन् । आफ्नो किताबका टंकणकर्ता, प्रुफ रिडर र सम्पादक आफैँ हुँ । ‘पावर, मनि र सेक्स’ नामक तीनसय पृष्ठको अनाख्यान २०७७ कार्तिकमा निस्किने प्रकाशकसँग सम्झैता भएको छ ।  

किताबका अलाबा अनलाइन र प्रिन्ट मिडियामा छापिने लेख–रचनाका लागि आफैँले टाइप गरेर पठाउने गरेको छु । कम्प्युटर जानेकाले मलाई आफ्नो काम आजसम्म लुलु यति गरिदेऊ भन्दै अरूलाई भन्नुपर्या छैन ।  कम्प्युटरका सबै काम नजाने पनि आफ्ना लागि गर्नुपर्ने सामान्य अफिस वर्क, फोटो इडिट, इमेल, स्लाइड निर्माण, भिडियो डाउनलोडिङ, वर्ड डकुमेन्टेसन् र एक्सलमा कामहरू गर्न सक्छु । यति नै भए पनि आफ्नो व्यक्तिगत वा अफिसियल काम गर्न अरूलाई गुहार्नु त परेको छैन । मेरो ल्याकतको सुसाङ्ख्य सक्षमतालाई आइटीका भाषामा ‘कम्प्युटर साक्षर’ भन्दो रै’छ । जेहोस् पाँच दसक जीवन कटाउँदा मलाई कम्प्युटर साक्षर हुन पाएकोमा निकै सन्तोस छ । कम्प्युटर सिक्नुपर्छ भन्ने ज्ञानचाहिँ मलाई १६ वर्षअघि शैक्षिक तालिम केन्द्र धुलिखेलका तत्कालीन प्रमुख प्रशिक्षक विश्वनाथ कर्माचार्यले दिनुभयो । यस मानेमा म वहाँप्रति कृतकृत्य छु ।  

अहिले मैले लेख्ने अक्सर गरी साहित्य, तालिमका हेन्स्आउट र स्कुल÷कलेजका कक्षाका लागि कि नोट्स्हरू कम्प्युटरमा लेखिरहेको हुन्छु । उहिल्यै २०३८ सालमा एसएलसी दिएर बसेको ६ महिनाको फुर्सद्को समयलाई प्रयोग गर्ने सिलसिलामा टाइप राइटर चलाउन सिकेकाले त्यो सिपले जीवनमा अढाइ वर्षजति सरकारी जागिर पनि खाएँ । अहिले आएर सो टाइपिङको ज्ञानले कम्प्युटर चलाउन ठूलो भरथेग जो गरेको छ । यो सन्दर्भ सम्झँदा जीवन भनेको ‘गर्दै सिक्दै, सिक्दै गर्दै’ अघि बढ्ने अवसर होजस्तो लाग्छ । एकैचोटि कसैले सिक्ने होइन । ‘रूखको बिरुवा जस्तै हो जीवन पनि । आकासै छुने अग्लो रूखको जरा पनि त माटोमै अडिएको हुन्छ, हैन र !’ मेरो मनले यसै भनिरहन्छ ।  

 

कक्षा तयारी गर्नुपूर्व आफूलाई नसुझेका विषयका गुत्थी र नूतन प्रविधि साथीभाइ र विद्यार्थीसँगै बसेर सिकिरहेको हुन्छु । मलाई सिक्न र सिकाउन कुनै दिग्दारी लाग्दैन । सिक्दा भित्री मनले भनिरहेको हुन्छ– ‘बालक भएर सिकौं र प्रौढ भाँतीमा सिकाऊँ, असीम आनन्द मिल्छ ! जसको वर्णन असम्भव छ ।’

 

अहिले कम्प्युटर चलाउन जानेका हुनाले शनिबारका दिन आफूखुसी र बिदाका दिनमा मेरा चेलाचेलीहरूले उनीहरूले नजानेका कुरा सोध्ने गर्छन् । जिल्लाको सबैभन्दा पुरानो नेपाली भाषा शिक्षक भएका नाताले भर्खर पेसामा पसेका चिनारू शिक्षकहरूले कहिले विषयवस्तु र मोटिभेसनका कुरा समेत  फोनमा सोधेर शिक्षणीय सहयोग लिन्छन् । यो उपक्रम हिजो पेसामा प्रवेश गरेका बेलाँभन्दा आज बढेर गा’को छ । मैले औपचारिक र अनौपचारिक जीवनमा तीसौं हजार विद्यार्थी र थुप्रै सहयोगापेक्षीलाई सिकाउने मौका पाएको छु । यो मानेमा जीवन नै सिकाइ हो । उसो त गुरुले पहिले सिकाउछन् अनि परीक्षा लिन्छन् तर समयले पहिले परीक्षा लिएर अनि मात्र सिकाउँदो रहेछ ।  

‘विधिमा गुरु अघि र प्रविधिमा शिष्य अघि’ भन्ने भनाइ मलाई घत परेको छ । हुन पनि हामीले सिकाउने चेलाचेलीहरू हाम्रो विषयवस्तुहरूमा हामीभन्दा ठिक एक पिरियड मात्र कान्छा हुन्छन् । हामीले तत्तत् विषयवस्तुहरू नसिकाउन्जेलसम्म मात्रै ती हाम्रा पकड र अधीनमा हुन्छन् भने सिकाइ सक्ने वित्तिकै ती विषयवस्तु विद्यार्थीहरूले हामीले भन्दा पनि राम्ररी सिकिसकेका हुन्छन् । अझ मेधावी विद्यार्थीले त हामीभन्दा धेरै चाँडो र कारगर रूपले सिकिओरी त्यसलाई दिमागमा स्टोर गरिसकेका पनि हुन्छन् ।

कोरोना बन्दले यस्तै पुराना कुरा याद दिलायो । काम विशेषले गत २०७६ चैत्र ५ गते जागिरबाट ललितपुरस्थित घर आएका बेलाँ कोरोना कहर क्रमशः बढ्दै गएकाले सरकारले एसइई परीक्षा रोक्ने आकस्मिक सूचना ग¥यो । सोसँगै घर बस्ने दिन केही लम्बिए । घर निर्माणका कामहरू हुँदै थिए । यसरी चार दिनजति घर बस्ने क्रम बढेसँगै कोरोना महामारी एक्कासी बढेको भन्दै सरकारले गत चैत्र ११ गतेदेखि हप्ता, दुई हप्ता गरी आज यो अनुभूति लेखन (२०७७ जेठ, १२) सम्म बन्दाबन्दीका ६३औं दिन सुलुलुलु गरी समापन भैसके । आमा बासँग यो बेलामा सँगै बस्न भने पाइएन । ‘आमा भन्ने शब्दको ‘भाइब्रेसन’ ले पनि आफू वरिपरिको वातावरण र पर्यावरण नै सङ्गीतमय हुने’ क्षणलाई अतीव ‘मिस’ गरियो ।  शुरूशुरूमा त यो बन्दाबन्दीले अत्याएको थियो । केही दिन मैले आफूले पढ्न नपाएका र घरमा रहेका मन पर्ने केही किताबहरू पढेर दिन बिताएँ । जसै घरका मन पर्ने किताबहरू तुरिए । पछि मैले केही दिन यु ट्युबमा आफूले जागिर र लेखनका कारणले मन भएर पनि हेर्न नभ्याएका करिब ६०÷७० वटाजति नेपाली÷हिन्दी र अङ्ग्रेजीका मुभीहरू छानीछानी हेरेँ । शुरूआती दिनमा विदाले मनोरञ्जनको राम्रै ओखती ग¥यो । आनन्दै पनि आयो – फिलिममा आफूलाई हराउन पाउँदा र विभिन्न कालखण्डका जीवनलाई कथात्मक रूपमा टटोल्न पाउँदा ।  

नेपाली फिल्म म ‘चुजी’ मात्र हेर्छु । ‘ज्यात्या’ सिनेमा हेरेर अनमोल समय बबार्द पार्न चाहन्न । सिनेमटोग्राफी, न्यारेटिभ स्टाइल, टच्ची डाइलग र कलाकार छानेर मात्र अक्सर सिनेमा हेर्छु । आग्रह भएर भाषालाई मैले कहिल्यै स्थान दिइनँ । मैले यु ट्युबमा हेर्न नपाएको नेपाली सिनेमा चाहिँ मीन भाम निर्देशित औ चर्चित नेपाली फिल्म ‘कालो पोथी’ हो । हिन्दीमा चाहिँ गुगल गरेर हेर्दा ऐतिहासिक १० यादगर हिन्दी फिलिम भनिएका सबै हेरेँ । केही फिलिम परिवारसँग बसेर, केही आफूले मात्र हेरेँ किनकि फिलिम छान्ने र छानिएका फिलिम हेर्ने मामलामा म, श्रीमती र छोराको मेन्टालिटी नमिल्ने भएकाले त्यसो ग¥या हूँ ।

हिन्दी फिलिममा धेरैजसो नाना पाटेकर, नसिरुद्धिन शाह, ओम पुरी, स्मिता पाटिल, आमीर खान, नवाजुद्धिन सिद्दीकी, मनोज बाजपेयी, अजय देवगन, कादर खान, रजनीकान्त र कमल हसनका धेरै फिलिमहरू रोजाइमा परेका थिए । फिलिम हेर्ने मामलामा कथाकार नारायण तिवारी दाजु र मेरा बीचमा म्यासेन्जरमा कुराकानी विनिमय भए । तिवारी दाजु पनि चुजी फिलिम मात्र हेर्नु हुँदो रै’छ । शुरूमा नाना पाटेकरका फिलिमलाई ज्यादा प्राथमिकता दिँदा एक रात त सपनामा नानासँग मैले मिठो पल बिताएको र फोटो खिच्ने चाहना व्यक्त गर्दा एक्कासी निद्रा भङ्ग भई फोटो खिच्ने चाहनामै तुषारापात भएकाले कस्तोकस्तो खल्लो महसुस भयो । खल्लो भएर के गर्नु सपना सपनै हो त्यो विपना कहिल्यै हुँदैन ! सपनामा प्रदत्त सुविधाले विपनामा केही गर्न नसक्ने हुँदा चित्त बुझाएँ ।  

जब बन्दाबन्दी लम्बिँदै गयो अनि दिनचर्यामा फेरबदल आए । केही दिनपछि एकजना डाक्टरको ‘गरिबका डाक्टर’ (ननफिक्सन) नामक किताबको सम्पादन कार्य गरियो भने सोपछि कारागारमा रहेका अर्का मित्रको कवितासङ्ग्रह ‘घुम्टो भित्रको आँसु’को कभर बनाउने कामबाहेक भित्री सबै काम छिमलिदिएँ । सोही समयमा केही किताबका भूमिका लेख्ने काम, सयवटा जति कोरोना विशेष हाइकू, केही कविता, निबन्ध र कथा लेख्ने काम भए । केही समय स्कुल÷क्याम्पसका लागि फेसबुक म्यासेन्जरमा गुप बनाई पढाउने म्याटर कि नोटस्, नमुना प्रश्न, स्लाइड र अडियो भिजुअल सन्दर्भ सामग्री पठाउने काम गरियो । जिल्लामा छापापत्रिका बन्द भएकाले स्थानीय रूपमा पत्रकारिता गरिरहेका केही युवा उत्साही पत्रकारहरूलाई अनलाइन टेलिभिजनमा अन्तर्वार्ता लिने तौरतरिका सुझाएँ । म्यासेन्जरमा डमी वार्ताहरू पनि गरेँ । एउटा÷दुइटा अनलाइन टेलिभिजनहरुको नाम सुझाउने काम भयो । मोफसलबाट निक्लेका केही अनलाइनलाई बन्दकै समयमा रचना उपलब्ध गराएर लाइक, कमेन्ट र सेयर उकासी पत्रिकाको स्तर उठाउने काम समेत भएछन् । यी मेरा लागि खुसीका पल हुन् किनकि यस्तै काम म जागिरबाट रिटायर्ड भएपछि गर्न सक्छु । मेरो मान्यता छ – रिटायर्ड भएपछि अहिलेभन्दा नयाँ सोच र सीप भएको अरू केही पेसा गर्ने । जीवनमा सधैँ ‘रिटायर्ड बट् नट् टायर्ड’ हुने ।    

बन्दकै समयमा ‘शब्दाङ्कुर’ मासिकले मसँग इमेल वार्ता गरेर जेठ अङ्कमा छाप्यो । मैले पनि केही अनलाइनका लागि विदेशमा रहेका एकजना लेखकको र देशभित्र रहेका ४÷५ जना लेखकका ‘कोरोना विशेष अन्तर्वार्ता लिएँ र अनलाइनमा पठाएँ । ती सबै समयक्रममा भटाभट् पोष्टिए । यस बीचमा केही अनलाइनहरूमा मेरा मुक्तक, हाइकू, छोक, लेख, वार्ता, कविता र निबन्ध छापिए साथै आफूले नियमित रचना पठाउने गरिएका पत्रिकाहरूमा आर्टिकलहरू पठाउने काम भए ।  

जेठ लागेपछि अल्प अवधिका ‘अनलाइन शिक्षक टट तालिम’ मा भाग लिने काम भयो । घरभित्रकै कुरा गर्दा ‘विधिमा गुरु÷पिताश्री अघि भए पनि प्रविधिमा शिष्य÷पुत्रश्री बिजुलीवान्’ भएको पाएँ । धेरै प्रविधिगत काममा कक्षा ९ अध्ययनरत छोराले मलाई सिकाइदिए ।

यसैबीच अनलाइनबाटै अर्डर भएर एउटा नगरपालिकाका करिब २ दर्जन ऐन कानुनका भाषिक सम्पादनका कार्य गर्ने काम भयो । आफ्नै स्कुलको २०७७ को वार्षिक भित्ते क्यालेण्डर बनाएर अन्तिम सम्पादन गरी प्रेसमा इमेल गर्ने कामसमेत फत्ते भयो । कोरोना कहरले एउटा कुरा गज्जबसँग सम्झायो – घर बसेरै पनि कम्प्युटरमा सामान्य जानकारी राख्ने जिज्ञासाले संसारलाई यु ट्युबको आँखी झ्यालबाटै सही चिहाउने काम गरियो । नेट चलाएर सिनेमा र डक्युमेन्ट्री हरेर मज्जा लिइयो भने इमेलमा आएका साथीहरूका रफ म्याटरलाई कविता र अनाख्यानका किताब बनाएर  सहयोग गर्ने काम गरियो । सांसारीय मानिसका अतुल भावना हुँदा रहेछन् तर ती भावनालाई भाँती पु¥याएर पुस्तकमा प्रकाशन गर्न सबै नजान्ने रहेछन् । निर्वेतन पुस्तक सम्पादन गरिदिई कृतज्ञताका भाव साथीमा समर्पण गर्न पाइयो । सञ्चार माध्यमबाट सुनिने निराशाजन्य समाचारबीच पनि अलिखित खुसीले यो मन खिल्खिलायो ।  

लामो बन्दले पनि दिनचर्यामा खासै फरक परेन । आर्जित सीपमा आधारित केही आफ्ना र केही अरूका कामहरू तुरिए । नयाँ काम पनि सिक्ने अवसर मिल्यो । फुर्सद्को समय भनेको हामी अक्षरका चरू हवन गर्नेलाई फाइदै हुने रहेछ । सुरम्य यो गीताज्ञान मलाई कोरोना महामारीका कारण सरकारद्वारा ऐलान र नागरिक हुनुका दायित्वले प्राप्तिमा मिलेको बन्दाबन्दीले दियो ।  

 

प्रकाशित: १७ जेष्ठ २०७७ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App