coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रधानमन्त्रीको ‘काला अरिंगाल’ होइन !

राजनीतिकर्मी एबं गीतकार राजन राई । तस्बिर : नागरिक

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीमाथि ‘काला अरिंगाल’झैं लाग्न आग्रह गर्दा चौतर्फी बिरोध भएको थियो । तर, खोटाङका गीतकार (प्रदेशसभा सांसद) राजन राईले आजभन्दा एक दशकअघि नै युवायुवतीलाई गीतमार्फत ‘काला अरिंगाल’ बन्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री र गीतकार राईको अरिंगालको सन्दर्भ नितान्त फरक छ । गीतकार राईले भने विपक्षीमाथि नभै राष्ट्रियता र अखण्डताका पक्षमा युवायुवतीलाई काला अरिंगाल बन्न आग्रह गरेका थिए ।  

त्यसकारण उनको स्वदेश गान युवायुवतीको मुखमा झुण्डिए, अहिले पनि गुनगुनाउने गरिन्छ । अझ नेपाल–भारत सीमा विवाद चर्केको बेला ‘चार किल्लाभित्र नेपालका जे जति युवा युवती छौँ, शान्तिका सेता परेवा लडाईमा काला अरिंगाल हौँ’ बोलको उनको गीतको सान्दर्भिकता अझ बढ्न थालेको छ । उत्तिकै गुनगुनाउन पनि थालिएको छ । राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका पक्षमा ज्यानको आहुती दिनका लागि आह्वान गरिएको सो गीतले पुनः चर्चा पाउन थालेको सन्दर्भ पारेर गीतकार राईले सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।  

२०६४ सालमा रेकर्ड गरिएको गीतको भिडियो गीतकार राईले यू–टुवमार्फत सार्वजनिक गरेका हुन् । ३ मिनेट ४० सेकेण्डको गीतमा चर्चित गायक राजेशपायल राई र मनिषा पोखरेलको स्वर तथा चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ । १३ वर्षअघि रेडर्क गरिएको स्वदेशभावको गीतको भिडियो यो बेला आएर तयार पार्नु र सार्वजनिक गर्नुको पछाडि हाल नेपाल–भारतबीच देखिएको सीमा विवाद उत्कर्समा पुग्नु नै हो ।

‘हामी शान्तिका पक्षपाती हौँ । तर, कसैले हाम्रो एक चिम्टी माटो लिन खोजे वा नेपाली भूगोलमाथि कसैले कु–दृष्टि लगाउन खोजे भने हामी छाड्दैनौं, छाड्नु हुन्न,’ गीतकार राईले भने, ‘हामी शान्तिका सेता परेवा हौँ, तर हाम्रो सिमाना मिचिन्छ भने जसरी कालो अरिंगालले पानीमुनि जाँदा पनि छाड्दैन, त्यसरी नै हामी कसैलाई छाड्नु हुन्न । यो गीतमार्फत राष्ट्रियताका सवालमा एकजुट हुनुपर्छ भन्ने आव्हान गरेको हुँ । प्रधानमन्त्रीले भनेजस्तो अरिंगालको कुरा गरेको होइन ।’  

‘चार भिल्लाभित्र..’ बोलको यो गीत राजनको पहिलो एल्बम ‘किन–किन’मा समावेश छ । गीतकार राईका दोश्रो एल्बम ‘ऐठन’ र तेश्रो एल्बम ‘अक्षर र आवाज’मा बजारमा आइसकेको छ । ‘किन–किन’मा समावेश गायीका अञ्जु पन्तले गाएको ‘जीन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ बोलको गीतमार्फत राई सफल गीतकारकारुपमा चिनिएका हुन् । ऐठनमा समेटिएको राजेशपायल राईको स्वरमा रहेको राईको ‘ऐठन होला–होला जस्तो लाग्यो’ बोलको गीत पनि चर्चाकै शिखरमा रह्यो ।  

खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीका राजन युवा राजनीतिकर्मी र गीतकार दुबै हुन् । २०६१ माघ १९ को शाही ‘कु’काविरुद्ध काठमाडौं रत्नपार्कमा चर्को भाषण गर्दा जेल नै पुर्‍याइएका राईले अनेरास्ववियु केन्द्रीय जनआन्दोलन परिचालन समितिको संयोजककै रुपमा राजतन्त्रका विरुद्ध मोर्चा सम्हालेका थिए । हाल उनी नेकपाका केन्द्रीय सदस्य एबं प्रदेशसभा सांसद छन् । तर, राजनीतिमा जस्तै संगीतका क्षेत्रमा पनि उनले आफ्नो नामलाई उदीयमान गीतकारका रुपमा चिनाउन सफल छन् । 

प्रकाशित: १६ जेष्ठ २०७७ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App