coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कलाकारको नक्कली अश्लील भिडियोविरुद्ध उजुरी

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राख्न सक्रिय भएकाविरुद्ध प्रहरीमा उजुरी परेको छ।  

लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई अभिव्यक्ति दिएका कलाकारहरूले भारतविरुद्ध उत्रिएको भन्दै अभिनेत्री आँचल शर्माको टाउको जोडेर तयार गरिएको नक्कली अश्लील भिडियो ‘इन्डियन स्पाइडर स्क्वाड’ समूहले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सो भिडियो हेरेर उनी आत्तिइन्।  

अभिनेत्री शर्माले सामाजिक सञ्जाल फेसवुकमा अश्लील भिडियो बनाएर चरित्र हत्या गर्न खोजेको भन्दै पोस्ट लेखेर अनावश्यक मानसिक तनाव दिने कार्यप्रति एकजुट हुन आग्रह समेत गरिन्। ‘आफ्नो देश र राष्ट्रिय एकताको विषयमा आवाज निकाल्दा हामी नेपालीले यस्तो सहनुपर्ने ?,’ उनले लेखेकी थिइन्, ‘यस्ता अश्लील भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गर्ने विरुद्ध एक भएर अघि बढ्न जरुरी छ।’

‘इन्डियन स्पाइडर स्क्वाड’ समूहले सोही प्रकारको नक्कली अश्लिल भिडियो अन्य १२ जना नेपाली कलाकारहरू समेत सार्वजनिक हुन लागेको जानकारी गराएको थियो। ‘अरू कलाकारहरूको पनि यस्तै भिडियो चाँडै लिक हुँदैछ,’ इन्डियन स्पाइडर स्क्वाड समूहले पोस्ट गरेको थियो, ‘हामी १२ जना नेपाली कलाकारहरूको डिभाइसभित्र छिरिसकेका छौं। कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो। तिमीहरू बाँच्न चाहन्छौं भने कोभिड–१९ सँग लड। भारतसँग होइन।’

उनको पोस्टले फिल्म क्षेत्रमा तरंग ल्याएसँगै चलचित्र कलाकार संघले यस विरुद्ध उजुरी दिएका थिए। मंगलबार कलाकार संघका अक्ष्यक्ष रवीन्द्र खड्काको टोलीले यस विरुद्ध महानगरीय अपराध अनुसन्धान महाशाखामा दिएको थियो।  

‘प्रविधिको दुरुपयोग गरेर कलाकारको चरित्र हत्या गर्ने कार्य नेपाल वा बाहिरबाट भएको भन्ने कुराको अनुसन्धान गरिने प्रहरीले प्रतिवद्धता जनाएको छ,’ संघका अध्यक्ष खड्काले भने, ‘सीमा विवादको विषयमा नेपालको पक्ष लिएका कलाकारहरूविरुद्ध भइरहेका यस्ता गतिविधि रोक्न र पीडितलाई न्यायको मागसहित उजुरी दिएका हौं।’

महाशाखाका एसपी होविन्द्र बोगटीले नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राखिएको विषयमा अनुसन्धान सुरू भइसकेका जानकारी गराएका थिए। ‘कलाकारको नक्कली अश्लील भिडियो र फोटो

इन्टरनेटमा हालेर चरित्र हत्या गर्न खोजिएको सम्बन्धमा उजुरी परेलगत्तै अनुसन्धमान सुरू भइसकेको छ,’ उनले भने, ‘यस्ता कार्य नेपालभित्र वा बाहिरबाट भइरहेको छ भन्नेबारेमा थाहा हुनु जरुरी छ।’

 

प्रकाशित: १५ जेष्ठ २०७७ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App