१६ चैत्र २०८० शुक्रबार
कला

अलपत्र परेका मजदुरलाई सहयोग गर्दै अभिनेता सोनु सुद

बलिउड फिल्ममा भिलेनका रूपमा स्थापित बलिउड अभिनेता सोनु सुद वास्तविक जीवनका हिरोको प्रशंसा पाइरहेका छन् । कोरोना भाइरस महामारीको अवस्थामा भारत अलपत्र परेका प्रवासी कामदारहरूलाई घर फर्कन सहयोग गरिरहेका उनले वास्तविक जीवनका हिरोको रूपमा प्रशंसा पाएका हुन् ।  

अभिनेता सुदले कोरोना भाइरस महामारीको जोखिम कम गर्न सरकारले गरिरहेको लकडाउनमा मुम्बईमा अलपत्र परेका हजारौं प्रवासी कामदारहरूलाई घर फर्कन सहयोग गरिरहेछन् ।  

‘सयौं किलोमिटर पैदल हिंडेर आ–आफ्नो गाउँसम्म पुग्न लागिपरेका मानिसहरूका समाचारहरू देख्दा मलाई निन्द्रा लाग्न छाडेको थियो,’ अभिनेता सुदले भने । भारतले गत मार्च २४ देखि लकडाउन घोषणा गरेको थियो । जसका कारण रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा रहेका प्रवासी कामदारहरू अलपत्र परेका थिए । 

लकडाउनपछि लाखौंले रोजगारी गुमाएका थिए । विभिन्न राज्यहरूको सिमाना सिल भएसँगै रेल र बसहरू बन्द गराइएपछि हजारौं महिला, पुरुष र केटाकेटीहरू पैदल यात्रा गरेर गाँउ फर्किनुबाहेक अरू कुनै विकल्प थिएन । यसक्रममा सडक दुर्घटना र थकाईका कारण सयभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।  

विगत दुई महिनादेखि उनी आफ्नो साथी नीति गोयलका साथ लकडाउनले प्रभावित व्यक्तिलाई सहयोग गर्न सक्रिय रूपमा लागि परेका छन् । ‘हामीले मार्चदेखि पाँच सय प्याकेट पकाएको खाना र किराना सामानहरूबाट सुरू गरेका थियौं,’ उनले भने, ‘अहिले हामी बस्ती, सडकमा फसेका र राजमार्गमा हिंड्ने गरेर दैनिक ४५ हजार मानिसहरूलाई खाना र किराना सामग्री वितरण गरिरहेका छौं ।’ उनले मे ११ देखि प्रवासी र आप्रवासीहरूलाई घर फर्कन सयौं बसको व्यवस्था गरी रहेका छन् ।  

‘हामीले उनीहरूलाई कसरी जान्छौं भनेर सोध्यौं ? उनीहरूले हिंडेर जाने जवाफ दिए । तर डिंडेर पाँच सय किलोमिटर जाने भन्ने सुनेर मैले उनीहरूलाई दुई दिन दिन आग्रह गरें । तपाईको घर जानको निम्ति सबै प्रबन्धहरू गर्नेछु भनेर महाराष्ट्रबाट अनुमति लिएको थिएँ,’ उनले भने । मे ११ मा दुई सय मनिसहरूको पहिलो टोली बोकेका बसहरू त्यस क्षेत्रबाट हिंडेका थिए । ‘जब तिनीहरू घर हिंड्न बस चढेका थिए । उनीहरूको अनुहारमा मुस्कान थियो र आँखामा आँसु थिए,’ अभिनेताले सुदले स्मरण गरे ।  

त्यसबेलादेखि उनले हजारौं प्रवासी कामदारहरू र उनीहरूका परिवारहरूलाई भारतभरीका राज्यहरूमा पुग्न सहयोग गरिरहेका छन् र मद्दतको लागि अनुरोधहरू खसाल्न जारी आग्रह समेत गरेका छन् ।  

‘दिनहुँ मेरो फोनमा हजारौं मेल र सन्देशहरूमार्फत मानिसहरूले सहयोग माग्दै आएका छन् । हजारौंले सामाजिक सञ्जाल ट्वीटर, फेसबुक र इन्स्टाग्राममा पनि सम्पर्क गरिरहेका छन्,’ उनले भने । उनको यस कामको बारेमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । धेरैले उनलाई धन्यवाद दिँदै प्रशंसा पनि गरिरहेका छन् । 

प्रकाशित: १३ जेष्ठ २०७७ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App