७ वैशाख २०८१ शुक्रबार
कला

भेनिस फिल्म महोत्सव सेप्टेम्बरमा हुने

कोरोना भाइरस महामारीले संसारभरका ठूला कार्यक्रमहरू रद्द भइरहेको अवस्थामा भेनिस फिल्म महोत्सवले निरन्तरता पाउने भएको छ । आइतबार सो क्षेत्रको गभर्नरले तालिका अनुसार ७७ औं संस्करणको महोत्सव आगामी सेप्टेम्बर २ देखि १२ सम्म आयोजना हुने पुष्टि गरेका थिए ।  

भेनेटोका गभर्नर लुका जाइयाले आगामी सेप्टेम्बर २ देखि १२ मा आयोजना हुने संसारको सबैभन्दा पुरानो फिल्म महोत्सवले निरन्तरता पाउने जानकारी गराएका थिए । महोत्सवको अभिभावक समूह भेनिस बिएनालेका एक अधिकारीले कलासम्बन्धी कार्यक्रमहरूका बीचमा महोत्सवलाई तोकिएको मितिमा आयोजना गर्न लागि परेको बताए । यसअघि कला र फिल्म महोत्सवजस्ता कार्यक्रमहरू यस वर्ष निरन्तरता दिने विषयमा अन्यौलता रहेको उनले जानकारी गराए ।  

गभर्नर जायाका अनुसार भेनिस बिएनालेका ठूला कार्यक्रमहरू स्थगित भएपनि सावधानी अपनाएर फिल्म महोत्सव आयोजना हुनेछ । उनले आयोजकलाई कोरोना भाइरस महामारीको अवस्थामा यस वर्ष तुलनात्मक रूपमा कम फिल्महरू प्रदर्शन गर्न सुझाव दिएका थिए ।  

भेनिसले यस महिनाको सुरुआतमा फिल्म उद्योगका बृहत दायराको सर्वेक्षण गरेको थियो । भेनिसको कलात्मक निर्देशक अल्बर्टो बारबराद्वारा हस्ताक्षर गरिएको एक पत्रमा कति फिल्म निर्माता, कलाकार र फिल्मकर्मीहरू लगायत महोत्सवमा उपस्थित हुन इच्छुक छन् भन्ने कुराको अनुमानसहितको विवरण समावेश भएको थियो ।  

यस वर्ष महोत्सव आयोजनाको योजना बनाउनु असम्भव नै हुन्छ,’ बारबराले सो पत्रमा उल्लेख गरेकी थिइन्, ‘तपाईहरू महोत्सवलाई प्रयोग गर्न इच्छुक हुनुहुन्छ भएर नयाँ जीवन दिन र फिल्मलाई जीवित राख्न चाहनुहुन्छ भन्ने कुराबारे हामीले थाहा नभएसम्म यस कठिन समयमा महोत्सव गर्न अन्यौलता सिर्जना भएको छ ।’ सो पत्रमा निर्माता र बिक्रेताहरूलाई पनि ‘आमन्त्रित फिल्महरू साथमा ल्याउन (प्रतिभा) ल्याउने ठोस सम्भावना’ को बारेमा सोधिएको थियो ।

यसअघि महोत्सवको अभिभावक समूह भेनिस बिएनालेका अध्यक्ष रोबर्टो सिकट्टोले एक अन्तर्वार्तामा कोरोना महामारीबीच यस वर्षको फिल्म महोत्सवका कार्यक्रमहरू स्थगित वा रद्द नहुने बताएका थिए । उनले कान्स फिल्म महोत्सवसँग सहकार्य गरेर यस वर्ष संयुक्त कार्यक्रम गर्ने कुनै योजना नभएको जानकारी गराए । ‘हामी महोत्सव अन्तर्गतका कार्यक्रमको साथमा अगाडि बढिरहेका छौं,’ उनले भनेका थिए । इटालियन अधिकारीहरूले महोत्सवको लागि ‘६ वा सात फिल्म हलहरू’ खोल्नको लागि विशेष अनुमति दिनेमा उनी विश्वस्त छन् ।  

पछिल्ला वर्षहरूको तुलनामा यस वर्ष कोरोनाको त्रास र  यात्रामा प्रतिबन्धका कारण महोत्सवमा अन्तर्राष्ट्रिय फिल्मकर्मी र पत्रकारहरूको सहभागिता कम हुने तर्क उनले गरेका थिए ।  

उनका अनुसार महोत्सवले आफ्नो डिजिटल प्रविधिमार्फत भेनिसको यात्रा गर्न असमर्थ रहेका विदेशी फिल्मकर्मी र पत्रकारहरूलाई महोत्सवमा सहभागी हुन अनुमति दिइनेछ ।  

भेनिस फिल्म महोत्सव संसारको सबैभन्दा पुरानो फिल्म महोत्सव हो । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि लकडाउन गरिएपछि हाल इटालीका लगभग सबै फिल्म हलहरू र व्यवसायिक केन्द्रहरू बन्द छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट हालसम्म ५४ लाख २४ हजारभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट तीन लाख ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा १६ लाख ४३ हजारभन्दा बढी संक्रमित र ९७ हजारको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणबाट ६ सय ८२ जना संक्रमित र चारको मृत्यु भइसकेको छ । 

अमेरिकापछि ब्रालिज, रुस, बेलायत, स्पेन, इटाली र फ्रान्सलगायत देश प्रभावित छन् । विशेषज्ञहरूले कैयौं देशमा पर्याप्त परीक्षण नभएकाले संत्रमणको संख्या कम देखिएको हुनसक्ने बताएका छन् । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट संसारभर अर्थतन्त्र प्रभावित भएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App