२३ जेष्ठ २०७७ शुक्रबार
कला

कविता : युगकवि सिद्धिचरण

 

दीनानाथ शर्मा 

 

तिम्रो हातमा कलम छ

नक्सा कोर्दै छौ देशको

र भर्दै छौ नसा–नसामा

सञ्चार देशभक्तिको

इतिहास कोर्दै भविष्यको

तिम्रो बारी रसिलो छ, भरिलो छ  

सिर्जनाको फूलबारीमा

ढकमक्क फूलहरू सप्तरंगी इन्द्रेणी

कति सुन्दर कति शान्त स्निग्ध

तिम्रो संसारमा सधैँ

उतै हराउन पाए...  

काव्य मञ्जरीको सुरभिभित्र ।

 

कठै मेरो संसार

न पारख न पौरख

न समाधि न साधना

न खेतीपाती सिर्जनाको

बाँझो मन रुखो खेतबारी

सिरु फुल्न सक्छ

सिस्नु पलाउन सक्छ मौसममा

तर कहिले पनि

वसन्तको वहार आउँदैन ।

 

सत्ताको डण्डा बोकेर

कठोर बनेको आत्मा

दिल खाली छ

दिमाग रित्तो छ

हराभरा कवि कलाकार र स्रष्टाहरू माझ

कागको फूल चोर्ने कोइलीका बीच

बकुल्लो बन्नुको पीडा छ ।

 

बोल्न पनि असजिलो असजिलो

के बोल्ने के नबोल्ने

१३ सालमा देवकोटाले सजाएको

शिक्षाको फूलबारी यो

कतै भत्कँदै

कतै खण्डहर बन्दै मूल्य र मान्यता

तिमी कोर्दैछौ नयाँ नेपालको नक्सा

हामी भत्काउँदै र बिथोल्दै छौ खण्डहर  

नयाँ बाटो बनाउन

त्यसैले के बोलौं के नबोलौं

खाली मन

सुस्क दिमाग

राजनीतिको भाषण ठोकेर जीवनभर

थकित र जीर्ण बनेको दिमाग

रसिक कलाकारबीच

आकलझुकल भेट्न पाउँदा

औधि आनन्द लाग्छ

प्रकृतितिर फर्केर उतै हराऊँ हराऊँ लाग्छ ।

आजभोलि कताकता

बन्दुक बोक्नेसित भन्दा

कलम बोक्नेसित

झन् ठूलो डर लाग्छ

त्यसैले के भनौं

के नभनौं

मेरो सम्मान स्रष्टालाई

मेरो श्रद्धासुमन सिद्धिचरणलाई

०००

यो धर्ती

यो आकाश

यी रूख बिरूवाहरू ।

त्यो हिमाल

त्यो हराभरा पहाडहरू

त्यो उर्वर मैदान

यो हावापानी

यो परिवेश

मेरो देश

मेरो मातृभूमि

म यसैमा हुर्कें–बढें

म यसैमा रमें रमाएँ

भन्दै  

ओखलढुंगाको गाथा सुनाए  

कवि सिद्धिचरण ।

०००

मेरा बाजेहरू विदेश गए होलान्  

मेरा बाजे–बराजु परदेशी भए होलान्

बर्मा, मलाया, जाभा र सुमात्रातिर  

कति उतै हराए होलान्

कतिले

विदेशी जर्सी र बुटहरू ल्याएर

अच्छा लेकिन यार मेरो पौरख भन्दै

साथी भाइलाई बाँडेर वीर गाथा सुनाए होलान्

आफ्नै लागि ।

 

तर मेरी आमा सधैं

लालाबाला बोकेर

दुःखसुख

पाखा–पखेरामा धाइन्  

सगरमाथाको पुछारतिर

त्यसैले उनले

आमाको छातीभित्र

देशभक्तिको गहिराइ नापे

आमाको मुटुभित्र

वात्सल्यको सगरमाथा नापे

एक पुजारी माटोको

एक सर्जक देशको

र गाथा सुनाए हामीलाई

जननि जन्म भूमिश्च...

मेरो प्यारो ओखलढुंगा

युगकवि

एक सच्चा देशभक्त

सिद्धिचरण

०००

यात्रा उनको

घरभित्रको

आँगन छोडेर केही दिन

प्वास गएका उनी

सम्झनाको आँसुले माटोको

चरण पखालेर चुम्दै

सम्झिरहे सधैं

आफ्नै गाउँघर पाखापखेरो

प्यार माटोको

सन्देश क्रान्तिको

खोजी न्याय र सत्यको

देश भक्तिको उपहार

चढाए आमाको पाउमा

मेरो प्यारो ओखलढुंगा

मरो श्रद्धा सुमन  

सिद्धिचरण ।

प्रकाशित: ९ जेष्ठ २०७७ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App