८ वैशाख २०८१ शनिबार
कला

ओबर्हउसेनमा ‘जुनुको जुत्ता’लाई स्पेसल मेन्सन

निर्देशक केदार श्रेष्ठको सर्ट फिल्म ‘जुनुको जुत्ता’ ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । सोमबार अनलाइनमार्फत आयोजना भइरहेको इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओबर्हउसेनमा ‘जुनुको जुत्ता’ स्पेसल मेन्सन अवार्ड जितेको थियो ।  

‘जुनुको जुत्ता’ ले महोत्सवअन्तर्गत ‘चिल्ड्रेन्स एन्ड युथ फिल्म’ विधामा स्पेसल मेन्सनसहित एक हजार युरो समेत जितेको थियो । कोरोना भाइरस महामारीबाट प्रभावित रहेको संसारको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सर्ट फिल्म महोत्सवको ६६ औं संस्करणमा छनोट भएको ‘जुनुको जुत्ता’ गत शनिबार अन्तर्राष्ट्रिय प्रिमियर गरिएको थियो ।  

निर्णायकहरू किम्मो डोइरिङ, लिलिथ लौक्नर, जेसन माइकलले ‘जुनुको जुत्ता’ लाई महोत्सवअन्तर्गत ‘चिल्ड्रेन्स एन्ड युथ फिल्म’ विधामा स्पेसल मेन्सन दिएका थिए । ‘फिल्म यथार्थवादी र फरक देशको कथा समावेश भएकाले हामीलाई मनपरेको हो,’ फिल्मलाई स्पेसल मेन्सन घोषणा गर्नुअघि निर्णायकहरूले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको थियो, ‘हामीलाई संगीतले समेत आकर्षित गरेको थियो । फिल्मको अन्त्यमा देखाइएको बालिकाको विचार राम्रो लाग्यो ।’

महोत्सव अन्तर्गत ‘जुनुको जुत्ता’ गत शनिबार अनलाइनमार्फत अन्तर्राष्ट्रिय प्रिमियर भएको थियो । महोत्सवमा नेपालसहित फ्रान्स, जर्मनी, अमेरिका, हंगेरी, चेक रिपब्लिक, चीन, भारत र अफ्रिकालगायत देशका फिल्महरूले विभिन्न विधामा अवार्ड जितेका थिए ।

अवार्ड पाएलगत्तै ‘जुनुको जुत्ता’ का निर्देशक केदार श्रेष्ठले अनलाइनलमार्फत भने, ‘यो अवार्ड सबै बालबालिका र अभिभावकप्रति समर्पित गर्न चाहन्छु । यो समग्र नेपाली फिल्मेकरका लागि सम्मान र उत्साह हो ।’ फिल्ममा चप्पल उल्टो लगाउने सानी नानीको कथामा आधारित छ । आमा र शिक्षक लगायतले जुत्ता सुल्टो नलगाउँदा गाली गरेपछि उनले उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा पाँच वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङल्हमू लामा र खड्ककुमारी लगायतले अभिनय गरेका छन् ।  

कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि भर्चुअल माध्यमबाट महोत्सवको आयोजना गरिएको थियो । सन् १९५४ देखि महोत्सव जर्मनीको ओबर्हउसेनमा आयोजना हुँदै आएको थियो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट हालसम्म ४८ लाख २२ हजारभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट तीन लाख १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हालसम्म अमेरिकामा १५ लाखभन्दा बढी संक्रमित र ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणबाट चार सय २ जना संक्रमित भइसकेका छन् ।

अमेरिकापछि रुस, ब्रालिज, बेलायत, स्पेन, इटाली र फ्रान्सलगायत देश प्रभावित छन् । विशेषज्ञहरूले कैयौं देशमा पर्याप्त परीक्षण नभएकाले संत्रमणको संख्या कम देखिएको हुनसक्ने बताएका छन् । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट संसारभर अर्थतन्त्र प्रभावित भएको छ ।  

प्रकाशित: ७ जेष्ठ २०७७ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App