coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वेब सेरिज ‘पाताल लोक’को अपशब्दले हंगामा

बलिउड अभिनेत्री अनुष्का शर्माको सेरिजमा नेपाली महिलामाथि अपमान गरिएको शब्द हटाउन माग

भारतीय वेब सेरिज ‘पाताल लोक’मा नेपाली महिलाको अस्मितामाथि चोट पुग्ने शब्द प्रयोग गरिएपछि नेपाल र भारत दुवैतिर त्यसको चौतर्फी विरोध भइरहेको छ । बलिउड अभिनेत्री अनुष्का शर्माको अमेजन प्राइम भिडियोले निर्माण गरेको सेरिजको एउटा दृश्यमा प्रयोग गरिएको शब्द हटाउन भारतीय नेपालीभाषी र नेपाली कलाकारले दबाब दिइरहेका छन् ।  

 गत १५ तारिख अपलोड गरिएको पाताल लोकको दोस्रो एपिसोडमा प्रहरीले बयान लिनेक्रममा एक महिलालाई ‘नेपाली’ शब्दका पछि अपशब्द प्रयोग गरिएको छ । जुन शब्दले डेढ करोड भारतीय नेपालीभाषी मात्र नभई सम्पूर्ण नेपाली महिलाको अपमान गरेको भन्दै विरोध चर्किएको हो । भारतीय नेपालीभाषीले स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध जनाएका छन् । नेपाली कलाकारले समेत सामाजिक सञ्जालमार्फत् चर्काे विरोध गरिरहेका छन् ।

भारतीय गोर्खा युवा परिसंघले वेब सेरिजको त्यो दृश्य हटाउन, प्रयोग गरिएको शब्द आवाज नसुनिने बनाउन, हटाएको स्थानमा नेपालीभाषी महिलामाथि परेको असरप्रति क्षमायाचना गर्न र सब–टाइटल मेट्न माग गरेको छ । परिसंघले ७ दिनभित्र त्यो सिन हटाउन मंगलबार अमेजनलाई अल्टिमेटमसमेत दिएको छ । असमस्थित परिसंघका राष्ट्रिय अध्यक्ष नन्द किराती देवानले कलाकार अनुष्कासहित उनको प्रोडक्सन हाउसलाई यो सिनले नेपालीभाषी महिलाको सम्मानमा आघात पुगेकाले कारबाहीको दायरामा ल्याउनुपर्ने प्रतिक्रिया दिएका छन् ।  

‘डेढ करोड भारतीय नेपालीभाषीको अपमान हुनेगरी जुन शब्द प्रयोग भएको छ, त्यो शब्दसहित सिन हटाएरमात्र पुग्दैन, प्रोडक्सन हाउसले क्षमायाचना गर्नुपर्छ,’ उनले भनेका छन्, ‘हामीमाथि अपाच्य शब्द प्रयोग गर्ने नियतलाई कारबाही हुनुपर्छ ।’ उनले बलिउडमा अहिलेमात्र होइन, पटक–पटक नेपालीभाषीको सम्मानमा दाग लगाउने सिन र शब्द प्रयोग हुनेगरेका उदाहरण रहेको जनाए ।  

नेपालीभाषी बहुल क्षेत्रका भारतीय राज्यमा यो सिनले केही दिनयता हंगामा मच्चाइरहेको छ । यसरी शब्द प्रयोग गरिएपछि भारतको असम, पश्चिमबंगाल, सिक्किमलगायत राज्यका नेपालीभाषी आक्रोशित बनेका छन् । उनीहरूले कलाकार अनुष्कामात्र नभई भारतीय केन्द्र सरकारलाई समेत यो विषयमा ध्यानाकर्षण गराउने जनाएका छन् ।  

परिसंघको पूर्वाेत्तर क्षेत्रका प्रसिडेन्ट डा.टिकेन्द्रकुमार क्षेत्रीले नेपालीभाषीमाथि यस्तो ‘दुस्साहस’ नगर्न चेतावनी दिँदै सुप्रिम कोर्टका सिनियर वकिलसँग यसविरुद्ध मुद्दा दायर गर्नेबारे छलफल भइरहेको बताए । ‘यसअघि पनि बलिउडमा नेपालीभाषीमाथि हेयभावले प्रयोग गरिएका शब्दविरुद्ध अदालतमा मुद्दा हालिएको थियो,’ क्षेत्रीले भने, ‘यो पटक पनि पुनः त्यही समस्या दोहोरिएको छ । हामी ठूलो संख्यामा भारतीय नेपालीभाषीको न्यायका लागि अघि बढेका छौं ।’  

नेपाली अभिनेत्रीहरूले पनि भारतीय वेब सेरिजमा प्रयोग गरिएको शब्दले नेपाली महिलामाथि गम्भीर आघात पु¥याएको जनाएका छन् । अभिनेत्री रेखा थापा, केकी अधिकारी, ऋचा शर्मालगायतले सामाजिक सञ्जालमार्फत् विरोध जनाएका हुन् । थापाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सार्वभौमिकतामाथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भत्र्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरूलाई जुन नीच शब्द प्रयोग गरिएको छ, त्यो घोर आपत्तिजनक छ ।’ उनले यस्तो भाषा र हेपाहा प्रवृत्तिले बलिउडका फिल्म, कला–साहित्यको नारीप्रतिको असहिष्णु व्यवहार र सोचको स्तर पनि देखाएको उल्लेख गरेकी छिन् ।  

अधिकारीले नेपालीकै कारणले अरूले नेपाली महिलालाई हेपिरहेको जनाएकी छिन् । उनले पाताल लोकमा प्रयोग भएको शब्द माफीयोग्य नभएको सामाजिक सञ्जालमा लेखेकी छिन् । शर्माले फिल्म निर्माण पक्षले नेपालीभाषीसँग माफी माग्नुपर्ने धारणा राखेकी छिन् ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App